सोमबार १८, मंसिर २०८० Mon,04 Dec 2023

सर्वाधिकार सुरक्षित

पथिकको छुई



08:40 शुक्रबार १८ , भाद्र २०७८

बिन्दु दहाल मूकदर्शक


छुई उपन्यासको वाह्य अध्ययन :
छुई साहित्यकार घनश्याम पथिकको एक सुन्दर उपन्यास हो । यो उपन्यासको वाह्य पक्षको अध्ययन गर्दा उपन्यास २७ भाग वा खण्डमा विभाजित रहेको छ जसलाई उपन्यासकारले अङ्कद्वारा विभाजन गरेका छन् तर भाग वा खण्ड केही भनेका छैनन् । उपन्यास २५२ पेजसम्म फैलिएको छ ।
जिल्लाको अगाडिपट्टिको भाग सेतो पृष्ठभूमिमा रहेको छ जहाँ सिरानमा जानु वा स्तुति ( मुख्य नारी पात्र ) छुई हुँदा बगेको धब्बाजस्तो झल्किने रातोरातो त¥याङ्तुरुङ परेको रङ्ग छ । उपन्यासको सिरानदेखि केही मुनि दाहिने साइडमा लेखकको नाम रहेको छ । तल्लोभागको दाइने साइडमा ठुला अक्षरले छुई लेखिएको छ । जिल्लाको पछाडिपट्टि बिचदेखि थोरै माथि उपन्यासको महत्त्वपूर्ण कथन उल्लेख गरिएको छ भने तल्लो भागमा अङ्ग्रेजीमा पुस्तक प्रकाशक संस्थाको नाम शिखा लेखी सम्पर्क नम्बर ,इमेल , मूल्य ,उपन्यासको  नम्बर तथा देब्रे साइडमा छुई उपन्यासको अगाडिको भाग देखिने सानो तस्बिर राखिएको छ । पुस्तकको भित्री पानाहरूमा हल्का कागज प्रयोग गरिएको छ जसको कारण पुस्तक आफैँमा हलुका बनेको छ । उपन्यासमा प्रयोग गरिएका अक्षर र मसीमा कुनै कमीकमजोरी देखिँदैन । बाइन्डिङ पनि मजबुत रहेको छ । समग्ररूपमा पुस्तकको बाहिरी रङरूप आकारप्रकार मूल्य सुलभता आदि कोणबाट हेर्दा छुई एक सफल उपन्यास हो भन्ने कुरामा सहजै लख काट्न सकिन्छ ।
छुई उपन्यासको आन्तरिक मूल्याङ्कन :
प्रस्तुत उपन्यासका प्रमुखपात्रहरूमा नायिका जानु अधिकारी र नायक संयोग रहेकाछ्न् । यी बाहेक राजन ओली ,केशव पोख्रेल ,स्तुति टङ्के ,जगते, जानुकी हजुरआमा ,जानुका बाबुआमा दाजु, दीपक ,अजित ,सविन ,लोकबहादुर ,सबु ,अशोक आदि रहेका छन् । प्रस्तुत उपन्यासको सम्पूर्ण कथावस्तु जानु अधिकारी र संयोगकै केन्द्रीयतामा अगाडि बढेको छ । जानुले जब ढुकुरपानी माविमा पढ्नका लागि कक्षा ९ मा प्रवेश गरी त्यहीँदेखि उपन्यासले गति लिएको छ । नयाँ विद्यालयमा जानु प्रवेश गरेपछि उसको विस्तारै संयोगसँग आत्मीयता बढ्दै जान्छ । उसलाई संयोगले मन पराउँछ तर भन्न सक्दैन । जानु पनि आफ्ना कुरा संयोगसँग प्रष्टसँग भन्न सक्दिन । एउटै सदनको राजन ओलीले पनि जानुलाई मन पराउँछ र प्रेम प्रस्ताव राख्दछ तर जानुले यसलाई ठाडै अस्वीकार गर्छे र अन्त्यमा राजनले आत्माहत्यासमेत गर्दछ । यसैगरी स्तुतिसँग धरानमा बुढासुब्बाको दर्शन गर्न जाँदाजाँदै स्तुतिलाई बाटैमा छुई भएको घटना निक्कै मर्मस्पर्सी छ भने जानुकी हजुर आमाले नातिनीको गोडाधोएपछिमात्र आफू मरणपछि स्वर्ग जाने कुराले जानुको जीवनमा गम्भीर प्रभाव पार्छ । उसले एस एल सी दिएपछि विवाह नगरी नहुने भयो । जानुको विवाह प्रशान्तसँग हुन्छ । जानु प्रशान्तसँग काठमाडौं जानु , प्रशान्तका कारण उसका छोराछोरी नजन्मनु र टेष्ट्युबबाट छोरी जन्माउनु, छोरी सजा साहित्यप्रेमी बन्नु र सम्राट्ले छुई उपन्यास काठमाडौंमा विमोचन गर्नु ,सजाले छुई उपन्यास घरमा लिएर आउनु ,सो किताब जानुले देख्नु ,जानुले यो पुस्तक लेख्ने संयोग नै होभनी ठम्याई छोरी जानुसँग सम्राट स्मृतिलाई भेट्न आमाछोरी स्वस्तिक होटल एण्ड लजसम्म पुग्नु तर सम्राटले स्कुले जीवनमा एस इ ई दिइसकेपछि संयोगको सटमा जानुले लेखेकी मिस यु सो मच संयोग लेखेको सर्ट उपहारस्वरूप जानुलाई छोडेको र स्वस्तिक होटलवालाले सोही सर्ट सजालाई दिएको र पछि उक्त उपहारको पोका खोलेपछि सम्पूर्ण कुरा जानकारी पाएर जानु भावविह्वल भएर रोएको घटनामा पुगेर उपन्यास दुखान्त अवस्थामा पुगेर समाप्त हुन्छ ।
