बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

पुष्पलाल, वहाँको योगदान र अपुरो सपना



05:46 बुधबार ७ , श्रावण २०७७
  • रामप्रसाद खरेल

वि.सं. २०३२ सालमा पुष्पलाललाई हट्याटक भयो । त्योवेला पार्टीको कामको लागि भारतको दरभंगा जानुभएको थियो । वहाँका साथमा हुनुहुन्थ्यो गोविन्द ज्ञवाली । वहाँको बँसाई दरभंगा मेडिकल कलेजमै बिएन सिंहको क्वार्टरमा थियो । यसैकारण तत्काल उपचार सम्भव भयो । बिएन पुष्पलालको घनिष्ठ मित्र रहनुभएको थियो ।
डाक्टरले एकदमै सजग रहने सल्लाह दिएको भएपनि पुष्पलाल पार्टीको संगठन विस्तार, प्रशिक्षण र प्रचारमा सक्रिय रुपमा लागि रहनुभयो ।
२०३५ मा फेरि हर्टयाटक भयो । ज्ञवालीका अनुसार दरभंगामा उपचार हुन सम्भव नभएपछि त्यहाँबाट बिएनकै सहयोगमा दिल्लीको गोविन्द वल्लभ अस्पताल लगियो । तर त्यहाँपनि उपचार सम्भव भएन् । अन्नत २०३५ साल साउन ७ गते वहाँको मृत्यू भयो ।
जिवीत रहदा आफ्नै सहकर्मीहरुबाट अपहेलाना र षडयन्त्रमा पर्नुभएका पुष्पलालको हरेक बर्ष स्मृति दिवस मनाउँन थालियो । एउटा आदर्शको रुपमा वहाँको योगदान रहिरह्यो र त्यो सधै रहन्छ । किनभने पुष्पलाल हुन नेपालमा कम्युनिष्ठ आन्दोलनको शुरुवात गर्ने व्यक्ति । वहाँले नै सहकर्मीहरुलाई एकजुट गराई वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो ।
नेपालको इतिहास सही तरिकाले नलेखिएको पुष्पलालको ठहर थियो । वास्तविकता नलेखिएको र सत्यथ्यलाई तोडमोड गरी समाजिक चरित्र तथा बनोटको अपव्याख्य गरिएको भन्ने वहाँको तर्क थियो । यसलाई आफैँ पुरा गर्ने एउटा अठोट थियो । बर्षौ त्यसको लागि अध्ययनमा जुट्नु भएको थियो । ‘नेपाली इतिहासको सर्वेक्षण’ नामक किताबमा नेपाली इतिहासको पुर्नव्याख्य गर्ने जुन धोको थियो त्यो पुरा भएन् । वहाँका सबभन्दा निकटका गोविन्द ज्ञवालीले यसलाई पुष्पलालको पुरा हुन नसकेको सपना भन्ने नाम दिनुभएको छ ।
दरभंगामा पुष्पलाललाई हट्याटक मात्र भएन त्यसै ठाउँबाट नेपाल कम्युनिष्ट पार्टीमा विभाजनको चर्को रेखा पनि कोरियो । दरभंगा प्लेनम इतिहासमा चर्चित छ ।
पुष्पलाल धेरै नै राजनैतिक चेतनाले भरिएका व्यक्ति हो । १७ बर्षको उमेरदेखि नै वहाँ राजनीतिमा सक्रिय रहनुभएको देखिन्छ । २४ बर्षकै उमेरमा आफ्नो विचार सहित विश्व कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपाली भाषामा रुपान्तरण गर्नुभयो । यसैको आधारमा एकबर्ष पछि नेकपा गठन भयो र त्यसको संस्थापक महासचिव हुनुभयो वहाँ ।
वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको हो । राजनैतिक जीवनको शुरुवात वहाँका दाजु सहिद गंगालाललाई राणाले फासी दिएपछि मजबुत रुपमा भएको हो । पहिले कांग्रेस पार्टीबाट राजनीति शुरु गरेपनि केही समयमा नै वहाँ के निष्कर्षमा पुग्नुभयो भने कांग्रेसले जनताको मुक्तिका लागि काम गर्न सक्तैन् ।
पार्टीमा व्यक्ति होइन बिचार प्रधान हुन्छ भन्ने वहाँको मुल सुत्र हो ।
पुष्पलाललाई गद्धारको उपमा समेत दिए सहकर्मीहरुले नै । २०१६ सालमा गद्धार पुष्पलाल भन्ने पुस्तक समेत प्रकाशन गरियो । तर पछि त्यो भन्नु गल्ती रहेछ भनेर स्विकार गरिसकिएकोले पुष्पलाल सही रहेछन् भन्ने पूनपुष्टी भयो । अन्याय पुर्वक पार्टीबाट समेत किनाराकृत गरियो त्योबेला । यसबाट हामीले के बुझ्नुपर्छ भने कसैको योगदानको तोडमोड र अपव्याख्य गरियो भने इतिहासले कसैलाई छुट दिदैन् ।
नेपाली राजनीतिमा दुइवटा जनआन्दोलन भए पहिलो २०४६ र दोस्रो २०६२÷६३ मा । यी दुई वटै आन्दोलनको अगुवाई भने नेपाली कांग्रेसले गर्ने मौका पायो । यसको अर्थ यो होइन कि कांग्रेसका कारण जनआन्दोलन भएको थियो । कांग्रेस नेतृत्वलाई कम्युनिष्ट पार्टीहरुले नै अघि सारेका थिए । त्यसका पछि अनेक कारणहरु छन् । पुष्पलालले २०२५ सालमै ‘संयुक्त आन्दोलनको कार्यदिशा’ अघि सारेका सार्नुभएको थियो । त्योवेला वीपी कोइरालाले सहकार्य नगर्दा सफल भएको थिएन् । तर वीपीको अंहमलाई गणेशमान सिंहले २०४६ सालमा भत्काइदिनुभयो र पुष्पलालको जनआन्दोलनको कार्यदिशा लागु भयो ।
प्रजातन्त्रिक शक्तिसँग सहकार्य गरेरमात्र नेपालमा गणतन्त्र ल्याउँन सकिन्छ भन्ने पुष्पलालको अवधारण त्यो समय गलत मानियो तर २०६३ आएर सही रहेछ भन्ने प्रमाणित भयो ।
यसरी बिचारको कोणबाट हेर्दा आजपनि पुष्पलालकै बिचार नेपाली राजनीतिमा लागु भइरहेको छ ।
ज्ञान र दर्शनमा उच्च चेतना नै भएको मान्न सकिन्छ पुष्पलाललाई । होइनभने त्यो वेला नेपालमा कम्युनिष्ट आन्दोलनको शुरुवात हुनेथिएन् । साधरण एकदम गरिब परिवारमा हुर्किएका उहाँ भौतिक सुविधाप्रति आकर्षित भएको पाइएन् । फेरि के पनि सत्य हो भने वहाँले कम्युनिष्ट आन्दोलनलाई एक ढिका वनाएर लैजान भने सफल हुनु भएन् ।
पार्टी फुटको आरोप पनि पुष्पलाललाई लाग्ने गरेको छ । दरभंगा प्लेनमा पार्टी त फुटेन तर फुटको जग त्यही वसेको भन्ने तर्कहरु छदैछन् । इश्वरी ज्ञावली लेख्नुहुन्छ – “दरभंगा प्लेनमपछि पुष्पलाल केन्द्रीय कमिटीका मिटिङमा उपस्थित नहुने, पोलिटब्युरोका बैठकहरूमा नबस्ने र छुट्टै रूपमा समानान्तर कमिटीहरू बनाएर हिँड्ने गर्न थाले । खास गरी पुष्पलाल दरभंगा प्लेनमलाई प्रयोग गरेरै पार्टी टुक्र्याउन चाहन्थे तर त्यहाँ असफल भएपछि अर्को बाटो अख्तियार गरेका हुन् । जोनल कमिटीहरूको अन्तर जोनल कमिटी बनाएर समानान्तर पार्टी चलाउने प्रयास पनि उनले यसबीचमा गरे। तर, त्यसको आफ्नै समूहभित्रबाट पनि कटु आलोचना भयो। डीपी अधिकारी र शम्भुराम श्रेष्ठका तर्फबाट सर्कुलर जारी गरेर पुष्पलाललाई यस्ता कुरामा सचेत पार्ने र नसच्चिए कारबाही गर्नेर्सम्मका चेतावनी दिनुप¥यो ।

