आईतवार २२, मंसिर २०८२ Sun,07 Dec 2025

सर्वाधिकार सुरक्षित

ईरान राईको चुडेल्नी कथासङ्ग्रहलाई नियाल्दा



20:53 शुक्रबार २२ , कार्तिक २०८२
  • बिन्दु दहाल मूकदर्शक

ईरान राई नेपाली साहित्य जगत्मा कुनै अपरिचित नाम होइन । सामाजिक , शैक्षिक ,राजनीतिक आदि विविध क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने आदरणीय अग्रज स्रष्टा  मोरङ्गको बेलबारीमा बसोबास गर्नु भै आफ्नो व्यक्तिगत र सामाजिक जीवन व्यतीत गरिरहनु भएको छ ।

जिन्दगी कर्मले सुसज्जित हुनुपर्छ , चेतनाको आलोकले समाज प्रज्ज्वलित गराउनुपर्छ , सङ्घर्ष र त्यागले जीवन रङ्ग्याउनु पर्छ भन्ने स्रष्टा राई मूलरूपमा प्रगतिशील लेखनका आधारमा आफ्ना वैचारिक चिन्तनलाई शिष्ट ,सभ्य र शालीनढङ्गबाट साहित्यमा प्रस्तुत गर्नुहुन्छ ।वहाँ एक मृदुभाषी कर्मठ र खारिएको साहित्यकार हुनुभएको नाताले  वहाँ साहित्यमा कोरा कल्पना र राजनीतिक नारा लेख्नुहुन्न । वहाँका सिर्जनाहरू सयपत्री फूलजस्तै मगमगाएका र झरनाको पानी जस्तै झरझराएका हुन्छ्न् । साह्रै थोरैमात्र साहित्यकारले यात्रा गर्ने नेपाली नाटक लेखनको यात्रामा वहाँको कलम शक्तिशाली छ भन्ने कुरा डेड दर्जनजति मञ्चित र प्रकाशित नाटकले बोलिरहेका छन् । बहुविधामा विशेष दखल राख्नुहुने राईका कथा , कविता , हाइकु ,हास्यव्यङ्ग्य  ,गजल मुक्तक  निबन्ध लगायतका २० थान कृतिहरूले नेपाली साहित्यको ढिकुटीलाई समृद्ध तुल्याएका छन् ।

चुडेल्नी कथा कृतिमा  डाइनी , भूत ,चुडेल्नी , मुर्कुटा ,प्रेतात्मा , बोक्सी , बोक्सो ,डङ्कीनी ,राक्षसनी ,किचकन्नी शीर्षकका १० वटा कथाहरू सङ्कलित रहेका छन् । 

उक्त कथाहरूलाई सरसरती अध्ययन गर्दा कथाले निम्नलिखित सन्देश प्रवाह गरेको देखिन्छ । 

पहिलो किचकन्नी कथाले दाइजोका कारण कयौँ छोरी बुहारीहरूले ज्यान गुमाउनु पर्ने विद्यमान अवस्था , डाक्टर ,नर्सहरू नै अन्धविश्वासमा रुमलिएको अवस्था , अस्पताल जस्तो संवेदनशील ठाउँको सुरक्षा व्यवस्था फ्यातुलो भएका कारण अस्पताल भित्रैबाट बिरामी र कुरुवाका सिक्री , पर्स , मोबाइल ,औषधि , फलफूल हराउने गरेको , लोन्द्राहा जस्ती नारीले गरिबीका कारण किचकन्नी बन्नु परेको र चिसाङजस्ता सचेत डाक्टरले किचकन्नी समातेर किचकन्नी भन्ने नै हुँदैनन् , यो सबै भ्रम हो , त्रासको उपज हो ,अन्धविश्वास हो भन्ने कुरा प्रष्ट पारिदिएका छन्  ।

चुडेल्नी नामको दोस्रो कथाकी प्रमुख पात्र मनिषाले आफ्ना बुबाआमाले लिएको दुई हजारको रिनलाई शून्य थपेर मरिचमान गरिबमारा साहुले  बीस हजार बनाएको र त्यही गरिबमारा मरिचमानको रिन तिर्न उसैको सल्लाहअनुसार चुडेल्नी बन्नु परेको हृदयविदारक दृश्य छ।

तेस्रो कथा डङ्किनीमा कोरोनाभाइरसको महामारीको चर्चा , नेपालको राजनीतिक अस्थिरता र अस्वस्थ प्रतिस्पर्धा  ,ग्रामीणमहिला गीता र सीताको आँपको बोटको विषयमा झगडा परेको  उपप्रमुखले निराकरण गर्न नसकेको गीता र सीताबिचको झगडा थरुनी महिलाले दिएको आइडियाले समाधान गरेको , मान्छे म्याजिक भ्यानमा ओसारेर धनको आडमा सीताले न्याय सम्पादनमा प्राभाव पार्न खोजेको दुष्प्रयास देखाइएको छ । 