उपन्यासको मूलभाव सन्देश :
छुई उपन्यास घनश्याम पथिकको एक उत्कृष्ट सामाजिक एवम् मनोवैज्ञानिक उपन्यास हो । उल्लिखित उपन्यासको सम्पूर्ण कथावस्तुलाई सरसर्ती अध्ययन गर्दा यो उपन्यासले निम्नलिखित कुरालाई मुख्य भाव र सन्देशका रूपमा प्रवाह गरेको छ ।
१. विपरीत लिङ्गप्रतिको आकर्षण : प्रस्तुत उपन्यासमा उपन्यासकार पथिकले आफ्ना बालपात्रहरूको मनोवैज्ञानिक अध्ययन र सूक्ष्म विश्लेषण गर्ने काम गरेका छन् । विद्यालयमा अध्ययनरत टिन एजका बालबालिकाहरू कसरी एक अर्कामा क्रमिकरूपमा आकषिर्त हुन्छन् भन्ने कुरालाई उनले जानु,सबु ,संयोग ,राजन, टङ्के ,लगायतका ढुकुरपानी माविमा अध्ययन गर्ने बालबालिकाहरूको व्यवहारलाई अध्ययन गरी यो उपन्यासमार्फत देखाएका छन्। उपन्यासकानुसार जानु जब ढुकुर पानी माविमा कक्षा नौमा प्रवेश गर्छे तब उसको संयोगप्रति विस्तारै आकर्षण बढ्दै जान्छ । संयोगको सुकुमार हँसिलो अनुहार र खाइलाग्दो जिउडाल , उसको पढाइप्रतिको लगाव , अतिरिक्त क्रियाकलापप्रतिको उत्कृष्ट प्रदर्शन र कुशल नेतृत्त्व एवम् सुमधुर बानीव्यवहार र बोलीचालीले नै जानुलाई गहिरो प्रभाव पारेको थियो र ऊ भित्रभित्रै संयोगलाई मन पराउथी । संयोगको पनि जानुप्रति क्रमशः आकर्षण बढ्दै गयो । उनीहरू एकार्कालाई प्रेम त गर्छन् तर व्यक्त गर्न सक्दैनन् । उनीहरूको प्रेम अमूकरूपमा आँखाले ,व्यवहारले ,हरेक क्रिया कलाप र एकअर्काको अनुपस्थितिले समेत बोलिरहेको हुन्थ्यो । राजनले एकोहोरोरूपमा जानुलाई मन पराउँथ्यो र उसलाई जबर्जस्ती प्रेम प्रस्तावसमेत ग¥यो तर यो कुरा जानुलाई जानुलाई स्वीकार्य भएन । यस्ता प्रकृति क्रियाकलापले के बुझाउँछ भने टिन एजका नानीहरू यो बेलामा विपरीत लिङ्गप्रति बढी नै आकर्षित हुन्छन् । उनीहरू मनमिल्ने ,उमेर मिल्नेसँग साथीसमूह बनाउँछन् ,खेल्छन् रमाउँछन्, प्रेम गर्छन् ,विश्वास र कहिलेकाहीँ घातसमेत गर्छन् भन्ने कुरालाई उपन्यासले जानु , संयोग , राजन, सबु टङ्के ,पोके आदि पात्रका व्यवहारबाट प्रष्ट्याएको छ ।
२. मनोवैज्ञानिक सङ्कटमा किशोरीहरू : किशोरीहरू भन्नाले एघार वर्षदेखि पन्ध्रवर्षसम्मका बालिकाहरूलाई बुझिन्छ ।यो उमेरमा उनीहरूमा क्रमशः शारीरिक परिवर्तनहरू देखापर्दछ्न् । यो अवस्थामा उनीहरूलाई प्रारम्भिक यौनशिक्षाको आवश्यकता पर्दछ । यो उमेरमा केकस्ता शारीरिक परिवर्तन हुन्छन् भन्नेबारे उनीहरूलाई शिक्षा दिन सक्दा यस्ता सङ्कटबाट उनीहरू बँच्ने थिए तर यसको अभावमा उनीहरू गम्भीर मनोवैज्ञानिक सङ्कटमा जेलिन पुग्छ्न् । प्रस्तुत उपन्यासमा पनि शशी विद्यालयमा हुँदा छुई भई र एउटा मनोवैज्ञानिक तनावमा परी भने अर्की सानी बालिकालाई सरले पढाउँदा क्यान्सर हुँदा शरीरका विभिन्न भागमा मासु पलाउँछ भन्दा सर कक्षाबाट निस्किएपछि उसले आफ्ना स्तन बढ्न थालेका हुन् भन्ने बुझ्न नसकेर डाको छोडेर रोएकी छे र मनोवैज्ञानिक सङ्कट र तनावमा यसरी परेकी छे मेरो पनि यहाँ मासु पलाउँदै छ ,ठुलो पनि हुँदै छ ,सानीले छाती देखाई र पिलपिल रुन थाली ( पेज १४४) । यसरी तनावमा परेकी सानीलाई शशीले सबै कुरा बुझाएपछिमात्र चुप लागी । यसरी नै कअि दिईसकेपछि आफ्नी आमाको अन्तिम इच्छा पूरा गर्न जानुका बुबाले