बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

सुखानी बलिदान र सपनाको खोजी



11:07 शुक्रबार २१ , फाल्गुन २०७७

रमेश गुरागाईँ

नेपाल कम्युनिष्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजन भई छिन्नभिन्न र केन्द्रविहीन भयो । विभिन्न समूह र उपसमूह क्षेत्रीय रुपमा स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत रहेको झापा जिल्ला कमिटिले विद्रोह गरी सामन्ती राज्यसत्तालाई ध्वंश गर्न नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै पहिलो पटक झापामा सशस्त्र संघर्ष शुरु गर्यो । यसरी ‘एक एरिया, एक युनिट । एक स्क्वाड, एक एक्सन’ को अवधारणासहित वर्गशत्रु खतम अभियान सुरु भयो, इतिहासमा ‘झापा विद्रोह’ को नामबाट चिनिन्छ ।

झापा विद्रोहको पृष्ठभूमिमा २०२१ सालमा राजा महेन्द्रले शुरु गरेको भूमिसुधार थियो । मोहीलाई अधिकारबाट वञ्चित गराउने झापाली सामन्तहरुका जालझेलपूर्ण रवैयाविरुद्ध विद्रोह केन्द्रीत थियो । त्यसवेला मोहीको धान लुटिन नदिने र संरक्षण गरिदिने संघर्षको मुख्य उदेश्य थियो । त्यसैगरी महेन्द्रले २०२४ सालदेखि लागू गरेको ‘गाउँ फर्क’ अभियानसँगै जनतालाईँ चुँ गर्न समेत वन्देज लगाइयो, जसको प्रतिरोधस्वरुप वौद्धिक क्षेत्र आक्रोशित थियो । त्यसैले जनतामाथिको सामन्ती शोषण, उत्पीडन, दमन, अन्याय र अत्याचारविरुद्ध प्रतिरोध वनेर झापाको किसान विद्रोह नेपाली राजनीतिको रंगमञ्चमा उदाएको थियो ।

पुराने राज्यसत्ता वन्दुकले टिकाइएको हुनाले नाराजुलुस, सभा र अन्य शान्तिपूर्ण आन्दोलन गरेर मात्र त्यसलाई ढाल्न सकिन्नथ्यो । वन्दुक विरुद्ध वन्दुक नै उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा विद्रोह सञ्चालन भयो । त्यसैले जाली, फटाहा, श्रमिकमारा, किसानमाराहरुलाई भौतिक आक्रमण नियमित ढङ्गले अघि वढ्दै गयो । तमसुक च्यात्ने, जलाउने, सामन्तहरुको जग्गा कब्जा गरी भूमिहीन किसान मजदुरलाई दिने काम भए । प्रहरी र सामन्तहरुबाट हतियार खोस्ने, संकलन गर्ने र स्क्वाड वृद्धि गर्ने विद्रोही योजना कार्यान्वयन हुन थाले । त्यतिबेलाका क्रान्तिकारीहरुसँग न त संगठन वलियो न त हतियार र तालिम नै । १ सय ५० जति संगठित युवा थिए भने ३ सय जति किसान कार्यकर्ता, जसले वर्गसंघर्षको ठोस कार्यक्रमसहित युग परिवर्तनको उद्घोष गरे ।

यसैबीच संघर्षको मुख्य टीममा रहेका ५ जना कमरेडहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइकेललाई झापाबाट इलाम जेल सार्ने वहानामा झापाको सीमाना काट्ने वितिकै सुखानीमा २०२९ साल फागुन २१ गते गोली हानी हत्या गरियो । जसले झापा विद्रोहको क्रममा उच्च वलिदानको किर्तीमान कायम गरेको थियो । त्यसैले सुखानीले नेपालको राजनीतिक इतिहासमा गर्विलो स्थान ओगटेको छ ।

सुखानी हत्याकाण्ड अघि र पछि निरन्तर विद्रोही नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक किसान समेतलाई गिरफ्तार गर्ने काम भइरहेको थियो । २०३० साउन २० गते राधाकृष्ण मैनाली गरामुनी स्थित नरियावाढीबाट प्रकाउ पर्नुभयो । राधाकृष्णसँगै गिरफ्तार गर्ने क्रममा चन्द्र डाँगीलाई गोली हानी हत्या गरियो । त्यहाँबाट नरेश खरेल, नारद वाग्ले, सीता खडेका र लीला कट्टेल पक्राउ पर्नुभएको थियो ।

