'प्रचण्ड–नेपाल खिया लागेको नटबल्टु', निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन ओलीको चुनौती
२०७७ पुस १८ गते, काठमाण्डौँ ।
प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाउँनुभएको छ । उहाँले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गर्नुभयो । आँफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिनुभयो ।
‘उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भन्नुभयो, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने ?’
उहाँले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दवी गर्नुभयो । ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उहाँले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्दै भन्नुभयो ।
पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताउँनुभयो ।
उहाँले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताउँनुभयो ।
यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उहाँले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने ?’ भन्दै इतर समूहलाई प्रश्न गर्नुभयो ।
आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि उहाँले प्रचण्ड–नेपाल समूहलाई चुनौति दिनुभयो ।
उहाँले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताउँनुभयो ।
source : ratopati