जानुलाई  हजुरीको गोडा धुने इच्छा पूरा गर्न कुरो चलाएको छु । छोरीले त्यसमा नाइ नभन्नू भने र त्यसपछि जानुले यस्तो अनुभव गरी । बुबाका कुरा सुनेर म खङ्ग्रङ भएँ ,सपना हो कि विपना हो ठम्याउन सकिन । ( पेज १७२) यसरी नै उपन्यासले स्तुति मन्दिर जाँदा बाटामै छुई भएको घटना ,जानुको कुरा छिनिसकेपछि छुई हुँदा अब तीनदिनसम्म आफ्नो विवाह हुने कुरा कसैलाई नभन्नु भनी आमाले भनेका कुराबाट , राजनले बाटो छेकोको घटनाबाटसमेत किशोरीहरू यो उमेरमा कसरी मनोवैज्ञानिक सङ्कटमा पर्छन् भन्ने कुरालाई मार्मिकरूपमा देखाउन खोजिएको छ ।
३. हार्दिक प्रेम आकर्षण र विकर्षण : वास्तवमा प्रेम दुई आत्माको मिलन हो । जसरी एउटा मात्र हातले कहिले पनि ताली बज्दैन त्यसरी नै एउटा मात्र पात्र या चरित्रले चाहेर प्रेम हुँदैन । प्रस्तुत छुई उपन्यासको सन्दर्भमा प्रेमलाई हेर्दा पनि उपन्यासले यही अर्थमा प्रेमलाई परिभाषित गरेको छ । जब जानु अधिकारी ढुकुरपानी माविमा कक्षा नौमा पढ्न प्रवेश गरी तब पहिलो दिनमै उसको संयोगसँग प्रेमको वीजाङ्कुर प्रारम्भ भयो । क्रमिकरूपमा दिन बित्दै जाँदा ऊ र संयोगबिचमा अमूक प्रेम झाँगिँदै गयो । उनीहरूको व्यवहारले ,आँखाले ,हाउभाउले एक अर्कालाई प्रेम गर्छन् भन्ने कुरा स्पष्ट व्यक्त भैरहेको थियो । दुई आत्माको बिचमा हार्दिक प्रेम झाँगिदै जाने क्रम जारी रहेकै बेला अर्कापट्टि राजनले पनि जानुलाई प्रेम गरिरहेको थियो तर त्यो एकाकी प्रेम थियो । राजनले जानुप्रतिको प्रेममा के गरेन ? उसले बाटो छेकीछेकी फकायो , मनोवैज्ञानिक रूपमा धम्क्यायो ,सङ्कटमा पा¥यो तर राजनको प्रेमले कहिले पनि जानुलाई आकर्षण गर्न सकेन चुम्बकका समान ध्रुबबिच जसरी विकर्षण हुन्छ ठिक त्यस्तै भइरह्यो । जानुलाई पाउन राजनले सबै थोक ग¥यो । विभिन्न उपहारदेखि नारी चिरेर अमर प्रेमको भावना यसरी व्यक्त ग¥यो। तिमीले मेरो माया किन नदेखेकी ? ल हेर तिमीलाई कति माया गर्छु , उसले गोजीबाट ब्लेड पो निकाल्यो । आत्तिएँ । देख्दादेख्दै ब्लेडले अङ्ग्रेजीको आइ लेखिहाल्यो .......... रुमाल निकालेर काटेको ठाउँ बाँधिदिएँ । एक्कासि मलाई रुन पो आयो । यसरी बारम्बार राजनले हार्दिक प्रेम गरेर जानुको मन जित्न खोजे पनि संयोगप्रतिको उसको आकर्षण ,आत्माविश्वास र समर्पण कहिले घटेन । अन्त्यमा राजनले आफ्नो शरीरभरि रगतले जानु जानु भनेर लेखी आत्मा हत्यासम्म ग¥यो । यो घटनाले एकापट्टि प्रेममा एकोहोरो अन्धो भएर ज्यान फाल्नु घातक हो भन्ने कुरालाई उपन्यासले देखाउन खोजेको छ भने अर्कोतिर आत्मिक प्रेमको बलिदानीपूर्ण कार्यलाई पनि सँगसँगै देखाएको छ ।संयोगभन्दा केही जेठो ,अलि नराम्रो ,पढाइमा अलि नजान्ने भएर नै जानुले पटक पटक राजनको प्रेम अस्वीकार गरी । वास्तवमा राजनको सच्चा प्रेम उसले बुझ्न सकिन । प्रेम कसैसँग जबर्जस्त गरिँदैन ,सफल प्रेम दुई आत्माको सुमधुर मिलनबाट मात्र सम्भव हुन्छ भन्ने कुरा उपन्यासले प्रस्तुत गरेको छ ।
