सोमबार २, जेष्ठ २०७९ Mon,16 May 2022

सर्वाधिकार सुरक्षित

बन्द ढोकाभित्र



08:07 शुक्रबार २५ , चैत्र २०७८
  • अञ्जु दर्लामी मगर

..............जब ओछ्यानमा छट्पट्याइ रहेको हुन्छु तब टेबलमा राखेको त्यो सेतो बट्टाको याद आउँछ । आँखा भरिएर आउँछन् । सधै सबैलाई समान रुपले हेर्छु, सबैको प्यारो बन्छु भन्ने सोच राख्ने म आज अन्जान झै गरि अध्यारो बन्द कोठामा एक्लै बस्न बाध्य भएको छु । थाहा छैन खोइ किन हो हिजोआज म अदृश्य हावालाई समाउन खोज्छु । देखिएका कुरा सबै नदेखिए झै गरि रमाउन खोज्छु ।
जहिल्यै म सोच्थेँ, मेरो कारणले कसैलाई चोट नपुगोस । मेरा कारण अलिकति भएपनि अरुमा खुसी थपियोस । सबैको आँखाको नानी बन्नुपर्छ ।
अरुले माया गरुन भन्ने एकखाले तृष्णा रहेछ मभित्र पनि । अहिले बुझ्दैछु सबैजनाले मलाइ पनि माया गर्नु पर्छ भन्ने त्यो त भ्रम मात्र न रहेछ ।
खै कतिवेला विस्वास टुटेछ । कसैलाई गरेको बिश्वास र भरोसाको नतिजा एकदम नराम्रो निस्किदा मर्नु न बाँच्नु हुदो रहेछ । लाग्छ कि म मृत्युलाई कुरेर बसिरहेको हुँ ।
आखिर कसैलाई बिश्वास गरेर के पाएँ ? कसैलाई आफ्नो अमुल्य समय दिएर के पाएँ ? कसैलाई आफ्नो खुशी हासो देखाएर के पाएँ ? बिश्वासमा घात, समयमा आँसु र खुशीमा पिडा ! यो सोच्दा सोच्दै लाग्छ कि जिन्दगी नै रितिदै छ । बर्सौ बितिसक्दा पनि बारम्बार याद आइरहनु त दिन पछि रात र रात पछि दिन झै भयो ।
अध्यारो कोठमा आँफूलाई निरास देख्छु । लाग्छ कि बिस्तारै बिस्तारै मेरो अस्तित्व नै मेटिदै छ । म हुनु र नहुनुमा कसैलाइ केही फरक नै छैन । यो हृदय पनि कति कमलो हुदो रहेछ भन्छ कि “सबैलाइ माया दे, सम्मान दे र इज्जत दे” तर बिचरा त्यो हृदयलाई त के थाहा कि उसलाई त सबैले घृणा र नराम्रो दृष्टिले मात्र हेर्दा रहेछ्न भन्ने । तर पनि हृदय त फूल झै निर्मल हुदो रहेछ, न कसैलाई सराप्दछ न त गुनासो गर्दछ । बस फेरि पनि सबैको भलो चाहन्छ ।
फेरि लाग्छ म धेरै नै सकारात्मक छु । निरासको भूमरीभित्र रुमलिएपनि मनमा कतै आशाका किरणहरु अझै चम्किरहेछन् ।

