मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

नैतिक दर्शन संक्षिप्त परिचय



04:43 शुक्रबार ९ , जेष्ठ २०७७
  • विष्णु प्रभात


१. विषय प्रवेश ः
इथिक्स शब्दको उत्पति ग्रीक भाषाबाट भएको, जसको अर्थ हुन्छ —रीति रिवाज । यसलाई नीतिशास्त्र वा आचारशास्त्र भन्ने गरिएको छ । नैतिकताको विज्ञान अथवा नीतिविज्ञान पनि भनिएको पाईन्छ । ‘मोरालिटी’ शब्दको उत्पति ‘मोरस’ भन्ने शब्दबाट भएको छ । मोरसको अर्थ पनि रीतिरिवाज वा चालचलन भन्ने नै हो । चालचलन वा रीतिरिवाज भनेको मानिसले लामो समयदेखि अपनाउँदै आएको अभ्यासजन्य आचरण पनि हो । मानिसको आचरण ऐच्छिक क्रियाका रुपमा रहेको हुन्छ । इच्छित वा संकल्पित क्रियाहरुको पृथकता समय र संस्कारले मात्र कायम गर्दैन, जातिहरुको सोचाईले पनि गर्दछ । त्यति भएर पनि नीतिविज्ञान वा आचारशास्त्र यस्तै ऐच्छिक क्रियाहरुसगँ सम्बन्धित रहिआएको छ ।
आचरणहरुको अध्ययन गर्दा दुईवटा दृष्टिकोण अँगालिन्छ । पहिलो हो — मानिसले कसरी व्यवहार गर्दछ ? कसरी काम गर्दछ ? भनेर हेर्ने । दोस्रो हो — मानिसले कसरी व्यवहार गर्नुपर्छ ? कस्तो काम गर्नुहुन्छ र कस्तो हुँदैन् ? भनेर बताउँने । के काम ठिक के बेठिक, कस्तो उचित तथा कस्तोलाई अनुचित भनेर थाहा दिने शास्त्रको रुपमा रहेको हुँदा आचारशास्त्र वा नीतिशास्त्रको ठूलो समस्या नै कस्तो कार्यलाई औचित्यपूर्ण र कस्तोलाई अनौचित्यपूर्ण भनी छुट्याउनु वा ठहर्याउनु हो । उचित र अनुचित छुट्याउने निकाल्ने काम नै यसको विशिष्टता हो ।
कुनै पनि कार्य उचित वा अनुचित के हो भनेर जान्नका लागि केही नियमहरुको आवश्यकता पर्दछ । विना मापदण्ड कुनै कामलाई उचित वा अनुचित भनी छुट्याउन सकिन्न । कुनै कुराको सौन्दर्य नाप्नका निम्ति पनि पहिले हामी सुन्दरता सम्बनिध आफ्नो बिचार बनाउँछौं । यदि आफ्नो विचार अनुकुल रहेछ भने सुन्दर भन्दछौं अन्यथा कुरुप भन्दछौं । त्यसैले कुनै कामको औचित्य छुट्याउन नैतिक नियमहरुको ज्ञान आवश्यक छ । आचारशास्त्रको लक्ष्य—जीवनको वास्तविक आदर्श र आचारणका नियमहरु के हुन् भनेर जाँच्नु हो । त्यसैले आचारशास्त्रलाई उचित आचरणहरुको विज्ञान अथवा आचरणका आदर्शहरुको विज्ञान पनि भनिन्छ । आचरणको आधार वैयक्तिक चरित्र हो ।
२. नीतिशास्त्रको प्रकृति ः
नीतिशास्त्र कला हो कि विज्ञान भन्ने कुरा यसको स्वरुपले दर्शाउँछ । ज्ञान नै धर्म हो भन्ने सुकरात हुन् अथवा कर्तव्य नै धर्म हो भन्ने बुद्ध हुन् दुवै ज्ञानका प्रवक्ता हुन् । मानिसमा दुई प्रकारको शक्ति हुन्छ । ज्ञानशकित र सृजनाशकित । सृजनाशक्तिका माध्यमबाट संगीत, साहित्य, चित्रकला, भाषा आदिको रचना हुन्छ । सीपलाई कलाको अर्थमा लिँदा नीतिशास्त्र पनि त्यो कला बन्दैन किनभने नीतिमा सृजनात्मक पक्ष भन्दा ज्ञान पक्ष प्रवल हुन्छ । नीतिशास्त्रले मानिसका नैतिक प्रवृतिहरुलाई जीवनको आदर्श अनुरुप अघि लग्छ त्यसैले नीतिशास्त्रलाई कला भन्न सकिन्छ । आचरण शुद्धिको कुरा अथवा सच्चरित्रको शिक्षा ज्ञानको कुरा हो । चित्रकारिता वा संगीतजस्तो भावनामय भन्दा पनि सामाजिकसंहिता यसमा बढी हुन्छ ।