त्यही साल असोज २३ गते केपी शर्मा ओली र मोहनचन्द्र अधिकारी रौतहटबाट गिरफ्तार हुनुभयो । त्यसपछि २०३२ साल माघ १६ गते चन्द्रगढी देउनिया पुलछेउको सेन्टरबाट सीपी मैनाली पक्राउ पर्नुभयो । सीपीसँगै तारानिधि भुर्तेल, गोविन्द न्यौपाने र गौरा प्रसाईँ समेत पक्राउ पर्नुभयो ।

अधिकांश नेतृत्वमा रहेका सक्रिय कमरेडहरुलाई गिरफ्तार गरियो । त्यतिवेला जीवनकुमार मगर, डिगेन राजवंशी, गुलुम राजवंशी, रामजनम चौधरी, टंक चौधरी, प्रेमप्रसाद उप्रेती, धर्म घिमिरे, खड्ग थापा, डिल्लीप्रसाद सिवाकोटी, ईश्वरी प्रसाद संग्रौला, गंगाप्रसाद उप्रेती, लोकनाथ ओली, खड्ग दाहाल, भीष्म धिमाल, टंक घिमिरे, मनकुमार गौतम, भीमवहादुर खडका, भोगन राजवंशी, भेटला राजवंशी लगायतलाई झापा जेलमा थुनिएको थियो ।

करिब ५ सय जना गिरफ्तार भएका थिए भने ९५ जनालाई मुद्धा लगाइयो । केहीलाई यातनासहित आतङ्कित पारेर छाडिएको थियो भने मुख्य नेतृत्वलाई आजीवन कारावास तोकियो । यसरी झापा विद्रोहको नेतृत्व गरेका पहिलो तहका सबै नेता, ठूलो संख्यामा कार्यकर्ता र सर्वसाधरणसमेत फरक–फरक मितिमा श्रृखलावद्ध पक्राउ परेपछि विद्रोहले एक हदसम्म धक्का खाने परिस्थिति निर्माण भयो । झापा विद्रोह रक्षात्मक अवस्थामा पुग्यो ।

झापा विद्रोहबारे पुष्पलाल, मनमोहन अधिकारी, भरतमोहन अधिकारी मात्र होइन, तत्कालीन राजा वीरेन्द्र र नेपाली कांग्रेसका नेता वीपी कोइरालाले समेत नतमस्तक भई टिप्पणी गरेका थिए । सुखानीमा सहिदहरुले रगत बगाउँदा भारत निर्वासनमा रहेका वीपी कोइरालाले सबै युवाहरुले सुखानीको वलिदानीबाट सिक्नुपर्नेमा जोड दिनुभएको थियो ।

२०५७ साल फागुनमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित राजनीतिक दस्तावेज महान अग्रगामी छलाङ ः इतिहासको अपरिहार्य आवश्यकता मा तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले झापा विद्रोहको महत्वको लेख्नुभएको छ – “...अनुभवको कमी र चिन्तनमा केही यान्त्रिक रहेपनि विचार, राजनीतिक कार्यदिशा र अझ मुख्य कुरा क्रान्तिकारी स्पिरिटमा झापा विद्रोहसँगै जन्मिएको कोअर्डिनेसन कमिटि अन्य पक्षभन्दा धेरै नै उच्च र सही थियो । यसरी वस्तुत २०१० सालदेखि पार्टीमा हावी रहेको संशोधनवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्पिरिटअनुसार विद्रोहको झण्डा उठाइरहेको थियो । कुरा क्रान्तीको गर्ने तर व्यवहार भने संशोधनवादको गर्ने छद्म संशोधनवादमाथि पनि प्रहार गरिरहेको थियो । त्यसकारण झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा गौरवपूर्ण ऐतिहासिक स्थान ओगटेको छ ।”

