कोरानाले भत्काउँदै गरेको समाजिक सद्भाव र सचेत नागरिकको दायित्व



शनिबार ६ , भाद्र २०७७

नविन लामिछाने

मृत्यू प्रकृतिको सामन्य नियम हो, तर यो अप्रिय नै हुन्छ । केही महिनादेखि हामी हरेक क्षण कोरोना भाईरसबाट सङ्क्रमितहरुको मृत्युको खबर सुन्न बाध्य छौ । शुरुको अवस्थामा चीन, इटाली र अमेरिकामा भएका मृत्यूको खबर मात्र सुन्थ्यौँ । तर यतिवेला नेपाल पनि कोरोनाबाट आक्रन्त भइसकेको छ । उचित प्रकारका क्वारेन्टिन, आइसोलेसन र भेन्टीलेटरहरु हामीसँग आवश्यक मात्रामा छैनन् ।
नेपालमा २०७७ भदौँ ५ गतेको तथ्याङ्क अनुसार ३० हजार ४ सय ८३ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । १ सय ३७ जनाको मृत्यू भइसकेको छ ।
विश्व नै कोरोना भाईरस विरुद्ध लडाई लडिरहेको छ । साधन र स्रोत सम्पन्न मुलुकहरु पनि हालसम्म कोरोनालाई परास्त गर्न सफल भइसकेका छैनन् । रसियाले खोप बनाएर परिक्षणको रुपमा प्रयोग गर्न थालेको छ । अन्य देशहरु पनि खोप तथा औषधी निमार्णमा लागि परेका छन् । आशा गरौँ वैज्ञानिकहरुको प्रयास सफल हुनेछ ।
हाम्रो समाजमा एउटा भनाइ छ् – “मुर्खदेखि दैव पनि डराउँछ ।” 
भाईरसले आफ्नो रुप बदलिरहन्छ् । जति फैलियो त्यति नै खतरनाक बन्दै जान्छ । थाहा छैन भोलि कुन रुप लिन्छ । अहिलेको परिस्थितिमा हामीले सावधानि अपनाउने हो । 
हाम्रो देशमा साधनस्रोतको कमी छ । कम स्रोतसाधनकै कारण कोरोना भाईरस विरुद्धको यो लडाई हामी जित्न सक्दैनौ भन्ने तर्क उचित नहुन सक्छ । भएका साधनस्रोतलाई उचित प्रयोग गर्दै, क्रमश थप व्यबस्थापन गर्दै जानु हाम्रो आवश्यकता हो । 
कोरोनालाई अति नै डरको रुपमा पनि लिनुहुँदैन । तर केयरलेस पनि गर्नु हुँदैन ।
पहिला जति डर थियो, आज दोब्बर भएको छ । कोरोना भाईरसको सङ्क्रमण भन्दा पनि यसबाट सिर्जना भएको आतङ्कले समाज ग्रस्त भएको छ । सबैलाई थाहा छ यो आतङ्क तुरुन्तै हट्नेवाला छैन । भ्रम नहोस्, कतिपय चिकित्सकहरुले कोरोनालाई डरको व्यापार हो भन्न थालेका छ्न । तर भरपर्दो वैज्ञनिक आधार नभै कोरोना भाईरसलाई नजान्दाज गर्न मिल्दैन । 
कोरोना भाइरसको सङ्क्रमण र यसबाट भइरहेको मृत्यूको सन्दर्भमा केही अन्य सङ्क्रमण र मृत्यूको तथ्याङ्कलाई पनि जानिराखौँ ।
१) एचआईभीको संक्रमण एकपटक भएपछि जीवनभर रहन्छ । ठ्याक्कै उपचार छैन । प्रतिरोध क्षमता बिकास गर्न र भाईरसको प्रभाव कम गर्न विभिन्न उपायहरु अपनाईन्छ । 
२) क्षयरोय भयो भने लामो समय सम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । जसवाट नेपालमा मात्रै प्रतिबर्ष ५ देखि ७ हजार मानिसहरु मर्दछ्न । लगभग ५० हजार नयाँ रोगिहरु प्रतिबर्ष देखापर्दछ्न । आज भन्दा लगभग ४०÷५० बर्ष अगाडि क्षयरोगीलाई गरिने व्यवहार र अहिले कोरोना संक्रमितहरुलाई गरिने व्यवहार उस्तै रहेको बुढापाकाहरुको अनुभव छ । 
३) कुष्ठरोगीलाई गरिने व्यवहार र भेदभाव हामिले देखे सुनेकै हो । तर अहिले परिस्थिति बदलिएको छ ।
४) उच्च रक्तचाप, मधुमेह, दम, मृगौलाको समस्या रोगहरु एकपटक भएपछी जीवनभर रहिरहन्छ्न । यिनको उपचारको लागि जीवनभर नै औषधि सेवन र सावधानी अपनाउनुपर्दछ । खानपान, औषधि सेवन र नियमित चेकजाँच गरिएन भने जुनसुकै बेलापनि ज्यान जाने जोखिम रहिरहन्छ ।
५) क्यान्सर, मुटुरोग र कतिपय शल्यक्रिया गरेका व्यक्तिहरु आफूलाई सधै निगरानी र स्वस्थ्य व्यवहारमा राख्नै पर्दछ ।
