नयाँ–नयाँ जीवन जिउन रङ्गमञ्चमा
बिष्णु मोक्तान रंगमञ्चमा जीवनका नयाँ–नयाँ आयाम खोज्ने साधकको नाम हो । उहाँ धरानलाई केन्द्र बनाएर नाटकको क्षेत्रमा केही गर्नुपर्छ भन्ने मूल उदेश्यले काम गरिरहनु भएको छ । प्रधानमन्त्री केपी ओलीले पुष ५ मा संसद विघटन गरेपछि त्यसको विरोधमा उहाँको टिमले ‘प्रतिगमन’ सडक नाटक प्रदर्शन गरेर आफ्नो वलियो उपस्थिति देखायो । वि.सं. २०४६ साल असार ७ गते संखुवासभा जिल्लाको साविक नुनढाकी गाविस हाल चैनपुर नगरपालिका वडा नं.१ मा उहाँको जन्म भएको हो । राजनीति र नाट्य कलालाई एकसाथ लान सकिन्छ भन्ने पनि उहाँले देखाउनुभएको छ । धरानमा रंगभूमी एकेडेमीको स्थापना गरी कलाकारिता सिकाईँरहनुभएको छ । उहाँको जीवनयात्रा, वाल्यकालका स्वर्णिम पलहरु तथा नाट्य कलाको बिषयमा हाम्रा पाठकहरुलाई जानकारी दिन नेपालबिटका लागि संवाददाता अविशेक खतिवडाले लामो कुराकानी गर्नुभएको छ । अविशेक खतिवडाले नाट्यकर्मी बिष्णु मोक्तानसँग गर्नुभएको कुराकानी मोक्तानकै शब्द र शैलीमा हामीले प्रस्तुत गरेका छौँ ।
सानोमा रेडियो सुन्दा यहाँभित्र मान्छे चाहीँ कसरी छिर्छन होला ? गीतहरु बज्दा मादल, बाँसुरी कसरी लान्छन् होला ? जस्ता विविध प्रश्नहरु मनभित्र उठ्ने गर्थो । एकदिन रेडियो खल्र्याम–र्खुलुम्म खोलेर हेरेको त होइ ! केही छैन । सायद त्यही चासोको कारणले गर्दा पछि म गणतन्त्र एफ.एममा आवद्ध हुन पुगेँ ।
म सानोमा एकदमै जिज्ञाशु स्वभावको थिएँ । जसले गर्दा मेरा मनमा धेरै कुराहरु जान्ने इच्छा हुन्थ्यो ।
बाल्यकालका धेरै कुराहरु सम्झनामा छन् । रेडियोमा वोल्ने मान्छे हेर्न रेडियो सेट खोलेको जस्तै अर्को रमाइलो सम्झना पनि छ ।
एकदिन भागेर चैनपुर बजार गएँ । साथमा साढे सत्र रुपैयाँ थियो । बेस्सरी भोक लागेर आयो । होटलमा थुक्पा देखेँ, थोक्पामा न्युटेलाको झोल रहेछ । त्योवेला मलाई न्यूटेलालाई मासु जस्तो लाग्यो । त्यतीबेलाको समयमा गाउँघरमा फयाट् फुट्ट मात्र मासु खान पाइन्थ्यो होइन ! त्यसकारण मैले लु अब चै थोक्पा खानुपर्छ भन्ने सोचँे । तर त्यसलाई थुक्पा भन्छ भन्ने थाहा थिएन । मैले सांकेतिक रुपमै उतो दिनु न भनेर मागेँ । बटुकामा थुक्पा र त्यसमाथि दुइवटा चम्चा हालेर ल्याइदिनुभयो । खानुपर्यो होइ भनेर चम्चाले उठाउन खोज्छु उठ्दैन, अनि धेरैबेरसम्म कोशिस गर्दा पनि नभएपछि जे पर्ला–पर्ला भनेर मेरो पालो हातैले खाइदिएँ । हो, बाल्याकालका यीनै पलहरु अहिले सम्झेर ल्याउदा एकदमै रमाइलो लागेर आउँछ ।
