बुधबार ३०, माघ २०८१ Wed,12 Feb 2025

सर्वाधिकार सुरक्षित

कहिलेकाहीँ टिभि स्क्रिनमा आफैँलाई हेरेर आफैँ दङ्ग हुन्छु



14:47 मंगलवार ४ , फाल्गुन २०७७

नेपाल टेलिभिजन इटहरी च्यानलकी समाचार वाचक तथा कार्यक्रम प्रस्तोता उषाकिरण घिमिरेले विवाह पछि आफ्नो करियर शुरु गर्नुभएको हो । वहाँको मिडियामा पहिलो प्रवेश नै टेलिभिजनबाट भएको हो । टेलिभिजनको पर्दामा ६ बर्ष काम गरिसक्नुभएकी मिडियाकर्मी उषासँग नेपालबिटकी संवाददाता अस्मिता दाहालले मिडिया यात्राको बारेमा कुराकानी गर्नुभएको छ । 
संवाददाता अस्मिताले गर्नुभएको कुराकानीमा आधारित उषाकिरणको टेलिभिजन यात्राको शब्दचित्र उषाकै भाषामा हामीले प्रस्तुत गरेका छौँ ।

मेरो जन्म २०४९ साल फाल्गुन २ गते पथरी–शनिश्चरे नगरपालिका वार्ड नं. ३ मा भएको हो । मेरो बाल्यकाल सोहि ठाउँमा बितेको हो । र, मेरो प्लस टु सम्मको अध्ययन  पनि सोहि ठाँउको श्री जनता उ.माविमा भएको हो । यसपछिको अध्ययन इटहरीमा नै भयो ।
ंप्लस टु लगतै मेरो विवाह कानेपोखरी गाउँपालिका रमाइलोका गोपाल भट्टराईसँग भयो । मेरो परिवार व्यपार व्यवसायमा संंलग्न थियो । विवाह पछिका लगभग ३ वर्ष मैले गृहिणीको रुपमै बिताए । विवाहको तीन बर्षपछि हाम्रो परिवारको बसोबास ईटहरीमा हुनथाल्यो । ईटहरीको बसाइ सुरु भएसँगसँगै मेरो पत्रकारिताको यात्रा पनि शुरु भयो ।
टेलिभिजनमा प्रवेश गर्नुअघि एउटा कम्पनीमा लेखापालको काम गर्थेँ । परिवारको पेशा व्यापार भएकाले त्यतापनि जान सक्थेँ । तर मेरो मात्र होइन बुबाको सपना पनि हो टिभीमा आउनु ।
म सानै हुँदा, एकदिन हामी टेलिभिजन हेरेर बसिरहेका थियौँ । टिभीमा समाचार आयो । समाचार हेर्दै गर्दा बुबाले भन्नुभयो – “मेरो पनि एउटी छोरी यसरी नै टिभीमा समाचार भन्ने भएदेखि हुन्थ्यो नि । टिभिमा छोरीलाई देख्न पाए कति मज्जा हुन्थ्यो होला । ” बुबाको यही कुराले मेरो मनमा सानैदेखि टिभीमा देखिने रहरको बिउ रोपेको थियो । 
म सानैछदा नौ, दश कक्षाका दिदीहरुले पुस्तकमा भएका कथा, कविता आदि पढ्न लगाउनु हुन्थ्यो । उहाँहरुले मेरो आवाज टि.भीमा  कार्यक्रम सञ्चालन गर्नेको जस्तैे मिठो छ भनेर भन्नुहुन्थ्यो । यि र यस्तै कुराले टि.भीमा देखिन पाए कस्तो हुन्थ्यो भन्ने कौतुहलता साथसाथै रहर पनि जाग्थ्यो । विद्ययालयमा हुने कार्यक्रम जस्तै, वादविवाद, निबन्ध, हाजिरीजवाफ, वक्तित्वकला प्रतियोगीतामा मलाई सदैब पहिलो पुरस्कार मिल्ने गथ्र्यो । दोस्रो र तेस्रो स्थान आएको त मलाई याद नै छैन । बाल्यकाल देखि नै बोल्नमा रुची भएको कारण र आफ्नो पक्ष राख्न सक्ने भएको बानिले नै गर्दा अहिले  म यो क्षेत्रमा आबद्ध छु जस्तो लाग्छ ।
