शनिबार २९, भाद्र २०८१ Sat,14 Sep 2024

सर्वाधिकार सुरक्षित

नेपालको पहिरोसँग जुध्ने क्षमता ज्यादै कमजोर छ



11:15 शनिबार १६ , असार २०८०

विष्णु पाण्डेय

असार १६ गते, काठमाडौँ । 

मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोमा घटना बढ्दै छन् । जेठ ३१ गते मनसुन सुरु भएसँगै हालसम्म विभिन्न ३४ जिल्लाका १०७ स्थानमा पहिरो गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी हालसम्म नौ पुरुष र तीन महिला गरी १२ जनाको मृत्यु भइसकेको छ , चार घाइते र पाँच बेपत्ता छन् । 

पहिरोले ४३९ घरमा क्षति पुर्‍याएको तथ्याङ्क छ । यसरी बर्सेनि पहिरोले ठुलो जनधनको क्षति पुर्‍याउने गरेको छ । पहिरोको किसिम, जोखिम र यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी लगायतका विषयमा ध्यान पुर्‍याउन सकेको खण्डमा पहिरोबाट हुन सक्ने क्षति कम गर्न सकिने खानी तथा भूगर्भ विभागका सिनियर जियोलोजिष्ट शिबकुमार बास्कोटाले बताउनुभयो । 

नेपालमा पहिरोको पूर्व तयारी नै नगरिएको उहाँ बताउनुहुन्छ । नेपालमा पहिरो गएपश्चात् मात्र गरिने उद्धार र राहतमा मात्र ध्यान दिने गरिएको बास्कोटाको भनाइ छ । वरिष्ठ जियोलोजिष्ट बास्कोटाले भन्नुभयो, “नेपालमा पहिरोको पूर्व तयारी नै गरिएको हुँदैन । खाली पहिरो गएपछि गरिने उद्धार र राहत वितरणलाई मात्र यसको समाधानको रूपमा हेर्ने गरिएको छ ।” 

पहिरोलाई थेग्न सक्ने क्षमता  नेपालको भूभागसँग नभएका कारण पनि  पहिरोको जोखिम बढी हुने उहाँको भनाइ छ । पहिरोसँग जुध्न सक्ने क्षमता नभएका कारण तयारी पनि कमजोर नै हुने भएकाले  जनधनको क्षति बढी हुने गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “नेपालको भू बनोट नै पहिरोलाई थेग्न सक्ने खालको छैन । हामी प्राकृतिक प्रकोपसँग जुध्न सक्ने अवस्थामा हुँदैनौँ ,त्यस कारण कमजोर तयारी हुन्छ । त्यस कारण जनधनको क्षति बढी हुने गरेको छ ।” 

चट्टानको प्रकृति मात्र पहिरोको कारण होइन 

चुरे पहाडमा कमजोर चट्टानहरू भएका कारण पहिरो जाने जोखिम बढी हुने बास्कोटा बताउनुहुन्छ । तर चट्टानहरूले मात्र पहिरो जाने जोखिम भने हुँदैन ।

उहाँले भन्नुभयो , चट्टानको कारणले मात्र पहिरो जान्छ भन्ने हुँदैन । कुनै ठाउँमा बढी पानी परेको अवस्था रहे तथा त्यस क्षेत्रमा ससाना धाँजा फाटे भने थेग्न नसकेर जमिन बग्न थाल्छ । जसको गर्दा पहिरो जान्छ । । 

चुरे क्षेत्रमा बस्ती कम हुने भएका कारण धेरै जनधनको क्षति हुँदैन । त्यसमाथिको भागमा महाभारत क्षेत्रमा धेरै प्रकृतिका चट्टानहरू हुन्छन् । 

उहाँले भन्नुभयो, चुरे क्षेत्रमा कमजोर चट्टानहरू भएकाले पहिरो जाने जोखिम बढी हुन्छ । तर त्यहाँ बाक्लो बस्ती नहुने भएकाले धनजनको क्षति कम हुने गरेको छ । महाभारत पहाडमा धेरै प्रकृतिका चट्टानहरू पाइन्छ । 