तर, पुष्पलाल सच्चिएनन् । उनले ०१९ सालमा पुग्दा नपुग्दै पार्टीलाई संगठित गर्ने नाममा आफूइतरका सबैलाई कारबाही गरेर बनारसमा तेस्रो महाधिवेशन गरे र पार्टीलाई विधिवत् रूपमा विभाजनको तहमा पु¥याए । त्यसमा उनलाई सघाउनेमा तुलसीलाल, हिक्मतसिंह त थिए नै, भरतमोहन अधिकारी, भरतराज जोशी, पुण्यप्रताप रानाहरूको पनि भरपूर सहयोग रह्यो। तर, त्यही महाधिवेशनमा पनि पुष्पलालले प्रस्तुत गरेको संसद् पुनःस्थापनाको मौखिक प्रस्ताव हलले अस्वीकार गरिदियो। तुलसीलालको राजनीतिक प्रस्ताव सर्वसम्मतले पारति भयो र उनी नै विधिवत् रूपमा महासचिवमा निर्वाचित भए । पार्टी पुष्पलालले फुटाए, नेताचाहिँ तुलसीलाल भए ।”
यही विन्दुबाट पुष्पलाल किनारीकृत हुन थाल्नुभयो ।
नेपालका प्रथम मेयर जनकमान श्रेष्ठका अनुसार वि.सं. २००२ सालमा नेपालमा पहिलो पटक भएको जनताको जुलुसको नेतृत्व पनि पुष्पलालले गर्नुभएको थियो । वहाँकै निर्देशनमा २०११ साल फागुन ११ गते नेपाल–चीन मैत्री संघको गठन गरियो । संघको पहिलो अध्यक्ष पूर्णबहादुर एमए हुनुभयो ।
एक बिचार तथा संगठकलाई उसको योगदान कति छ भनेर हेर्न यी दुवैतर्फको योगदानलाई पनि हेर्नुपर्ने हुन्छ । पुष्पलालका सबै पाटा र योगदानलाई यो एउटा छोटो लेखमा समेटन सकिदैन् । तर पनि संक्षेपमा केही कुरा बुँदागत रुपमा राखेको छु ।
वैचारिक योगदान :
१) कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद र प्रकाशन
२) नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चाको लेखन तथा प्रकाशन
३) नेपाली समाजलाई भौतिकवादी दृष्टिकोणबाट व्याख्य
४) जनवादका निम्ति नेपाली जनताको बाटो कार्यपत्र
५) नेपालमा नौलो जनवादी क्रान्तीको परिकल्पनाकार
६) जनआन्दोलनको कार्यदिशा
७) थुप्रै लखरचना र वैचारिक पुस्तक लेखन

