बुधबार १०, असार २०८३ Wed,24 Jun 2026

सर्वाधिकार सुरक्षित

ईश्वर एक प्रकृति, समला शिव–पार्वती गुफा



10:11 शनिबार १७ , जेष्ठ २०७७
  • आलोक खनाल

सबै भन्दा ठूलो त मन हो । मनले मानिसलाई जसरी पनि डोर्याउँछ । अझ आफ्नो मनसँग पचास प्रतिशत मात्रै मन मिल्ने दोस्रो व्यक्ति भेटियो भने अर्कै परिवेश खडा गरेको हुन्छ । सबैसँग मन मिल्दैन । मनका लागि विचार र विचारको लागि विविध कुराहरू सँगसँगै मिल्नुपर्ने हुन्छ । जीवनमा कसैको कोही आत्मीय साथी हुन्छ । ऊसँग केही कम र केही धेरै विचार मिलेको हुन्छ । धेरैका धेरै मित्रहरू हुन्छन् । कसैका अल्पसङ्ख्यक हुन्छन् । लाग्छ ती अल्पसङ्ख्यकहरू चिरस्थायी हुन्छन् । म अल्पसङ्ख्यक आत्मीयहरू भएको मान्छे भन्दा फरक नपर्ने झैँ लाग्छ । अझ आफ्नै उमेरको, विगत चार वर्षदेखि दूरीगत र मनोगत हिसाबमा नजिक रहेको किरण चौँलागाईँ र म आजसम्म नजिक भएकै कारण उसले भनेको ठाउँ नजाने कुरो आउँदैन । यो हाम्रो मित्रता जसरी नजिक छ भविष्य पनि नजिकिएरै बितोस् । समला गुफा र गुफाभित्रका प्रकृति–रूप जनविश्वासमा भगवान्–रूपसँग प्रार्थना । किरणकै योजनामा हाम्रो यस वर्षको माघे सङ्क्रान्तिमा हाम्रो किरण, खोर्सानेकै आदरार्थी अङ्कल, केराबारी ग्रेट नेपाल लघुबित्तकी अनु घिमिरे र बहिनी प्रमिला ओझा र मसहितको टोली मोरङ जिल्लाको माथिल्लो भाग उक्लने भयौँ । मौसम खोर्साने चिसो, केराबारी कम चिसो र उँभो लागेपछि हुनसक्छ घामले आकाश छेडेर भुइँ सुमसुम्याइसकेकाले पनि होला ज्याकेट झोलामा हालेका थियौँ । समय बिहानको उज्यालो परिवेश थियो ।
हाम्रो यात्रा खदमखोलाको किनारैकिनार पानीको उल्टो दिशामा चढेको थियो । यसै खदम खोलालाई तल चारकोसे जङ्गलदेखि दक्षिणमा गछिया भनिन्छ । एकपछि अर्काे ढुङ्गो टेक्तै पहाडी बाटो चढ्थ्यौँ हामी । ओर्लिएको खदमको कुलुलु आवाज ती ढुङ्गासँग साउती माथ्र्यो । हामी एकपछि अर्को बगरको ढुङ्गो उक्लिरहेका हुन्थ्यौँ । लाग्थ्यो जिन्दगी उकाली हो । ओरालो बग्नुचाहिँ खोलाको नियति होे ।
समला गुफाधाम जानुपर्ने भएपछि खालीपेटै र फुकोकेश जानुपर्ने पूर्वीय दर्शनको अझ हिन्दू दर्शनको मान्यताबाट हामी कोही निरपेक्ष थिएनौँ । बरु किरण र मैले ममीको करले तरुल र चिया खाएका थियौँ । तर बगरभरि मीठो चियाको गफ बारम्बार हुने कुरो अवश्य थियो ।
मन विचलित भयो । त्यो पनि बगरैभरि । हामी खदमको बगरमा छौँ । खोलाको बर्खे रूप धेरै अनुमान गर्न सकिन्थ्यो । वारि र पारि आफूभन्दा मिटरौँ माथिको पाखो झारेर आफूमा निहित बनाएको छ बगरले । यस बगरसँगै विगतको इतिहासमा कोही पुरिए त कति बगे । यस्तै सुनिन्थ्यो । मन पनि खदमझैँ तरल हुन्थ्यो, पहिरो पहाडझैँ उजाड । पहिरो झर्नु पनि नियति हो । आखिर जिन्दगी झरेजस्तै त हो समयबाट । जीवन झर्छ, पहिरो खस्छ । जीवन एकपटक झरेपछि समाप्त । पहिरो अर्को वर्ष पनि खस्छ । फरक यत्ति थियो । सोच्दै हामी उकालो लागिरह्यौँ ।
झोलुङ्गे पुल । अझै थप उकालो । तराईका साधन चढेका खुट्टा । सम्झँदा नै मन अर्कै भए पनि पहिरो र बगर तलको झोलुङ्गे पुलमै छाडेकाले रमाइलो भइरहेथ्यो । बेलाबेला अनु मिस र प्रमिला बहिनीलाई जिस्क्याएपछि आफैँलाई लाज भने हुन्थ्यो कि हामी पनि हिँड्न सकिरहेका छैनौँ । त्यतिबेला हो यही उकाली–ओराली गरेर काठमाडौँ पुगेका नेतालाई सम्झने समय । आफू सधैँ गाडी कुदाएर बस्ने विराटनगरलाई सम्झने समय । खुब कुरा भयो । त्यो बेला नै हो हामीले पनि सङ्घीयता र केन्द्रीयताको छासछुस गफ गरेर बाटो काटेको पनि । विकासका लागि सङ्घीयता ।
