प्रलेस सुनसरीद्वारा दुई स्रष्टा सम्मानित
२०७७ पुस ५ गते, इटहरी
प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सनुसरीले हिजो दुई स्रष्टालाई सम्मान गरेको छ । यसैबर्षबाट प्रदान गर्न शुरु गरिएको नगद ११ हजार एक सय एघार रुपैयाँ सहितको ‘प्रलेस सम्मान – २०७७’ बाट इनरुवाका कवि डमरु बल्लब भण्डारीलाई सम्मान गरिएको छ ।
यसैगरी पत्रकार तथा कवि राजकुमार कार्कीको नाममा प्रलेसले स्थापना गरेको ‘राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार – २०७७’ बाट इटहरीका कवि श्रीशीशा राईलाई पुरस्कृत गरिएको छ । यो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यी दुवै पुरस्कार यसबर्षबाट प्रत्येक बर्ष वितरण गरिने प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलले जानकारी दिनुभएको छ ।
हिजो इटहरीमा आयोजित स्रष्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रलेस प्रदेश नम्बर एकका अध्यक्ष डा. देवी दुलाल, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज र प्रलेस सुनसरी अध्यक्ष रामप्रसाद खरेलले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
सम्मान प्राप्त गरेपछि आफूहरुलाई अझै जिम्मेवारी थपिएको स्रष्टाहरुले प्रतिक्रिया दिनुभएको थियो ।
प्रलेस सुनसरीले अक्षय कोषको निमार्ण शुरु गरेको र त्यसैबाट आएको ब्याजले सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ ।
कार्यक्रममा कथाकार टिका मिलनको कथा सङ्ग्रह ‘राजवृक्षको हाँगो’ विमोचन गरिएको थियो । यो कृति प्रलेस सुनसरीले प्रकाशन गरेको हो । कृतिमाथि समालोचक प्रा.डा. भीम खतिवडाले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।