मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

अन्त्य होईन सम्बन्ध विच्छेद



03:42 शुक्रबार ९ , जेष्ठ २०७७

प्रा.डा. वीणा पौड्याल


जोडी स्वर्गमा निर्धारण हुन्छ भन्ने हाम्रो प्रचलन छ । धर्म–परम्परामा आस्था राख्ने हाम्रो समाजमा एकपल्ट विवाह भएपछि त्यसलाई जीवनभर नै कायम गर्नुपर्ने सोचाई छ । विवाह गर्दा अग्निलाई साक्षी राखेर पतिपत्नीले दुख र सुखमा साथ दिने वाचा गर्दछन् । आकाश र पृथ्वी, विष्णु र लक्ष्मीसँग आफूालाई दाँज्दै जुगजुग सँगसँगै बस्ने प्रतिज्ञा गर्दछन् ।
हिन्दु विवाहको मूल उद्देश्य नै सन्तान (पुत्र) प्राप्ति हो । यस लोकमा हेरचाह र परलोकमा मुक्ति प्राप्त गर्न सन्तानको जन्म आवश्यक मानिन्छ । त्यसैले विवाहपछि सन्तान भएनन् भने पतिले दोस्रो, तेस्रो गर्दै बहुपत्नी विवाह गर्ने प्रथालाई समाजले सहज ढङ्गले लिदैं आएको छ । कानुनद्वारा बहुपत्नी प्रथामा बन्देज लगाएपनि हामीकहाँ अझै यो निर्मू हुन सकेको छैन् । पतिद्वारा शारीरिक र मानसिक शोषण भएपनि पतिलाई परमेश्वरको रुपमा स्वीकारर्दै उसले दिने सबै यातना सहेर बस्ने प्रवृति प्रशस्तै छ ।
सन्तान भएका वा नभएका महिलाले हैकम र अत्याचार सहँदै आएका छन् । पुरुषको आधिपत्य सहज ढङ्गले स्वीकार गर्ने हाम्रा नारीहरुले सन्तानको भविष्यको विचार गरेर पनि पतिसँग छुट्टिएर बस्ने कदम चाल्दैनन् । यस बिषयमा छोरीका आमा अझ बढी सजग हुन्छन् । आमा त त्यस्ती छोरी झन् कस्ती होली भनेर समाजले औंला ठड्याउने डरले महिला घरभित्रै शोषित भएपनि मुख खोल्दैनन् ।
अधिकांश आमा आफ्नो वर्तमानभन्दा पनि छोराछोरीको भविष्यप्रति बढी चिन्तित हुन्छन् । उच्च र मध्यम वर्गका अधिकाशं परिवारमा एउटै छातामुनि बसे पनि पतिपत्नी बीचको सम्बन्ध बाहिरी संसारलाई देखाउने मात्रै हुन्छ ।
सम्भ्रान्त, उच्च र मध्यम वर्गसँगै निम्न वर्गका पुरुषले पनि महिलाको स्वतन्त्रतामा अङ्कुश लगाएका उदारहण थुप्रै छन् । प्रायः सबै धर्म र विशेष गरेर हिन्दु धर्मका अधिकांश ग्रन्थहरुमा पतिपत्नीको सम्बन्ध दर्शाएका कथामा पत्नीलाई पतिव्रता र सतीका रुपमा उभाइएको हुन्छ । पत्नीको सबैभन्दा ठूलो गुणका रुपमा पतिको आज्ञाको पालन घरका सदस्यहरुको सेवा, यौन—इमान्दारिता आदि बिषयमा जोड दिइएको हुन्छ ।
