समाजको यर्थाथ चित्रण :‘पूर्वतिर’



शुक्रबार १६ , जेष्ठ २०७७
  • स्वर्णिका खड्का


प्रदीप नेपालको जन्म २०१० पौष २८ गते भएको हो । उहाँका पार्टिकी आमा, पूर्वतिर, स्वप्निल सहर, एक हजार बर्ष लगायत १६ वटा उपन्यास, धरहराको सहर, बेचिएका चेलीहरु, बाघमारेको लालसलाम लगायत १० वटा कथा संग्रह, पाईला छाडेर अस्ताएको घाम, इलामको तारा, बन्दिगृहको सिर्जना लगायत १३ वटा नियात्रा–संस्मरण तथा विविध विषयसँग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशित भईसकेका छन् ।
उहाँले प्रजातन्त्र स्थापनाको क्रममा जेलनेल भोग्नुका साथै २०५१ सालमा संचार र जलश्रोत मन्त्री तथा २०५५ सालमा स्वास्थ्य र जलश्रोत मन्त्री भईसक्नुभएको छ । उहाँ उत्तमशान्ति पुरस्कार, नइ इश्वर वल्लभ पुरस्कार तथा साहित्य सन्त्तया, दोभान साहित्य, प्रलेस, गोपाल प्रसाद रिमालसम्मान जस्ता पुरस्कार रसममानबाट सम्मानित भई सक्नु भएको छ । हाल उहाँ साहिहत्य र राजनीतिमा उत्तिकै क्रियाशिल हुनुहुन्छ । उहाँद्धारा पाँचथरको परिवेशमा लेखिएको “बुङ्लाकासाँझहरु” लाई प्रशिद्ध समालोचक ऋषिराज बरालले पहिलो प्रगतिवादी आञ्चालिक उपन्यास भन्नुभएको छ । यो कृतिलाई पूर्वाञ्चल विश्व विद्यालयले आफ्नो पाठ्यक्रममा समावेश पनि गरेको छ । उहााले समाजलाई जस्ताको तस्तै आफ्ना कृतिहरुमा दर्शाउने गर्नुभएको छ । प्रगतिवादी साहित्यको कोणबाट समाज कस्तो हुनुपर्दछ भन्ने उहाँले राख्नुभएकै छ ।
प्रस्तुत कृति समीक्षा ‘पूर्वतिर’ २०४४ सालमा प्रकाशित भएको आञ्चालिक उपन्यास हो । पहिलो पटक यो कृति सन् १९८७ को मइ महिनामा प्रदीप नेपाल भुमिगत राजनीति गर्दा राखिएको साहित्यीक नाम संजय थापाको नामामा छापिएको थियो र तत्कालिन समयमा राम्ररी चर्चा पाएको थियो । पहिलो प्रकाशन भएको झण्डै बीस बर्ष पछि वि.सं. २०६३ मा पुनः प्रकाशन भएको थियो । उनका अन्यकृतिहरु जस्तै यस कृतिमा पनि समाजको जल्दोबल्दो , बास्तविक र यथार्थ चित्रण गरिएको छ ।
पाँचथरको बुङ्लाको परिवेशमा रहेको यस उपन्यासले त्यहाँका विभिन्न वर्ग, जाती, जनजाति र समुदायको परिवेश र सामाजिक अवस्था प्रस्तुत गरेको छ । उपन्यासको प्रमुख पात्र जीवन घिमिरे बुङ्लाकै जन्तरे बाहुनका छोरा हुन । धनीमानी कहलिएका (मन्त्री) ले घरबारी हडपेर गाउँघरमा बस्न नसकेर आफ्नो परिवारको साथ आसाम भासिएको थियो । आफ्नो घरबार धान्ने र जहान परिवार पाल्ने एकमात्र बाटो आफ्ना बाबु बाजेले जोडेको गैह्रीखेत मन्त्रीलाई बेच्न जन्तरे बाहुन नमानेपछि बुंङ्ला गाउँभरी राज चलाउने मन्त्रीले झण्डै एक बर्ष पछि उनीहरुले बर्ष भरी गरेको मेहेनत, गैह्रीखेतमा फलेको धान जन्तरेकै आँखा अगाडि काटेर आफ्नो तिर लान्छ । आफ्नो खेतीपाती हडपि सकेपछि बुङ्लामा बस्न नसकेर जन्तरेले गाईबस्तु वचेर आसाम तिर लाग्छ ।