गाउँमा मनि तामाङ् नाम गरेको एक जना दाइ हुनुहुन्थ्यो । अहिले उहाँ पनि धरानमै हुनुहुन्छ । त्यतिबेला उहाँले संखुवासभामा वातावरण र वनगङ्गल विनाशको विरुद्धमा पुतली नाच सहितको सडक नाटक ल्याउनुभएको थियो । त्यसबेला म सानै थिए । उक्त सडक नाटकमा बालुवाको थुप्रो बनाएर त्यहाँ सिन्का गाडी खेल्ने केटाकेटीको भुमिकामा म पनि थिएँ । तर नाटकमा अभिनय गर्दैछु भन्ने थाहा थिएन । पछि आएर मात्र त्यतिबेला मैले गरेको नाटक रहेछ भन्ने थाहा भयो । त्यसपछि मात्र मलाई यो विषयको बारेमा अध्ययन गरौँ न त के रैछ भन्ने जस्तो भयो । त्यसकारण म यस क्षेत्रमा सानै देखिको रुचिको कारणले आएको भने होइन ।
साँच्चै भन्ने हो भने अरुको जस्तो सानैदेखि मलाई केही रुचि नै थिएन भन्दा पनि हुन्छ । टन्न खानपाए, आन्नदले घुम्न पाए र खेल्न पाए हुन्थ्यो भन्ने मात्र सोच थियो । म बढ्दै जाने क्रममा देशमा एक प्रकारको द्धन्द्ध शुरु भइसकेको थियो । शुरुशुरुमा द्धन्द्धको प्रभावले जनमानसमा डर निकै नै बढे्को थियो । समाचार सुन्दा पनि यहाँ यति÷त्यहाँ त्यति मान्छेहरु मरे । कहाँ को–को बीच भिड्न्त्र भयो भन्ने किसिमको मात्र हुन्थ्यो । पछि–पछि हाम्रो गाउँतिर पनि नयाँ अनुहार गरेका केही छिट्फुट मान्छेहरु आउँन थाल्नुभयो । शुरु–शुरुमा त डर लाग्थ्यो पछि उहाँहरु हाम्रै घरमा आएर बस्न थाल्नुभयो । त्यतिबेला मैले सम्झने नाम भनेको मोहन र प्रभात भुजेल हो । उहाँहरु संखुवासभा जिल्लाको अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इन्चार्ज हुनुहुदोरहेछ । उहाँहरु हाम्रै घरमा बसेको र हामी विद्यार्थी भएको कारणले गर्दा अलिक नजिक भएर कुराकानी गर्न थाली सक्नुभएको थियो । कुराकनीकै क्रममा देशको परिस्थिति, हाम्रो भुमिका, हामी ठूलो भएर के बन्ने भन्ने विषयवस्तु, इतिहासबारे, तत्कालको राज्य व्यवस्था, सो व्यवस्थाको प्रभाव, शासन व्यवस्था र शासकिय स्वरुप आदि सबै विषयमा कुरा गर्नुहुन्थ्यो । उहाँहरुको कुराले म पनि राजनीतिप्रति झुकाव राख्न थालेछु । स्कुलमा समेत संगठित भइ काम गर्न थालेँ । स्कुलमा संगठित भएको पहिलो दिन मर्ने भो भन्ने पिरले घरमा रुवाबासी नै भएको थियो भने स्कुल र गाँउका मान्छेहरु सबै त्रसित हुनुहुन्थ्यो । त्यसैले यो चाहीँ मेरो लागि एउटा भाव भयो भने उक्त भावलाई अभिव्यक्ति गरेर माथिल्लो स्तरसम्म पुर्याउने माध्यमको रुपमा मैले नाटकलाई पाए ।
