अब उनि कहिल्यै आउँदैनन्, आँखा जुधाउन । घुम्तीमा नआउँ है....



शुक्रबार १६ , जेष्ठ २०७७
  • रामप्रसाद खरेल

हाँस्छौ, गाउँछौ, वसन्त ल्याउँछौ प्रेमको अनुरोधमा
धन्न लिन्नौँ हामी केही उनको विरोधमा ।


नारायण गोपालको अनुरोधमा रत्नले सृजेका यी शब्दमा स्वर भर्न वन्देज गरिदियो पञ्चायती सरकारले । रत्नका अनुसार यी शब्दहरु सहिद भए । अन्य कयौँ गीतहरु पञ्चायती सरकारको नजरमा गलत भएका कारण तुहिए । यो गीतमा प्रयोग भएको “उनको” शब्दले राजालाई इङ्गित गरेको शासकले ठहर गरे । त्यो वेलाको समयमा गीतहरु सेन्सर हुन्थे ।

वि.सं. २०१६ सालतिरबाटै नारायण गोपाल र रत्न सम्शेरको मित्रता थियो । दुवैले मिलेर धेरै गीत वनाएँ । गीतसंगितको बारेमा कयन वहस गरेँ । रत्न सम्शेर, नारायण गोपाल, नातिकाजी, माणिकरत्न र प्रेमध्वज प्रधानको सहकार्य राम्रै जमेको थियो । १७ सालमा स्वर्गकी रानी, मायाकी खानी गीत नारायण गोपालका लागि रचना गरिदिए रत्नले । यतिवेला दुवैजना आइएसी पढ्दै थिए । गीत तयार भएपछि नारायण गोपालले कलेजमै गाए । यसको श्रोता थिए गीतकार यादव खरेल ।

रत्नको मृत्यु शोकमा गायक प्रेमध्वज प्रधानले भने – “अब माणिक र म मात्र रहयौँ, उ हामीलाई छाडेर गयो ।”

वि.सं. २०१४ सालतीरको कुरा हो यो खोलाको पानी रचना गरे रत्नले र माणिकरत्नले स्वर दिए । जुन गीतले माणिकलाई उँचाइमा पुर्यायो ।

काठमाण्डौँको कमल पोखरीका रैथाने थापा वि.सं. १९९६ मा जन्मेका थिए । उनको चार पुस्ता कमल पोखरीमै जन्मि हुर्किएको थियो । ४५ बर्षसम्म रत्नले विवाह गरेका थिएनन् । परिवारले धेरै गुनासो गरेपछि उनले विवाह गरे । उनका दुइ छोराहरु रहेका छन् ।

न्युरोड पीपलबोटमा इन्दिरा रेष्टुरेण्ट थियो । साथिभाई भेट्ने र गीतसंगितको कुरा गर्ने थलो पनि यही रेष्टुरेण्ट थियो उनिहरुको । कैयौ गीतहरु यही रेष्टुरेण्टमा जन्मिए । रत्नसम्शेर मदिरा तथा धुम्रपान गर्दैन्थे । नारायण गोपाललाई सबैथोक चल्ने । साथिहरु मदिरामा रम्दा रत्न चै कफिमा रमाउँथे । उनलाई साथिभाई कसैले करपनि गरेनन् पिउँन । उनमा केही स्वास्थ्य समस्या पनि थियो ।

नारायण गोपाल र रत्नको सम्बन्ध दिगो रहन सकेन् । उनिहरुबीच मनमुटाब भयो । यसमा पत्रकारहरुको ठूलो हात रहेको गुनासो जीवनको अन्त्यतीरसम्म गरिरहन्थे थापा । उनको भनाई अनुसार नारायण गोपालले गीत गाएर रत्न चम्कियो भन्ने खालको हल्ला पत्रकारहरुले नै गरे । उनले नवोलेका कुराहरुपनि पत्रकारहरुले लेखिदिए अनुमानको भरमा । एक अन्तरवार्तामा थापाले भनेका छन् – “नारायणको टिउनमा मैले कहिल्यै गीत लेखिन् । फ्याक्ट कुरा नबुझी पत्रकारहरुले हामीमाझ फाटो ल्याइदिए । मैले लेखेका सयौँ गीत अरुले पनि गाएका छन् । माणिकले त मलाई जहिल्यै भन्ने गरेको छ तिम्रा दुइ गीतका कारण म माथि उठन सकेँ ।”