कलाको तात्पर्यलाई निपुणताको अर्थमा लिँदा चित्रकारितामा दक्ष कलाकार बन्न सक्छ तर नीतिशास्त्रमा दक्ष मानिएको व्यक्ति नैतिकवान हुन्छ भन्न सकिदैन्, सच्चरित्रवान हुन्छ भन्न सकिन्न । नीतिवान र सच्चरित्रवान् बन्नका लागि आचरणको सद्गुण आवश्यक हुन्छ । आदर्शको परिपालनका निम्ति पनि नीतिशास्त्रले कुनै कठोर दण्डविधानहरु बनाएको हुँदैन ।
कलाको मूल्याकंन बाह्यपक्ष मार्फत् गरिएको पाईन्छ भने चित्रकारको मूल्याकंन उसद्वारा निर्मित चित्रद्वारा गरिन्छ । गायकको गायन पद्धतिद्वारा हुन्छ । तर कुनै व्यक्तिको नैतिक मूल्याकंन उसको बाहिरी व्यवहारद्वारा मात्र सम्भव हुँदैन । आन्तरिक चरित्रमा नै नैतिकता लुकेको हुन्छ । विज्ञानले सिद्धान्त र प्रविधि दिए जस्तै कलाले सीप र सन्देश दिन्छ । परन्तु नीतिशास्त्रमा आत्मानुशासन प्रवल हुन्छ ।
विज्ञान र नीतिशास्त्र बीच भिन्नता छ । पहिलोले ज्ञान दिन्छ, सुव्यवस्थित अध्ययन गराउँछ, निरिक्षण परीक्षणद्वारा ज्ञानको सत्यता जाँच्छ तर नीतिशास्त्रले मानिसको नैतिकप्रकृति कस्तो छ ? उसको कर्तव्य के हो ? भन्ने ज्ञान दिन्छ । मानवजातिको समग्रतामा आदर्शको अभिलेख खोज्छ । मासिको स्वभाव प्राकृतिक हुन्छ तर चेतनाले सहजात प्रवृतिलाई नियन्त्रण गर्ने प्राणी भएको हुँदा मानिस अरु जीवभन्दा भिन्न हुन्छ उसको व्यवहारमा न त पशुत्व न त यान्त्रिक गुणको एकलौटी रजाई हुन्छ । बरु उसमा सभ्यताले दिएका समस्त गुणहरु सञ्चित हुन पुगेको हुन्छ र आत्मानुशासनद्वारा नैतिक मूल्यबोध गर्ने गुण हुन्छ । नैतिकताको विज्ञानले कुनै आदर्श मापदण्ड बारेमा बताउँछ । ती किन सत्य छन् किन पालन गर्नुपर्छ भनेर सिकाउँछ । व्यवहारिक विज्ञानले भने आदर्श प्राप्त प्राप्त गर्ने प्रविधि वा पद्धति मात्र बताउँछ । सबै शास्त्रहरुले आफ्नो विकसित रुप प्राप्त गर्दै गएपछि विज्ञानको तहमा पुग्दछन् । सैद्धान्तिक र व्यवहारिक पक्ष सबैको हुन्छ ।
३. नैतिक दर्शको सीमा ः
आचारशास्त्रलाई दर्शन या विज्ञान के हो भनी प्रश्न गर्नेहरु पनि छन् । मानिसको आचार वयवहारको समीक्षा गर्ने, निर्देशन या परामर्श दिने र ठीक बेठीक ठहर गर्ने काम नीतिशास्त्रले गर्दछ । नीतिशास्त्र या आचारशास्त्रले मानिसको जीवन र वयवहारसित सम्बन्ध राख्दछ । भनिन्छ नैतिकता मानिसको जीवनको तीन चौथाई हिस्सा हो । जीवनको सम्पूर्ण कार्यकलाप यसैसगँ सम्बन्धित छ । प्रत्येक अनुराग, आकंक्षा र आचरणसँग सम्बन्धित भएकोले नै यसलाई दर्शनको रुपमा समेत हेरिएको हो । विज्ञान मानिसको विशेष अनुभवसँग सम्बन्धित हुन्छ तर दर्शनमा सम्पूर्ण अनुभवको समिक्षा हुने भएकोले नीतिशास्त्रलाई आचारदर्शन पनि भनिएको हो । काण्ट, हेगेल जस्ता विचारकहरुका अनुसार मानिसको जीवनको परम कर्तव्य अथवा आदर्श के हो भन्ने प्रश्नको उतर गहन चिन्तन—मननद्वारा मात्र सम्भव हुनेभएकाले आचारशास्त्र दर्शनको एक अगं बन्न पुगेको छ ।
