शनिबार २९, भाद्र २०८१ Sat,14 Sep 2024

सर्वाधिकार सुरक्षित

प्रा.डा. गीताको ५२ बर्ष, डोटीदेखि इटहरीसम्म



08:20 शनिबार १४ , चैत्र २०७७

अस्मिता दाहाल 
२०७७ चैत १४ गते, इटहरी ।

जनता बहुमखी क्याम्पस इटहरीकी क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीलाई एकथरी मानिसहरुले सन्जु मेडम भनेर चिन्छन् । रेडियोमार्फत आरजे सञ्जुको नाम आम श्रोतामाझ लोकप्रिय थियो पूर्वमा । रेडियो कार्यक्रम प्रस्तोता भएर दुईचार बर्ष मात्रै काम गर्नु भएको भएपनि आरजे सञ्जु लोकप्रिय नाम भइसकेको थियो । रेडियोमा वाचन गर्ने कथा होस वा अन्तरवार्तावेसको कार्यक्रम होस दुवै लोकप्रिय थिए ।
सामाजिक काम, त्यसमा पनि जेसिसमा आवद्ध भएर सक्रिय रहदै आउनु भएको छ । 

उमेरको अंकले ५२ बताएपनि २५ बर्षको युवाजस्तो भर्रभराउदो जोश र उर्जा देखिन्छ वहाँको सक्रियतामा । ५२ र २५ को संयोजन परिपक्वता र जोशले काम गर्न सक्ने लक्षण उहाँको विशेषताहरुमध्येको एक विशेषता हो यो ।

पिता प्रेम प्रसाद अधिकारी र माता सिता अधिकारीको चार सन्तान मध्ये छोरी मध्येकीे जेठी छोरीको रुपमा वि.सं. २०२५ कार्तिक ७ गते डोटी जिल्लामा प्रा.डा. गीता अधिकारी जन्मनुभएको हो । दाजुपछिको पहिलो छोरी उहाँ । परिवारका सबैबाट माया पाएर हुर्किनुभयो । डोटीमा जन्म भएपनि उहाँ धरानमा हुर्कनुभएको हो । धरानमा बस्दा उहाँको घर नजिकै प्रणामी मन्दिर थियो । त्यहाँका जोगीहरु भिक्षाको लागि कहिलेकाहीँ घर आउने गर्दा वुवाले मेरा छोरीहरु पढ्नमा अल्छि भए बोरामा हालेर लैजानु भन्नुहुन्थ्यो । त्यसबेला उहाँ डराएर खाटमुनि लुक्ने गर्नुहुदोरहेछ ।  उहाँको घरमा केटाकेटीहरुलाई कुट्नेपिट्ने भन्दा पनि सामान्य डर देखाएर अध्ययन गर्ने वातावरण सिर्जना गरिन्थ्यो ।   

धेरै नबोल्ने सालिन स्वभावकी अधिकारी सानो छदा केटा साथीहरु सँग बोल्न पनि हिचकिचाउने गर्नुहुन्थ्यो । उहाँको स्कुलमा केटा र केटीको झगडा पर्दा कहिलेकाहिँ दुवैलाई एउटै डेस्कमा राख्ने गरिन्थ्यो । त्यतिबेला उहाँ छुइन्छ कि भनेर डराउने गर्नुहुन्थ्यो । पछि कक्षा र उमेर बढ्दै जाँदा उँहाको त्यो संकोच हराउदैँ ।