मेरो बुवा लाहुरे । उहाँ सधै मलाई लाहुरे बन्नुपर्छ भनेर भन्नुहुन्थ्यो । त्यतिबेलै पनि खोइ किन हो लाहुरे बन्न मालई मन पर्दैनथ्यो । पछि जब एक किसिमको बुझाइको विकास हुदैँ गयो तब योग्य जनशक्तिहरु विदेशिनु हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने भयो । र अहिले पनि हामी हरेक युवा जुन ठाउँमा छौँ, त्यही ठाउँबाट फुल्नुपर्छ र त्यहीँबाट अर्को विउ निर्माण हुनुपर्छ भन्ने लाग्छ ।
मलाई सबैले यो चाहीँ बेस्सरी संघर्ष गरेर आएको भन्नुहुन्छ । मलाई चाहीँ त्यो मेरो संर्घष भन्दा पनि सिकाइको पाटो हो जस्तो लाग्छ । किनभने पहिला म विद्यार्थी संगठनमै हुदा खेरी पत्रकारीता तालिम लिएको थिए । त्यसपछि म रेडियो गणतन्त्र एफ.एममा जोडिएँ । त्यतिबेला त्यहाँ भएका थुप्रै विद्याहरु मध्ये नाटक पनि एक थियो । रेडियोमा मैले नाटक विद्यासँग जोडिएर कलम चलाउने मौका पाएँ । त्यस समयमा मैले ‘अबको संविधान’ नामक रेडेयो नाटक आफैँले लेखेर बोलेको पनि थिएँ । जुन एकदमै राम्रो भएको भनी धेरैबाट प्रशंसा पाएको थिएँ । त्यसपछि म विभिन्न फिलिम वर्कसप हुदै काठमाण्डौँ छिरे । काठमाडौँ छिरेर राजधानी कला केन्द«मा डान्स सिक्न थाले । त्यही हँुदाखेरी नै हुँदा खेरी टिभी फिल्मीले गरको ‘को बन्छ कलाकार’ नामक रियालिटि शो को टप १० मा पुगेर बाहिरएको थिएँ । अनि चाहीँ म त्यहीबाट बाहिरीएको केही टिमहरु सहित एमा आर्ट थिएटर पुगेको थिएँ । त्यहाँ वीरेन्द« हमाल सर हुनुहुन्थ्यो । त्यसपछि मैले एम आर्टसँग जोडिएर थु्रप्रै कामहरु गरे होला तर पनि त्यहाँ पुग्दाको पहिलो क्षण नै मलाई अहिलेसम्म सम्झना आउँछ ।
त्यतिबेला चाहीँ फेरि कस्तो भइदिएयो भने हामी एम आर्ट गइम होइ । त्यहाँ बाहिरबाट ढोका लक गरेर क्लास हुदैरहेछ । जुन एउटा सिसाबाट मात्र देखिन्थ्यो । एकछिनपछि वीरेन्द्र सर आएर केको लागि बाबु हो भन्नुभयो । हामीले सिक्नको लागि भनेर भन्यौँ । त्यसपछि उहाँले त्यतिबेलै भन्नुभयो – “सिक्नको लागि त ठिक छ तर हिरो÷हिरोनी चाहीँ म बनाउन सक्दिन । तर मेरो एउटा सर्त छ त्यो हो, तिमीले जन्मिएदेखि अहिलेसम्मका सम्झना लायकका कुराहरु, तिमिलाई गर्न मनलागेका कुराहरु, तिम्रो गल्तिहरु र तिमीले भोगेका कुराहरु कति लेखेर ल्याउन सक्छौँ ल्याउ ।”
म एम आर्टमा सिक्न थालेँ । जब एम आर्टबाट पासआउट भइयो तब साथिहरु थुप्रैतिर छरिन पुग्नुभयो । त्यसबेला एकप्रकारको फिलिमि भुतले छोएर धेरैतिर कुदियो पनि । तर पनि जीवन चाहीँ कहाँ नेरी छ भन्दा रङ्गकर्म मै छ भन्ने भयो । हरेक गुरुको चाहना मैले सिकाएको विद्यार्थीले अब्बलता हाँसिल गरोस् भन्ने नै हुन्छ ।