स्वयम सम्झाउछु आफूलाई । “जिन्दगी बाटो बिराएर हिडेको बटुवा झै भएको छ । हिँडदै जादा जिन्दगी नै सकिए पनि गन्तव्य भने जिवित नै रहने छ । तर, अब रोजाइ भने सहि बाटोको मात्र हुनेछ ।”
त्यो बेला “म“ भन्दा नि कैयौ गुणा प्यारो लाग्थ्यो एउटा सानो शब्द “तिमी” । हुन त आज पनि त्यति नै खास र प्रिय छौँ मेरो लागि । तिमीलाई महसुस गर्नुको आनन्द नै बेग्लै छ । तर, आज त्यही “तिमी“ भन्ने शब्दले पटक-पटक मन दुखाई आँखाबाट आँसु झारिदिन्छ ।  
फरक यति हो कि कसैको सरलता, भावना, इमानदारिता र इज्जतमा कहिलै बिश्वासघात नगराँै भन्ने लाग्छ । मान्छेमा मन, पीडा र भावना हुन्छ, हामी जो जहाँ भए पनि सबैको मन सफा, सकारात्मक र एउटौ होस अनि संधै खुसी, सुखी र शान्तिले बाच्न सकौँ भन्ने मेरो मनले किन सोच्दछ ? तिम्रो मनले मेरोजस्तै किन सोच्दैन ?
मेरा एकदम प्यारा हरपलका साथी चुपचाप भावनाहरु र गुमनाम सपनाहरुले साथ दिरहेका छ्न मलाई । अनि म हिँडिरहेको छु गन्तव्य बिहिन यात्रामा निरन्तर......निरन्तर ।
रातभर म निदाए कि निदाईन आफैँ दुविधामा छु । म जागो हुन र नहुनुले रातलाई केही फरक नपर्ने रैछ । रात आफ्नै गतिमा सकियो एउटा विहानी दिएर ।
जब बिहानीको सुरुवात हुन्छ तब मनमा रहेका पुराना कुराहरु सम्झिएर फेरि छट्पटी सुरु हुन्छ । टेबलमा रहेको त्यो सेतो बट्टाले रात कटाउन त सहज हुन्छ, तर दिन कटाउन बर्षौ लागेझैँ  किन लाग्छ ?
सबैले म हासेको देख्छ्न तर मेरो मन रोएको किन कसैले देख्दैनन् ? हजारौंको भिडमा पनि किन म आफुले आफुलाई एक्लो महसुस गर्छु ? यी प्रश्न मैले आफैँलाई सोध्ने हो । अरु त कसलाई सोध्नु र ?
जिन्दगीमा सबैकुरा भएरपनि किन केही कुराको अभाव भाको महसुस हुन्छ ? “तिमी” हराएर हो कि ? मलाई प्यारो लाग्ने यही शब्द त थियो “तिमी” ।
बिर्सनेप्रति गुनासो गर्दैन मेरो मन । मन आफैँ भन्छ - “म सम्झन लायक थिइन होला ।” फेरि म भने बिर्सनेलाई प्रत्येक स्वासमा याद गर्दोरहेछु ।


उसलाई यस्तो भन्न मन लाग्छ - “प्रिय ! तिमी जतिनै उचाईमा उडन, खुट्टा टेक्ने जमिनमा नै हो । यति याद राख उचाईमा सब थोक मिल्ने भए सायद आहाराको लागि चराचुरुङ्गीहरु जमिनमा झर्ने थिएनन् होला ।”
मन मनसँगै सम्वाद गर्छ । उसलाई यसो भनेर के पाउँछस हँ ?
जिन्दगी जिउने, खुसी हुने सबैको आ-आफ्नो तरिका हुन्छ । सोचाइ नमिल्दैमा किन अरुलाई गलत र झुठो सबित गर्ने । आज आफू राम्रो छु, सम्पन्न छु भन्दैमा अरुलाइ निचा देखाउन त मिलेन नि !
आज तिम्रो दिन राम्रो छ । भोलि त्यसको ठिक उल्टो भयो भने के गर्छौ ? के भोलिको दिनमा मैले पनि भुली जाने तिमीलाई ?
अह ! यो त हुनै सक्दैन । तिमी मेरो सास हौ । सबैभन्दा खास । र तिमी त मेरोलागि स्वयंम म नै हौ ।
ओछ्यानको छेउमा एउटा खाली पन्ना देख्छु । त्यसलाई तान्छु । रातो कलमले त्यसमा लेख्छु - हो, मलाई तिम्रो दुखमा तिमी सङै भएर तिम्लाइ साथ दिन मन छ । चाहे तिमी सुखमा अर्कै सङ्ग रमाउ या अर्कै सङ्ग जिन्दगी बिताउ । बस म तिमी जस्तो स्वार्थी हुन चाहान्न जो रुप रङ पैसा र औकात हेरेर व्यवहार गर्ने । बस म तिमीलाई तिम्रो दुख पिडामा जीवन भर साथ दिन चाहान्छु ।
सम्झन्छु यो रातो मसी मेरो रगत हो । त्योवेलाको तिम्रो पागलपन रातो मसीले सम्झाउछ ।
भनिन्छ, मानिसहरु तब मात्र तिम्रो हात समाउन आउछ्न, जब उनिहरुलाई थाहा हुन्छ कि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । तर तिम्रो लागि म सधै पछाडी परि दिने छु यदि  त्यो हात समाउन आउने मानिस तिमी नै हुने छौ भने ।
जिन्दगीमा हासो, खुशी, दुख, पिडा सबै हुन्छन् । बस अब कहिले पनि यी कुराहरु अरुलाई महसुस गराउने छैन ।
जति बाधा, अड्चन आएपनि कहिलैपनि हरेस खाने छैन । आफूमा बिश्वास राखेर अघि बढने छु । जिन्दगीमा अबस्य सफल हुनेछु । त्यो समयमा तिमिलाई धेरै पश्चताप हुन्छहोला ।

कोठा अलिक उज्यालो पार्न मन लाग्यो । कोठाका सबै बत्ति अन गरे । भित्ताको ठूलो ऐना अगाडि उभिए । ऐनाभित्रको “म”ले मलाई नै गिज्यायो । म मुसुक्क हाँस्न सकिन । सायद भित्रको “म”देखि अलिकति धकाए ।

                                                                                                                             **************

Featured News

Advertisement