झापा विद्रोहको लक्ष्य प्राप्तीको बाटोमा मुलुक हिँडिरहेको छ । तर, दुर्भाग्य त्यही विद्रोहका वीउ केपी शर्मा ओली उल्टो बाटोमा कुदिरहनु भएको छ । जोत्नेको स्वामित्वमा जमिन अझैँ आइसकेको छैन् । शिक्षा, स्वास्थ्य, खाध्य सम्प्रभुता र रोजगारको सवालमा जनवादी नीति कार्यान्वयन गर्ने अवसर ओलीले गुमाउनुभएको छ । किसान र मजदुरको प्रतिनिधिको ठाउँमा दलाल पुँजीवादीले निरन्तर स्थान ओगटीरहेको छ । के विद्रोहका सपना साकार होलान ? निकै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ । त्यसैले नयाँ अभियान र नेतृत्वको सम्भावनाको खोजि अपरिहार्य भएको छ, सुखानीको चिहान खोस्रेरै किन नहोस् ।

सुखानीका सहिदहरु  :


रामनाथ दाहाल :
तेह्रथुम जिल्ला आठराईको इवा भदौरेमा जन्मिनु भएका रामनाथ दाहाल २०१७ सालदेखि झापाको चारपानेमा वस्न थाल्नुभएको थियो । उहाँलाई सानैदेखि किसानमाथि हुने अन्याय असह्य हुन्थ्यो । उत्पीडनमा परेका किसानका धान काट्न र थन्काउन सहयोग गर्नुहुन्थ्यो । उहाँमाथि सामन्तहरुले २०२६ सालमा मुद्धा हालेका थिए । त्यसैले २०२७ वैशाखमा गिरफ्तार गरी उहाँलाई ३ महिना थुनामा राखिएको थियो । ३२ बर्षको उमेरमा पछिल्लो पटक रामनाथ दाहाल आफ्नै घरबाट पक्राउ परेको पुगनपुग ३ महिनापछि सुखानीमा मारिनुभयो । 
नेत्र घिमिरे :
नेत्र घिमिरेको जन्म २००३ सालमा तेह्रथुम आठराईमा भएको थियो भने पछि झापाको गरामनीमा बसाइ सर्नुभएको थियो । वहाँ विधालय अध्ययनपछि २०२४ सालमा मेची क्याम्पस भद्रपुरमा भर्ना हुनुभयो र क्याम्पसमा प्रगतिशील विधार्थी आन्दोलनमा होमिनुभयो । २०२६ देखि पार्टीमा पूर्णकालिन भइ काम गर्न थाल्नुभयो । उहाँ २०२९ पुस १४ गते गरामनीमा सुराकीबाट पक्राउ पर्नुभएको थियो । 
वीरेन राजवंशी :
वीरेन राजवंशीको जन्म २००२ सालमा झापा चन्द्रगढीमा भएको थियो । उहाँकी पत्नी बुबाआमाकी एकमात्र छोरी हुनुहुन्थ्यो जसले गर्दा विवाहपछि उहाँको परिवार ससुराली गाउँ ज्यामिरगढीमा रहयो । उहाँ मलाया पनि जानुभएको थियो र त्यहाँका कम्युनिष्टबाट प्रभावित हुनुभएको थियो । २०२६ सालदेखि उहाँ राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ चन्द्रगढी छेउबाट २०२९ मंसिरमा पक्राउ पर्नुभएको थियो । 
कृष्ण कुइँकेल :
कृष्ण कुइँकेल २०११ सालमा गरामनी झापामा जन्मिनुभएको थियो । उहाँ नेत्र घिमिरेबाट प्रभावित भएर आन्दोलनमा आउनुभएको थियो । पार्टीमा २०२७ सालदेखि संगठीत हुनुभएको थियो । उहाँ २०२९ साल माघ १ गते पक्राउ पर्नुभयो ।
नारायण श्रेष्ठ :
नारायण श्रेष्ठ उच्च मध्यम परिवारमा जन्मिनुभएको थियो । यधपि शोषित र उत्पीडित जनसमुदायको पक्षमा लड्ने प्रण गर्नुभएको थियो । उहाँ सहिद कृष्ण कुइँकेलका अनन्य मित्र हुनुहुन्थ्यो । कृष्णसँगै प्रकाउ पर्नुभएको थियो ।

 

Featured News

Advertisement