बिहीबार ६, बैशाख २०८१ Thu,18 Apr 2024

सर्वाधिकार सुरक्षित

तुलसीलाई किताब व्यापारले दिएको सफलता



03:38 आईतवार १८ , जेष्ठ २०७७
  • आलोक खनाल


प्रदेश नम्वर एकको सुन्दर शहर धनकुटा आफ्नो काखमा शान्त, सौम्य र शितल तमोरको स्वच्छता सिन्चन गरेर उभिएको पहाडी थुम्को हो । ऐतिहासिक रुपमै धनकुटाले पुर्वको आर्थिक, सामाजिक , शैक्षिक र प्रशासनिक क्षेत्र लाई समेत आफ्नो कर्तव्यका रुपमा राखेको छ । यो पुर्वका भोजपुर , संखुवासभा , तेह्रथुम संग प्रत्यक्ष रुपमा व्यापारिक सम्वन्ध राख्ने क्षेत्रका रुपमा परिचित छ नै । यही ठाउँमा न धेरै होचो , न धेरै अग्लो चौडा छाति , हसिँलो अनुहार भएका एक व्यक्ति छन् तुलसी बाराकोटी ।
वि.सं. २०३० सालमा तेह्रथुम जिल्लामा बुवा खड्ग प्रसाद बाराकोटी र आमा लक्षिमा बाराकोटीका माहिला सन्तानका रुपमा जन्मिए । उनको बाल्यकाल आफ्ना छ जना दाजुभाइ संग खेल्दै जिस्कंदै वित्यो । औपचारिक शिक्षाका रुपमा आइए गरेका उनले वि.सं. २०५२ सालमा खानेपानी संस्थानमा जागिरे जीवनमा प्रवेश गरे । त्यसवेला उनको मासिक तलव सात सय मात्र थियो । यो समय उनले आफ्नो वैवाहिक जीवनको सुरुवात कमला चौंलागार्इं संग गरिसकेका थिए । जागिरे जीवनले आफ्ना चाहना त सवै पुरा गर्न गाह्रो थियो श्रीमती अनि दुई छोरी प्रज्ञा र विज्ञाका चाहनाहरु त सपनै सपनाको चाङ जस्तो लाग्थ्यो । बाराकोटी त्यो समय संझन्छन् अनि टोलाउँछन् । तर आजको दिन त्योे अवस्था छैन ताकि चाहना पुरा गर्नकै लागि सिमित तलवको आसामा बस्नु परोस् । उनले वि.सं.२०५३ सालमा खानेपानी संस्थानको जागिर राजिनामा दिए र आठराई पुस्तक पसल धनकुटामा स्थापना गरे । त्यसवेला उनको लगानी मात्रै पचहत्तर हजार थियो ।
उनी आफ्नो व्यवसायिक जीवनको सफलताको पछाडी गर्वका साथ भन्छन् “ यो मेरो मात्र एक्लो प्रयास होईन । कमला विहानै उठ्छिन् । पुजा गर्छिन् र मेरो निधारमा टपक्क टीका लगाईदिन्छिन् । अनि प्रार्थना गर्छिन् , व्यवसायिक सफलताका लागि । उनी व्यवसायका लागि अहोरात्र काम गर्छिन् । छोरीहरु केटाकेटी हुँदा पनि उनले पसलको कामलाई आफ्नो कर्तव्यबाट पन्छाईनन् । यसको सफलता नै आजको उपलव्धि हो ।” अहिले आठराई पव्लिकेसनको भोजपुर संखुवासभा तेह्रथुम हेर्ने डिलर उनैले सन्चालन गरेका छन् । उनको पसलमा एउटा वेरोजगार युवाले आफ्नो भविस्य बोकेर वसिरहेको समान्यज्ञान देख्छन् । उनी लोकसेवाका कितावहरु विक्रि गर्छन् । एउटी आमा डोकाभरी सुन्तला वेचेर फर्किएपछि नानीहरुलाई ठूलो मान्छे धनकुटा क्षेत्रिय कार्यालयका हाकिम बनाउने सपना किन्न सक्छन् । दिनभर किताव कपि र पेन्सिल बेचिरहेका भेटिन्छन् बाराकोटी दम्पति ।