४. नारीमाथिको उत्पीडन : नेपाली समाजमा विभिन्न खालका नारी उत्पीडनहरू पाइन्छ्न् । वित्तीय ,जातीय ,लिङ्गीय ,क्षेत्रीय ,वर्गीय आदि विविध प्रकारका नारी उत्पीडनका जाँतोमा आमादिदी बहिनीहरू पिसिने क्रम जारी छ । देशमा आमूल राजनीतिक परिवर्तन आए पनि जातीय तथा नारी उत्पीडनमा तात्विक अन्तर आएको देखिँदैन । यसो हुनुभनेको हाम्रो परम्परागत संस्कार र विचारमा परिवर्तन आउन नसक्नु हो । नारीहरूले नारी उत्पीडन आफ्नै घरबाट त्यसमा पनि आफ्नै श्रीमान्, बुबाआमा दाजु भाइबाट भोग्न सुरु गर्छन् र क्रमशः उनीहरू विद्यालय ,कार्यालय ,समाज जाहीँतहीँ सिकार बन्न थाल्छन् । प्रस्तुत घनश्याम पथिकको छुई उपन्यासले पनि नारीहरूको उत्पीडनलाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरेको छ । विशेष गरी जानु ढुकुरपानी मा वि मा पढ्न गएको पहिलो दिनमै उसको चिम्टीमा एक्कासि चुङ्गी अड्किनु र यो क्रम अरूअरू दिनमा पुनरावृत्ति भईरहनु नारी उत्पीडनको एउटा मार्मिक दृष्टान्त हो । पटकपटक जानुको शिरमा भएको चुङ्गी प्रहार र अड्किनुलाई संयोगमात्र मान्न सकिँदैन यो त नियोजित हो । संयोग विद्यालय नआएको दिन दीपक जानुहरूलाई यसो भन्छ  ओए दीपेश चुङ्गी निकाल् त संयोग नभए पनि म अड्काउँछु यिनीहरूको कपालमा ,( पेज ४० ) । वास्तवमा विद्यालयमा केटाहरू नजानेजस्तो गरेर किशोरीहरूसँग ठोक्किने , पत्तो नपाएजसरी उनीहरूका संवेदनशील अङ्गमा हात पु¥याउने , इच्छा विरुद्ध कुनै केटासँग केटीको नाम जोडेर ट्वाइलेट र विद्यालयका भित्ताहरूमा लेख्ने कार्य भनेको विद्यालयमा छात्राहरूमाथि हुने एकप्रकारको उत्पीडन नै हो जसले किशोरीहरूमाथि मनोवैज्ञानिक सङ्कट र दबाब सिर्जना गरी अन्यमनस्क स्थितिमा डुबाइदिन्छ र उनीहरू पीडा खप्न विवश हुन्छन् भन्ने कुरा प्रस्तुत उपन्यासले छर्लङ्ग पारेको छ । नारी उत्पीडनकै विषयमा सामालोचक बाँस्कोटा धनन्जय यसो भन्नुहुन्छ  जानु यही सिलसिलामा अनेकौं मनोवैज्ञानिक पीडा यौनौत्पीडन र मानसिक अन्यौलता र चिन्ताको सिकार हुनपुगेकी छे । विभिन्न परिस्थितिहरूमा जानुका मुखबाट निस्किएका अभिव्यञ्जनाहरूले यसको पुष्टि गरेकै छन् । पितृसत्तात्मक नेपाली समाजमा नारीहरू उत्पीडनमा पर्नु भनेको कुनै अनौठो कुरा होइन जुन कुरालाई छुई उपन्यासले हरेक कोणबाट विश्लेषण गरेको छ । जानुका
बुबाले आमाको इच्छा पूरा गर्न जानुको विवाह कलिलै उमेरमा गरिदिनु ,प्रशान्तले आफ्ना छोराछोरी हुँदैनन् भन्ने कुरा थाहा पाउँदापाउँदै जानुलाई विहे गर्नु र छुई भएको अवस्थामा नारीहरूलाई हरेक क्रियाकलापमा रोक लगाउनु नारी उत्पीडन कै पराकाष्ठा हो जुन उपन्यासले छर्लङ्ग पारेको छ ।
५. सामाजिक अन्धविश्वास विरुद्ध जनचेतनको पुञ्ज छुई उपन्यास : हाम्रो नेपाली समाजमा धेरै प्रकारका सामाजिक अन्धविश्वास छन् । जस्तै बिरालाले बाटो काट्नु ,यात्रा थाल्दा रित्तो गाग्रो देखिए साइत बिग्रेको भन्नु छुई हुँदा बोटबिरुवा छुन नहुनु,घरको धुरी हेर्न नहुने,दाजुभाइको मुख हेर्न नहुने ,कोठामै बस्नुपर्ने आदिआदि । प्रस्तुत छुई उपन्यासले पनि हाम्रो क्षेत्रीब्राह्मण समाजमा चल्दै आएको परम्परागत छुईसम्बन्धी मनोगत सङ्कीर्ण अन्धविश्वासलाई अत्यन्त मार्मिक ढङ्गबाट प्रस्तुत गरेको छ । यहाँ पनि जानु छुईहुँदा उसलाई आफ्नो विवाह हुँदै छ भनेर तीनदिन नहुन्जेलसम्म कसैलाई नभन्न आमाले भनेकी छिन् जसको परिणाम स्वरूप संयोगसँग उसको जिन्दगीभरि विछोड हुन पुग्यो । स्तुतिलाई धरान बुढाको दर्शन गर्न जानुले लिएर जाँदा बाटैमा छुई भको कारण अब भगवान् को दर्शन गर्दा पाप लाग्छ भनी बुढासुब्बाको मन्दिरमा दर्शन नगरी फर्कनु जस्ता कुरा हाम्रो समाजमा चलेका धार्मिक रुढीबादी हुन् भन्ने कुरा बुढासुब्बाकै दर्शन गर्न आउने लामो केश हुने राईनी चेलीबाट उपन्यासकारले यसो भनाएका कुराबाट प्रष्ट्याका छन्  तिमीहरू क्षेत्री÷ बाहुनको नियम कडा छ बहिनी । हामी राईको नियम तिमीहरूको जस्तो चर्को छैन हाम्रो कुलदेउताले छुट दिएका छन् । छुँदा फरक पनि पर्दैन ।