सामाजिक मूल्यमान्यतामा आधारित : “स्वस्थ जीवन कार्यक्रम”
नेकपाका केन्द्रिय सदस्य निर्मल बराल स्वस्थ जीवन कार्यक्रमको प्रदेश संयोजक रहनुभएको छ । यो कार्यक्रम प्रदेश नम्बर एक समाजिक विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/७७ बाट शुरु गरेको एक मौलिक कार्यक्रम हो । आगामी आर्थिक बर्षमा पनि यसले निरन्तरता पाएको छ । कार्यक्रम संचालन गर्नका लागि सामाजिक विकास मन्त्रि जीवन घिमिरेको अध्यक्षतामा एक निर्देशक सिमिति रहेको छ ।
अभियानको मुख्य लक्ष्य भनेको स्वस्थ जीवनशैली मार्फत नागरिकहरुलाई सधैव स्वस्थ राख्नु हो । के हो स्वस्थ जीवन कार्यक्रम, अभियान अन्तरगत के–के काम भए ? आदि बिषयमा केन्द्रित भएर नेपालबिटको लागि रामप्रसाद खरेलले स्वस्थ जीवन कार्यक्रमका प्रदेश संयोजक बरालसगँ केही प्रश्नहरु गर्नुभएको छ । वहाँसगँ गरिएको कुराकानी :
१) के हो स्वस्थ्य जीवन कार्यक्रम ?
सर्ने र मूलत नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण गर्ने उदेश्यले प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालयद्वारा संचालित प्राथमिकता प्राप्त कार्यक्रम हो ।
सन् २०१७ मा डब्लूएचओ र एनसीडीएसले गरेको एक अध्यन अनुसार ६० प्रतिशत नेपालीहरुको मृत्यू नसर्ने रोगहरुको कारण हुनेगरेको पाइएको छ । मूख्तय प्रेसर, सुगर र क्यान्सर जस्ता रोग भएका बिरामीहरु प्रत्येकजसो घरमा भेटिन थाल्नु जनस्वास्थ्यको दृष्टिकोणबाट गम्भिर अवस्था हो । अन्य नसर्ने रोगहरुसँगै मानसिक स्वास्थ्य सम्बन्धी समस्या पनि वढ्दो छ । यसरी नसर्ने रोगहरु विरामी वढ्दै जानु र यस प्रकारका रोगहरु शहरबाट गाउँ हुँदै सर्वत्र देखिन थाल्नुले यसको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने देखियो ।
यसै बिषयलाई दृष्टिगत गर्दै प्रदेश सरकारले व्यक्तिगत जीवनशैली लक्षित सामाजिक मूल्यमान्यतामा आधारित मौलिकता सहितको स्वास्थ्य कार्यक्रमको परिकल्पना गर्यो, जसलाई “स्वास्थ्य जीवन प्रवद्घन कार्यक्रम” नामकरण गरियो ।
२) यसरी नसर्ने रोगहरु समुदायमा द्रुत रुपमा वढ्नुको कारण के रहेछ ?
जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले विश्वमै र नेपालमा पनि नसर्ने रोगहरु वढ्दै जानुको मूख्य कारण अस्वस्थ्यकर जीवनशैलीलाई मानेका छन् । यससँगै स्वास्थ्य चेतनाको कमी, शारीरिक श्रम वा व्ययाम नहुनु, सुर्तीजन्य एवं मदिराजन्य पदार्थको प्रयोग, नियमित स्वास्थ्य जाँच नगरिनु, अस्वस्थकर खानपान, प्रदुषित वातावरण र मानसिक तनाव नै नसर्ने रोग वढ्नुका मूख्य कारणहरु हुन् ।
३) नागरिक तहसम्म कसरी पुग्छ यो कार्यक्रम ?