अचेल बाराकोटी किताव मात्रै वेच्दैनन् । विहानको नित्यकर्म पछि उनी नजिकैको योगा केन्द्रमा योगा गुरु बन्न पुग्छन् । कुनै समय जागिरमा गएका उनी जागिरेहरुकै गुरु बनेको कुरा गर्वका साथ भन्छन् “ म संग योगा सिक्न अधिकृतहरु आउनुहुन्छ । सरकारी कर्मचारी , बुढा बा आमा , समवयी सवैसंग बसेर योगा गरिरहँदा आनन्द लाग्छ । जीवनमा खुसि भनेकै यही त रहेछ । कुनै दिन जागिरे जीवनमा तलवले सुरुवुरु जीन्दगी चलाएको आज उनै जागिरेहरुसंग कुम जोडेर हिँड्न पाएको छु । अहिले त म पनि आर्थिक , सामाजिक हिसावले सक्षम रहेंछु भन्ने लाग्छ ।”
तर यतिवेला बाराकोटीलाई आफ्नो व्यवसायिक जीवनको सफलता एकातर्फ छ भने अर्कातर्फ धनकुटामा तुलनात्मक रुपमा व्यवसाय बढ्न नसक्ने अवस्था दिनानुदिन बढेको महसुस हुन्छ । यसको कारण हो पहिले संखुवासभा , भोजपुर , तेह्रथुमका विद्यार्थीको अध्ययनको मुख्य केन्द्र धनकुटा थियो । यी जिल्लाबाट धनकुटा बसाईं सरेर आउनेहरु धेरै थिए । आजको दिनमा धनकुटाले बसाईं सरेर आउनेहरुलाई धनकुटामा राख्न सकेन । यहाँको शैक्षिक स्तरका तुलनामा उच्च शिक्षा हासिल गर्ने ठाउँ काठमाण्डौ र तराईका जिल्लाहरु भए । हिजोका दिनमा सयौं विद्यार्थीहरु भएका कलेजले थोरै विद्यार्थी पढाईरहेका छन् । उनी भन्छन् “ अर्को कारण हो बैदेशिक रोजगारी । पढ्ने उमेर भएका युवाहरु प्राय विदेशमा छन् । यसले जीवनस्तर त बढायो तर पुस्तकको पाठक घटायो । ” बाराकोटी लाई यो पनि लाग्छ हामीले आफ्नो मुल्यवान समय सामाजिक सन्जाललाई दिइरहेका छौँ । प्रविधिको गलत प्रयोगका कारण हाम्रो पठन संस्कृतिमा गिरावट आएको छ । उनको चाहना छ नेपाल सरकार , धनकुटा नगरपालिका , स्थानीय नागरिक स्वयंको प्रयास भएमा यो गिरावट र पुस्तक प्रतिको लगाव बढ्ने थियो अवस्य नै ।
एक सफल पुस्तक व्यवसायी भएका नाताले मात्र नभई उनले आफ्नो अन्तरहृदय बाटै भनिरहेका छन्, यदी समाजलाई चिन्तनशील र चेतनशील बनाउने हो भने पहिले समाजमा किताव पढाउनु पर्छ । चाहे पाठक औपचारिक शिक्षा लिंदै गरेको होस् वा त साक्षर मात्रै किन नहोस् । बिषेश गरी औपचारिक शिक्षा पद्धतीका पुस्तकहरु बेचिरहेका उनी भन्छन् “ यो हाम्रो निरन्तर आय दिने व्यापार हो । आख्यानको बजारलाई फिल्मले प्रतिस्थापन गरेको छ । कविता संग्रहका लागि युटुवमा धेरै कविताहरु भ्ेटिन्छन् । निबन्ध मान्छेले विरलै पढ्छन् । तथापि यो आग्रह छ कि एकपटक प्रत्येक नागरिकले फर्किएर पुस्तक संग सहकार्य गर्नु आवस्यक छ ।”
अन्त्यमा बाराकोटी भन्छन् “म कुनै समय नोकरी गर्थेँ । नोकरी केही सिप चलेन भने गर्ने चिज रहेछ । यसपछि पुस्तक व्यवसायमा आएँ । अहिले यसलाई सफल बनाउन एक किसिमको दुख त गर्नु प¥यो तर यहाँ हरेक मेहनतको पसिना आफ्नो पुँजी बन्छ । नेपाली युवा जसले वैदेशिक रोजगारीमा नजाँदा पनि हुन्छ उहाँहरुले नेपालमै कुनै व्यवसाय गर्नु भए हुन्छ । जो जानु भएको छ उहाँहरुले स्वदेश फर्किएपछि व्यवसायमा हात हाल्नु भए हामी आफु त स्वतन्त्र हुने थियौँ नै देश पनि सक्षम आर्थिक विकासको आधार सिर्जना गरेर आत्मनिर्भर बन्ने थियो ।”

 

Featured News

Advertisement