साङ्ठनिक योगदान :
१) वि.सं. १९९८ मा नेपाल प्रजातन्त्र संघको स्थापना । त्यसको पहलो कार्यालय सचिव
२) वि.सं. १९९९ मा अखिल नेपाल वर्ग सभाको गठन । यसमा पुष्पलालको सक्रियता । यही संस्थाले नेपालमा औपचारिक रुपमा गणतन्त्रको माग अघि सारेको थियो ।
३) वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना । यसमा नरबहादुर कर्माचार्या, नारायणविलास जोशी, निरञ्जन गोविन्द बैध र मोतिदेवी श्रेष्ठ पनि रहनुभएको थियो ।
४) जनवर्गिय संगठन निमार्णको शुरुवात र पार्टी संगठनको विस्तारमा महत्पूर्ण कार्यको शुरुवात ।

नेपाल कम्युनिष्ट पार्टीको बिडम्बना नै भन्नुपर्छ बाँचुञ्जेल गाली, धोका, विश्वासघात र आरोपप्रत्यारोप मरेपछि गुनगान । पुष्पलालको बिषयमा पनि हुनुपर्ने जति खोज, विश्लेषण र योगदानको उचित मूल्याङ्कन भएको छैन् । वहाँप्रति धेरै कुरा औपचारिकतामा मात्र सिमित राखिएको छ । उदारहणको रुपमा मदन भण्डारी र मनमोहनको बिषयमा विश्व विधालयदेखि साहित्यिक प्रतिष्ठान र बाटोघाटोको नामकरण समेत गरिएको छ । तर पुष्पलालको बिषयमा यस्ता काम गर्न कुनै आवश्यकता ठानिएको छैन् ।
पुष्पलाललाई नयाँ तरिकाबाट बुझ्न हरेका कोणप्रतिकोणबाट विश्लेषण गर्नुपर्छ र निष्कर्ष निकाल्नुपर्छ । यो हुन नसक्नुको कारण पुष्पलालले भन्नुभएजस्तै नेपाली इतिहास लेखनको दोष हो । हामी अति परम्परावादी ढङ्गमा इतिहास लेखिरहेका छौँ ।
पुष्पलालको अधुरो सपना नै नेपाली समाजको पूर्नव्याख्य र नेपाली इतिहासको सर्वेक्षण हो । यो काम वहाँले साहना प्रधानलाई जिम्मा लगाउँनुभएको थियो । त्यो वहाँबाट पूरा हुन सकेन । अबको नयाँ पिडीले वहाँको सपना पूरा गर्नुपर्छ त्यो नै सँच्चा श्रद्धाञ्जली हुनेछ ।
पुष्पलालको ‘लाल’ लाई फिका हुन नदिने जिम्मा युगले अब नयाँ पुस्तालाई सुम्पेको छ ।

सन्दर्भ स्रोत :
क) पुष्पलालको पूरा हुन नसकेको त्यो अन्तिम इच्छा
गोविन्द ज्ञवाली
साउन ७, २०७४, नयाँ पत्रिका
ख) फुटको कारण पुष्पलाल
ईश्वरी ज्ञवाली
श्रावण १८, २०७१ आइतबार, नेपाल साप्ताहिक
ग) नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष व्यक्तित्व पुष्पलाल
घनेन्द्र ओझा
श्रावण ७, २०७४, थाहा खबर डटकम
घ) पुष्पलालले राजा महेन्द्रलाई भेट्न मान्नुभएन
जनकमान श्रेष्ठ
२३ जुलाई २०१८, नयाँपेज डटकम
ङ) कम्युनिष्ट आन्दोलनमा पुष्पलालका २१ योगदान
झलनाथ खनाल
२० जुन २०२०, लोकपाटी डटकम

 

Featured News

Advertisement