दर्शनशास्त्र सम्पूर्ण संसारसित सम्बन्धित छ । जब कि आचारशास्त्र मानव आचारणसँग मात्र सम्बन्धित छ । दर्शनमा पूर्व धारणा हुँदैन तर आचारशास्त्रमा हुन्छ, जस्तै इच्छाशक्ति, विवेक आदि । दर्शनको पद्धति चिन्तनशिल हुन्छ तर आचारशास्त्रको वैज्ञानिक हुन्छ । त्यसैले नीतिशास्त्रलाई आचारदर्शन भन्न उचित हुँदैन बरु नीति विज्ञान भन्नु वेश हुन्छ ।
आचारशास्त्रको मुख्य उद्देश्य मानव आचरणको वास्तविक आदर्श पता लगाउनु र नीतिहरुसित व्यवहारको तुलना गर्दै औचित्य वा अनौचित्य बारे निर्णय बारे निर्णय गर्नु हो । मानिसका कार्य—व्यवहारहरु पनि नैतिक निर्णय गरिने र नगरिने खालका हुन्छन् । जीवनका विविध घटनाहरु, अनुभव र कामहरु हुन्छन् ती सबैको नैतिक मूल्याकंन सम्भव हुँदैन । जस्तो कि सिस्नोलेको अनुभव, कुकुरले टोकेको घटना आदि । ती घटनाहरुमा हामीले सिस्नो वा कुकुरलाई पापी, अनैतिक केही भन्दैनौं र भने पनि कुनै सार्थकता रहँदैन्, त्यसैले त्यस्ता घटना वा कार्य अनुभवहरुको नैतिक निर्णय गरिदैन । ती नैतिक निर्णय गरिने कार्य—व्यवहार भन्दा बाहिर पर्दछन् ।
नैतिक निर्णयहरु त्यस्ता कार्यकलापहरु बारे लिइन्छ, जसमा नैतिक गुण अथवा पाप—पुण्य, औचित्य—अनौचित्य आदिको प्रश्न उठाउन सकिन्छ । सबै काममा यस्तो प्रश्न उठाउन सकिँदैन । बाध्य भएर गरिने कामहरुमा यस्तो प्रश्न उठाउन सकिँदैन । ईच्छा अनुसार रोजेर गरिने काम ऐच्छिक कार्यमा मात्र नैतिक निर्णय लिन सकिन्छ र उचित वा अनुचित छुट्याउन सकिन्छ । प्राकृतिक प्रकोपमा पनि नैतिक निर्णय लिन सकिँदैन । चट्याङ्गद्वारा घाइते मानिस र लुटेराद्वारा घायल मानिस फरक—फरक स्थितिमा हुन्छन् । पहिलोमा नैतिक निर्णय लिन सकिँदैन तर पछिल्लोमा लिन सकिने हुन्छ । त्यसथै ऐच्छिक काम अथवा कुनै साधन र लक्ष्यको विचार गरी बुद्धिमानीपूर्वक गरिएका असल कामहरु नैतिक कार्य हुन् । नैतिक गुणको अभाव भएका कामहरु नीतिहीन वा नीतिशून्य मानिन्छन् । तर त्यस्ता कार्यहरु अनैतिकताको पंक्तिमा पर्दैनन् । नीतिहीनता आफैं अनैतिक होइन तर नीतिहीन कार्यहरुद्वारा खराब काम पनि हुन सक्दछ ।
मानिसका आकस्मिक र अनुकरणजन्य कार्यहरु पनि नीतिहीन कार्यमा पर्दछन् । किनभने पागल मानिसको आफ्नो इच्छा नै हुँदैन । त्यसैले त्यस्ता मान्छेको कार्यलाई नैतिक निर्णयको बिषय बनाउन सकिँदैन । बच्चाहरुको कार्य पनि नीतिहीन कार्यमा पर्दछन् । किनकी उनीहरुमा असल वा खराबको चेतना हुँदैन, न्यन हुन्छ । बलपूर्वक गरिएको काम बाहेक अत्यन्त सम्मोहित भएर गरिएको वा गराईएको काममा पनि नैतिक निर्णय लिन सकिँदै
४. नैतिकताको अर्थ ः
मानसिक चेतनाको एउटा पर्याय मानिने नैतिक शब्दले देहगत वा भौतिक जगत्भन्दा भिन्न अर्थ बोल्दछ । साधारणतया नीतिका आधारमा जुन काम कुरा राम्रो देखिन्छ त्यो नैतिक मानिन्छ । अनैतिकताको उल्टो नैतिकता देखा पर्दछ । आचारशास्त्रमा भने नैतिक निर्णय गर्न सकिने कार्यहरुलाई मात्र नैतिक भनिन्छ । यस्तो कार्यमा उचित वा अनुचित दुबै हुन सक्छ । किनकी अनुचित वा खराब कामलाई पनि हामीले नीतिगत निर्णय लिन सक्दछौं । खराब वा नराम्रो भनेर निर्णय दिन सक्दछौं । यहाँ नैतिकताको बिपरीत अनैतिकता नभएर नीतिशून्यता हुने गर्दछ । नीतिशास्त्रमा अनैतिकताको तात्पर्य खराब र नराम्रो हुन्छ, नीतिहीनता होइन ।
