मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

मनीषाको आत्मकथा- म मर्न चाहन्नँ



15:10 सोमबार २३ , पुष २०७५


‘म मर्न चाहन्नँ।’

मैले छटपटिँदै साथीलाई सन्देश पठाएँ।

मलाई निराशाले भित्रभित्रै खाँदै थियो। अजिंगरले आफ्नो आहारा एक गाँसमै सुलुत्त निलेझैं म अन्धकारको गर्तभित्र भासिँदै थिएँ। बाजको पञ्जामा पन्छी जसरी फड्फडाउँछ, म त्यो निस्पट्ट अन्धकारबाट उम्किन उसैगरी हातखुट्टा फाल्दै थिएँ।

जति नै चलमलाए पनि अन्धकार आफ्नो अष्टबाहु फैलाएर मेरो घाँटी निचोर्दै थियो। मेरो आँखाअगाडि टाढा-टाढासम्म उज्यालो प्रकाशको एक धर्सो पनि थिएन। अन्धकार मेरो कमजोर शरीरलाई आफ्नो पासोमा जकडेर मभित्र प्रवेश गर्दै थियो, एकदमै तीव्र गतिमा। विस्तारै त्यो मेरो शरीरभरि फैलियो। र, पेटको पिँधमा पुगेर मलाई गिजोल्न थाल्यो।

आँखाभरि छाएको अन्धकारमा पनि म अतीतको त्यो क्षण प्रस्ट देख्दै थिएँ, जब मैले पहिलोचोटि आफूलाई परित्यक्त अनुभव गरेँ।

म त्यति बेला दस वर्षकी थिएँ। हामी भारतको बनारसमा हजुरआमासँग बस्थ्यौं। एकदिन मेरी आमा मलाई हजुरआमाकै घर छाडेर अचानक फुत्त हिँड्नुभयो। म आँखा फिँजारेर उहाँ गएको बाटो हेरिरहेँ। मूर्तिवत्।

आमालाई मेरो ममताले तानेर फर्काउला भन्ने मैले कत्रो आश लिएकी थिएँ। कति न पर जानुहोला र! एक–दुई पाइला त हो नि! त्यसपछि उहाँ फरक्क फर्केर म नजिक आउनुहुनेछ, र मलाई अंगालो मारेर जुरुक्क आफ्नो काँधमा बोक्नुहुनेछ!

म सोचिरहेँ। आश गरिरहेँ।

अहँ, उहाँका पाइला अडिएनन्। उहाँले फर्केर पनि हेर्नुभएन।

‘तपाईं किन फर्कनुभएन आमा?’ मैले धेरै वर्षपछि उहाँलाई सोधेँ।

‘म मेरी सानी छोरीलाई उसकी आमाको भिजेको आँखा कसरी देखाउन सक्थेँ,’ आमाको जवाफ थियो।

आमा त्यसरी किन जानुभयो भन्ने मैले धेरै समयपछि मात्र बुझेँ। नेपालमा राजनीतिक गतिविधि चुलिएको त्यो समय बुबाको व्यस्तता बढेको थियो। त्यसैमा बुबालाई भर दिन मलाई हजुरआमाको काखमा सुम्पेर जानुभएको थियो।

म एक्ली कहाँ हो र! नेपालको राजनीतिक उथलपुथलबीच हजुरआमाले परिवारका थुप्रै केटाकेटी स्याहार्नुभएको थियो। उहाँको ममतामयी स्याहारले राजनीतिक बादलको लुकामारी मेरो हुर्काइमा पर्ने छैन भन्ने आमाले राम्ररी बुझ्नुभएको थियो।

मैले आमाको काख गुमाएँ। हजुरआमाको न्यानो काख पाएँ।

आज फर्केर हेर्दा त्यो बेलाको परिस्थिति र मेरी प्यारी आमाको बाध्यता म बुझ्छु। मेरो भविष्यको निम्ति उहाँले जुन बुद्धिमतापूर्ण निर्णय लिनुभयो, त्यसको पनि कायल छु। तर, कलिलो मन र काँचो मस्तिष्कमै आमाबाट परित्यक्त हुनुको जुन छाप अंकित हुन पुग्यो, त्यसलाई कसैगरी मेट्न सकिनँ।

प्रियजनबाट त्यागिनुको त्यस्तै अनुभूति मलाई मेरो विवाह बन्धन चुँडिएपछि भयो। मैले यो सम्बन्ध सकुशल राख्न खुब कोशिश गरेँ। जब धागो चुँडियो, पीडाको बज्रपातले मेरो छाती मात्र होइन, आत्मा नै चिरियो। दोष कसैलाई दिन्नँ। गुनासो पनि गर्दिनँ। यत्ति हो, हामी दुवै नितान्त अलग व्यक्ति थियौं। चुम्बकका एकै ध्रुवजस्ता। हामी एकअर्काका निम्ति बनेकै थिएनौं। किन मेरो छनौटमा सधैं गलत मान्छे नै पर्छ?

यो धागो चुँडिदा पनि म खुब छटपटाएकी थिएँ। इष्टमित्र र परिचितहरूका प्रश्नमय आँखा मेरा अगाडि तेर्सिएका थिए। मैले आफ्नो सम्बन्ध किन सम्हालेर राख्न सकिनँ? यस्तै प्रश्नले मेरो सुर्ता थपेको थियो।

परित्यक्त हुनुको डरले मलाई जिन्दगीभर लखेटिरह्यो। आफ्नै छायाले लखेटेजस्तो।

यसपालिको डर पहिलेभन्दा भयावह थियो।

मलाई जिन्दगीबाटै परित्यक्त हुनुपर्ला भन्ने डर थियो।
...