लामो कपाल भएकी दिदीले हाँस्दै भनिन् । यी र उपन्यासले सङ्केत गरेका अन्य कतिपय तथ्यहरूले के देखाउँछ भने ईश्वर अन्ततः एउटै मात्र हुन्छ तर मान्छेले जातअनुसारका ,व्यक्तिअनुसारका ,सम्प्रदायअनुसारका ईश्वरको परिकल्पना गरेर आफ्नै जीवनलाई बिख बनाएर छटपटाई रहेको छ । यी व्यक्तिअनुसारका ईश्वर र मनगढन्ते संस्कार सब वाहियात हुन् । छुई त एउटा प्राकृतिक नियम हो ,यसलाई बङ्याएर नारीको जीवनमाथि पीडा थोपर्ने हाम्रो अन्धसमाजलाई उपन्यासकार पथिकले छुई उपन्यासमार्फत सिस्नोपानी लगाएका छ्न् ।
६. बालमनोविज्ञानको सूक्ष्म अध्ययन र विश्लेषण : नेपाली उपन्यास जगतमा मनोविज्ञानको प्रयोग विभिन्न उपन्यासकारहरूले गरेका छ्न् । मनोविज्ञानमा खासगरी पात्रीय चेतन ,अवचेतन र अचेतन मनको विश्लेषण र अध्ययन गरिन्छ । उपन्यासका क्षेत्रमा मनोविज्ञानको सफल प्रयोग गर्ने उपन्यासकार र उपन्यासहरूमा गोबिन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल ,विजय मल्लको अनुराधा ,विश्वेश्वरप्रसाद कोइरालाको तीनघुम्ती ,नरेन्द्र दाइ र सुम्निमा आदि प्रख्यात रहेका छन् । उपन्यासकार पथिकले पनि यस उपन्यासमा बालमनोविज्ञानको सुन्दर प्रयोग गरेका छन् । उपन्यासकारले यस उपन्यासमा किशोरकिशोरी अवस्थाका बालबालिकाहरूको सूक्ष्म अध्ययन गर्दै यो उमेरमा उनीहरूले शिक्षकलाई कसरी नाम राख्छन् ,कसरी विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन् , यो उमेरमा उनीहरूको व्यवहार कस्तो हुन्छ ? सामाजिक अन्धविश्वासप्रति उनीहरूको धारणा र प्रभाव कस्तो हुन्छ भन्ने कुरालाई टङ्के,जानु ,राजन ,संयोग स्तुति आदि पात्रहरूको मनभित्र पसेर सूक्ष्म अध्ययन र विश्लेषण गरेर देखाई उपन्यासलाई सफल बिन्दुमा पु¥याएका छन् । मनोविज्ञानको अध्ययन गर्नु जटिल कुरा हो तर यस जटिल कार्यमा पथिक खरोरूपमा उत्रन सफल भएका छ्न् । किशोरकिशोरी अवस्थाको उरन्ठ्यौलो र चन्चलेपन ,यौन शिक्षाको अभावमा बालबालिकाले झेल्नुपर्ने समस्यालाई सानी बालिकाले मेरो छातीमा मासुको डल्लो बढ्दै छ । यस्तो मासुको डल्लो त क्यान्सर हुन सक्छ रे सरले भन्नुभएको भनी रुँदै ठुला दिदीहरूलाई सुनाएको घटनालाई रोचक र हाँस्यात्मक पाराले प्रस्तुत गरेका छन् ।
७. पूर्वी नेपालको भौगोलिक परिवेशको पहिचान : उपन्यास लेख्नका लागि टाढा कतै प्रकृतिको मनोहर एकान्त स्थल नै चाहिन्छ भन्ने मान्यतालाई यो छुई उपन्यासले पनि तोडेको छ र साहित्य लेखनमा क्षमता भए स्थानले त्यस्तो ठुलो महत्त्व राख्दैन भन्ने कुरालाई उपन्यासले देखाएको छभने अर्कातिर प्राकृतिक सौन्दर्यका लागि दमक पनि कम छैन भन्ने कुरा पनि उपन्यासले सम्झाएको छ । उपन्यासमा दमकको सुन्दर चिया बगान ,आमचोक ,ढुकुरपानी , हिमालय मा वि , दमक बजार गोलाटार ,धरान , तरहरा वसन्तपुर आदि स्थान प्रयोग गराइले नेपालको सुदूरपूर्वी क्षेत्रको आञ्चलिकता बुझ्न भावकलाई सजिलो बनाएको छ ।
८. खानपान र रहनसहनमा सजगता : प्रस्तुत छुई उपन्यासले बहुपक्षीय कुराहरूलाई उजागर गरेको छ । यसैक्रममा मानिसले स्वस्थ र समुन्नत जीवन यापनका लागि आफ्नो बानीबेहोरा ,खानपान र रहनसहनमा पनि समयमै ध्यान दिनुपर्छ भन्ने कुरालाई पनि प्रशान्तकी हजुराआमा क्यान्सरबाट मरेकी , प्रशान्त अजितहरूले अत्यधिक रक्सी सेवन गरेको घटनाद्वारा देखाउन खोजेको छ । साँच्चै अहिलेको समयमा केवल स्वादका लागि आफ्नो स्वास्थ्यलाई ख्यालै नगरी हामी रेडीमेड र जङ्क फुड ,जाँडरक्सी खाइरहेका छौं । रेडीमेड सुख्खा र जङ्क फुड रक्सी चुरोट आदिले क्यान्सर ,ग्यास्टृक ,पेट दुख्ने ,कमलपीत्त ,बाँझोपन जस्ता डरलाग्दा र घातक रोग लाग्ने गर्छन् र यस्ता कुराबाट हामीले आफू र हाम्रा बालबालिकाहरूलाई पनि जोगाउनुपर्छ भन्ने कुरा पनि उपन्यासले सन्देशका रूपमा प्रस्तुत गरेको छ ।