चौथो कथा डाइनीमा जुगनी नाम गरेकी गरिब महिला पात्रलाई अग्निसिं , अङ्कित ,ठाइँलो , न्यायाधीश  दीक्षा जस्ता पात्रहरूले डाइनीको आरोप लगाई यातना र पीडा दिई गाउँ निकाल्न खोजेको परिवेश तर सरिता जस्ती सत् पात्रले भैँसीको थुन सुन्निएर दूध  घटेको ,सार्की साहिँलाको खसीमा फिते जूका दिमागमा पुगेर घुम्ने लागेको ,  कमिनी जेठीकाकीको पोथीमा भाइरस लागेर भ्वाक्कै ढलेको आदि कारण खुलाएको तर अन्तिममा अग्निसिंहलाई जुगनीले डाइनी बनी दुई टुक्रा पारी मारी आफू पनि मरेको बीभत्स दुखान्त परिवेशको चित्रण गरिएको छ ।

पाँचौँ कथा प्रेतात्मामा प्रतिमाको आफू पनि पढेर रेखा गुरुमा जस्तै असल शिक्षिका बन्ने रहर भएको तर गरिब परिवारमा जन्मेकै कारण इच्छा अधुरो बन्न लाग्दा धामी कान्छा र धमिनी कान्छीका भनाइमा लागि पढाइ खर्च जुटाउन प्रेतात्मा बन्न विवश हुनुपरेको मार्मिक प्रसङ्ग उल्लेख गर्दै दिनदुखीका सपनाहरूमा गरिबीका कारण खग्रास ग्रहण लाग्ने गरेको वर्तमान ग्रामीण नेपाली समाजको कारुणिक अवस्थाको चित्रण गर्दै राम्रो कामको लागि अरूलाई प्रभाव पारेर  गरिबले आफ्ना चाहना पूरा गर्दा पाप लाग्दैन भन्ने निष्कर्ष देखिन्छ ।

छैटौं कथा बोक्सी रहेको छ । बोक्सीको मुख्य पात्र लालमती हो जसलाई सुनैना मालिकिनी  जस्ता कुपात्रले मुखमा दिशा कोच्याइदिएर गाउँ निकाला गरेको कारुणिक परिवेश रहेको छ ।

सातौं कथा बोक्सो रहेको छ । बोक्सो कथामा एउटा लिखुरे सिपाहीकी सुन्दरी श्रीमतीसँग सिखुरेका हाकीमले रासलिला गरेको , जानाजन लिखुरे निरीह बनेको र अन्त्यमा असाइले लिखुरेकी श्रीमती भगाएको प्रसङ्ग छ  ।

आठौँ कथा भूत रहेको छ जहाँ डरका कारण अलकत्राको ड्रम , बिस्टेनीको कुकुर भूत भएका छन् । श्रमजीवी झलकबहादुर कामीलाई  परिस्थितिले भूत बनाएको अन्त्यमा घुमाउनेडाँडाको खेत झलकबहादुर कामीले पाएको प्रसङ्ग छ ।

नवौँ कथा मुर्कुट्टा रहेको छ । यसकथामा माओवादी द्वन्द्वको प्रसङ्ग उल्लेख छ र नक्कली मुर्कट्टाहरूले स्थापना गरेको लोकतन्त्रलाई सक्कली मुर्कुट्टाहरूले धरापमा पार्छन् कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।

दसौं कथा तोइका धिमाल्नीको रहेको छ जसको ठूलो र डरलाग्दो जिउडालका कारण र ऊ गरिब पनि भएका कारण  गाउँघरमा कोही मान्छे र पशुचौपाय बिरामी भए , खाना नरुचाए तोइकाले नै बहेदेको भन्ने आरोप खप्नु परेको र सबैको राक्षसनी बन्नुपरेको , धिमालाअदिवासीहरूको जग्गा पहाडबाट खालीखुट्टा आएका मुखियाले उनीहरूलाई जाँडपानी ख्वाएर सित्तैमा हडपेर अहिले अधिकांश धिमालहरू भूमिहीन भएको प्रसङ्ग छ ।

प्रस्तुत कथाले  सार रूपमा निम्न सन्देश प्रवाह गरेको देखिन्छ । 

१. हाम्रो शिक्षाले अझै पनि हाम्रो हृदयमा भएको अज्ञान र अन्धविश्वासको जालोलाई च्यात्न सकेको छैन त्यसैले हाम्रो गाउँसमाजमा चुडेल्नी , भूतप्रेतले महत्त्व पाइरहेकै छ ।

२. अन्धविश्वासबाट विशेष गरी हाम्रा ग्रामीण अशिक्षित ,गरिब महिलाहरू प्रताडित बन्नुपर्ने अवस्थाबाट पितृसत्तात्मक समाजको अकर्मण्यता पुष्टि  हुन्छ ।