धेरै नबोल्ने स्वभाव भएपनि उहाँ आफ्नो दौंतरीहरुमाझँ भने ठट्टा र रमाइलो गर्नुहुन्थ्यो । सानैदेखि नै उहाँ कतै जानुपर्दा आफ्ना साथीहरुको एक टिम बनाएर मात्रै हिँड्ने गर्नुहुन्थ्यो । स्कूल पढ्दा त झन उहाँको पाँच जना केटीसाथीहरुको गु्रप नै थियो । त्यस गु्रपले  पञ्चकन्या  उपनाम पाएको थियो । उहाँलाई स्कुलमा प्रार्थना गर्दा, मौनधारण गर्दा हाँस उठ्ने गथ्र्यो । उहाँ भन्नुहुन्छ – “त्यस्तो बेलामा म कि त कसैको अनुहारै हेर्दिन्थे या त्यहाँ उपस्थित नै हुन्नथिएँ ।”
उहाँले कक्षा–६ सम्मको अध्ययन धरान भगवति माविमा, ७ देखि एस.एल.सि.सम्म दुलारीको साजिलाल मा.वि र प्रविणता प्रमाणपत्रसम्मको अध्ययन चाहिँ संघीय राजधानी काठमाण्डौंमा पुरा गर्नुभएको हो । अधिकारीको स्नातक पढ्दापढ्दै बिवाह भयो । र त्यसपछिको अध्ययन उहाँले विवाह पश्चात पुरा गर्नुभयो । उहाँको पहिलो डिगी्र पोलिटिकल साइन्स थियो । उहाँले डिग्रीको अध्ययन गर्दा गर्दै बि.एल पनि गर्नु भयो । 

उहाँको पिता प्रेम प्रसाद अधिकारीको धारणा थियो – “छोरीहरुले पनि पढेर केही गर्नुपर्छ, आफँैमा सक्षम हुनुपर्छ ।” अध्ययनलाई निरन्तरता दिनमा बुवाको प्रेरणा एकदमै धेरै थियो ।  त्यसैले पनि उहाँको पढाईमा  कूनै पनि किसीमको बाधा,अढ्चन आएन । उहाँले हालै आएर पी.एच.डि सम्मको अध्ययन पुरा गर्नुभएको छ । 

डाक्टरको उपाधी पाएको खुशी बुवासँग फोनबाट मात्र  बाँड्न पाउनु भयो, भेटेर खुसी वाढ्न नपाउदै बुवा संसारबाट विदा भइसक्नु भएको थियो । पिएचडीको उपाधी ग्रहण गर्दै गर्दा बुवाको उपस्थिति खोजेको थियो उहाँको हृदयले । उहाँले भन्नुभयो –“बुवाको अभाव सधै खड्किरहन्छ ।” 

अधिकारीको स्नातक पढ्दापढ्दै  बिमल पौडेलसगँ बिवाह भएको थियो । उहाँ आफ्नो विवाहलाई प्रेम र मागिको फ्युजन भन्न रुचाउनु हुन्छ । जसले उहाँलाई प्रेम प्रस्ताव राख्नु भयो उहाँसँगै मागि विवाह भयो । गीता र बिमल एउटै कक्षाको सहपाठी हुनुहुन्थ्यो । बिमलको प्रेम प्रस्ताव आएपछि अधिकारीले भन्नुभएछ – “बुवा आमाको मञ्जुरी बिना म कसैसँग पनि प्रेम या विवाह गर्दिन तर बुवाआमाले अनुमती दिनुभयो भने मेरोतर्फबाट पनि ओके ।” गिताको जवाफ सुने पश्चात पौडेल फूपाजु लिएर कन्यार्थ अधिकारीको घर पुग्नुभएको थियो । उहाँको परिवारलाई केटो मन परे पछि विवाहको कुरा पक्का भयो । 

पढ्न र जागिर गर्न पाउनु पर्छ भन्ने सर्त गिताले राख्नु भएको रहेछ । सर्तले स्वीकृति पायो । विवाह पछी पनि उहाँहरु सँगै कलेज जानुहुन्थ्यो । रपनि कलेजमा बोलचाल खासै हुदैन थियो । गिताको अनुसार क्यान्टिनमा  पनि आफूँ आफूँ पैसा तिर्ने गर्नुहुन्थ्यो ।