सरले जहिल्यै भन्नुहुन्थ्यो – “बाबु तिमीले बुझेर काम गर्नु राम्रो हुन्छ । पहिला आफुँ बनेर मात्र अरुलाई बनाउनतर्फ लाग्नु अनि मात्र तिम्रो क्षेत्र बन्छ । तिमीे आफ्नो क्षेत्रमा अब्बल भएर काम गर्नु नै मेरो लागि ठुलो गुरुदक्षिण हो ।” सरका कुराहरुले भित्रैसम्म बेस्सरी छोयो मलाईँ ।
त्योवेला यसो विचार गरेँ, काठमाण्डौँ केन्द्रीत अब्बल नाट्यकर्मी थुप्रै हुनुहुन्छ र नाटकमा राम्रो गरिरहनुभएको छ । अनि मैले आफ्नो क्षेत्रलाई हेर्नतर्फ लागे । आफ्नो क्षेत्रमा हेर्दा त विगतमा थियो तर अहिले शून्य छ । त्यसपछि मलाई कम्तिमा आफ्नो ठाउँमा गएर केही कसरत गर्न सकियो भने नाट्यकर्मी नै बनाउन नसके पनि नाट्यकर्म सम्बन्धि सोच्न सक्ने त बनाइएला नि त भन्ने लाग्यो । आफ्नै ठाउँमा गएर रंगमञ्चको क्षेत्रमा केही गर्छु भन्ने भयो । अनि अर्को कुरो मैले यहाँ आएर जति संर्घष गर्नुपर्याे, त्यही किसिको संघर्ष अरुले गर्नु नपरोस् भन्ने पनि छ ।
नाटक साहित्यको अन्य विधा भन्दा पनि समाजको फरक ऐना हो । यसको बुझाइ, विष्लेषण, व्याख्या नै फरक छ । नाटकमा जीवन पाइने भएकोले पनि म यस क्षेत्रबाट कहिल्यै दिक्दार भइन ।
म जहिल्यै भन्ने गर्छु – “राज्यसत्ता चाहीँ समाजको टाउको हो भने कला चाहीँ हृदय हो ।” कला कहिल्यै पनि समाजभन्दा टाढाँ रहन सक्दैन । कुनै पनि विधाहरु समाजका खम्बा हुन् । नाटकमा त झन अत्यन्त धेरै समाज बुझनुपर्ने भएको कारणले गर्दा यो समाजबाट बाहिर रहन सक्दैन । हाम्रो एउटा स्लोगन नै छ ः कला र संस्कृति राष्ट्रको पहिचान, कलाकार र कलाकारिता युग परिवर्तनका संवाहक हुन् ।
कला केवल मनोरञ्जनको साधनमात्र नभएर युग परिवर्तनको संवाहक शक्ति हो । अब पछिल्लो समयमा आएर केही मानिसहरु पश्चिमा छाडा संस्कृतितीर बहकिएकोले गर्दा चाहीँ मौलिक संस्कृति लोप त हुदै छैन भन्ने एक प्रकारको चिन्ता छ । तर फेरि पनि फर्केर हेर्ने हो भने हाम्रो मौलिकता भित्रको कला साहित्य यति शक्तिशाली छ नि जसले समाज रुपान्तरणको र एउटा नविन युगको ढोका ढक्ढकाउन सफल बन्न सक्छ ।