मानिसको जीवनको आदर्श कस्तो हुनुपर्दछ ? आदर्श अनुरुपको व्यवहार कस्तो हुनुपर्दछ ? भन्ने ज्ञान प्राप्त गर्नु नै आचारशास्त्रको मुख्य लक्ष्य हो । तर आदर्शको पहिचान गर्नु अघि नै मानिसका मनमा एैच्छिक कामनाहरु उत्पन्न हुन्छन् । मानसिक उद्दीपनले पैदा गर्ने शारीकि क्रियाहरु कहिले कहाँ कस्तो बेलामा कसरी उत्पन्न हुन्छन भन्ने कुरा भने मनोविज्ञानको बिषय हो । त्यसैले आचारशास्त्रको मनोवैज्ञानिक आधार पनि हुन्छ ।
स्वैच्छिक कार्यको तात्पर्य हो — व्यक्तिले ज्ञानको आधारमा स्वतन्त्रतापूर्वक कुनै हेतुद्वारा निर्देशित भएर गर्ने काम । कक्षामा पढाई चलेका बेला तिर्खाले च्याँप्यो भने विधार्थी द्विविधामा पर्छ, पानी पिउन जाने कसरी ? शिक्षकसगँ सोधेर कि ? कक्षा सकेर ? तर उसको द्विविधालाई सकंल्पले समाप्त गर्दछ । अर्थात जसरी पनि पानी पिउने । तब ऊ शिक्षकसँग अनुमति लिएर पानी पिउन गयो भने नैतिक कार्य भयो । नसोधि गयो भने नीतिशून्य कार्य हुन गयो । यसमा विधार्थी सचेतन क्रिया गरिरहेको हुन्छ । यसैका आधारमा विश्लेषण गर्दा मानवीय कार्यहरु आवश्यकताले प्रेरित हुन्छन् । इच्छा अभावबाट पैदा हुन्छ, उपभोगको मात्रात्मक बृद्धिकामनाबाट पनि पैदा हुन्छ, अनि कामको प्रक्रियातिर व्यक्ति अग्रसर हुन्छ । तिर्खाको अनुभवले विधार्थी क्रियाशील भएजस्तै मानसिक इच्छाले शारीरिक चेष्टा उत्पन्न गर्छ । हलचल वा कार्यशीलता पैदा गर्दछ । कार्य सम्पन्नतासँगै उसको इच्छा तृप्ति हुन्छ ।
ऐच्छिक कार्यमा तीन अवस्था पैदा हुन्छ । मानसिक क्रियाशिलताको अवस्था प्राप्ति चेष्टाको अवस्था र प्रकटीकरणको अवस्था । पहिलो अनुभूतिबोधको क्रममा पैदा हुन्छ दोस्रो त्यसद्वारा उत्पन्न प्रतिक्रिया हुन्छ र तेस्रो कार्यव्यापार बन्दछ । नैतिक दृष्टिले शारीरिक रुपमा क्रियाशिल हुने अवस्थाको विशेष महत्व छैन । तर मस्तिष्कको अनुभव अर्थात आवश्यकता बोध एक प्रकारको अभिप्रेरणाको उद्दीपक स्रोत बनेको हुन्छ । त्यसले नै अभावको अनुभूति गर्दछ । जब अभाव महशुस हुन्छ तब नै मान्छेले पिडाबोध गर्दछ । पीडाबोधले मान्छे प्राप्ति चेष्टातर्फ लम्कन्छ । अभाव भौतिक, बौद्धिक, सौन्दर्यात्मक, सामाजिक, जैविक आर्थिक अनेक प्रकारका हुन सक्दछन् । व्यक्तिगत अभावदेखि सामूहिक अभावसम्मको अवस्था पनि देखा पर्न सक्दछ । प्राप्ति चेष्टा इच्छापूर्तिको कामनापछिको अवस्था हो । मानसिक क्रियाशिलतामा बिचार पैदा हुन्छ भने प्राप्ति चेष्टामा व्यवहारिक क्रियाशीलतातर्फ लाग्ने इच्छा सुनिश्चित हुन्छ । साध्य र साधनको निर्णय गरिसके पछि हामी कहिले काहीँ तुरुन्तै शारीरिक रुपले प्राप्ति चेष्टामा लाग्छौं भने कहिलेकाहीँ कार्य द्विविधा हटाएर संकल्पित मात्र हुन्छौं र विस्तारै मात्र कार्यव्यवहारमा जुट्दछौं ।