जसोतसो यात्राको निश्चित दूरी एउटा उकालीको टापुमा पुगेर स्थिर भयो । त्यहाँबाट अब ओरालीको सुरुआत हुन्थ्यो । ओरालो झर्ने बाटाको किनारभरि सिस्नो । हात फिँजाएर हिँड्यो भने सिस्नाले पोल्ने । जिन्दगी पनि त सिस्नाको बीचमा ओरालो झरेको बाटो भन्दा के फरक छ र ? कसलाई पो नपोलेको छ र जिन्दगीले ? म पटकपटक सोच्थेँ । देवताको दर्शन गर्न आउने पनि धेरै त मन पोलेको बिसाउनै त आएका होलान् । यस्तो सोच्तासोच्तै भनि पनि हालेको हुँ तर कसैले सुनेनछ ।
बाटो भीरझैँ लाग्ने भीरजस्ता चट्टानमा कतै उबडखाबड कतै धुलैधुलो त कतै तिनै यात्रुहरू । कुनैले यात्रुकै आँखा छली पिसाब गरेको जस्तो चिसो । कतै पहिरो जस्तो र कतै वनमारा अनि कतै सुर्तीबारी देखिने । धेरैचाहिँ सिस्नो नै । त्यो बाटो छिचोल्दा हामीले केराबारीबाट हिँडेको चार घण्टा बितिसकेको थियो र हामी पुगेका थियौँ मोरङ जिल्लाको पाटी गा वि स वडा नं. सातको एउटा खोल्सो परेको खोँचमा । खोल्साको भित्तामा सामान्य देखिने प्वाल । वरसम्म ठिटौलेहरूको लाम लागेको थियो । त्यो देख्ता लाग्थ्यो यो युवा जमात पनि आस्थावान् छ र ? र फेरि लाग्थ्यो पुर्खाको रगत बगेको नसाले मानिल्याएको अस्तित्वलाई किन आस्था गर्दैन र ? तर सम्भवतः तराईबाट पनि टाढा भएर हो या विज्ञापन नभएर हो अधबैँसे, बूढाबूढीको सङ्ख्या ज्यादै न्यून थियो ।
जब लाइन लिस्नाको फेदमा पुग्यो हाम्रो, लाग्यो भगवान् नै विकटताको प्रतीक हो । गुफा विकट भएकाले झन्नै नौवटा बाँसका सिँढी चढेर एउटा लिस्नो पार भएपछि गुफाको मुखमा पुगिने । हाम्रो समूह एकैपटक चढ्यो । गुफाको बाहिरै एकखालको प्रकृति । एकक्षणलाई प्रकृतिभन्दा पर देवता हुँदैन भन्ने हो भने त्यहीँ देवताको रूप देखिने पत्थर आकृतिहरू । माथिल्लो पट्टिबाट लुम्सा आकारमा झरेका तर नझरीकन झुन्डिएका । मानौँ ती लुम्साहरू धेरैवटा गाईका थुन हुन् । र ती थुनको तल धेरै देवताका स्वरूप लाग्ने आकृतिमा मान्छेले आस्था सुम्पिएको छ । विशेष अनु र प्रमिलाले प्लास्टिकमा फूल–अक्षता बोकेका थिए त्योचाहिँ गुफाभित्र चढाउने भएकाले हामी लाइट बालेर भित्र पस्यौँ ।
सानो प्वाल । हाराहारी साढे पाँच फिट उचाइको । कोल्टिएर छिर्नुपर्ने । पसिसकेपछि दसबाह्रजना अट्ने क्षेत्रफल । भित्ताभरि ढुङ्गाका आकृति । गुफाको उचाइ लगभग बीच भागमा दस फिट । दायाँबायाँ भने नपुग्ने । साँच्चै प्रकृति अनौठो नै हुन्छ भन्ने प्रत्यक्ष । गुफाभित्रको छानोबाट उस्तै उँधो झरेका ढुङ्गाकै आकृति । कुनै भिन्न पत्थरझैँ लाग्ने । ती आकृतिहरू जे सोच्यो उहीको अनुमान गर्न सकिने । कसैले तिनलाई शङ्खाकार देखे । कसैले गणेशाकार सुँड देखे । कसैले ढ्याङ्ग्रो आकार त कसैले भुइँका लम्पसार ससाना आकारलाई सानो बालखको स्वरूप देखेको हुनुपर्छ । यो कसले कतिसम्म हेर्न सक्यो, उसको दृष्टिमा भर पर्ने कुरा भयो । यिनै आकारलाई हो मान्छेले भगवान् मान्ने । शिववास मान्ने । मायाशक्ति मान्ने । वास्तवमा भगवान्को असली रूप नै सृष्टि हो । प्रकृति हो । यसैमा मान्छे तल्लिन छ र प्रकृतिको पूजा गर्छ ।
बाटैभरि कुरा गर्दै फर्कँदाका कुनै आनन्दको कुनै परिभाषा भएन । प्रकृतिको के परिभाषा हुन्छ र ? ईश्वरको परिभाषा नै पो के छ र ? अस्पष्टता नै त हो परम आस्थाको केन्द्र पनि । अनि गहन आस्था पनि आजसम्म अपरिभाषित छ । यी सबै कुराहरूमाथि हाम्रो ध्यान जान पाएन । किनकि एकातर्फ गलेको शरीर, अर्कातर्फ भोको पेट, अनि ढल्दो दिन र अस्ताउँदो सूर्य ।
अघि चढेको उकालो अब ओरालो भएको थियो । हामी निरन्तर ओराली र बगर हुँदै फर्कियौँ । केराबारीबाटै मिस अनु र बहिनी प्रमिला छुटे । अङ्कल, किरण र म खोर्साने आयौँ । त्यसै दिन सोच आयो समला गुफालाई किन आस्था गर्छ समला गाउँले ?