रत्नले भनेका छन् – “नारायण गोपाल मेरै गीतले हिट भएका हुन् । करियरको पूर्वाद्धमा उनले केही कालजायी गीत गाए । ए कान्छा ठट्टैमा, बिछोडको पीडा, आँखाको भाका । यी मेलै लेखेका गीत हुन् । नारायण गोपालका फादर चाँहि आशागोपाल फेमस सितार बादक हो, छोरो क्लासिकल सिंगर बनोस् भन्ने ठूलो इच्छा थियो । पछि नारायणले छात्रावृति पाए । उनि माहाराजा सायाजीवारव युनिभर्सिटी अफ बडोदा गए ।” माणिकरत्नले गाएको रत्नको पहिलो गीत थियो ः
त्यो खोलाको सङ्गलो पानी खाइजाऊ, खाइजाऊ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाऊँ, लैजाऊँ लाग्छ ।

गीतकार रत्न सम्शेरका गीतहरुमा नारायण गोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, तारादेवी लगायत धेरैले स्वर दिएका छन् । प्राय सबै गीत आज पर्यत्न जनजिब्रोमा छन् । मायाप्रेम, राष्ट्रप्रेम तथा रमाइलो प्रकारका सबै गीत लेख्न भ्याए उनले । तीनै कालजायी गीतहरुले उनलाई श्रोतामाझ सधै बँचाइरहन्छ ।

गीतको बारेमा उनको आफ्नै धारणा थियो । उनको बिचारमा ः “गीतमा कथा अटाउन सक्नुपर्छ, गीत पनि कविताकै एक हिस्सा हो । बरु कवितालाई लामो बनाउन सकिन्छ तर गीतमा जम्मा आठदेखि दश लाइनमै पूरै भाव अटाउनुपर्ने हुन्छ ।”

रत्नका चार ओटा गीत प्रेमध्वज र माणिकले कोलकतामा रेकर्ड गराए । गोरेटो त्यो गाऊँको गीत निकै हिट भयो ।

२९ सालतिर मुम्बईमा रेकर्ड भयो प्रेमध्वज प्रधानको स्वरमा रत्नसम्शेर थापाको घुम्तीमा नआऊँ है भन्ने गीत । त्यो गीत यति धेरै चल्यो आज पर्यन्त उतिकै प्रिय छ सबै माझँ । रत्न र प्रेम दुवैको पर्याबाची झै भयो घुम्तीमा नआऊँ है । यो गीत रचनाको केही सन्दर्भ रत्नले पत्रकारहरु माझँ भनेका थिए – “जमलको एउटा सानो कोठामा प्रेमध्वज र माणिकरत्न थिए । उनिहरुले मलाई हा हा हा गरेर हमिङ गर्दै धुन सुनाए, त्यसैमा तयार भयो घुम्तीमा नआउ है आँखा तिमी जुधाउन । र सोही दिन गोरेटो त्यो गाऊँको पनि लेखेँ ।”

गायक प्रेमध्वज प्रधानका अनुसार थापा दुई किसिमबाट गीत लेख्थे । कहिले आफैँ गमेर, कहिले धुन सुनेर । उनले अम्बर गुरुङको कोयार पनि धुन सुनेरै लेखेका थिए । प्रेमध्वजको भनाई छ – “रत्नशमशेर बेलाबेला रेडियो नेपाल गइरहन्थे । एकदिन चार बजेतिर उनी रेडियो नेपाल आए । साथि नातीकाजीसँग भेटे । नातीकाजीले उनलाई देख्नसाथ भने ए रत्न एउटा धुन छ गीत लेख्छस् ? उनि पनि के कम, लु सुना न त भने । नातीकाजीले रत्नलाई स्टुडियोमा लिएर गए । हारमोनियममा धुन सुनाए । रत्नलाई धुन आकर्षण लाग्यो । उनले नातीकाजीसँगै कागज मागे र त्यो धुनमाथि गीत लेखे । गीत लेख्दै गर्दा योगेश वैध पनि आइपुगे । गीत लेखेर सकिएपछि योगेसले म गाउँछु भने । केही दिनमै त्यो गीत रेकर्ड भयो ।”

त्यो गीतका शब्द यस्ता थिए । जुन गीत आजपनि उतिकै मन पराइन्छ ।
आँखैमा रात गली शीतमा तार डुबे,
बाटैमा आँधी चली आशाका मुना उडे ।
धुपी पिपल अनि लहरा पात झुके,
जुही सिमल पनि छहरा साथ सुके ।

हकी स्वभावका थापा अरुले हेपे भने सहनै नसक्ने । भूपी, नातीकाजी, नारायण गोपाल, प्रेमध्वज आदि कसैसँग पनि उनको मित्रता दिगो रहन सकेन् । पछिल्लो समय अम्बर गुरुङसँग नजिक थिए उनि । दिल्लीमा गीत रेकर्ड गर्न जादा अम्बर र रत्नको भेट भएको थियो । त्यहीबाट उनिहरु दुईबीच मित्रता रह्यो ।