संकल्प गरेपछि त्यसलाई प्राप्त गर्न गरिने शारीरिक गतिशीलता अर्थात लक्ष्य प्राप्तिको चेष्टा, दोस्रो अवस्था हो । लक्ष्यप्राप्तिका निमित व्यक्तिले आङ्गिक रुपमा गर्ने गतिशीलता शारीरिक अवस्था हो । बाह्यस्थिति भनेको शारीरिक अवस्थामा हुने शतिशीलता पछिको अन्तिम अभिव्यक्ति हो । बाहिरै देखा पर्ने परिवर्तनको रुपमा यो रहेको हुन्छ । यसलाई परिणामा पनि भनिन्छ । कार्य सफल भएमा त्यसको परिणाम हाम्रो अभिप्राय अनुकूल हुन्छ र लक्ष्य हासिल हुन्छ । त्यस क्रममा केही आकस्मिक कुराहरु पनि हुनसक्छन् । तर कार्य सफल नभएमा परिणाम उल्टा, उपलब्धिहीन बन्न सक्दछ, त्यसैले सफल कार्यका निम्ति एक लक्ष्यबद्ध हुनु, दुई साधन उचित हुनु र तीन परिणाम ठहर गर्नु उचित हुन्छ ।
५. नैतिक दर्शनका तत्वहरु ः
प्रत्येक शास्त्रले आफ्ना केही आधारभूत मान्यताहरु निमार्ण गरेका हुन्छन् र तिनका आधारमा थुप्रै नीतिनियमहरु बनाएको पाईन्छ । सम्बन्धित शास्त्रिय मान्यतालाई सामयिक विश्लेषण गर्ने क्रममा केही नवीनता थपिन्छ तर मूलभूत स्वरुप छिट्टै परिवर्तन हुन सक्तैन् । नीतिशास्त्रको पनि आफ्नै केही आधारभूत मान्यताहर छन् । ती आधारहरुमा नै नैतिकता खडा हुन्छ । नीतिनियमहरु ऋथवा मान्यताहरु नै नैतिक निर्णका आधार बनेका हुन्छन् । नैतिकताको निमित चाहिने त्यस्ता मान्यताहरुकै बीचमा व्यक्तिले आफ्नो व्यक्तित्व र विवेक प्रयोग गर्दछ । नैतिक निर्णयका निम्ति आवश्यक त्यस्ता मान्यताहरुलाई नैतिक दर्शनका तत्व वा आश्रय भनिन्छ ।
१. व्यक्तित्व (व्यक्ति आश्रित)
२. विवेक (तर्क आश्रित)
३. स्वनिर्णय (संकल्प आश्रित)

५.१ व्यक्तित्व (व्यक्ति आश्रित)
नैतिकताको क्षेत्र ऐच्छिक कार्यमा आश्रित हुन्छ । ऐच्छिककार्य कर्ताको चाहना अनुसार शुभ अशुभ, उचित अनुचित र साध्य साधनको विचार गरेर सम्पन्न गरिएको हुन्छ । बोटबरुवा वा पशुहरुबिच यस्तो ऐच्छिक कामको सम्भावना नै रहन्न । चेतनाको भूमिका नहुने र जडतत्वका रुपमा रहने पशु तथा वनस्पति जग्तमा शुभ—अशुभका उचित अनुचितको ज्ञान हुँदैन । यस्तो ज्ञान त्यतिबेला मात्र सम्भव हुन्छ, जुन बेला प्राणीमा कुनै नैतिक सिद्धान्तको चेतना हुन्छ र त्यस अनुसार काम गर्ने शक्ति पनि हुन्छ । त्यसैले नैतिक कार्य त्यस्तो व्यक्तिले मात्र गर्छ जसमा यसको ज्ञान हुन्छ । यो खूबीलाई व्यक्तित्वको लक्षणका रुपमा लिइन्छ । कलर उड भन्छन् — ‘ व्यक्तित्व नै नैतिकताको आधार हो किनभने इच्छामा फरक छुट्याउने शक्ति नभएमा, आफूलाई मन लाग्ने साधन छान्न पाउने अवस्था प्राप्त नभएमा, कुनै प्रवृतिगत प्रभावमा परेर स्वतन्त्रतापूर्वक होइन कि बाध्यतावश केही गर्नुपरेमा नैतिक निर्णय हुन सक्तैन् । नैतिक निर्णयको विषय गरिएको काम नभै त्यसप्रतिको उतरदायित्व हो । कर्ता निर्णाय हुने भएकाले व्यक्ति व्यक्तित्वको स्वतन्त्र भूमिका महत्वपूर्ण हुन जान्छ । अतः व्यक्तित्व विना नैतिकताको कुनै अर्थ रहन्न । ’