यसरी पौराणिक कथाहरुको उदारहण दिएर महिलालाई मानसिक रुपमा तयार बनाउन पुरुषहरुले सफल भूमिका निर्वाह गर्दै आएका छन् । प्रायः सबैजसो धार्मिक ग्रन्थका रचयिता पुरुष नै भएकाले यस्तो भूमिका निर्वाह गर्न उनिहरुलाई विशेष पहल गर्नु जरुरी भएन । सानो बेलादेखि नै सुन्दै, पढ्दै आएका धार्मिक आख्यानले गर्दा पनि अधिकांश महिलालाई पतिबाट छुट्टिएर नयाँ जीवन सुरुवात गर्न सकिन्छ भन्ने विचार नै आउँदैन । नयाँ विचार आइहाले पाइला चाल्ने आँट आउँदैन ।
एउटा स्वतन्त्र, स्वच्छ र गतिशील नयाँ जीवन सुरु गर्न धर्मका नाउँमा रचित छरपष्ट ग्रन्थले महिलालाई बाधा पुर्याइरहेका छन् । त्यसैले धर्मको चुरो बुझ्न महिलामा शिक्षा र चेतनाको ठूलो खाँचो छ । उदारहणका रुपमा हिन्दु धर्मलाई नै औल्याउन सकिन्छ । यस धर्मका मूल ग्रन्थमा बताएका ज्ञान लिन सकेमा पुरुष र महिलालाई समान रुपमा प्रस्तुत गर्दै अर्धनारीश्वरको स्वरुपमा प्रस्तुत गरिएको छ । त्यसैले पति पत्नी भनेका एक—अर्काका साथी हुन्, दासदासी वा प्रतिस्पर्धी हैनन् भन्ने बुझ्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवन जिउन पुरुषलाई जस्तो सामाजिक र धार्मिक स्वतन्त्रता छ महिलालाई पनि उही नै स्वतन्त्रता छ । यसरी सोच्ने बितिकै स्वतन्त्र जीवनको सुरुवात गर्न सकिन्छ ।
पतिपत्नी एक–अर्काका जीवनसाथी हुन् तर दुबैले एउटाको मात्र बलिदानको आशा गर्न भने उचित हुँदैन् । पति वा पत्नीले अन्याय, अत्याचार र विभिन्न विषयमा नियन्त्रण खपेर पनि सँगै बस्नुपर्छ भन्ने छैन । जिन्दगी स्वतन्त्र भएर जिउन सकिन्छ । निस्सासिएर, पाक्किएर असन्तुष्ट भएर एके ठाउँमा बस्नुभन्दा छुट्टिएर नयाँ जीवनको सुरुवात गर्नु धेरै राम्रो हुन्छ ।
पति र पत्नी दुवै आ–आफ्नै ठाउँमा ठीक भएपनि एक–अर्कासँगै विविध विचार र रुचिमा भिन्न हुनसक्छ । त्यस्तो परिस्थितिमा छुट्टिएर बस्नु नै बुद्घिमानी हुन्छ । चित नबुझी–नबुझी सँगसँगै बस्दा आ–आफ्नो व्यक्तित्व विकास गर्न सम्भव हुँदैन ।
पतिपत्नीका बीच विचार नमिलेपछि पारपाचुके गरेर बस्दा तयसलाई नराम्रो मान्नु हुँदैन । दुवैले एक–अर्काबाट मुक्ति पाएको महसुस गर्नुपर्दछ ।
हाम्रा विभिन्न धार्मिक ग्रन्थहरुले मानवजीवनको क्षणभङ्गुरता र महत्वका बारेमा थुप्रै वर्णन गरेका छन् । त्यसैले एउटा जीवनमा आफूले आँटेका महत्पूर्ण कार्य पूरा गर्न बाधा अड्चन छन् भने, तिनलाई पन्छाएर नयाँ जीवन रोज्नु बेचैनीबाट छुट्कारा पाउँनु हो । एउटै छानामुनिका कोठामा विपरित दिशातर्फ फर्केर बस्नुभन्दा अलग बस्नु नै बुद्घिमानी हो । त्यसैले सम्बन्धबिच्छेद भनेको जीवनको अन्तय हैन, सुरुवात हो ।
समाप्त