स्वस्थ्य जीवन कार्यक्रमलाई नागरिक तहसम्म पूर्याउँन उपयुक्त सांगठनिक ढाँचा तयार गरिएको छ । सामाजिक विकास मन्त्रिको संयोजकत्वमा निर्देशक समिति छ । यसले आवश्यक नीति निमार्णको काम गर्छ । यससँगै प्रदेश स्तरको अभियान व्यावस्थापन समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्तरको व्यवस्थापन समिति छ, यसले जिल्ला स्तरका कार्यालय र पालिकाहरुलाई आवश्यक समन्वय गर्दछ । पालिका स्तरमा स्थानीय पालिका प्रमुखको संयोजकत्वमा स्वस्थ जीवन अभियान कार्यान्वयन समिति छ, यसले पालिका स्तरका कार्यालय र वडाहरुलाई समन्वय गर्दछ । वडा स्तरमा वार्ड अध्यक्षको संयोजकत्वमा कार्यान्वयन समिति छ भने टोल स्तरमा टोल विकास संस्थाहरुको संयोजकत्वमा टोल स्तरिय अभियान कार्यान्वयन समिति गठन गरी त्यसको माध्यमद्वारा नागरिक तह (घर–घरमा) अभियान पुर्याउँने व्यवस्था गरेका छौँ ।
४) टोलसम्म अभियान कार्यान्वयन समिति त गठन हुने व्यवस्था मिलाएको कुरा गर्नुभयो । ती समितिले कस्ता कार्यक्रम संचालन र कार्यान्वयन गर्दछन् ?
हामीले स्थानीय समितिहरु मर्फत स्वस्थ रहन अपनाउँनु पर्ने उपायबारे समुदायमा छलफल गर्ने, स्वस्थ जीवनशैली अपनाउँने तरीका सिकाउँने, नियमित योग, ध्यान, प्रणायम गराउँने, स्थानीय स्तरमा उत्पादित खाध्यसामग्रीहरु, ताजा फलफूल, सागसब्जी, औषधीजन्य वनस्पति र जडीवुटीको उत्पादन र उपयोग गर्न प्रोत्साहन गर्ने, व्यक्तिगत सरसफाई, सामुदायिक सरसफाई र पोषण सम्बन्धि सचेतना जगाउँने, जंकफुडको प्रयोगलाई निरुत्साहित गर्ने, सूतीजन्य तथा मदिराजन्य पदार्थको आवश्यक नियमन र नियन्त्रण सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने, गराउँने लगायतका कार्यक्रम संचालन हुनेछन् ।
हामीले यस अभियान अन्तरगत कार्यान्वयन गर्ने केही नारा र कार्यक्रम पनि तय गरेका छौँ ।
“एक घर पाँच जडीवुटी रोपण” अन्तरगत लुलसी, गुर्जो, पुदिना, अमला, वेल, निम र मोरिङ्गा आदिका विरुवाहरु प्रत्येक घरमा रोप्न प्रेरित गर्ने ।
“एक घर पाँच योग” मा सुर्योदयभन्दा अगाडी पद्मासन, सुखासन, सिद्घासन, पुतली आसन र सूर्यनमस्कार गर्ने ।
“एक व्यक्ति पाँच सकारात्मक व्यवहार परिवर्तन” अन्तरगत ढिलो उठ्ने, जंकफुड, नुनचिनीको वढी प्रयोग, शारीरिक व्ययाम नगर्ने र सूर्तीमदिराको लत जस्ता खराव वानीलाई प्रत्येक व्यक्तिले परित्याग गर्दै जाने ।
“मेरो घरआँगन म आफैँ सफा गर्छु” मा सवैले आफ्नो घरआँगन, शौचालय र वरीपरीको सफाई गर्ने वानीको विकास गर्ने ।
“समूदायको सरसफाई मेरो दायित्व” अन्तरगत जनप्रतिनीधि, राजनैतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज, वुद्घिजिवि सहित सदभावना दुतको साथमा चोक, वजार, सडक, सार्वजनिक स्थल आदि सरसफाई गर्ने ।
“भान्सा नै फार्मेसी वा औषधालय” मा ताजा स्वस्थवर्दक खाध्य वस्तुको सँधै उपयोग गर्ने जस्ता कृयात्मक कार्यक्रमहरु अभियानात्मक रुपमा संचालन हुनेछन् ।
५) अभियानमा धेरै कुरा रहेछन्, अहिलेसम्म के–के काम गर्नुभयो ?