९. संघर्षपूर्ण जीवन चेतना : मान्छेले बाँच्नका लागी अनेक प्रकारका सङ्घर्ष गर्नुपर्छ । वास्तवमा भन्ने हो भने सङ्घर्ष नै जीवन हो । जसले जीवनमा सङ्घर्ष गर्छ उसले नै जीवनमा सफलता पाउँछ । प्रस्तुत उपन्यासमा पनि यस्तै दृष्टान्त पाइन्छ । जानुले स्कुले जीवनदेखि नै राजन आदि पुरुष साथीहरूबाट प्रताडित बन्दै सङ्घर्षशील जीवन बिताउनु प¥यो । आफ्नै घरपरिवारसँग पनि जानुको सङ्घर्ष अनौठो रह्यो । अर्काको मनोकाङ्क्षा पूरा गर्न उसले बलीको बोको हुनु प¥यो र केटाकेटीमै विवाह गर्नु प¥यो । यस्तै प्रसङ्गमा जानु भन्छे डर र पिरले एकैपल्ट गाँज्यो ।तर आफ्नो हातमा छैन आफ्नै जिन्दगीको निर्णय गर्ने साँचो ।( पेज १७४) ,प्रशान्तले आफ्नो सन्तान हुँदैनन् भन्ने थाहा पाउँदापाउँदै जानुलाई बिहे गरेर फँसायो र वाध्य भएर जानुले टेष्टट्युब बेबी जन्माउन सङ्घर्ष गर्नुप¥यो । उता संयोगले पनि जानुलाई पाउनबाट वन्चित भएपछि जीवनभरि जानुको यादमा छटपटाउनु प¥यो र एकप्रकारले सङ्घर्षपूर्ण जीवन व्यतीत गर्नु प¥यो । स्वयम् जानुको श्रीमान् पटकपटक एसएलसी फेल हुन्छ तर पनि हार नखाई जीवन यात्रामा अगाडि बढिरहन्छ र सविन र अजितसँग मिलेर पोलिक्लिनिक सञ्चालन गर्छ र आफूलाई आत्मानिर्भर बनाउँछ । यसरी हेर्दा यस उपन्यासका मुख्य तीन पात्रहरूले पृथक् पृथक् प्रकारले सङ्घर्षपूर्ण जीवन व्यतीत गरेका छन् जसबाट हामी पात्रले राजन जस्तो जीवनसँग भागेर होइन सङ्घर्ष गरेर बाँच्नुपर्छ भन्ने प्रेरणा पाउन सक्छौँ ।
१०. आत्माहत्या विरुद्धको अभियान : प्रस्तुत उपन्यास आत्माहत्या विरुद्धको एक अभियान पनि हो (पथिक घनश्याम– अनलाइन संवाद) प्रस्तुत लेखकीय विचारलाई विश्लेषणात्मकरूपमा हेर्दा यो एकप्रकारले फजुल जस्तो लाग्छ किनकि आत्माहत्या विरुद्धको अभियान हो भने लेखकले राजनको आत्माहत्या गराउनु हुने थिएन । पटक पटक आत्माहत्या गर्न खोजेको देखाउँदै अन्त्यमा उसमा आत्माहत्या गलत कार्य रहेछ भन्ने चेतना भरी उसलाई आत्माहत्या गर्नबाट जोगाउनु पर्थ्यो र मलाई पनि लागेको यही हो तर अर्को कोणबाट हेर्दा जब राजनले जानुलाई जबर्जस्ती पाउने प्रयास ग¥यो र जानुले राजनको प्रेम प्रस्ताव अस्वीकार गरी त्यसपछि उसले आत्माहत्या ग¥यो । तर उसको आत्माहत्याप्रति स्वयम् उसकै बुबाले पनि सहानुभूति दर्शाउन सकेन र उल्टै जानुको घरमा आएर यसरी माफ माग्यो हजुरले माफ गरिदिनु हजुरहरूले । मेरो छोराले गल्ती ग¥यो । ( पेज १२८ ) । उसको मृत्युमा न साथीभाइले सहानुभूति दर्शाए न जानुका स्कुलका शिक्षकहरूले नै । यस कुराबाट के पुष्टि हुन्छ भने जीवनसँग डराएर भागी आत्माहत्या गर्नेहरूप्रति कसैको सहानुभूति हुँदैन र यस्तो दुस्साहस कसैले गर्नु हुँदैन भन्ने सन्देश उपन्यासले दिन्छ । यस अर्थमा यो उपन्यास आत्माहत्या विरुद्धको एक अभियान पनि हो ।
