किताबजस्तै जीवन
- रामप्रसाद खरेल
“किताबहरुले संस्कृतिको निमार्ण गर्छन् ।”
धेरै बर्षअघि मैले ओशोका पुस्तकहरु, वेद, महाभारत र वाईबल पढेपछि निकालेको निष्कर्ष हो यो । मलाई लाग्छ संस्कृति निमार्णको गतिलो साधन किताबहरु हुन् ।
राजनीति र धर्मको आधारमा विश्व समाज छ । राजनीति र धर्म कुनै किताबमा आधारित छन् । यसरी हेर्दा किताबले हामी सम्पूर्णलाई उसकै लयमा हिडाइरहेको छ ।
आधुनिक पुस्तक अर्थात कागजमा छापिने किताबको कुरा गर्ने हो भने यसको इतिहास ५ सय ६८ बर्षको छ । जर्मन नागरिक जोहानेस गुटेनबर्गले सन् १४३६ देखि प्रेस स्थापनाको काम गरेपनि १४५४ मा मात्र व्यवसायिक प्रयोगमा ल्याएका थिए । गुटेनबर्गले सन् १९५५ मा ४२ लाइन वाईबल प्रकाशन गरे । पश्चिममा जगतमा कागजमा छापिएको संसारको पहिलो पुस्तक नै यही हो ।
बयालिस लाइन वाईबल पहिलो किताब भने होइन् । संसारको पहिलो किताबको रुपमा गिल्गामेशको महाकाव्यलाई मान्निछ । यसको उमेर ५२ सय बर्षको छ । अहिलेको सिरियामा पर्ने मार राज्यमा यसको लेखन भएको थियो । तर पूर्वीय समाजले भने वेदलाई संसारको पहिलो पुस्तकको रुपमा दावी गर्छ । वेदको उमेर ६५ सय बर्षको मानिन्छ ।
तर तथ्यले प्रमाणित भएको रुपमा सन् ८६८ मा चिनिया भाषाको पुस्तक डाइमण्ड सुत्रलाई पहिलो किताब मानिन्छ । डाइमण्ड सुत्र बौद्ध धर्मसँग सम्बन्धित पुस्तक होे । यस पुस्तकको बारेमा हंगेरीमा जन्मिएका ब्रिटिस पुरातत्वविद तथा अन्वेषक सर ओरेल स्टेनले सन् १९०७ मा पत्ता लगाएका थिए ।
सुनको पातामा लेखिएको पुस्तक इट्रस्कन गोल्ड इशापूर्व ६०० मा लेखिएको थियो ।
समयक्रममा धेरै धार्मिक र राजनैतिक किताबहरु लेखिए । त्यसकै आधारमा साहित्यिक किताबहरु पनि लाखौंको संख्यामा लेखिएका छन् । अन्य विविध बिषयका किताबको संख्या कति छ कसैले यकिन रुपमा भन्न सक्तैन् । दैनिक हजारौं पुस्तकहरु प्रकाशन हुन्छन् होला भनेर अन्दाज गर्न सकिन्छ ।
कुरान, वाईबल, त्रिपिटक, महाभारत, पुराण आदि समाजमा आए । यिनीहरुले जर्बजस्त समाजमा आधिपत्य जमाए ।
सन् १८४८ मा मार्क्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्र सार्वजनिक गरे । त्यसपछि समाज कम्युनिष्ट र गैरकम्युनिष्टमा बाडियो ।
यहाँ किताबको इतिहास भन्न खोजिएको होइन् । संस्कृति निमार्णमा बिताबहरुको भूमिकाको बारेमा संक्षेपमा छलफल गरिएको हो ।
पश्चिमी समाजमा वाईबल आयो । वाईबललाई आधार मानेर समाजमा नयाँ संस्कृतिको विकास हुँदै गयो । पूर्वमा वेद आयो । वेदलाई आधार मानेर नयाँ संस्कृतिको विकास हुँदै गयो । यस्तै अर्कोतिरबाट कुरान आयो । कुरानमा आधारित अर्को संस्कृति विकास भयो । बुद्धको आगमनपछि उनका प्रवचनको जगमा बुद्ध दर्शन लेखियो । त्यसका आधारमा अर्को प्रकारको संस्कृति निमार्ण हुनपुग्यो ।