संवेदनावादीहरु भन्छन् — ‘ व्यक्ति भनेको चेतन प्रक्रिया र परिस्थितिको समष्टि हो, हरेक क्षण चेतन कार्य भईरहेको हुन्छ र त्यस अनुरुप अनुभव सँगालिन्छ । त्यही ज्ञानानुभवको थुप्रो हो — व्यक्ति व्यक्तित्व ।’ तर यी कुराहरुको कुनै स्थायी आधार भने छैनन् । सामान्यतयाः यस्तो कुरा गर्दा अविश्वसनीय पनि लाग्न सक्छ तर कामको अनुभव विना ज्ञानको सञ्चय हुँदैन र व्यक्तिको व्यक्तित्व निमार्ण हुन सक्तैन् । परिवर्तनशीलतलाई नै आधार मान्ने हो भने पनि अनुभव हासिल गर्ने क्रिया—प्रतिक्रिया फेरिएका हुन सक्छन् । तर त्यसलाई संग्रह गर्ने व्यक्ति त उही हुन सक्छ । व्यक्ति उही अभिव्यक्ति अर्को हुने क्रम पनि यसैको उपज हो । व्यकितत्व व्यक्ति आश्रित हुन्छ र त्यो समय अनुभवको उपदान पनि हो । व्यक्तिको विचारमा आउने दुई तत्वमा आत्मचेचना (विवेक) र आत्मनियन्त्रण (सन्तुलन) पर्दछन् । यिनै गुणले व्यक्तिलाई व्यक्तित्व प्रदान गर्दछ । आत्मनियन्त्रणद्वारा बुद्धि र व्यवहारलाई सन्तुलनमा राख्ने प्राणी व्यक्ति हो । त्यस्तो शक्तिले नै जैविक वा पाशविक प्रवृतिमाथि विजय हासिल गर्छ ।
मानिसमा पनि केही जन्मजात जैविक वा पाशविक प्रवृतिहरु हुन्छन् जब ती प्रवृतिहरु विकसित बन्छन् तब नै उसले आफूलाई क्रमशः समाजको अंग ठान्न थाल्दछ । समाजको सदस्यताको रुपमा उसले सामाजिक नीति नियम, शुभाशुभको विचार गर्न थाल्दछ । आफूले गरेको कामको जस अपजस लिन थाल्दछ र उतरदायित्वको चेतनाद्वारा बाँधिन्छ । फलस्वरुप नैतिकताको क्षेत्रमा पुग्दछ । मानिसको व्यक्तितवको विकास प्रक्रिया भनौं या लक्षण यही हो । जबसम्म मान्छेले आफ्नो सामाजिक उतरदायित्व बोध गर्दैन तबसम्म उसलाई नैतिक नियमले निर्देशित गर्न पनि सक्तैन । त्यसैले व्यक्यित्व—नैतिक निर्णयका निम्ति आवश्यक पहिलो मान्यता हो, शर्त हो । व्यक्तित्वको निर्माणमा नैतिकता रहेको हुन्छ भने विघटनमा अनैतिकता भन्नुको तात्पर्य पनि यही हो ।
५.२ विवेक
मनिसमा दुईवटा गुणहरु हुन्छन् — पहिलो हो पाशविक, दोस्रो हो मानविय । यी दुईमध्ये मानवीय गुण अर्थात् विवेक शक्ति नै मानिसको मूल विशेषता हो । यही गुणले गर्दा नै मानिस अरु पशुहरुभन्दा भिन्न हुन्छ । यही गुणले गर्दा नै मानिसले आफ्नो संवेदनालाई अर्थयुक्त बनाउँछ, तर्क गर्दछ र ज्ञानोपार्जन गर्दछ । जन्मजात प्रवृतिको जाँच गर्छ । शुभाशुभको छ्यानविछ्यान गर्दछ । केही गर्ने संकल्प गर्छ । विवेकशीलताले गर्दा नै मानिसले विभिन्न ऐच्छिक कार्यहरु गर्दछ । यदि विवेक नभएको भए इच्छाहरुको छनौट, साध्य र साधनको विचारका साथै संकल्प पनि हुँदैनथ्यो । मानिस पनि पशुसरह हुन्थ्यो । नैतिकताका सिद्धान्तहरुको ज्ञान तब नै सम्भव हुन्छ जब कुनै व्यक्तिमा विवेक शक्ति हुन्छ । त्यसैले नैतिक निर्णयका निम्ति ऐच्छिक कार्य आवश्यक हुन्छ र ऐच्छिक कार्य तर्कपूर्ण विवेकद्वारा नै छनौट गरिन्छ । जबसम्म व्यक्तिमा विवेक शक्ति रहन्छ तबसम्म नै नैतिकता र अनैतिकताको भेद रहन्छ । त्यसैले विवेक शक्ति नैतिक निर्णयका निमित आवश्यक दोस्रो तत्व बन्न पुग्दछ र यो नित्य तर्क आश्रित भइरहन्छ ।
५.३ स्वनिर्णय
नैतिकताको तेस्रो आधार हो — आत्मनिर्णय । जब मानिसका इच्छाहरुबीच संघर्ष हुन्छ, तब आफ्नो स्वतन्त्र इच्छा अनुरुप एउटा छान्दछ । जस्तै बाटोमा हिँडिरहेको बटुवा मध्ये अगाडीको बटुवाले खसालेको बीस रुपैयाँको नोट पछाडी हिँड्ने अर्को बटुवाले फेला पार्दा त्यो टिपेर अगाडिको व्यक्तिलाई दिने कि आफैले लिने ? उसले आफ्नो विवेक प्रयोग गर्दा रुपैयाँ आफै राख्ने निर्णय लिन्छ अथवा अगाडिको व्यक्तिलाई दिन्छ । यदि ऊ उपकारी र निरलोभी भएमा रुपियाँ अघिल्लो बटुवालाई दिन्छ । यद्यपि त्यसले दुई इच्छा बीचको छनौटद्वारा मनले निश्चित संकल्प गरेपछि नै त्यो काम सम्पन्न गर्छ । त्यसैले स्वनिर्णय संकल्प आश्रित हुन्छ ।