रत्नको बुझाईमा उनलाई समयले पनि समाजले पनि ढग्यो । आइएसी पढ्दा होस वा डिग्रीको परिक्षामा होस बिरामी भएर परिक्षा दिन सकेनन् । साथिहरुले पनि उनलाई अलिअलि हेप्न खोज्ने । साथिहरु र सरकारसँग उनि कहिल्यै खुशी हुन सकेनन् । राजाको बिषयमा पनि उनको भनाई थियो – “गद्यीमा वस्दा मात्र राजा ठूलो हुन्छ । वाहिर हामी समान हो ।”

जीवनमा लामो जागिर गरेनन् उनले । पढाईको सिलशिलामा उनि बिराटनगर पनि वसे । त्योवेला रात्री क्याम्पस पढेर जुट मिलमा दिनभर म्यानेजरको जागिर खाए । उनले रेडियो नेपालमा १५ रुपैयाका दरले नौ ओटा गीती नाटक लेखे । उनको बिचारमा रेडियो नेपालले पनि अन्याय र विभेद गथ्र्यो स्रष्टाहरुलाई । उनले मिडियामा भनेका थिए – “रेडियो नेपालबाट एउटा गीतको ६ रुपैया प्राप्त हुन्थ्यो । कलाकारहरुको शोषण गर्यो रेडियो नेपालले । रेडियोले आर्थिक शोषणमात्रै होइन, भएका टेपहरु पनि चुँडाएर, हराइदिएर शोषणको पराकाष्ठ नाघेको थियो । रेडियो नेपालले यति ठगेको छ भनेरै सकिन्न । तर रेडियो बाहेक अरु माध्यम नभएकाले हामी रेडियोका लागि गीत लेख्न बाध्य थियौँ ।”

रत्नले सयौँ गीत लेखे । धेरै गायकहरुले गाए । अधिक गीतहरु चर्चित पनि छन आजसम्म । उनका ‘ओभानो सिउँदो’ र ‘रुझेका परेला’ दुई गीती सङ्ग्रह प्रकाशित छन् । उनि गीतकार मात्र थिएनन् । राम्रा कवि पनि हुन् । ‘चक्ला भरीको घाम’ र ‘ताराका काँचा रङ्ग’ दुई कविता सङ्ग्रह पनि प्रकाशित छन् । यस्तै मुक्तक तथा हाइकु पनि उनले धेरै रचेका छन् । उनको एउटा मुक्तक ः
कुल्ची हिँड हाँसी–हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो ।

धेरै सम्मान तथा पुरस्कारहरुबाट अभिन्नदित भए । श्रोताको धेरै नै माया पाए । र सधै प्रेम पाइरहनेछन् उनका कालजायी गीतहरुले । स्रष्टा अमर नै रहन्छ भौतिक शरिर मरेर गएपनि ।

थाहा छ तिमी कहिल्यै आउँदैनौ अब आँखा जुधाउन, तर पनि भन्न मन लाग्छ तिमीसँगै आँखा जुधिरहोस् तिम्रा अमर सृजनाहरु मार्फत युगयुगसम्म । भावपूर्ण श्रद्धाञ्जी महान् स्रष्टा रत्न तिमीलाई ।
थापाकै कवितांश ः

नियालेर प्रतिविम्ब बैँश
निलो पोखरीमा
फुटी रहेछ
ढुङ्गाको काईमा चिप्लेर ।

सन्दर्भ श्रोत :

https://www.lokaantar.com/story/3034/2017/11/6/LIqxdRwk15

https://pahilopost.com/content/20200528151155.html

http://kavitakosh.org/kk/%E0%A4%B0%E0%A4%A4%E0%A5%8D%E0%A4%A8_%E0%A4%B6%E0%A4%AE%E0%A4%B6%E0%A5%87%E0%A4%B0_%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BEhttps://www.onlinekhabar.com/2020/05/868317

https://baahrakhari.com/feed-detail.php?nid=263345

https://www.setopati.com/social/207518

http://sahityasangraha.com/2013/09/10/%E0%A4%B0%E0%A4%A4%E0%A5%8D%E2%80%8D%E0%A4%A8-%E0%A4%B6%E0%A4%AE%E0%A4%B6%E0%A5%87%E0%A4%B0-%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4/

https://sahityasangraha.com/2016/02/01/%e0%a4%b5%e0%a5%88%e0%a4%82%e0%a4%b6-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a5%80-%e0%a4%b0%e0%a4%b9%e0%a5%87%e0%a4%9b-%e0%a4%a2%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be/

 

 

Featured News

Advertisement