आसाममा जंगल फाँडेर बस्दै आएको जन्तरेले आफ्नो देश र माटोलाई भने कहिल्यै बिर्सदैन र आफ्ना छोराछोरीलाई आफ्नो माटो र आफू जन्मिएको भूमी नबिर्सनु भनिरहन्छ । जीवन गुवाहटीमा पढिरहँदा आसाम तिर फैलिएको हैजाले उसको बुबाको ज्यान लिनछ र केहि बर्षमै आसाममा भएको दंगा हड्तालमा उसकी आमा र भाईपनि मारिन्छन् ।जीवन आफ्नी बहिनीसँग केहि बर्ष आसाममै बसेपनि उसलाई त्यहाँ कहिल्यै घर जस्तो लाग्दैन । उसलाई आफ्नो बुबाको भनाई याद आईरहन्छ र आसाम डेरा जस्तो मात्र लागिरहन्छ ।
आसाममा नेपालीहरुलाई खेदाउने आन्दोलन चलिरहँदा उसले अब आफू नेपाल फर्कने अठोट गर्दछ । उसकी बहिनीले उतै बस्ने इच्छा गरेतापनि उसले बैनीलाई सम्झाउँछ र भिनाजुको सहायताले झापामा घरजग्गा किनेर आसामलाई बिदा गरेर नेपाल आउँछ । उसलाई आसाम छोड्दा चिहानघारी छोडेजस्तै लाग्छ । र, उसले आफू फेरि फर्किएर आफू जन्मिएको गाउँ बुङ्ला फर्कने निर्णय गर्दछ । अंग्रेजी साहित्यमा एम.ए. गरेको जीवनले बुङ्लामा पहिले आफूले पढेकै विद्यालयमा अंग्रेजी पढाउने शिक्षक बनेर जान्छ । आफ्नो बाबुलाई घरखेत लुटेर खेदाएको मन्त्रीसँग उसको बद्ला लिने सोच समेत हुन्छ । गाउँ पुग्ने वित्तिकै उसको बाबुको मिल्ने साथी अन्तरे लिम्बुसँग उसको भेट हुन्छ । आसामबाट आएको भन्ने थाहा पाएपछि उसले जन्तरेलाई चिन्छौ भन्ने प्रश्न गर्दछ । आफू जन्तरेकै छोरो भएको बताउँदा उ छक्क पर्दछ र जन्तरेको बारेमा सोधीखोजी गर्दछ ।
जीवन धेरै बर्षपछि गाउँ फर्किए पनि त्यहाको अवस्थामा खासै परिवर्तन देख्दैन । पहिले जस्तै त्यहाँका मानिसहरु मन्त्री देखि त्रसित थिए । जीवन गाउँ आएपछि प्रधानपञ्च पनि चिन्तित थियो । उसलाई जन्तरेको छोरो घर खेत फिर्ता लिन आएको भन्दा पनि कम्युनिष्ट भएर आएको चिन्ता र डर थियो । जीवनले मास्टरी गर्ने विद्यालयमा समेत ठूलो राजनीतिक चलखेल, आरोप प्रत्यारोप र षडयन्त्र चलिनै रहन्थ्यो । तर जीवनको मिलनसारिलो व्यवहारले गर्दा उसलाई जस्तासुकै षडयन्त्रले कुनै फरक पर्दैनथ्यो । मन्त्रीले जीवनको जासुसी गर्न केहि मानिसहरु खटाउने देखि स्थानीय साहिंला ढकालकी छोरी शकुन्तलालाई विवाह गराईदिने सम्मको प्रपन्च रचिरहेका हुन्छन् । गाउँघरमा शिक्षाको अभाव छ । चरम गरिवी छ । र, छ मै हुँ भन्नेहरुको एकलौटि राज ।
जीवन पनि त्यहि परिवेशमा आफूलाई टिकाउनुपर्ने भएकोले सबैसँग समान सम्बन्ध र व्यहावहार गर्दथ्यो । आफूलाई चाहिने र बुझ्नु पर्ने गाउँको राजनिती बुझेको थियो ।
मन्त्रीका छोराहरुले गाउँमा बहुदल भनेको लिम्बु र निर्दल भनेको क्षेत्री बाहुन भनेर बहुदलमा भोट खसाल्न लगाएका थिए । यी सबै कुरा जीवनलार्ई थाहा थियो । प्रधानपञ्चसँगको पहिलो भेटमा उसले प्रधानपञ्चको व्यवहार र सोच कतिसम्म छ भनेर जाँच्यो । स्कूलको वार्षिक कार्यक्रममा मन्त्रीसँग आँखा जुधाएर बोल्ने र मन्त्रीलाई ‘बाजे’ भनेर सम्बोधन गर्ने उ गाउँमा एक्लो थियो । गाउँलेहरु यि सबै कुरा छक्क परेर हेरिरहेका थिए । प्रधानपञ्च लिलालाई खासै मन पराँउदैन थिए र संस्कृतका गुरु भवानी प्रसाद संग पनि उनिहरुको सम्बन्ध राम्रो थिएन र स्कुलको संस्थापक समितीका अध्यक्ष पनि प्रधानपञ्च नै थिए । प्रधानपञ्चले जीवनलाई आफ्नै छोरा सरह भने पनि उनलाई जीवन कम्युनिष्ट भएको संङ्का थियो । जीवनमा संकोच र डर थिएन र उ जो कोहिसँग नडराई कुरा गर्थो । उसको यस्तो व्यवहारले मन्त्री क्रोधित भए पनि भन्न सकेका थिएनन् । जीवन मन्त्रीको घरमा जानलाई निम्तो पाउने एक्लो मास्टर थियो । जीवनले समाज सुधारको अभियान चलाउन खोज्दा पनि मन्त्रीले शंकाकै दृष्टिले हेर्ने गर्दथ्यो ।
