राजनीति परिवर्तनका लागि हो जीवनभर त्यहीँ रहिरहन होइन ; लगानी र जोखिम कम भएका कारण कृषि रोजेको हुँ



शनिबार १० , आश्विन २०७७

राजनीति सबैभन्दा आकर्षक मानिन्छ तर त्यस्तो आकर्षण सेवा हो कि पेसा मानेर हो भन्ने चाहिँ नबुझिने छ । राजनीतिलाई सेवाभन्दा पेसा बनाउँदा समस्या चाहिँ देखिन थालेको छ । यसै मेसोमा तीन दशकभन्दा लामो सक्रिय राजनीति गर्नुभएका लोकेन्द्र विष्टमगर चाहिँ राजनीति चटक्कै छाडेर अहिले कृषि पेसामा चुर्लुम्मै डुब्नुुभएको छ । युद्ध पृष्ठभूमिको राजनीतिबाट दुईपटक मन्त्री (स्वास्थ्य र पर्यटन)समेत बन्नुभएका उहाँ अहिले तुलसीपुर उपमहानगरपालिका–१८, मैरवामा ६४ कट्ठा जग्गा लिजमा लिएर ड्रागन फल र कालोधान खेतीमा भेटिनुहुन्छ । उहाँको नै ड्रागन फल खेती पहिलो होइन तर यसअघिका खेती पनि उहाँको खेतीपछि चर्चामा आउन थालेका छन् । अर्थात् उहाँ नवकृषिमा पनि चर्चामा आउन थाल्नुभएको छ । उहाँको दिनचर्या विल्कुलै भिन्न र राजनीतिक जीवनभन्दा धेरै प्रशंसनीय बन्दै गएको छ । प्रस्तुत छ, त्यसैबाट सफल र उदाहरणीय व्यावसायिक किसान बन्नु भएका लोकेन्द्र विष्टसँग गोकर्ण पौडेलले गरेको पृथक वार्ता :

राजनीतिबाट कृषिमा नै आउनुको कारण के हो ?
राजनीति परिवर्तनका लागि हो जीवनभर त्यहीँ रहिरहन होइन । त्यो लक्ष्य केही हदसम्म पूरा भएपछि यता आएको हुँ । अन्य क्षेत्रभन्दा कृषिमा लगानी र जोखिम पनि कम भएका कारण कृषि रोजेको हुँ ।

कृषिमा पनि ड्रागन र कालोधानलाई नै किन रोज्नुभयो ?
नेपाली किसानलाई केही नयाँपन दिन नयाँ खेतीमा लागेको हुँ । यी दुवैको बजार मूल्य उच्च छ र यी दुवैमा औषधीय गुण छ । त्यसकारण ड्रागन र कालोधानको खेतीमा जोड दिएको हुँ ।

यसबारे पहिले अध्ययन गर्नुभएको थियो ?
हो, दुवैबारे मैले अध्ययन गरेको थिएँ । अध्ययन मात्र होइन, यस क्षेत्रमा फलाउन सकिन्छ वा सकिँदैन भनेर केही वर्ष परीक्षण खेतीसमेत गरेको थिए । परीक्षणबाट राम्रो नतिजा आएपछि मात्रै व्यावसायिक रूपमा अघि बढेको हुँ ।

व्यावसायिकतामा बजार चाहिन्छ, त्यो कस्तो छ त ?

कालोधानका लागि यो वर्ष जमिन पाउन सकिएन त्यसैले बीउका लागि मात्रै रोपेकोभन्दा पनि छरेको छु । अघिल्ला वर्षहरूमा रोपिएको हो । बजारमा कालोधानको चामलको मूल्य प्रतिकिलो चार सयदेखि पाँच सय रुपियाँसम्म रहेको छ । एक बिघा जग्गामा ६० मुरीसम्म धान फलाउन सकिन्छ ।
ड्रागन फलको मूल्य प्रतिकिलो सात सय रुपियाँ छ । यो वर्ष चौथो चरणसम्म पनि फर्मबाट नै बिक्री भइसकेको छ । अझै तीन चरणसम्म फल दिने अवस्था छ । यो वर्ष तीन हजार बिरुवाले मात्रै फल दिए अर्को वर्ष थप चार हजारबाट फल प्राप्त हुनेछ । अहिले बजारको खाँचो भएन । अब भने जिल्लाबाहिर पनि बजार खोज्नुपर्ने अवस्था आउन सक्छ ।
फल मात्रै होइन बिरुवासमेत बेच्दै हुनुहुन्छ, धेरै खेती हुँदा समस्या पर्दैन ?

यसमा किसानको आकर्षण बढेको छ । कतिपयले परीक्षणका लागि बिरुवा लैजानुभएको छ तर केही भने व्यावसायिक रूपले नै अघि बढ्नुभएको छ । कसैले एक हजार, कसैले १५ सय त कसैले २५ सयसम्म बिरुवा लैजानुभएको छ । नयाँ भएका कारण जोखिम हुन्छ कि ? वा बजारीकरणमा समस्या पर्छ कि ? भन्ने आशङ्का पनि पाइन्छ ।

फार्मका अरू विशेषता पनि छन् ?