३. भूतप्रेत , डाइनी आदि भनेको धनी र गन्यमान्य भनाउँदाले बोल्न नसक्ने निसाहाय गरिबलाई लगाइने आरोप मात्र हुन् । धनीहरूको घरपरिवारलाई धामीले , समाजले त्यस्तो आरोप लगाउन सक्दैनन् ।

४. यो कथाका पात्रहरूले आफ्नो वर्ग कुन हो भनेर चिन्न सकेका छैनन् त्यसले एउटा गरिबलाई अर्को गरिबको उछोत्तो काढेको छ या त धनीकै पक्ष लिएर वकालत गरेका छन् यसबाट गरिबले आफ्नो वर्ग बुझेर वर्गीयहितमा आफूलाई उभ्याउनु पर्छ भन्ने सन्देश दिएको छ  ।

५. लुखुरेको भैँसी द्वारेबाले हत्याएजस्तै एउटा सिपाही कि सुन्दरी श्रीमती उसकै हाकिमले उडाइदिएको घटनाले हाम्रा छोरीचेलीबुहारीमाथि हाकिम ,सामन्तीहरूको गिद्धेदृष्टि अझै पनि परेकै हुनाले हामीलाई यस्ता कुरामा सचेत हुने सन्देश दिएको छ । 

६. देशमा भएको राजनीतिक अस्थिरता, कुशासन र बेथितिमाथि सिस्नोपानी लगाइएको छ र मुलुकमा गणतन्त्र आए पनि नेता र जनताको मस्तिष्कमा गणतन्त्र आइनसकेको हुँदा समाज रूपान्तरण हुन नसकेको वास्तविकता उद्घाटन गरिएको छ ।

७. नेपालको जागिर र बढुवाका लागि चाकरी चाप्लुसी हाबी भएको , पुलिसका हाकिमले सिपाहीलाई आफ्ना जुत्तामा पोलिस गर्न लगाउने , लुगामा स्त्री लगाउने लगाउने , श्रीमतीका शृङ्गारका सामान किन्न लगाउने , केटाकेटीलाई स्कुल र खाजा पुर्‍याउन लगाउने आदि पदीय मर्यादा विपरीतको काम गरेको नोकरतन्त्रको प्रसङ्ग उल्लेख छ ।

८. नेपालको मुख्य समस्या गरिबी र अशिक्षा नै हो भन्ने तथ्य  सप्रमाण पेस गरिएको छ ।

९. वनको बाघले नखाए पनि मनको बाघले खाने हुँदा मानिसमा चिन्ता र भ्रम उत्पन्न भई बिरामी पर्छन् भन्ने कुरा देखाइएको छ ।

१०. मानिसले सङ्घर्ष र त्याग गर्नुपर्छ , जीवनबाट कहिले हार खानु हुँदैन , श्रमजीवीको सम्मान गर्नुपर्छ भन्ने कुरा उजागर गरेको छ ।

११.  नेपालको प्रदेश नं एकको आञ्चलिकता र व्यक्तिबोलीलाई देखाइएको छ ।

१२. यो कथामा मनमोहन , मदन , मोदनाथ , मरिचमानसिह , लोहन्द्रा , चिसाङ आदि पात्र प्रयोग गरिएको हुँदा पात्र प्रयोगमा पनि कथाले नवीनता थपेको छ ।

१३. उखानतुक्कालाई प्रासङ्गिक ढङ्गबाट यथास्थनमा प्रयोग गरिएको छ ।

१४. विषयवस्तुलाई वैज्ञानिक सत्यतथ्यका आधारमा प्रस्तुत र पुष्टि गरिएको छ ।

१५ . कथाहरू छोटाछरिता र पट्यार नलाग्ने , कौतूहलता पैदा गर्ने खालका रहेका , संवादमा सहजता , परिवेश जीवन्त ,वाक्यगठन सरल भएकोहुँदा पुस्तक पठनीय रहेको छ । कथागत तत्त्वका आधारमा हेर्दा चुडेल्नी कथासङ्ग्रह सफल देखिन्छ ।

१६. उही पानी ,उही चुलो , उही मरमसला र उही खाद्य सामग्री भए पनि भान्से फरक पर्नासाथ परिकारको स्वादमा पनि परिवर्तन आएझैँ विषयवस्तु पुरानै भए पनि अनुभवी र प्रौढ लेखनशैलीका कारण विषयवस्तुको स्वादमा पनि नवीनता पाइन्छ ।

कमजोर पक्ष : वर्णविन्यास र मा केही त्रुटि रहनु तर यो एक नाङ्लो चामलमा दुईचार बियाँ भएजस्तो मात्र हो ।

Featured News

Advertisement