हामी कलाकारहरुलाई राज्यले सम्मान नगरोस् भन्न चाहन्छु म । तर कलाको माध्यमबाट कलाकारको परिवार र समाजलाई माथि उठाउनका निम्ति व्यवस्थित नीति बनाउने, एकेडेमिक रुपमा लैजाने, काम गर्ने वातावरण बनाइदिने र विलक्षण क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने कार्यहरु राज्यले गर्नुपर्दछ । र हामी कलाकारहरुले पनि प्रसिद्धीको भोको भएर पैसाको पछाडी कुदन छोडी निरन्तर साधना गरेर अघि बढ्न सक्नुपर्छ । होला यो क्षेत्रमा त्यति पैसा छैन तर आज हामी कलाकारहरुको कामको कारणले मानिसहरु फिस्स हाँस्ने अवस्थाबाट गर्विलो हुने अवस्थामा आइसक्नुभएको छ । कसरी आर्ट गर्ने भन्ने विषयमा मात्रै हाम्रो ध्यान गएको कारणले गर्दा हामी स्वयम्ले पनि यसलाई व्यवसायिक दृष्टिकोणले हेर्न सकिरहेका छैनौँ ।
मलाई नाटक गर्दा नाटकको टिम, टिमले गरेको काम, त्यसबाट गएको सन्देश, त्यसमा आफँुले दिन खोजेको चिज र त्यसबाट प्राप्त सन्तुष्टिले संसारको सबैभन्दा ठुलो आनन्द पाएको अनभूति हुन्छ । नाटक सकेर आफँुले बनाएको सेटहरु भत्काउनुपर्दा नमज्जा पनि लागेर आउँछ । हामी काम गर्दा नयाँ भएर गर्नुपर्दछ अनि मात्र हामीले गरेको काममा निखरता आउँछ ।
रङ्गमञ्च एउटा प्लयाटर्फम हो । इच्छुक मनहरुले आउदा र बुझदा राम्रो हुन्छ । सिक्ने हिसाबले आउनेहरुको लागि सदैव ढोका खुल्ला नै हुन्छ । प्रसिद्धीको भोकले आउने हो भने त्यो चाहीँ सम्भव हँुदैन । इच्छाशक्ति लिएर सिक्ने हिसाबले आउनुपर्छ ।
कुरा भनेको जति गरे पनि सकिदैन । त्यसकारण हामीले आफ्नो पृष्ठभुमिलाई कहिले पनि विर्सनु हुदैन । म को हुँ ? कहाँ थिए ? कसरी आए ? र म के गर्दै छु भन्ने हेक्का राख्नुपर्छ । निरन्तर साधना गरेर एउटै कुरालाई पटक–पटक नयाँ ढङ्गले प्रयोग गर्ने कोशिस गर्यौ भने हामीले गरेको काम अझ बढि राम्रो बन्छ । धैर्यता भएन भने तिजमा लगाउने गहना तिलहरी जस्तै होइन्छ । यो भित्र कहिल्यै पस्न सकिन्न । सतही बुझाइले नबुझौ र काम गर्दा इमानदारीताका साथ मिलेर गरौँ ।
अब हामिले हाम्रो धारण, बुझाइ लाई परिवर्तन गरेर राज्य व्यवस्थालाई गहिरोसँग बुझन जरुरी छ । सँगसँगै कला क्षेत्रलाई पनि फरक तरिकाले बुझ्नुपर्छ । केही व्यक्तिको सही बुझाईँको अभावले केही गल्तिहरु हुन गए होला । त्यो गल्ति नितान्त एउटा साधकले गर्न सक्दैन । कसैको एउटा गल्तिलाई देखाएर सबैलाई त्यही दृष्टिकोणबाट नहेरौँ । यो एउटा जीवन जिउने माध्यम हो । यहाँ थुप्रै साधना गर्न पाइन्छ, यहाँ नयाँ – नयाँ जीवन जिउन पाइन्छ । त्यसकारणले यस विषयलाई पनि एउटा युग परिवर्तनको संवाहक शक्ति हो भनेर हेरिदिनुहोला । यसले कला, चेतनाको माध्यमबाट समाज र देशमा ठूलो परिवर्तन ल्याउन सक्छ ।