मीनकुमार नवोदितको कविता : यो समय



शुक्रबार १६ , आश्विन २०७७

यो समय

– मीनकुमार नवोदित

यो समय

अँध्यारोको भीरबाट हाम्फालेर

आत्महत्या गरेको छ सपनाले ।

 

मानसिक सन्तुलन गुमाएको भगवान

तरबार बोकेर निस्किएको छ सडकमा

अनि,

आस्थाको मन्दिर, गुम्बा, मस्जिद र चर्चमा

लामबद्ध फूलहरूको गरिरहेछ हत्या ।

 

निराशा बोकेर दौडिरहेको भुइँकुहिरो

बाटोबाटै भएको छ बेपत्ता

इन्द्रेणीको लौरो टेकेर वृद्ध साँझ चढिरहेछ जीवनको अन्तिम उकालो ।

 

आँसुको पोखरीभित्र

नाङ्गै पौडी खेलिरहेछ घाम

आयुको काखमा बसेर फिस्स हाँसिरहेछ मृत्यु

रातको बाढी पसेपछि सुकुम्बासी भएको छ उज्यालो ।

 

बतासको झोलाभरि खुसी बोकेर

फनफनी घुमिरहेको पृथ्वीको छातीमा

लागेको छ आतंकको डँडेलो

त्यति नै बेला–

मानवता परेको छ एम्बुसमा

सिसाझैं टुक्रा–टुक्रा भएको छ संवेदना

बौलाएर ताराहरूको जंगल पसेको छ जून

आगोसँग सम्भोग गर्न नपाउँदै

स्खलित भएको छ ब्रम्हाण्ड ।

Featured News

Advertisement