जीवन प्रधानपञ्च र मन्त्रीसँग अड्कलेर कुरा गथ्र्यो । मन्त्रीले गाली गर्दा रिस उठेपनि चुपचाप बस्थ्यो । मन्त्री सबै गाउँलेलाई जथाभावी गाली गथ्र्यो तर कोहि पनि एक शब्द मन्त्रीको अगाडि बोल्न सक्दैन थिए । जीवन मन्त्रीको अगाडी आफू सहरमा हुर्किएको र गाउँको चलन थाहा नभएको केटोको रुपमा प्रस्तुत गर्न चाहन्थ्यो । त्यसैले उसलाई मन्त्रीले हेला गरेका गाउँलेहरुलाई सहयोग गर्न मन लागे पनि आफ्नोे भावनालाई दवाएर राख्थ्यो । हाम्रो समाजमा कागको फौजमा बकुल्ला भन्ने उखान छ । जीवन पनि त्यहाँ त्यस्तै भएको थियो । केहि गर्न जोश आउँथ्यो तर डरले थुरथुर स्थानीय जनताहरुको साथ नपाउँदा आफूलाई नीरिह सम्झन्थ्यो । एक्ले समाज परिवर्तनको बाटोमा कहाँ पो सजिलो होला र । राजनीति मात्र होईन गाउँघरमा भ्रष्टचार पनि उत्तिकै मौलाएको छ । विद्यालयको गणित शिक्षक छनौटमा पनि नेता ज्यूहरुको गिद्धे नजर पुगेकै छ ।
धेरैले जीवनलाई असल मान्थे तर जातिय विभेदले गर्दा केही लिम्बुहरु भने जति पढिलेखेको, सहरमा हुर्केको भए पनि आखिर बाहुनकै बच्चा हो भनेर सोच्थे ।
जीवनले गाउँमा सुधार गर्न शिक्षाको माध्यम लिएको थियो तर गन्ध राजनीतिले जीवनको बाटो सहज भएन । यसरी आफ्नो बाजेको सम्पती लुटेर आफु र आफ्नो पुरै परिवारलाइ गाउँमा बस्न नदिएको गाउँमा आसाममा प्रवासी भई बसेर त्यहि पढेर विद्धान र आत्मविश्वास बोकेर त्यही गाउँ फर्केर जातिय विभेद र त्यहाँको राजनैतिक परिवेशमा सङ्घर्ष गरेर जीवनको साहसको कथा बोकेको छ ‘पूर्वतिर’ उपन्यासले । कसरी गाउँका पूँजीवादिहरु आफ्नो डर त्रासले आफूलाइ पानीको गोहि बनिरहन षड्यन्त्र गर्छन र कोही उनिहरुले भने बमोजिम नगरे कसैलाइ आत्महत्या गर्न बाध्य बनाउँछन भने कसैको जागिर छुटाइदिन्छन् । समाजको सुधार चाहने र जनताको भलो चिताउनेलाई देख्न नसक्ने सामन्तीहरुले आफ्नो डर र त्रासले समाजलाई राम्रो बाटो लाग्न नदिने देखाएको छ । पूर्वी नेपालको तत्कालिन वास्तविक स्वरुप यस उपन्यासमा देखाएको छ । “पूर्वतिर” उपन्यास प्रकृतिको वर्णन र लिम्बु जनताले बोल्ने स्थानीय भाषा नेपााली सबैले जस्ताको तस्तै बुझिने गरी प्रस्तुत गरिएको छ । समाजको प्रगती र परिवर्तनको चाह भएका पात्रहरुलाइ र निजी स्वार्थको लागी अन्याय र शोषण गर्ने पात्रहरु सबैलाइ वास्तविक रुपमा प्रस्तुत गरीएको छ । सामान्य किसान , जनताको उत्पिडन र उनिहरुले खप्नु परेको शोषण कलात्मक रुपले चित्रण गरेको पाइन्छ । समाजको सुधार र परिवर्तन चहानेहरुको जीवन असुरक्षित रहेको कुरा प्रष्ट रुपमा देख्न पाइन्छ ।

 

Featured News

Advertisement