बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

चटपटे बेचेर मासिक एक लाख वढि कमाई, ६ जनालाई रोजगारी



09:41 मंगलवार ७ , बैशाख २०७८

 अविशेक खतिवडा
२०७८ वैशाख ७ गते, इटहरी ।

कम लगानीबाट ठेला व्यापार गर्दै स्टल व्यापार सम्म आइपुग्नु भएका एक युवा व्यवसायी हुनुहुन्छ – ‘भान्जा’ पानीपुरी चट्पटेका प्रोपाईटर पवन महतो । 

विराटनगरको एक मध्यम वर्गीय परिवारमा जन्मिनुभएको महतो १३ वर्षदेखि इटहरीको संगित चोकमा पानीपुरी चट्पटे व्यवसाय गर्दै आइरहनुभएको छ । करिब २ वर्ष अघिदेखि भने आफ्नो व्यवसायको थप स्तर उन्नति गरी त्यहि ठाँउमा ३ वटा स्टल राख्सिक्नुभएको छ । एउटा स्टलमा पानीपुरी चट्पटे छ भने बाँकि २ वटा स्टलहरुमा मःम र फास्टफुटका आइटमहरु रहेका छन् ।

“नेपालमा भान्जा, भान्जी शब्द एकदमै लोकप्रिय छ । र भान्जा भान्जीलाई सबैले माया गरेर बोलाउने र त्यसमा पनि भान्जा शब्द एकदमै प्रिय भएकोले आफ्नो पसलको नाम ‘भान्जा’ पानीपुरी चट्पटे राखेको हुँ ।”, उहाँले आफ्नो पसलको नामकरणको भित्री कुरा बताउनुभयो ।
‘भान्जा’ चटपटे पानीपुरी पसलमा अर्को छुटाउनै नहुने नाम भनेको मेघा महतो हो । उहाँ पवन महतोकी श्रीमती हुनुहुन्छ । शुरुवाती दिनहरुमा पवनले इटहरीमै कसैको हार्डवेयर पसलमा काम गरिरहदा, मेघालाई मैले केही गर्नुपर्छ त्यसै बस्नुहुदैन भन्ने कुराले कताकता घोचिरहन्थ्यो । कुनै समय मेघाका लागि यस्तो पनि थियो की उहाँले आफ्नो धेरैभन्दा धेरै समय छोराछोरीकै स्यारमा व्यतित गर्नुपर्ने हुन्थ्यो । समयको अन्तरालसँगै छोराछोरी हुर्किदै गए । छोराछोर हुर्कीएपछि वर्षौँदेखि आफ्नो मनमा जरा गाडेर एकछत्र राजगरी बसेको कुरा आफ्नो श्रीमान समक्ष राख्ने हिम्मत गर्नुभयो । र भन्नुभयो, “अब म तपाईँले काम गरेको हेरेर मात्र त्यसै बसीरहन सक्दिन, बरु मैले जानेको सिपलाई प्रयोग गरेर सानोतिनो ठेला व्यापार गर्न चाहन्छु ।” आफुले दुःख गरेर कमाएको दुईचार पैसाले मात्र घर धान्न नसकिरहेको अवस्थामा श्रीमतीले त्यती भनिदिँदा पवनलाई त झन ढुङ्गा खोज्दा देउता मिले जस्तै भएछ । श्रीमतीको कुरालाई उहाँले सकारात्मक रुपमै लिनुभएछ । मेघाकै प्रस्ताव अनुसार त्यही वेलादेखि ठेलामा चटपटे व्यवसाय शुरु भयो ।

साहुजिहरुको आन्तरिक विवादका कारण चटपटेको व्यवसाय शुरु गरेकै केही दिनमा हार्डवेयरबाट पवनको जागिर पनि गयो । त्यसपछि उहाँ त्यतिकै हात बाधेर बसिरहन सक्नुभएन र अर्काे काम नपाउन्जेलसम्मको लागि श्रीमतीको व्यवसायमा सहयोग गरेर अघि बढ्ने निधो गर्नुभयो । केही महिना काम गरिसकेपछि श्रीमतीबाट उहाँले धेरै कुराहरु सिक्ने अवसर पाउनुभयो । साथै बच्चादेखि सबै उमेर समुहकाले चटपटे मनपराउने कुरा पनि उहाँलाई थाहा हुदँैगयो ।

त्यसपछि उहाँ आफ्नो व्यवसायमा कस्तो परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सोच्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, “अरु व्यवसायीले आफ्नो व्यवसायलाई ठेलामा मात्र सिमित राखे तर मैले चटपटे व्यवसायमा कस्टमर बढ्दै गएको देखेर त्यसमा धेरै परिवर्तनहरु ल्याए । अहिलेको नयाँ कस्टमरहरुको मागलाई मध्यनजर गर्दै सफाइ,क्वाइलेटी सबै कुरा ख्याल गरेर अघि बढ्ेको कारण व्यापार शुरु गरेको १३ वर्ष पुगिसक्दासम्म पनि टिकिरहेको छु ।” उहाँको पसलमा दैनिक २ सय देखि ३ सय सम्मको हाराहारिमा कस्टमरहरु आउने गर्छन् । मासिक रुपमा ढेड लाख भन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