केही नीतिशास्त्रीहरुले भने मान्छे आफ्नो इच्छामा पूर्ण स्वतन्त्र छैन भन्दछन् । परिस्थितिका बाध्यता, संस्कारको बन्धन आदिद्वारा उनीहरु बाँधिन्छन् । स्वतन्त्रताको पक्षधरलाई स्वतन्त्रतावादी र परिबन्धमा बाँधिएको हुन्छ भन्नेहरुलाई नियतिवादीको रुपमा लिएको पाईन्छ ।
आचारशास्त्रमा स्वतन्त्र संकल्प शक्तिमा विश्वास गर्नु अनिवार्य छ किनभने त्यसैमा नैतिकताको आधार अडिएको छ । यदि मानिसलाई आफ्नो काममा उतरदायी बनाउँने हो भने उसलाई छनौटको स्वतन्त्राता हुनैपर्छ । विकल्प दिनै पर्दछ । तर त्यस्तो अवस्था प्राप्त नभएमा चाहिँ मानिसलाई उसको कामप्रति दोष दिन मिल्दैन । उतरदायी बनाउँन पाईदैन । किनभने ती काममा पूर्वावस्था र बाह्य परिस्थितिले नियन्त्रण गरेको हुन्छ । डि.आर्की भन्छन् — ‘ नियतिवादले उतरदायित्वको भावनालाई नै नष्ट गरिदिन्छ । त्यसैले कुनै कामको प्रशंसा गर्नु वा उचितअनुचित ठहर्याउनु, पुरस्कार वा दण्ड दिनु बेकार छ । ’ नियतिवादलाई मान्यता दिने हो भने कुनै शुभ—अशुभ, कर्तव्य—अकर्तव्य, पुण्य—पाप आदिको नैतिक मूल्य नै रहँदैन । यस्तो अवस्थामा मान्छे निर्जीववस्तु जस्तै हुन्छ र आफ्ना कामको बारेमा उतर दिन नसक्ने बन्दछ । कार्यहरु स्वयं पनि प्राकृतिक घटानावली सरह बन्न पुग्दछन् । त्यसैले हेगेल भन्द्छन् — ‘ कार्यहरुलाई प्राकृतिक घटना मान्ने हो भने त्यसलाई सुन्दर—कुरुप भन्न त सकिएला तर उचित—अनुचित भन्न सकिँदैन । यदि मानिस कार्य गर्नमा स्तन्त्र छैन भने, यदि परिस्थितिको वशमा छ भने, आचारण सुधार या नियन्त्रणको प्रसंगको कुरै उठ्दैन । किनभने स्वतन्त्रता विना नियन्त्रणको अर्थ नै रहन्न । विना स्वतन्त्रता सुधारको अवस्था पनि हात लाग्दैन ।’ कहिलेकाहीँ काम गरेपछि पश्चाताप लाग्दछ । यदि मानिस स्वतन्त्र छैन भने त्यस्तो भावना पनि उम्रदैन, निरर्थक बन्दछ । पश्चताप त त्यसबेला पैदा हुन्छ जब हाम्रा कामहरुको तरिका र प्रतिफलको विकल्प देखिन्छ । त्यसैले त मार्टिन्यू भन्दछन् — ‘ छनौट स्वतन्त्रता विनाको नैतिक निर्णय एउटा भ्रम मात्र हो । संकल्पको स्वतन्त्रता वा इच्छाको हकलाई सत्य मान्नुमा नै नैतिकताको निर्णायक आधार रहेको हुन्छ । त्यसकै आधारमा असल—खराब, धर्म—अधर्म, पाप—पुण्यको विचार गरिन्छ ।’
तर स्वतन्त्रताको अर्थ मानिस जुन बेला जे चाहन्छ त्यो गर्नु हो भन्ने होइन । बाह्य परिस्थितिले मानिसमा अभाव र इच्छा उब्जाउँछ । तिनको पूर्ति गर्ने कामकुरामा भने उ स्वतन्त्र छ । हामी सबै क्षेत्रमा सबै दृष्टिबाट स्वतन्त्र नभई चरित्रबाट नियन्त्रित हुन्छौं । त्यसैले फ्रिडम अफ वील अर्थात इच्छाको स्वतन्त्रतालाई आत्मनियन्त्रणको परिधिमार्फत सन्तुलित गरिन्छ । मानिसको नैतिक जीवनको आधार पनि यही हो ।