मार्क्स, एङ्गेल्स र लेलिनको उदयपछि विश्वमा राजनैतिक रुपमा नयाँ संस्कृतिको विकास हुँदै गयो । उनिहरुको उदयपछि साहित्य समेत मार्क्सवादी र गैरमार्क्सवादी भयो ।
हाम्रो सोच ज्ञानमा आधारित हुन्छ । पुस्तक ज्ञानको एउटा स्रोत हो । सोचका आधारमा हाम्रो जीवनशैली हुन्छ । सरल भाषामा भन्दा हाम्रो जीवनशैली भनेको नै संस्कृति हो ।
जस्ता किताबहरुमा ध्यान दिएका छौ हामी त्यस्तै बन्दैजान्छौ । समाजमा जुन किताबहरुको वर्चश्व छ हाम्रो जीवन पनि तिनीहरुकै पछि दगुरिरहेको छ ।
पूर्वी समाजमा (खास गरी नेपाल र भारत) हामीले वेद, महाभारत, पुराण आदि पढेका हौं वा नहौं तर तिनैले हामीलाई शासन गरिरहेका छन् । पश्चिमा कसैले वाईलब पढेको भएपनि नभएपनि उ वाईबलद्वारा निर्देशित भएको हुन्छ ।
किताबहरुले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष शासन गरेकै हुन्छन् । ती किताबहरु धार्मीक, राजनैतिक, दर्शन वा साहित्य जेसुकैका हुन् ।
योगको बारेमा पढ्छौं र योग गर्न थाल्छौं । ध्यानसँग सम्बन्धित किताब पढ्छौ र ध्यानमा लाग्छौं । धर्मका बारेमा पढ्छौं अनि पूजा र प्रार्थनामा लाग्छौं । कुनै राजनैतिक पुस्तक पढ्छौं त्यसपछि आन्दोलन वा क्रान्तिमा होमिनपुग्छौं । साहित्यका कुनै किताब पढेर रुनपुग्छौं । फेरि कुनै किताब पढेर विद्रोही वन्छौं ।
हामी कस्तो वन्न चाहन्छौ त्यस्तै किताबहरुको छनौट गर्नुपर्दछ । यदि तपाईँ लेखक भएर सोच्नुहुन्छ भने समाजमा कस्तो संस्कृति निमार्ण गर्न चाहनुहुन्छ त्यसै प्रकारका किताब लेख्नुपर्दछ ।
नयाँ संस्कृति निमार्णको जग वसाउने किताब नै हो । सांस्कृतिक क्रान्तिका लागि किताब सबभन्दा ठूलो हतियार हो । ५० बर्षपछिको राज्यको मूहार कस्तो देखाउने ? आजबाट सो अनुहारको बनोट बनाउने खालका दर्शन र साहित्य लेख्ने, लेखाउने र प्रमोशन गर्ने कार्य राज्यले गर्नुपर्दछ ।
पुस्तकबाट टाढा हुन सकिदैन् । पुस्तकलाई प्रत्यक्ष अङ्गालेर हिड्नुपर्दछ । मानिसको सोच अनुसारको किताब र किताब अनुसारको मान्छे हुन्छ ।
फेरि पनि भन्छु हामी किताबहरुबाटै शासित छौं । किताबले हाम्रो जीवनशैली तयार गरिदिएको छ । यसैले अध्यनको लागि किताब छनौटमा आफ्नो लक्ष्यलाई ध्यानमा राख्नुपर्छ । लक्ष्य एकातिर किताब अर्कातिर भयो भने दुर्घटना निश्चित छ । यदि हामी किताब लेख्छौ भने जिम्मेवार भएर सोचौ हामीले लेखेका किताबले मानिसहरुको जीवन विकासमा कस्तो असर गर्छ ?
आफ्ना लागि जिम्मेवार पाठक र अरुका लागि जिम्मेवार लेखक, प्रबद्धक वन्न सक्नुपर्दछ ।
पढ्दै, लेख्दै जादा विस्तारै किताब जस्तै वन्छ जीवन ।






