सोमबार १८, मंसिर २०८० Mon,04 Dec 2023

सर्वाधिकार सुरक्षित

एउटा जीवन मृत्यु सँग कसरी संघर्ष गरिरहेको हुन्छ, त्यो अवस्थाले पनि तुरुन्तै कविता सृजना गरिदिन्छ



12:49 शनिबार १६ , असार २०८०

कवि इन्दु नेपाल योन्जनको पहिलो कविता कृति २०८० साल असार १५ गते धरानमा बिमोचन भएको छ । साहित्य कला संस्कृति प्रतिष्ठान धरानले आयोजना गरेको अन्तराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको पहिलो दिन बिमोचन गरिएको हो । अन्तिम सेलोभित्र ४० कविता रहेका छन् ।
इन्दुको पहिला कृति अन्तिम सेलो र कविता लेखनको बिषयमा नेपालबीटका प्रधानसम्पादक रामप्रसाद खरेलले कविलाई दश प्रश्नहरु गर्नुभएको छ ।

१) तपाईँको पहिलो कृति “अन्तिम सेलो“ बिमोचन भएको छ । पहिलो कृति बिमोचनको अनुभव कस्तो हुँदोरहेछ ?
प्रसव व्यथामा भएको आमाले नवजात शिशुलाई जन्मदिन्छ । तत्पश्चात उसको पहिलो आवज जव आमाको कानमा गुन्जन्छ त्यसले आमाको तन र मनमा जुन प्रकारको आनन्द वा खुसी संचार हुन्छ वा महशुस हुन्छ । हो ममा ठ्याक्कै सोही प्रकारको आनन्द र खुसी पुस्तकको विमोचन पश्चात् संचार भएको छ । साथ-साथै एउटा छुट्टै प्रकारको साहित्यिक जिम्मेवारी पनि थपिएको छ भन्ने आभास भएको छ । 

२) यो कविता कृतिको नाम कसरी “अन्तिम सेलो”  राख्नुभयो ?
पिडा, व्यथा, उत्पिडन, आदिम भूमिबाट विस्थापन, विभिन्न प्रकारका विभेद, सैंयौ वर्ष सम्म अध्ययन-रोजगारी एवं सामाजिक विभिन्न कृयाप्रकृयामा प्रत्यक्ष रोग जस्ता पाटोबाट पूणर्रुपमा बन्देज गरिएको एउटा सिंगो आदिम समुदाय जसले सदियौदेखि सेलो गीतको माध्यमबाट आफ्नो कुरा सम्प्रेषण गरिन्थ्यो वा गरिरहनुपर्ने अवस्था थियो । अत त्यस्तो अवस्थाको अन्त्य सँगसँगै, नयाँ र समृद्ध समाज, शिक्षित र परिस्कृत समुदाय वा समाजको निर्माण हुनुपर्छ वा हुन जरुरी छ भन्ने ढंगबाट सकरात्मक सन्देश सँगसँगै अन्तिम पछाडि सधै नयाँ भन्ने भाव सहित अन्तिम सेलो आएको हो भन्ने जिकिर सहित यो अन्तिम सेलो पुस्तकको नाम रहेको छ ।

३) तपाईँ स्वास्थ्य क्षेत्रको व्यक्ति कविताको सङ्गत कसरी भयो ?
म कक्षा - ७ अध्ययन गर्दाको ताकाबाट नै साहित्य सृजना तर्फ तानिएको हुँ । विस्तारै साहत्यिक पुस्तक र लेखहरुको अध्ययनको रुचि बढे सँगसँगै कविता विधा तर्फ मेरो कलम चल्न सुरु गरेको थियो । तिथि मितिको आधारमा भन्ने होभने २०५२,५३ साल तिर हुनुपर्छ सुरुवात र यो निरन्तर छ । वि. सं. २०५६ पश्चात मेरो अध्ययन तथा प्रत्यक्ष संलग्नता स्वास्थ्य क्षेत्रतर्फ भयो र हाल सम्म यसैक्षेत्रमा निरन्तर लागिरहेको छु । हाल बिजयपुर हस्पिटल प्रा.लि.धरान, सुनसरीको प्रमुख अस्पताल प्रशासकको रूपमा कार्यरत छु । अत मेरो जन्मभुमिको प्राकृतिक, सामाजिक-सांस्कृतिक परिवेश, देशको सामाजिक-राजनितीक परिवेश तथा स्वास्थ्य क्षेत्रमा कार्यरत रहदा अस्पतालमा एकैछिनमा देखिने दुख र एकैछिनमा देखिने सुख (जन्म/मृत्यु/रोग बाट मुक्त भएपश्चातको बिरामीको मुहार) यी यावत कुराहरुले चिमोटिरहने -घोचिरहने अवस्थाबाट कविता तत्व मेरो मनस्थितिमा सृर्जित हुदै त्यो शब्दहरुको माला बनेर कविताको रुपमा वाहिर आएको हुनुपर्छ । त्यसकारण म दुवै क्षेत्रमा एकै हुँ र यो दुवै एक-अर्काका परिपुरक हुन ।

४) कृतिबाट कस्तो अपेक्षा राख्नुभएको छ ?
सृजना र कृति हिजो सम्म मेरो थियो र अब यो पुस्तक ओैपचारिक रूपमा आमसमुदायको भएको छ । अत यसले आममानिस वा आमसमुदायको कुरालाई कसरी उठान गर्नसकेको छ त्यो मूल्याङ्कन सहित यसको ग्रहण कतिको हुनेहो त्यो निकट भविष्यमा थाहा पक्कै हुने नै छ । तर मेरो व्यक्तिगत अपेक्षा त्यति बृहत छैन । तर जहाँ र जसरी जुन पक्षलाई उन्नु र उठाउनु पर्ने थियो त्यो इमानदारपुर्वक उठाएको छु । समेटेको छु । त्यसकारण पुस्तकप्रति सन्तुष्टि छु ।

