खगिन्द्रा खुसीको कथा : लकडाउनकी श्रीमती



शुक्रबार १६ , आश्विन २०७७

लकडाउनकी श्रीमती (कथा)

खगिन्द्रा खुसी

‘सुन्नु न!,’ बोडी केलाउँदै सोफामा बसेको घनेन्द्रको घुँडामा कुइनोको अढेस लगाएर हत्केलाले चिउँडो थामीरहेकी ललिताले घनेन्द्रको अनुहार तिर हेर्दै भनी ।
घनेन्द्रले ललिताको अनुहारमा हे¥यो मात्र ।
भुइँको गलैंचामा पल्याँटी कसेर घनेन्द्रमै अढेस लागेर बसेकी ललिताले घनेन्द्रको घुँडाबाट हात निकालेर सिधा भएर बसी । एकछिन चुप लागेर लोग्ने घनेन्द्रलाई हेरी र भनी
“एउटा कुरा भन्छु..”
घनेन्द्रले केहीभनेन, आँखिभौं निधार तिर तन्काएर “के ?” भन्ने संकेत ग¥यो ।
‘हामी खेती गरौं’
घनेन्द्र फिस्स हाँस्दै बोडि केलाइरह्यो । 
‘हुँदैन?’
‘के नचाहिने कुरा गरेकी !’ बोडि केलाउँदै गरेको बोल भुइँमा राख्तै बोल्यो घनेन्द्र
‘अनि के त? यत्रो समय भै सक्यो, अब जागिर दिन्छ कि दिँदैन नि ?’
“तिमी खाली नेगेटिभ सोच्छौ, किन दिँदैन, दश वर्ष भैसक्यो त्यही काम गरेको, त्यहाँको सब भन्दा पुरानो मान्छे म, अब दिँदैन? ती सबैलाई हटाउँछ, तर मलाई हटाउँदैन बुझ्यौ’
तर अब लकडाउन खुल्ने कहिले हो कहिले? हामी दुईजना भएर हाम्रो भएको जग्गामा तरकारी खेती गर्नु हो भने पनि त तपाइँले कमाए जति त कमाइहालिन्छ नि ?’
‘ह्या... यो बुढी पनि नचाहिने कुरा गर्छे....’ भन्दै वाहिर निस्क्यो ।
भित्र कोठामा चार्जमा राखेको मोवाइल बज्छ, ललिता दौडेर उतै जान्छे । चार्जबाट मोवाइल झिक्छे मन्दिरा दिदीले म्यासेन्जरमा भिडियो कल गरिछन् । मोवाइल हातमा लिएर एकचोटि वाहिर चिहाउँछे, र ढोका लगाउँछे । भिडियो अन गर्दै ओछ्यानमा पल्टिन्छे । 
‘होइन, कता व्यस्त हो? डिस्टर्व गरें कि क्या हो ?’ मन्दिरा दिदीले जिस्क्याउन सुरु गरिन्
‘आ... के डिस्टर्व हुनु?’
‘किन के परो...? खोइ श्रीमानजी?’
मन्दिराले वाहिरतिर हेरेर ‘खै’ भनि । 
‘ठाकठुक प¥यो कि के हो?  हिँजो अस्ति जस्तो हँसमुख छैन है!’
‘आ...छोड्नु दिदी यी कुरा....!
‘होइन, लकडाउन पछि ता मैले यस्तो रिसाएको अनुहार देखेकी थिइन है, त्यती उज्याली मेरी वहिनीलाई के कुराले मन दुखाइदिए श्रीमानजीले?’
‘तपाइँ त नि दिदी कति छिटो कुरा पक्डिनु हुन्छ ? अनि छाड्दै नछाड्ने के ?’
‘यत्रो वर्ष भयो सँगै वसेको, तिमी छिमेकी, साथी, वहिनी सबै थोक हौ नि मेरो । खुसी हुँदा तिम्रो मुख कस्तो हुन्छ, रिसाउँदा कस्तो हुन्छ? सबै थाहा छ मलाई केटी .....अब मलाई भन्नै नहुने भने त के भन्नु’ मन्दिरा रिसाए जस्तो गर्छे । 
‘हेर न फेरि....रिस त नि नाकैको टुप्पोमा छ नि तपाइँको?’
मन्दिरा किच्च गर्छे
ललिता सिरानीमा टाउको राखेर उत्तानो परेर ढल्किन्छे, र बोल्छे–
‘केही होइन हौ दिदी, बुढोलाई जागिर छोड्नु, खेती गरौं भनेको मान्दैनन् अनि रिस उठेको नि’
‘लौ अचम्म छ, किन छाड्नु नि जागिर? त्यै भएको एउटा जागिर पनि छाडेर के खान्छौ नि अनि?’ 
‘आ.. कति छ र जागिर, त्यै पच्चिस हजार त हो नि? दुईजना भएर यसो तरकारी सरकारी लगायौँ भनेपनि त्यति त हुन्छ नि, जागिर पनि सजिलो भए पो, मार्केटिङ हो, कहिले कहाँ पुग्ने हो, के खाने के लाउने टुङ्गोबुङ्गो छैन । कम्तिमा सँगै त बस्न पाइन्थ्यो । ”
“पैसा कमाएर ल्याएकै छन्, भैहाल्यो नि, जहाँ पुगेपनि के फरक पर्छ र?’