एसएलसीसम्म नर्स बन्ने सोच थियो । विराटनगरमा नर्सिङको फर्मपनि भर्नुभयो । तर पछि काठमाण्डौँ गएर अध्ययन गर्न थाल्नुभयो । 

अध्ययन गर्ने क्रममा उहाँले बैंक र लोकसेवाको पनि परिक्षा दिनु भएको थियो । विस्तारै उहाँमा शिक्षक बन्ने ईच्छा जाग्न थाल्यो । वि.स २०५२ सालमा वहाँले डिग्री सकेको समयमा नै शिक्षा आयोग खुलेको थियो । २ महिनाको छोरा छोडेर शिक्षा आयोगको परिक्षा दिन जानु भयो । तर परिक्षाको नतिजा  भने २०५६ सालमा मात्र आयो । मा.वि. को लागि लिखितमा पास हुनुभयो, तर अन्तरवार्ता  दिन चाहिँ जानु भएन ।

उहाँको बुवा एक वरिष्ठ वकिल हुनुहुन्थ्यो । बुवाको इच्छा छोरीलाई वकिल नै बनाउछु भन्ने रहेछ । बुवाकै खुशीका लागि बिएल गर्नुभयो ।  उहाँले  बि.एल पास गर्नुभएको खबर सुन्दा बुवाको खुसिको कुनै सिमा नै थिएन । बुवाको त्यो खुशीको पल सम्झै गिता भन्नुहुन्छ – “ बुवा यति खुसि हुनुभयो कि बि.एल. पास गरेकै दिन वकिलले लगाउने कालो कोट नै किनेर ल्याईदिनुभयो । बुवाको आखामा झल्किएको त्यो खुशी सम्झदा अहिले पनि मेरा आखामा आशु छल्किन्छ ।” बुवाको सम्मानका लागि नै भएपनि उहाँ केहि दिन वकालत गर्न समेत जानुभयो । 

म जति नै सफा छु भने पनि वकालत गर्दा मान्छे सफा हुन सक्दैन भन्ने उहाँलाई लाग्थ्यो । त्यसकारण नै एडभोकेटको लाईसन्स लिएर पनि उँहालाई वकालत गर्न खासै मन भएन । पछि उँहाले कलेज पढाउन थाले पछि छोरीले वकालत नगरे पनि वकिलको पढाई चाहिँ पुरा गरिन भनेर बुवाले  चित्त बुझाउनु भएको रहेछ । 

काठमाण्डौं किर्तिपुरको एक बोडिङ्गबाट शुरु भएको उहाँको शिक्षण कर्मले अहिलेसम्म जनता बहुमुखी क्यापस इटहरीमार्फत निरन्तरता पाइरहेको छ । शुरुवाती क्षणमा उहाँलाई पढाउन जाँदा अलिकति घबराहट महशूस भएको तर आफुले नै पढेको विषय पढाउनुपर्दा र म गर्न सक्छु भन्ने आत्मविश्वास भएको कारण पढाउन खासै असहज नभएको अनुभव अधिकारी सुनाउनुहुन्छ ।

उहाँलाई माईतमा हुँदा सबै कुरामा साथ दिने बुवा र विवाह पछि सासु र श्रीमानले हरेक पाईलामा साथ दिनु भयो । उहाँ जीवनको विगतलाई सम्झदै भन्नुहुन्छ – “सासुले हाम्रो एक वर्षको छोरालाई स्याहार सुसार गरेर, दिशा पिसाब व्यहोरेर आफ्नो सम्पुर्ण समय दिनुभयो ।  त्यसकारण पनि मैले सहज तरिकाले अध्ययन गरेर आफ्नो पेशागत जीवन र गृहस्ती जीवनलाई सन्तुलनमा ल्याएर अगाडि बढ्न मदत पुग्यो । १ वर्षको छोरा सासुआमालाई छोडेर म डिग्री पढ्न जादाँ आफु चाँहि बाहिर पढ्न हिडेर सासुलाई नानी हेर्न लगाउने भनेर कुरा काट्ने मान्छेको पनि कमी थिएन । त्यो सुन्दा धेरै नै नराम्रो लाग्ने गथ्र्यो । समाजका मानिसहरुको विभिन्न रोकटोकले कहिलेकाहिँ एकदमै हतोत्साहित महसुस हुन्थ्यो र पनि कहिल्यै हरेस भने खाइन किनभने मलाई परिवारको साथ थियो ।” 