११. सत्यप्रतिको निष्ठा र खोजी : प्रस्तुत उपन्यासले नजानिँदो तरिकाले सत्यप्रति निष्ठा व्यक्त गर्दै सत्यको खोजी गरेको छ । जब राजनले आत्महत्या ग¥यो तब राजनको बुबाले जानुको घरमा गएर माफी माग्नु भनेको सत्यप्रतिको निष्ठा र खोजी हो । वास्तवमा गहिरो गरी सोच्ने हो भने राजनका बुबाको ठाउँमा अर्को कोही भएको भए मेरो छोरालाई आत्माहत्या गर्न वाध्य पार्ने यही जानु हो भनी जानु र उसका परिवारलाई दोष लगाएर क्षतिपूर्ति माग्न थानाचौकी र अदालतसम्म पुग्थे होला । शक्तिको भरमा अरू अरू पाखण्डी व्यवहार पनि गर्थे होला तर जानुको बुबाले धैर्य र संयम अपनायो । जे सत्य हो त्यो सबैका सामु ओकल्यो र सत्यको पक्षमा उभियो । सत्यप्रति निष्ठा व्यक्त ग¥यो । यसरी नै जानुका विद्यालयका प्र अ र शिक्षकहरूले पनि सत्यको पक्ष लिएर जानुलाई सान्त्वना दिन उनको घरसम्म पुगे यी कुराहरूबाट उपन्यासले सत्यको मार्ग पहिचान गरी हिँड्न सबैलाई सन्देश दिएको छ ।
१२. समस्याबाट भाग्ने होइन समाधान गर्न सन्देश : प्रशान्तको समस्या आफूबाट सन्तान हुन नसक्ने थियो । यो समस्याबाट ऊ त्यस्तो चिन्तित पनि भएन र जीवनबाट भाग्न पनि खोजेन । बरु उसले साथीहरूसँग मिली पोलिक्लिनिक खोलेर ऊ जस्ता निसन्तानहुनेहरूका लागि टेष्टट्युब बेबी जन्माएर समस्या समाधान गर्न सकिन्छ भन्ने उज्यालो जीवनको मार्ग निर्देश ग¥यो । यसरी नै बेरोजगार विद्यार्थीहरूले आफ्नो वीर्य बेचेर दुई पैसा आर्जन गरी आफ्नो अध्ययनलाई सहज गर्न सक्छन् भन्ने जमानानुसारको शिक्षा दियो । यस अर्थमा पनि यो उपन्यासको महत्त्व उच्च रहेको छ ।
१३. मित्रवत् व्यवहारको सन्देश : प्रस्तुत उपन्यासले भावकहरूलाई गाँस छोड्नु साथ नछोड्नु भन्ने सन्देश पालना गर्न आग्रह गरेको छ । प्रशान्तले उसका साथी अजित र सविनलाई आर्थिक कठिनाइ परेर पढाइ छोड्नुपर्ने स्थितिमा क्रमशः एक लाख र दुई लाख आर्थिक सापटी दिएर उदार हृदयको परिचय दिएको छ । यस अर्थमा मानिसले आफ्नो मन ठुलो फराकिलो पारी मानवीय सहयोग गर्न पछि पर्नु हुँदैन भन्ने दृष्टान्त पेस गरेको छ । मित्र त्यही हो जो अभरमा सहयोग गर्छ भन्ने कुरालाई उपन्यासले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको छ । सम्पत्तिमा सबैको हाइहाइ विपत्तिमा कोही छैन दाजुभाइको व्यवहार गर्नु हुँदैन भन्ने हाम्रो पूर्वीय संस्कारलाई चरितार्थ गरेको छ ।
१४. विपरीत लिङ्गानुभूति : समान लिङ्गको विषयमा अनुभूति गर्न र बताउन सजिलो होला तर विपरीत लिङ्गीय अनुभूति दुरुस्त बयान गर्न निक्कै दिमागी पापड बेल्नुपर्छ तर उपन्यासकार पथिक यस कार्यमा खरो रूपमा उत्रिन सफल भएका छन् ।उपन्यासकी मुख्य पात्र जानु स्वयम् उपन्यासकार हुन् । महिला पात्रका रूपमा आफूलाई उभ्याउनु र नारी मनोविज्ञानलाई केलाएर नारीका पीडा र समास्या आफैँले अनुभूति गरे जसरी भन्नु चानचुने कुरा होइन । उपन्यासकार पथिकको यो लेखकीय कला र सिपलाई मान्नै पर्छ । यस कुरामा उनी कतै चुकेका छैनन् ।
१५. गजल र कविताको स्वाद : प्रस्तुत उपन्यासको अर्को विशेषता के हो भने उपन्यासकारले यस उपन्यासमा कथावस्तुले मागेबमोजिम गजल र कविता पनि प्रस्तुत गरेका छन् । यसो गर्नुभनेको उनको गजल र कविताप्रतिको मोह र दख्खल पनि हो । पाठकहरूले उपन्यास पढ्दै जाँदा यसरी कविता र गजलका सेर पढ्न पाउँछन् ।

जून रुनु तारा रुनु कस्तो लाग्छ तिमीलाई
हाम्रो माया टाढा हुनु कस्तो लाग्छ तिमीलाई ।
बाल्टीभरि माया भिजाई तिम्रा मेरा दुवै हातले
मायाले नै माया धुनु कस्तो लाग्छ तिमीलाई ।

 

कविताका हरफहरू
घामको साथी छाया
मनको साथी माया
हिजोको साथी भोलि
कानको साथी बोली
.............