५) अस्पताल व्यवस्थापक कि कविको व्यक्तित्व राम्रो हुने रैछ ?
मेरो भित्री वा शुन्य-मानसिक्ता सम्म पुग्ने एउटै वस्तु वा अवस्था हो कविता कर्म त्यसैले यो प्रत्यक्ष नदेखिनै अत्यन्तै शक्तिशाली रुपहो भन्न रूचाउछु । 
अर्कोतर्फ म निरन्तर स्वास्थ्य क्षेत्रमा उपचारात्मक, प्रतिरोधात्मक, प्रवर्धानात्मक , पुनर्सस्थापनात्मक एवं अस्पताल व्यवस्थापन सेवा जस्ता क्षेत्रमा करिबकरिब २५ बर्षदेखि संलग्न भईरहेको र वर्तमान अवस्थामा अस्पताल व्यवस्थापक भएर कार्य गरिरहेको दौडाहा हुदाँ बाहिरी एक प्रकारको देखिने र चम्किने वा झण्डै -झण्डै पोलिस गरिएको एउटा बाँच्ने रुप वा एउटा पाटो हो अस्पताल व्यवस्थापक ।
अत देखिने रुपको मेरो व्यक्तित्व अस्पताल व्यवस्थापक वा स्वास्थ्यकर्मी हुँ ।  साथै यसैलाई टेकेर भित्र-भित्रै शक्तिशाली रुपमा उठेको एउटा व्यक्तित्व कवि रुप हो । त्यसैले यो दुवै एक-अर्काको लागि परिपुरक र अभिन्न एट्याजमेन्ट रहेको छ ।

६) तपाईँको कविता लेखनको मुख्य बिषय के हो ?
मनोसामाजिक क्षेत्र, स्वास्थ्य र जीवनकलाको क्षेत्र, समाज र राजनीतिक परिवेशको क्षेत्र एवं मुख्य चाहि तामाङ मिथक, भाषा कला-संस्कृतिको संरक्षण र प्रवर्धानात्मक पक्षलाई उठान गर्ने दृष्टिकोण सहित मैले कविता कर्म गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

७) व्यस्त समयको बीच लेखनको समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हो समय व्यवस्थापन मेरोलागि एउटा चुनौतीको विषय पक्कै हो । तथापि त्यही चुनौती भित्र अवसर सृजना गर्न सकिन्छ भनेझैं म त्यही कतै समय निकालेर कविताको पल्ट निमाणर् र लेखन कर्म गर्दछु । क्यान्टिनमा खाजा खादै गर्दा कविता लेखेको छु । हस्पिटलको आइसियू, एनआइसियू राउन्डको समयमा त्यहाँ एउटा जीवन मृत्यु सँग कसरी संघर्ष गरिरहेको हुन्छ त्यो अवस्थाले पनि तुरुन्तै कविता सृजना गरिदिन्छ । अत कुनै समय कविताको हर्मोन बढेको वेला लेख्न र नोट गर्न सक्छु । तर योजना सहितको लेख्नचाहिँ राति घरमा हुनेगर्दछ ।

८) के कस्तो समयमा कविता लेखिदो रैछ ?
माथि भनेझैं समय निश्चित यही नै भन्न नसकिएपनि प्राय घरमा राति बढी कविता लेख्ने गर्दछु । तर कविताको थिम र पल्ट कुनै पनि वेला निर्माण हुन सक्छ र त्यसलाई नोट गरेर राखेको हुन्छु र त्यसमाथि पुन काम गर्दछु ।

९) यदि कविता नलेख्नुभएको भए जीवनमा केही छुटेको पीडा अनुभव हुन्थ्यो होला तपाईँलाई ?
मेरो कुनैपनि पुस्तामा साहित्य र सृजनामा लागेको मान्छे मैले सुनेको वा भेटेको छैन । मेरो परिवारमा एक सय वर्षको फुपू हजुरआमा र ९६ वर्षको हजुरबुबा हुनुहुन्छ । उहाँहरुसँग पटक-पटक मैले पिता-पुर्खाको वारेमा जानकारी लिएको छु । कोही यस क्षेत्रमा भेटेको देखेको छैन । मामा घर तिर के थियोे त्यो जानकारी छैन । त्यसकारण प्रकृतिले आफैँ सृजना गरेको साहित्य तर्फ रुचिराख्ने एक व्यक्ति वा व्यक्तित्व निर्माण गरेको हो मेरो । अत कविता विना वा साहित्य विना म के हुन्थे वा कस्तो कर्म हुन्थ्यो होला भन्ने विषयमा म केही भन्न सक्दिन । तर हालको अवस्थामा कविता लेख्न पाइएन वा गरिएन भने चाहिँ अवश्य पिडा बोध हुनेछ ।

१०) तपाईँको कविताको प्राय पहिलो पाठक को हुन्छ ?
पहिलो पाठक त म भित्रको अर्को म नै हुन्छु । त्यसपश्चात साहित्य कर्म गर्नुहुने साथीहरू हुनुहुन्छ । धरानमा हाम्रो कलरव धरान भन्ने संस्था छ जहा आबद्ध बरिष्ठ साहित्यकार साथीहरू हुनुहुन्छ । अर्को तर्फ सामाजिक संजालले पनि सहयोग पुर्‍याउने कार्य गरेको छ ।

Featured News

Advertisement