नैतिक आचरणको निमित व्यवहारका विकल्पहरुको उपस्थिति आवश्यक हुन्छ । मानिसले कुनै एउटा परिस्थितिमा जस्तो संकल्प गर्छ, त्यस्तै अर्को परिस्थितिमा पनि गर्छ भन्न सकिदैन्, किनभने ऊसित अनियन्त्रित छनौट शक्ति छ, र सँगसँगै नियन्त्रणकारी विवेक पनि हुन्छ । जसले गर्दा स्वच्छन्दतापूर्वक धेरै वैकल्पिक कुराहरु मध्येबाट एउटा असल पक्ष अपनाउँछ । कसैले आफूलाई गाली गरयो भने जवाफमा गाली गर्ने वा नगर्ने सोचेर जवाफ फर्काउने संकल्प उसले लिन्छ । यसको कारण हो — मानिससँग त्यस्तो संकल्प या निर्णय गर्ने स्वतन्त्र विवेक छ ।
मनोवैज्ञानिक दृष्टिकोण अनुसार हरेक मान्छेको मानसिक प्रतिक्रिया अकारण हुँदैन । यदि हामीले कुनै परिस्थितिमा केही संकल्प गर्यौ भने त्यसको पनि कारण हुन्छ । बाह्य परिस्थिति वा प्राकृतिक प्रवृतिहरु मात्र त्यसका कारण हुँदैनन्, आंशिक रुपमा त्यस्ता कुराले प्रभाव पारेको हुन्छ भने आंशिक रुपमा इच्छा स्वतन्त्रताद्वारा त्यो गतिशील बन्दछ । हामीले गर्ने प्रत्येक संकल्पमा पूर्ववर्ति ज्ञानको पनि प्रभाव रहन्छ । त्यसैले हाम्रा संकल्पहरु हाम्रो चरित्रबाट पनि निर्धारित हुन्छ । यस्तो बन्धन वा आत्मअनुशासन बाध्य नभई आन्तरिक हुन्छ जसलाई आत्मनियन्त्रण भनिन्छ । नैतिक दृष्टिकोणबाट पनि आफ्नो कार्यप्रति कुनै व्यक्ति त्यही बेला उतरदायी हुन्छ जुन बेला त्यो काम आफ्नै स्वभावबाट सम्पन्न हुन्छ तर त्यस्तो भएको खण्डमा बाह्य परिस्थितिद्वारा त्यो नियन्त्रित हुँदैन । जब आफैं अन्तरचेतनाद्वारा मानिसका व्यवहारहरु नियन्त्रित हुन्छन् त्यसलाई आत्मनियन्त्रण भनिन्छ ।
आत्मनियन्त्रण नै वास्तविक स्वतन्त्रता हो । त्यसैले नैतिक स्वतन्त्रता पशु र बिरुवाहरुमा भन्दा फरक हुन्छ । यो मानिस मात्रको गुणका रुपमा रहन्छ । प्रकृतिअनुसार चल्ने पशु र बिरुवाको विशेषता हुन्छ भने प्रकृतिमाथि विजय हासिल गर्दै हिँड्ने मानिसको विशेषता हो । मानिसले आफ्नो बुिद्ध, विवेक लगाएर शुभाशुभको विचारद्वारा काम गर्दछ । त्यसैले पूर्ण स्वतन्त्रताको अवधारणामा पनि विवेकको नियन्त्रण रहन्छ । अर्थात् चरित्र अनुकूल संकल्प निर्मित हुन्छ र त्यसको नियन्त्रक तत्व आत्मबोध बनेको हुन्छ । स्वतन्त्रता र अनुशासन, अवश्यांभावी र सम्भावीपक्षको छ्यानविछ्यानमा अडिएको हुन्छ । स्वतन्त्रतापूर्वक संकल्प, संयमतापूर्वक सम्प्राप्ति नै नैतिकताको आधारशीला हो र व्यक्तित्वको कवच हो, विवेकपूर्ण व्यवहार हो र स्वतन्त्रताको अर्थ हो ।
निष्कर्षमा भन्दा आचरणबाटै मानिसको चरित्र निमार्ण हुन्छ । चरित्र भनेको मानिसको स्थायी व्यवहार हो । चरित्र जस्तो छ व्यक्तिको व्यक्तित्व पहिचान त्यस्तै बन्न पुग्दछ । हाम्रा कामहरु हाम्रो चरित्र अनुरुप हुन्छन् । हामी स्वतन्त्र छौं भन्नुको तात्पर्य आफ्ने अधिनमा छौं भन्ने हो । त्यसैले कुनैपनि काममा बाह्य परिस्थिति, प्राकृत मानसिकता र शारीरिक प्रवृतिका अतिरिक्त स्वतन्त्र संकल्प, विवेक र निर्णयको पनि उतिकै भूमिका रहेको हुन्छ र त्यसलाई हामी नैतिक दर्शनका तत्वको रुपमा स्वीर्काछौं ।

समाप्त