आफ्नो जीवनको उर्जाशिल समय जनता क्याम्पसलाई दिएर अहिले क्याम्पस  प्रमुख हुने अवसर पाएकोमा गर्व महशुस गर्नुहुन्छ । २१ बर्ष जनता क्याम्पसमा समर्पित भइसकेको छ उहाँको । तर छोरी मान्छेले केही गर्न सक्दैनन् भन्ने मानसिकता कलेजमै पनि अहिले सम्म रहेकामा दुख लाग्ने उहाँ बताउनुहुन्छ । 

प्रा. डा.गीता अधिकारी जनता बहुमुखी क्याम्पसको इतिहासमै पहिलो महिला क्याम्पस प्रमुख हुनुहुन्छ । आफुँले क्याम्पसमा गरेको योगदान र कर्तव्य इमान्दारीका साथ पूरा गरेकाले साथै सबैको सहयोगको कारण नै आफूँले क्याम्पस प्रमुखको पद पाएको उहाँको बुझाइ छ । तर अहिले सम्म त्यो कुरा यो समाजले नबुझेको हो कि भन्ने उहाँको गुनासो रहेको छ । महिलाको जिम्मेवारीलाई हेर्ने समाजको सकारात्मक दृष्टिकोण वनिनसकेको उहाँको निष्कर्ष रहेको छ ।

सिस्टममा रहेर काम गर्नसके सफलता प्राप्त गर्न सकिने उहाँको विचार रहेको छ । कामको सन्दर्भमा उहाँको सुत्र रहेछ – “आफँु सिस्टममा रहेर अरुलाई पनि सिस्टममा हिड्न प्रेरित गर्ने ।” 
उहाँको विचारमा कुनैपनि कामको क्षेत्र एउटा समुन्द्र हो यहाँ जस्तोसुकै तुफानको सामना गरेर अगाडि बढ्नुपर्ने उहाँ हुन्छ । 

आफुँ प्रमुख रहेको जनता वहुमुखी क्याम्पसमा अंग्रेजी मिडियमबाट पनि पढाई हुने, जागिर खाएर पढ्नेलाई अनलाईन कक्षाको व्यवस्था जस्ता अन्य सुविधाहरु रहेको छ त्यसैले पनि जनता क्यामपसमा  विद्यार्थीको संख्या वृहत मात्रामा रहेको छ । मेहेनत गरेर पढ्नेलाई जहाँ पनि राम्रैहुन्छ । “हाम्रो कलेजका विद्यार्थीहरु एकदमै मेहेनति छन् ।” अधिकारी आफ्नो कलेजका विधार्थीको खुलेर प्रशंसा गर्नुहुन्छ । 

उहाँ सामाजिक कार्यमा पहिला देखिनै सक्रिय हुनुहुन्छ । लेडिज जेसिस इटहरीदेखि लायन्स सम्मको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । पति विमल पौडेल नेपाल रेडक्रस इटहरी उपशाखाको सभापति रहनुभएको छ । 
उहाँको सोच जिन्दगी भर सामाजिक क्षेत्रमै रहिरहने रहेको  छ । सामाजिक कार्य गर्दा उहाँलाई संसारकै सबैभन्दा ठूलो खुसी मिल्ने र आनन्द प्राप्त हुने बताउनुहुन्छ  । 

Featured News

Advertisement