नेपालमा तटीय क्षेत्रमा बस्ती बस्ने गरेको छ । जुन स्थानमा धेरै पहिले कुनै न कुनै समयमा पहिरो गएर बसको हो । उक्त स्थानमा प्रकृतिलाई बिथोल्ने खालका विकासका कामहरू रहेका कारण पहिरोको जोखिम कम हुन्छ । 

हाम्रा संरचनाहरू तटीय क्षेत्र जहाँ पहिले पहिरो गएको स्थान वा जोखिम नै रहेको क्षेत्रमा बसोबास गर्ने परम्परा रहेकाले यसमा प्रकृति विपरीत काम गरेका कारण यसले जोखिम झन् बढी भएको हो । 

उहाँले भन्नुभयो, “नेपालको बस्ती विकास धेरै पहिले पहिरो गएको वा पहिरोको जोखिम रहेको स्थानमा हुने गरेको छ । यो स्थानमा बढी विकासका कार्यहरू गर्दा पुनः पहिरो जोखिम रहेको हुन्छ । ”

पहिरोले अग्रिम सङ्केत पनि दिन्छ  

पहिरोले कहिलेकाहीँ अग्रिम सङ्केत पनि दिने भएकाले यसलाई ख्याल गर्न सकियो भने ज्यान जोगाउन सकिने बास्कोटा बताउनुहुन्छ । बास्कोटाले भन्नुभयो, “पहिराेले कहिलेकाहीँ अग्रिम सङ्केत पनि दिन्छ । जमिन विस्तारै आधा मिटर हुँदै भासिँदै जाने वा त्यो ठाउँमा भएका घरहरूको ढोका बिस्तारै ढल्कँदै जाने हुँदा थाहा पाउन सकिन्छ ।”

कुनै स्थानहरूमा रुखहरू ढल्केर उठेको भए पनि त्यस ठाउँमा पहिरोको जोखिम भएको थाहा पाउन सकिने उहाँ बताउनुहुन्छ । निरन्तर रूपमा आइरहेको पानीको मुहान सुके वा एक्कासि नयाँ मुहान निस्केको भए पनि पहिरोको जोखिम भएको थाहा हुने गर्दछ । 

भूकम्पका कारण पहिरो बढी 

२०७२ साल वैशाख महिनामा गएको भूकम्पका कारण पहिरोका घटनाहरू पनि बढी भएको उहाँ बताउनुहुन्छ । भूकम्पले जमिन चिरा परेको स्थानमा पानी छिर्दा जमिन नै बग्ने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, २०७२ अघिको तुलनामा पछिल्ला वर्षमा पहिरोको घटनाहरू झन्डै दोब्बरले बढेको छ । भूकम्पका कारण चिरा परेको जमिनमा बर्षतमा पानी छिर्ने गरेका कारण पहिरो धेरै जाने गरेको सत्य हो । विना अध्ययन गरिने विकासले पनि पहिरोको जोखिम निम्तने उहाँ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “नेपालको विकास अध्ययन विना  भइरहेको छ । कम मूल्यमा धेरै विकास गर्न खोजिएको छ । भूभागहरू खन्दा माटोको व्यवस्थापनलाई ध्यान नदिँदा पनि प्राकृतिक प्रकोप बढ्ने गरेको छ । ”

पहिरोबाट बच्नका लागि आफू बसोबास गरेको ठाउँको भौगोलिक संरचना कस्तो छ भन्ने कुरा यकिन गर्नुपर्ने वरिष्ठ जियोलोजिष्ट बास्कोटा बताउनुहुन्छ । राति सुत्ने बेलामा टर्च लाइट, रेडियो सँगै राखेर सुत्न पनि उहाँको सुझाव छ 

साभार : गोरखापत्र अनलाइन

Featured News

Advertisement