यसरी उपन्यासले एकातिर औपन्यासिक स्वाद चखाउँछ भने अर्कातिर कविता र गजलका परिकार । यो सबै लेखकको खुबी र क्षमताको कुरा हो । यसरी नै यो उपन्यासले देवकोटाकै मदनले जस्तो नेपाली युवाहरूले भोग्नुपर्ने बेरोजगारी समस्या र बाँच्नका लागि विदेशिनु पर्ने कुरालाई पनि संयोग मार्फत सटिक रूपमा देखाएको छ ।
उपन्यासको भाषिक संरचना र सीमा :
डायरी शैलीमा लेखिएको प्रस्तुत छुई उपन्यासलाई भाषिक संरचनाको दृष्टिकोणबाट नियाल्दा संरचना पक्ष अत्यन्त सरल र सहज छ । छोटा छोटा वाक्यहरू रहेका कारण पढ्दाखेरि पनि कुनै असजिलो हुँदैन । प्रायः सरल वाक्यमा संरचित छ यो उपन्यास । उपन्यासमा ठाउँ ठाउँमा उखानतुक्काहरूको पनि प्रयोग गरिएको छ जसले गर्दा उपन्यास अध्ययनमा मिठास थपिएको छ । बोलचालको संवादात्मक शैली पनि उपन्यासमा धेरै प्रयोग गरिएको छ ।
प्रथमपुरुषीय कथन पद्धतिमा उपन्यासको कथानक अघि बढाइएको छ । उपन्यासका सीमाहरूतर्फ विचार गर्दा उपन्यासमा वर्णविन्यास अपेक्षा गरेअनुसार छैन । एउटै शब्दलाई कतै ह्रस्व त कतै दीर्घ लेखिएको छ । वर्णविन्यासमा राम्ररी ध्यान दिइएको भए उपन्यासको गरिमा अझ वृद्धि हुनेथियो । यसरी नै यो उपन्यासकी मुख्य पात्र जानुलाई एउटी लुरे पात्रको रूपमा देखाइएको छ । उसले अन्धविश्वासका विरुद्धमा विद्रोह गर्न सकेकी छैन त्यसरी नै आफ्नो लोग्नेबाट सन्तान हुँदैनन् भन्ने थाहा पाउँदापाउँदै पनि उपन्यासकारले जानुलाई त्यो स्वीकार्न वाध्य पारेका छन् र उसलाई निरीह पात्रका रूपमा प्रस्तुत गरेका छन् । जानुले खालि राजनसँगमात्र विद्रोह गरी तर घरपरिवारको अन्धविश्वासी कुरा र आफ्नै श्रीमान् ले ढाँटेर विवाह गरी मनोवैज्ञानिक सिकार हुँदासमेत उसलाई प्रोमिस गराएर उसभित्रको भावना दबाइयो र यदि यसो नगरी उसलाई विद्रोही बनाउँदा समय सापेक्ष हुन्थ्यो भन्ने विश्लेषकको ठम्याइ रहेको छ ।
निष्कर्ष :
कुनै पनि वस्तु र कोही पनि मानिस सर्वगुण सम्पन्न हुँदैन । धेरै गुणका बिचमा केही अवगुण सामान्य कुरा हुन् । एक नाङ्लो चामलमा एकदुई बियाँ हुनु ठुलो कुरा होइन । त्यही धानबाट बियाँ बन्ने हुँदा चामलमा बियाँ हुनु स्वाभाविक हो । आज उपन्यासकारले यो उपन्यास लेख्नुभएको थिएन भने हामीले यति लेख्ने र पढ्ने अवसर पाउने थिएनौँ यस अर्थमा पनि उपन्यासको गरिमालाई सर्वोपरि महत्त्व दिनुपर्छ ।अर्को कुरा यो उपन्यासले तमाम किशोर किशोरीको मनोभावनालाई सूक्ष्म अध्ययन गरी उनीहरूको मनोविज्ञानलाई प्रतिनिधित्व गरेको हुँदा पढ्नै पर्ने उपन्यासको कोटिमा यो उपन्यास पनि पर्दछ । सम्पूर्ण शिक्षक ,अभिभावक ,विद्यार्थीहरूले पुस्तक एकपटक पढिदिन पनि म हार्दिक अनुरोध गर्दछु । अन्त्यमा उपन्यासकार घनश्याम पथिकको नयाँ स्वादको चाँडै अर्को उपन्यास पनि बजारमा आओस् भन्ने शुभेच्छासहित विदा माग्दछु । धन्यवाद

 

सन्दर्भसामग्री
१. पथिक घनश्याम – छुई
२. बाँस्कोटा धनञ्जय – छुईको औपन्यासिक मनोवैज्ञानिक नारीवाद ,साहित्य पोस्ट
३. लामिछने यादवप्रकाश र लामिछाने गीता – नेपाली कथा उपन्यास सिद्धान्त र समीक्षा – २०६७

 

Featured News

Advertisement