कोरोनामा भने, 
१) कोरोना भाईरसको संक्रमणबाट बँच्न अपनाउनु पर्ने उपायहरु माथिका रोग जस्तो जटिल छैनन । 
२) कोरोना हाम्रो शरीरमा सधै रहदैन । लक्षण नभएको केशमा २ हप्ता र लक्षण भएको अबस्थामा धेरैजसो ३ हप्तामा हराएर जान्छ ।
३) जब मानिसहरुले जीवनभर औषधि र सावधानी अपनाउन सक्छ्न भने, २ हप्ता आईसोलेसन बस्ने कुरा तुलानात्मक रुपमा सामन्य नै हो ।
४) कोरोना भाईरसबाट सावधानि चै नअपनाउने अनि संक्रमणको जोखिमदेखि डराएर अरु सन्क्रमितलाई घृणा र भेदभाव गर्नु राम्रो होईन । 
५) अहिले कोरोना भाईरस हाम्रो देशमा बढिरहेको अबस्थामा सरकारले जारी गरेको निषेधाज्ञाको पालना गर्नु र sms विधि अपनाउनु नै यसको सर्बोत्तम उपाय हो ।
६) अहिलेको मुख्य रणनीति भनेको नै संक्रमण भैसकेकालाई आईसोलेसन र उपचार अनि स्वस्थ्य मानिसहरुलाई कुनै पनि माध्यमबाट हुनसक्ने संक्रमणलाई रोक्न नै हो ।
कोरोना सङ्क्रमणका केही भ्रम वास्तविकता । 
आइसोलेसनबाट निको भएर आएका व्यक्तिहरुलाई समाजले बहिष्कार गरेका समाचारहरु आइरहेका छन् । समाजमा फैलन सक्छ भन्ने एउटा भ्रम देखियो । यस्तो हुँदैन् । सङ्क्रमितहरु अभियुक्त होईनन । उनिहरुलाई अपहेलना गर्न मिल्दैन् ।
समुदायमा फैलिसकेकै पनि हुनसक्छ । आफूलाई सक्दो सुरक्षामा राख्नुपर्छ । अरुले सार्ला कि भनेर शंका र गाली गर्नु सावधानिको उपाया होइन ।
“कहाँ बाट सर्यो ? फलानाले सारीदियो ? किन सार्यो ? किन घुम्यो ?” भन्ने जस्ता अनावश्यक प्रश्नहरुले सङ्क्रमितको मानसिक अबस्था के होला ? हामीले सोच्ने बिषय हो । अपवाद बाहेक  हरेक व्यक्तिलाई आफूलाई भइहाले पनि आफ्नो घरपरिवार, साथिभाई र समाजमा नसरोस भन्ने नै चाहना हुन्छ । जानी जानी कसैले सार्दैन भन्ने कुरा समाजले बुझ्न आवश्यक छ ।
आईसोलेसन र क्वारेन्टिन्लाई घर परिवार, समाजलाई संक्रमण नसरोस भन्न आफूले गरेको एउटा महान कार्य सम्झनुहोस पर्छ । यो  कुनै घेराबन्दि वा दवाव होइन ।
छिमेकीलाई वा टोलमा कसैलाई सङ्क्रमण हुँदैमा गाउँनै सङ्क्रमित हुने होइन । यस्तो भ्रममा पर्नुहुँदैन् । सङ्क्रमित हिडेकै बाटो हिड्दा तपाइलाई कोरोना सर्दैन । तर सुरक्षित व्यवहार भने गर्नुपर्दछ ।
भेटघाट र यात्र कम गर्नुपछ ।  गर्नै परे सावधानी अपनाएर मात्र गर्नुपर्छ । सङ्क्रमण भएमा तपाइले कोरोनाको भन्दा धेर समाजको अपहेलित व्यवहारको दवाव धेर झेल्नुपर्ने हुन्छ ।
अब क्रमशः कोरोनासँगै जीवन जिउन सिक्नुपर्ने देखिन्छ ।
sms सामाजिक दुरी, मास्क र स्यानिटाईजेसनलाई जहाँ जहिले पनि पालना गर्नुभन्दा अर्को विकल्प अहिलेसम्म छैन् ।
सद्भावपूर्ण व्यवहार अपेक्षित छ अहिले सङ्क्रमितहरुका लागि । सङ्क्रमण जसलाई पनि हुनसक्छ । 
कोरोनाले हाम्रो सामाजिक सद्भाव र प्रेमलाई भत्काउँदै लगेको देखिन्छ । तर हामी सचेत नागरिकहरुले समाजलाई बुझाउँन आवश्यक छ कि कोरोनाबाट सङ्क्रमित व्यक्तिलाई अझ प्रेम दिनुपर्छ ताकि उसले चाँडै भाइरसलाई जित्न सकोस ।
सचेतना, स्वयम सुरक्षा, स्वलकडाउन, व्ययाम, प्रणायम, ध्यान, स्वस्थ्य खाना र सकारात्मक सोच नै कोरोनाबाट बच्ने भरपर्दो उपाया हो अहिलेसम्मको अवस्थामा । अरुलाई दोष दिनुभन्दा आफूलाई जिम्मेवार वनाऔँ ।

(पूर्वाञ्चल विश्व विधालयमा कार्यरत लेखक नविन लामिछाने जनस्थास्थ्य विज्ञ हुनुहुन्छ ।)
 

Featured News

Advertisement