“भन्न त त्यसै भन्छु नि दिदी मुखले, तर मन मान्दैन नि, मैले मेरो यो मनको कुरा कहिल्यै भनेकी थिइन, अरु कसैलाई भन्दिन पनि, तर तपाइँलाई पनि नभने कल्लाई भन्नु, बुढोले यस्ता कुरा बुझ्नै खोज्दैनन्’
मन्दिरा जिस्कने, जिस्क्याउने मुड छाडेर ललिताका कुरा सुन्न तयार भई ।
‘तपाइँ ता यस्ता कुरामा ध्यान दिनु हुन्न, नदिनु पनि, मैले पनि नदिनै खोजेको हो तर, जति नदिँदा पनि त्यतैतिर जान्छ, यस्तै कुराले सधैं मनमा अशान्ति भैरहन्छ”
मन्दिरा दिदीले पनि हातको मोवाइल ओछ्यान्को कुनामा भएको सिरानीमा अड्याइन् र घोप्टो परेर दुइवटै हातमा च्यूँडो अडएर सुन्न थालिन् ।
‘मार्केटिङ गर्दै हिन्छन्, कहिले घरमा आउँछन्, कहिले आउँदैनन्, कहिले होटलमा कहिले, कहाँ, सम्झिनु त दिदी सधैं जानुहुने ठाउँमा मात्रै जाँदाहुन् र?कहिले समस्या परेर कहिले आफैं रहरले पनि होटलमा बस्छन्, रक्सी, कोल्ड ड्रिङ्सको मार्केटिङ् गर्ने मान्छे साना ठुला सबै होटल, रक्सीपसलहरुमा पुग्छन्, तपाइँलाई थाहा छ नि? यहाँको त्यो झुप्रोको राजवंशीनीको होटलमा त दिन दहाडै सबैखालका व्यवस्था मिलाईदिन्छन् भने अन्य सुविधा सम्पन्न होटलहरुमा के होला? अनि कसरी हुन्छ त मेरो मन शान्त?, तपाइँलाई मात्रै भनेको हो दिदी, वाहिर गएर घर त आउँछन्, आउँदा ती कामका शिलशिलामा देखिएका तरुनी अनुहार पनि सँगै लिएर आउँछन् यी, अनि म सँगै भएको बेला पनि म सँग हुँदैनन्, तिनै तरुनी अनुहारहरु नचाइरहन्छन् दिमागमा, मैले अति सहेकी छु दिदी, यस्ता कुरालाई सामान्य मान्छन्, प्राय सबै महिलाले सहिरहेका हुन्छन् यस्ता कुरा, यस्तै हो भनेर चुपै लागेर बाँचिरहन्छन् मैले पनि बसेकै हुँ । तर अहिले यो लकडाउनभरी घरमा सँगै बस्ता मैले बुढोबाट साँचो माया पाएकी छु, धेरै फरक छन् उनी वाहिर फेर घुमेर आएको समयको भन्दा, त्यसैले अव फेरि यो मायापूर्ण व्यवहार ग्ुमाउन चाहान्न दिदी, पैसा मात्रै सबै कुरा पनि होइन नि, माया, प्रेम, आनन्द भएन भने त जति पैसा भएपनि के भो र जिन्दगीमा ? साँच्चै भन्ने हो भने विहेगरेदेखि पछि यो समय भन्दा आनन्दको समय कहिल्यै आएन घरमा । श्रीमानले आफूलाई मात्रै माया गर्दाको मीठो अनुभव यही समयमा गर्न पाएँ दिदी, अभाव नै होस् तर यो लक डाउन अब कहिल्यै नखुलोस् । यस्तै हो भने भोकै मर्दा पनि मनमा आनन्दै आउँछ होला । ललिता आँखाभरी आँशु पारेर हाँस्छे । 
“सही भन्यौ, तिम्रो जस्तो महसुस उमेरमा मैले पनि धेरै गरेकी हुँ, तिम्रोलागि समय अनुकुल बनाउन समय पनि मिलेको छ, फकाऊ भाइलाई, लकडाउन छ, चोकमा पुलिसले उभ्याइहाल्छ नभए म पनि आउथेंँ भाइलाई सम्झाउन, लोग्ने स्वास्नी भनेको सँगै बस्न, सँगै काम गर्न बनिएको हो, विहे गरेर अन्तै, अरुसँगै रमाउने हो भने किन गनुर्् विहे?’
‘मन्दिरा दिदीको पनि सपोर्ट पाएपछि ललिताको मन अलि दह्रो भयो । आँखाको डिल सम्म पुगेको आँसु सलले पुछ्दै घाँटी वाहिरतिर लम्काई र “दिदी धन्यवाद, म भरे फोन गर्छु है !’ भन्दै भिडियो कल बन्द गरी । ढोका खोलेर हेरी सिटिङ्रुममा पाँच वर्षकी छोरी टिभी हेर्दै वसिरहेकी थिई । उसैलाई सोधी“नानी बाबा खोइ ?” छोरीले हातको इशाराले भान्सातिर देखाई । 
ललिता “वावा !’ भन्दै भान्सामा पुग्न नपाउँदै घनेन्द्रले दुईवटा कपमा चिया लिएर वैठक कोठातिरै ल्याउँदै रहेछ । ललिता हाँस्तै घनेन्द्र सँगै गएर सोफामा बसी र दुवैले सँगै चिया पिए ।
 

Featured News

Advertisement