बुवाआमाहरुले पहिलादेखि मजदुरी गर्दै आउनुभएको कारण उहाँले पनि त्यही गर्दै आएको हुदा स्कुल जाने वातावरण उहाँलाई कहिल्यै मिलेन । तीन दाजुभाइ मध्येको जेठो छोरो भएको कारण पनि उहाँले सानैदेखि व्यवहारमा बाँधिएर हुँर्कनु पर्यो । उहाँ बाल्यअवस्थामै भारत छिर्नुभयो । भारतको दिल्ली र कलकत्तामा फास्ट फुड र चार्ट आइटमको तालिम लिनुभयो । शुरु–शुरुमा सिक्ने क्रममा कतिपय ठाँउमा पैसा नलिइ पनि गर्नुभयो । कतिपय ठाउँमा पैसा दिने तर वातावरण भने नराम्रो थियो । 
उहाँले करिब २ वर्ष ठेलामा फलफुल व्यवसाय पनि गर्नुभएको रहेछ । उहाँ भन्नु हुन्छ, “म आफुलाई संघर्ष गरिरहने व्यक्ति भन्न रुचाउछु ।” उहाँ एउटा व्यवसाय भएन भने अर्को..अर्को गरेर धेरै कुरामा कोशिस गरिरहनुहुदो रहेछ । जुनसुकै काम गर्न पनि जीवनमा जोखिम लिएर अघि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ । अबको पाँच वर्षमा चटपटेलाई रेष्टुरेन्टमा परिणत गरेर देखाउनु उहाँको भावि योजना रहेको छ । अहिले खुलेका अधिकांश रेष्टुरेन्टमा इन्डियन र चाइनिज आइटमहरु मात्र पाइने भएकोले उहाँले आफ्नो रेष्टुरेन्टमा चटपटे आइटमलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।

“अहिलेको समयमा सबैभन्दा ठुलो कुरा भनेको पढाइ हो । त्यसकारण व्यवसायमा मात्र नभएर अन्य क्षेत्रमा लाग्ने युवाहरुले पढाइसँगै कुनै ठाँउमा जागिर अथवा तालिम लिएर अनुभव बटुलिरहनुपर्छ । किनकी जोकोहीलाईँ मैले पढाइ सकेर के गर्ने ? भन्ने कुराको दुविधा हुन पाउदैन । त्यसकारण आफ्नो सोचसँगै पढाइलाई पहिलो प्राथमिकतामा लिएर अघि बढ्नुपर्ने हुन्छ ।” – उहाँ बताउनुहुन्छ ।

उहाँसँगै सिक्न आउने कति विद्यार्थीहरुले यो व्यवसाय अलिक खुल्ला ठेला जस्तो भयो भन्नुहुदोरहेछ । तर उहाँलाई के लाग्दो रहेछ भने आखिर यो ठेलै भए पनि त यसबाट थुप्रै सिपहरु सिकेर भोलिका दिनमा आफैँले केही गर्छु भन्न त पाइन्छ नि त ? उहाँ भन्नुहुन्छ, “हामीलाई जुन काम विदेशमा गएर गर्न सजिलो लाग्छ तर त्यही काम नेपालमा गर्नु पर्दा हाम्रो ध्यान सामाजिक मूल्य, मान्यता, मान, प्रतिष्ठा जस्ता कुराहरुसँग जोड्नि पुग्छ । जस्तै म पनि दैनिक रुपमा ५–६ जना कामदारहरुलाई राम्रोसँग तलब देखि लिएर खाना बस्न र अन्य सुविधाहरु दिएर नेपालमै रोजगारी सिर्जना गरेर बसिरहेको छु त !” उहाँ आफ्ना कामदारहरुको खुसि र सन्तुष्टिमा नै आफ्नो खुसी देख्ने गर्नुहुन्छ । उहाँ आफैँ पनि पहिलादेखि स्टाफ भएर काम गर्दै यो लेभलमा आइपुग्नु भएकोले गर्दा स्टाफ र कस्टमरलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान रहेको छ ।

हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् भने जस्तै जो कोहीले जीवनरुपी हिमालमा आएका हिमपातहरुको हाँसेर सामना गर्दै अघि बढ्नुपर्दछ । जस्तै उहाँले व्यवसायमा संर्घष गरेर अघि बढ्नुभयो र अहिले सफल हुनुहुन्छ तर पनि निरन्तर संर्घषरत नै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म अझँै संघर्ष जारी राख्नेछु । र अबको मेरो प्राथमिकतामा जति सक्दो धेरै युवाहरुलाई आफ्नै व्यवसाय मार्फत थप रोजगारीको सिर्जना गरी स्वदेशमै स्थापित गराउनु पनि रहनेछ ।”

                    
 

Featured News

Advertisement