अभियानलाई अघि वढाउन प्रदेश स्तरिय अभिमूखीकरण कार्यक्रम भएको छ । झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा जिल्ला स्तरको कार्यक्रम व्यवस्थापन समिति गठन भई अभिमूखिकरण समेत भइसकेको छ भने सुनसरीका सबै पालिकाहरुमा कार्यान्वयन समिति गठन भएका छन् ।
मोरङको सिंघिया खोला सफाइ अभियान, सूर्तिजन्य पदार्थको नियन्त्रणको अभियान, विधालयहरुमा जंकफूडको प्रयोगलाई निषेध गर्ने अभियान यस बर्ष गरिएका महत्वपूर्ण कार्यक्रमहरु हुन् । कोभिड १९ को महामारीको विरुद्घ स्वस्थ्य सचेतनाका कामहरुसँगै क्वारेन्टिन र आइसोलेशनमा रहेका संभावित संक्रमितहरु र संक्रमित विरामीहरुलाई रोग प्रतिरोधात्मक गर्ने आयुवेर्दीक र होमियोप्याथिक औषधीहरुको निशूल्क वितरण गर्ने कार्य पनि गरिएको छ । आगामी आर्थिक बर्षमा प्रदेशका बाँकी जिल्लाहरुमा जिल्ला व्यवस्थापन समिति गठन र अभिमूखिकरण गरी अभियानलाई तलसम्म पूर्याइने छ भने जनसंख्याको वढी केन्द्रकरण रहेका ६ जिल्लाहरुमा थप कार्यक्रमहरु संचालन गरिनेछ ।
६) अभियानको प्रभावकारिता कस्तो रह्यो ?
अहिलेसम्मको कार्यक्रमहरुको प्रभावकारिता सकारात्मक छ । प्रदेश सरकारले यस प्रकारको मौलिक कार्यक्रमद्वारा प्रदेशवासीहरुको स्वास्थ्य प्रवद्घन गर्नु महत्वपूर्ण कार्य हो । यो कार्यक्रमको सबै क्षेत्रबाट प्रशंसा भएको पाएको छु । यस बर्ष कोभिड १९ को कारणले समयमै कार्यक्रमहरु संचालन र कार्यान्वयन हुन पाएनन् । आगामी आर्थिक बर्षको प्रारम्भदेखि नै पूर्ण रुपमा कार्यान्वयन भएर जाने विश्वास लिएको छु । स्थानीय पालिकाहरुले अपनत्व नलिइकन यसले अभियानको रुप ग्रहण गर्न र सही ढंगबाट कार्यान्वयन हुन संभव छैन् । हामी स्थानीय पालिकाहरुसँग साझेदारी गरी प्रभावकारी रुपमा यस अभियानलाई अघि वढाउँने छौँ ।
७) यस कार्यक्रमको निरन्तरता के हुन्छ ?
मैले अघि नै भनिसकेको छु । यो कार्यक्रमको मुख्य उदेश्य मानिसहरुको अस्वस्थकर जीवनशैलीलाई परिवर्तन गराई स्वस्थकर जीवनशैली निमार्ण गर्नु हो । त्यसैले यो त चलिरहने जनस्तरको एक अभियान हो । सरकार प्रत्येक नागरिकको संरक्षक हुनुको कारण अभियानका रुपमा सही मार्गदर्शन गरिएको मात्र हो । आफ्नो स्वास्थ्य सुरक्षाको निमित सवैले यो मार्गदर्शनलाई जीवनशैली वनाउँदै जानुपर्दछ ।