फार्म अध्ययन, अनुसन्धानका लागि पनि खुला छ तर कोभिड–१९ का कारण केही समस्या परेको छ । त्यसैले सामूहिक प्रवेश बन्द गरेका छौँ । दुई÷चार जनासम्म आउँदा यसको उत्पादन, बिरुवा रोप्ने, हुर्काउने विषयमा जानकारी दिँदै आएका छौँ । हालसम्म सातै प्रदेशका ४० जिल्लाबाट अध्ययन, अनुसन्धानका विद्यार्थी, किसान, राजनीतिक व्यक्ति पनि आउनुभएको छ ।

कृषिलाई समृद्विसँग जोड्न सरकारले के गर्नुपर्ला ?

भूमि बैङ्कको कुरा आएको छ, यो अत्यन्तै प्रशंसनीय छ तर व्यवहारमा कहिलेसम्म लागू हुन्छ ? भन्ने प्रश्न पनि उत्तिकै छ । राज्यका तर्फबाट किसानका लागि पाँचदेखि २५ वर्षसम्म जमिन सहुलियत दरमा लिजको व्यवस्था गरिनु पर्दछ । त्यसैगरी कृषिमा लगानीको वातावरण तयार गरिनुपर्दछ । बिनाधितो सस्तो ब्याजमा ऋण, सावाँ, ब्याज असुलीको सरल व्यवस्थाका लागि राज्यबाट त्यस्तै संयन्त्र खडा गर्ने, किसानको इच्छाअनुसार जहाँ किसान त्यहाँ प्रशिक्षण, अध्ययनको व्यवस्था गर्नेलगायतका काम गरिनुपर्दछ । सिँंचाइ सुविधा, बजारीकरण, चिस्यान केन्द्र, निर्यातजस्ता विषय पनि प्राथमिक हुन् ।

अनुदान चाहिँदैन ?

सरकारको तर्फबाट किसानलाई अनुदानको व्यवस्था छ तर नगदमा अनुदान दिँदा धन देखेपछि महादेवका तीन नेत्र भनेजस्तै लोभीपापी बढ्छन् । त्यसैले किसानलाई रकम होइन, आवश्यक पर्ने संरचना निर्माण, कृषि यन्त्र, उपकरण, मल, बीउ, लिजमा ल्याइने जग्गामा अनुदान दिने व्यवस्था गर्नुपर्दछ । नगद दिँदा दुरुपयोगको सम्भावना बलियो हुन्छ ।

तपाईं चाहिँ आफू मात्र लाग्नुभएको छ कि नयाँलाई अवसर दिँदै हुनुहुन्छ ?
विदेशबाट फर्किएका र स्वदेशमै केही गरौँ भन्ने सोच भएका युवालाई प्रोत्साहन गर्ने, अनुभव बताउने, जोखिम र फाइदाका क्षेत्र बताउँदै आएको छु । उहाँहरू आकर्षित नै हुनुहुन्छ । युवालाई हतोत्साहीभन्दा उत्साहित नै बनाउनुपर्छ ।

तपाईं कृषिमन्त्री भएको भए के कस्ता योजना ल्याउनुहुन्थ्यो ?
दुःखको कुरा म मन्त्री हुँदा आफ्नो मन्त्रालयकै बारेमा राम्रोसँग जानकारी लिन पाइनँ । स्वास्थ्यमन्त्री १३ दिन र पर्यटनमन्त्री छ महिना भइयो । बुझ्दै थिएँ, सरकार ढलिहाल्यो । यदि म कृषि मन्त्री भएको भए कृषि क्षेत्रको समृद्वि र आमूल परिवर्तनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउथेँ । जस्तो कि यसपटक किसानले समयमै मल पाएनन् । वर्षायाममा मलको बढी आवश्यक पर्छ भन्ने कुरा पहिले नै थाहा हुन्छ । चार पाँच महिनाअघि नै स्टोर गरेर राख्नका लागि संयन्त्रलाई परिचालन गर्न सकिन्थ्यो । अर्को कुरा अहिले तीन तहको सरकार छ । तीनवटै तहका सरकारको समन्वयमा गोठमल, कम्पोस्ट मल, गड्यौला मल तयार पार्न कर्मचारी संयन्त्रलाई किसानकै घरगोठमा पु¥याउने वातावरण तयार पार्ने थिएँ ।
त्यस्तै दीर्घकालीन रूपमा स्वदेशमै रायायनिक मल उत्पादनका लागि कारखाना खोल्ने वातावरण तयार पार्ने थिएँ । एउटा विज्ञ टोली बनाएर कृषि क्षेत्रको समृद्विका लागि के कस्ता काम गर्न सकिन्छ भन्नेबारे योजना बनाएर कार्यान्वयनमा लैजाने थिएँ ।
आशा गरौँ, हामी सबैले आशा र विश्वास गरेका घनश्याम भुसालजी कृषिमन्त्री हुनुहुन्छ । उहाँले यी मेरा विचारलाई समेत मनन गरिदिनु हुनेछ ।

gorkhapatra online

Featured News

Advertisement