मेरो पत्रकारिताको शुरुवात एरिना टेलिभिजनबाट कार्यक्रम प्रस्तोताको रुपमा भएको हो ।  शुरुवाती केही महिना मैले बिना पैसा आफ्नो क्षमता वृद्धि गर्नलाई काम गरेँ । शुरुवाती क्षण मलाई एकदमै गाह्रो भयो । एक त मेरो गृहस्ती जीवन थियो, अर्को मेरो सानो बच्चा थियो । मैले भनेजति मेरो परिवार र छोरोलाई पर्याप्त समय दिन सक्तिन्थे । म एउटी आमा, बुहारी, श्रीमती पनि हो । आफ्नो काम साथसाथै घरको जिम्मेवारी लिएर अगाडि बढिरहनु परेको थियो । र, स्वयं मेरो आवश्यकता पनि थियो । अरुकोमा काम गर्न थालिसके पछि घरमा जागिर खान्छे भन्ने सोच बनिसकेको हुन्छ । घरमो पैसा माग्न पनि अप्ठ्यारो लाग्थ्यो । कतिपय अवस्थामा त मैले मेरो पर्सनल राखेको पैसा पनि मेरो सेलेरी हो भनेर घर खर्च चलाउनलाई घरमा दिएको छु ।
ती दिनहरु मेरो मनमा अहिले पनि झलझली आउँछन् । यसो भनेर मैले काम गरेको मिडियालाई नराम्रो भन्न खोजेको होइन, त्यही ठाँउले गर्दा आज म यो स्थानमा छु । त्यो ठाँउबाट मैले धेरै कुराको ज्ञान प्राप्त गरेको छु । र, त्यस मिडिया प्रति म सदैब  कृतज्ञ  रहिरहने छु । एरिना टेलिभिजनमा मैले ५ वर्ष काम गरेँ । 
२०७६ सालदेखि म एन.टि.भी ईटहरीमा कार्यरत छु । यो क्षेत्रमा प्रवेश गर्नको लागि मलाई पे्ररणा दिने मेरो बुबा हो । त्यकारण म अहिले जहा छु । त्यसको सम्पूर्ण श्रेय म मेरो बुबालाई दिन चहान्छु ।
पहिलो चोटी स्क्रिनमा आफूँलाई हेर्दा खुशीले गदगद भएकी थिए । त्योबेला बुबाआमालाई धेरै नै सम्झेँ । म दुखमा वा सुखमा पहिलो पटक बुबाआमालाई नै सम्झन्छु । ओहो ! मैले मेरो लक्ष्य नै भेट्टाए जस्तो अनुभूती भयो । तर जब त्यही क्षेत्रमा काम गर्दै गएँ अनि भर्खर सिक्दै गरेको छु भन्ने लाग्न थाल्यो । आजसम्म आइपुग्दा त सिक्न अझै कति धेरै रैछ भन्ने महशुस भएको छ ।
रेकर्ड प्रोग्राम प्रसारणाको समयमा हेर्ने गर्छु । लाइभ पनि पछि यूटियुमा हेर्ने गर्छु । कहिलेकाहीँ टिभि स्क्रिनमा आफैँलाई हेरेर आफैँ दङ्ग हुन्छु । आफ्नो पेशाप्रति गर्व लाग्छ । टेलिभिजनमा काम गरेर धेरै दर्शकको माया पाएकी छु । यदि मैले यो क्षेत्रमा काम नगरेकी थिए भने यो माया पाउँनबाट बञ्चित हुनेथिएँ । नामसँगै दामपनि आउँने भएकाले पनि झन मज्जा हुन्छ ।
मेरो पेशाप्रति बुबा त खुशी भइहाल्ने हुनुभयो किनभने मलाई टिभिमा देख्ने वहाँको ठूलो सपना थियो । श्रीमान तथा परिवारका सबै सदस्यले साथ दिनुभएको छ । परिवारको साथविना अघि वढ्न मुस्किल हुन्छ नि । अब त छोरो पनि अलिक ठूलो भइसक्यो । 
अब सधै मिडियामा नै हुन्छु । पाँच बर्षमा एकखाले रस भिजिसकेको छ । मिडिया र जीवन परिपूरक जतिकै भइसकेको छ ।
अन्त्यमा म के भन्न चहान्छु भने, हामीले कुनै पनि काम गर्दा अरुले के भन्लान भनेर गर्ने होइन् । म मेरो लागि के गदै छु भनेर सोच्नु पर्छ । परिवार प्रतिको कर्तव्य र समाजप्रतिको उत्तरदयित्वलाई सदैव ख्याल गरेर अघि बढ्नु पर्छ । र अर्को कुरा तपार्इँ जुन काम गर्नुहुन्छ त्यस कामलाई लिएर तपाईँ आफैँमा रमाउन सिक्नु पर्छ । तपाई कुनै पनि पेशा, व्यवासाय या जागिर गनुहोस् यदि तपाईँलाई त्यस प्रति लगन छैन भने सफलता प्राप्त गर्न सक्नुहुन्न । तर तपाईँलाई तपाईँको काम प्रति दृढ संकल्प र आत्मविश्वास छ भने समाज, घरपरिवार र विवाहले कहिल्यै रोक्दैन् ।
सबै दर्शकप्रति कृतज्ञ छु ।
 

Featured News

Advertisement