दशैँको दक्षिणाले किनेको त्यो मोबाइल



शनिबार ८ , कार्तिक २०७७

श्रीभवानी नेपाल

ऊ बेलाको दशैँ वा कुनै पनि चाडपर्व आज जस्ता हुँदैन थिए ।
आजको आधुनिक युगमा हरेक चाडपर्वहरु आधुनिकीकरण हुन थालेका छन् । (तिज एक महिना अगाडीदेखि मनाउने, दर खानु पर्ने दिन तर (मादक पदार्थ) खाने र पिउने ।) (रङ्गको पर्व होलीको दिन शरिर भरि पेन्टिङ गर्ने,झै–झगडा गर्ने, कपडा च्यात्ने ।) (तिहारमा चाहिने भन्दा धेरै तडक भडक गर्ने, दियो बाल्ने परम्परालाई विस्थापित गर्दै बिजुली बत्तितर्फ लम्कने ।) (वडा दशैँमा पनि संस्कृति र परम्परा भन्दा केही परिमार्जन भए गरेका यदाकदा पाईन्छन् ।) यावत कुराहरु परिवर्तन भए वा कतै गाउँघरमा नभएका पनि छन् तथापि समयको माग र पुस्ता परिवर्तनसगैँ हरेक कुराहरुमा परिवर्तन भएका हुनसक्छन् ।
म आफैंले भोगेको एउटा इतिहास कोट्याउने प्रयास गर्दैछु ।
वि.सं. २०६० साल तिरको कुरा हो । हरेक दशैँ झैँ त्यसपालाको दशैँ पनि हाम्रो लागि खुशी र उमङ्गले भरिएको पर्व हुने नै भयो । अझ विशेष त्यसपाला हामी (दाजुभाइ) मिलेर एउटा मोबाइल किन्ने योजना बुन्दैथियौं । हाम्रो ल्याकतले फ्याट्टै मोबाइल किन्ने हिम्मत गरेको थिएन तसर्थ हामीले दशैँमा टिका ग्रहण गरेर पाएको दक्षिणालाई उक्त योजनाको मुख्य उद्देश्य बनाएका थियौं । मेरो मिल्ने साथि बिसन कटुवालले करिव चार हजार रूपैयाँमा मोटोरोलाको एउटा श्यामस्वेत मोबाइल छिमेकी मुलुकको जोगबनी (बिराटनगर रानीको बोर्डर) बाट किनेर ल्याएको जानकारी भरखरै मलाई प्राप्त भएको थियो ।
“सदाको दशैँ भन्दा यसपालीको दशैँमा मामा माइजुले अलिक धेरै दक्षिणा दिए हुने हो । हे भगवान ! यसपाली मोबाइल जसरी नि किन्नु छ ।” मनमा यस्ता कुराहरु खेल्दै विजयादशमीको दिनको प्रतिक्षाको घडी समाप्त त भयो तर हाम्रो चाहना पुरा होला वा होला, त्यो भने हेर्नै बाँकी छ ।
आयु द्रोण सुते, श्रृयं दशरथे , शत्रुक्षयं राधवे ।
ऐश्वर्य नहुसे, गतिश्च पवने मानं च दुर्योधने ।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं चकुन्ती सुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।
नवदुर्गा भवानीको आशिष र यी माथिका श्लोकहरुले मलाई के को ध्यान तान्थियो र ? मलाई ध्यान थियो त केवल अब मामाले टिका लगाएर कति पैसा दिनुहन्छ ?  दशैँ सकियो, दाजुभाइको दक्षिणा भेला पार्दा बल्ल तल्ल १६ सय रूपैयाँ पुगेछ । बुवा आमासगँ थप पैसा माग्ने हिम्मत गरिएनँ ।
बिलासिताको सामान किन्न र फजुल खर्च गर्न किन दिन्थे र पैसा । यही उत्तर आउँछ भन्ने मनमा डरको आँधी हुरी आएको थियो । बिसन कटुवाल, जो साथिले केही हप्ता अघि किनेर ल्याएको श्यामस्वेत मोबाइल पसलमा जाने निर्णय गरियो र लागियो जोगबनी बजार । धेरै बेरको दलाली पश्चात सामसुङको सेकेन्ड हेण्ड श्यामस्वेत (सादा) मोबाइल किन्ने निधो गरियो त्यो पनि १८ सय रूपैयाँमा । हामीसँग भएको १६ सय रूपैयाँमा थप २ सय उही साथिसँग सापटी लिईयो र किनियो मोबाइल टाउकोमा २ सयको कर्जा थोपारेर । एन्टिनावाला सामसुङ मोबाइल त किनेर ल्याइयो तर घरमा बुवा आमाको धेर थोर कडा प्रवचन पनि सुनियो ।
आखिर रहरलाई आत्महत्या गर्न दिन त भएन नि हैन र ? “मेरो मोबाइल” नामले परिचित हालको “एन सेल” सिम बहुत दुखले किनियो । सिम किनियो मोबाइल पनि छ तर फोन कसैको आउँदैन, पीडा माथि पीडा थपिने क्रम जारी थियो । फोन आओस् पनि कसरी र कसको ? गाउँमा जम्मा दुईजनाको मात्र मोबाइल छ । त्यसो त अरुहरुको पनि थियो होला मोबाइल तर हाम्रो सम्पर्क भन्दा पर र टाडा थिए तिनीहरू... गाउँभरिका छर छिमेकीहरुलाई आफ्नो नम्बर दिँदै “आफन्तहरुलाई यो नम्बरमा फोन गर्न भन्नु है” भन्ने गर्दथे । कसैको फोन नआएको बेला “मसँग मोबाइल छ” भनेर गाउँ जगतलाई देखाउनकै लागि भएपनि साईकल चलाउदै कतै जाँदा र आउँदा मोबाइलको ‘रिङ्गटोन’ ठुलो आवाजमा बजाएर “फोन पनि कत्ति आएको हौं, हत्तेरिका” भन्दै सुनाउने मेरो चर्तिकला त आज पनि मानसपटल ताजै छ । ऊ बेला अहिले जस्तो जता पायो त्यतै फ्याट्टै नेटवर्क आउँदैन थियो । फोन आएको बेला कुरा गर्न कहिले डाँडा डाँडा परेको ठाउँमा जानु पर्थ्यो त कहिले रुख नै चढ्नुपर्ने हुन्थ्यो ।
गज्जबको थियो त्यो बेला...ति दिनहरु ।
हजुरबुवाहरुको पालाको कथा र कहानी सुन्नु र पढ्नुको मजा नै बेग्लै थियो । हाम्रो पुस्ताको यस्तो कथा र कहानी के हो र । म स्वयंले १६ सय रूपैयाँमा खरिद गरेको श्यामस्वेत मोबाइलको कहानी अहिले करिब ६० हजार रूपैयाँमा खरिद गरेको स्मार्ट मोबाइलको छातीमा औँलाहरू दौडाएर कोतारिरहेको छु, लेखिरहेको छु । समय कहाँ बाट कहाँ पुगिसकेछ ।


ईटहरी – १२ खनार सुनसरी
(हालः युएइ दुबई)
 

Featured News

Advertisement