यसको ठीक आठ दिनपछि किरण र मेरो त्यो ठाउँ जाने निर्णय भयो । जाँदा वास बस्ने गरी जानुपर्ने । यातायातको साधन नभएरै त हो । अनु र प्रमिला बहिनीको माध्यमबाट हामीलाई समला गाउँमा गाँस र वासको प्रबन्ध मिलाइएको थियो । भने वास बसाउने घरकी बहिनी केराबारीबाटै साथी थिइन् । उही खदम खोलो, बगर, उकाली र ओराली सालघारी गर्दै माघ नौ गते घामले क्षितिज टेकेपछि हामीले नरबहादुर लिम्बूको घर टेक्यौँ । त्यही घर भयो जानकारी र बाँकी प्रबन्धका लागि । हामी पारिवारिक परिचयबाट नितान्त गुफाकेन्द्रित भयौँ । बेलुका नै लिम्बू बाले यसरी जानकारी दिनुभयो ।
“गुफाको जन्म त धेरै अगाडि भयो । बाबुबाजेकै पालामा, सृष्टिको कुनै समयमा । तिनीहरूले हामीलाई त्यो ठाउँमा जानुहुँदैन मात्र भन्थे । गयो भने अफाप हुन्छ भन्थे ।” लिम्बू बाले बाँसका जराको खुर्पाको बिँड ताछ्दै गर्दा बोजुले थप्नुभो– “त्यो गुफा मानीकन, आराधना गरीकन फापेको छ । सालिन्ने हुन्डरीले बाली सखाप पाथ्र्यो । अहिले छैन । गर्न सक्नुपर्यो, जे लगाए पनि हुन्छ ।” खोसेलाभित्रको सुर्तीको धुवाँ तान्दै बोजुको भनाइ रोकियो ।
“गुफाको पहिलेको अवस्था केकस्तो थियो ?” किरणले सोध्यो ।
“हामीले जान्दा पनि भित्रका ती माथिका गाईका थुनजस्ताबाट पानी बुरुरु झथ्र्यो । खाडलमा जम्थ्यो । तर त्यो कहाँ जान्थ्यो केही पत्तो भएन । फेरि गुफाभित्र हुन्जेल त्यो पानीले भिजेजस्तो हुने । बाहिर निस्कँदा ओभाइजाने । अघि पानीले भिजेको थियो र भनेजस्तै गरी । भएन त अचम्म ? यसै भ’र पो विश्वास पनि बढेको नै ।”
बाजेले अरू स्पष्टता थप्नुभो– “गुफाको सिरानमा नाम्लाको फेरोले नपुग्ने काभ्राको रूख थियो । त्यो काभ्राको घाँस काट्न मान्छे चढेको दिन आँधीहुरी आउँथ्यो । पारि चिउरीभन्ज्याङबाट कालोमैलो भएर आउँथ्यो । पछि त्यो रूख लड्यो । आफैँ लडेकाले वितण्डा भने भएन । यहीँका पाँच घर लिम्बू परिवारले मान्न थालेको हो त्यो गुफा । फापैफाप छ ।”
“पूजा कसरी गर्नुहुन्छ त ?”
“माघेसङ्क्रान्तिमा फूलफलेदोले पूजा गर्छौँ । बाहुन लगाउँदैनौँ । किरात धर्मको पुजारीले गराउँछौँ । योचाहिँ शिवरात्रिमा हुन्छ । तर नित्यपूजा हुन सकेको छैन । कसले गरिदिने र ? खर्चै लाग्छ । गाउँकालाई हातमुख जोर्नै ठिक्क । व्यवस्थापन छैन । एकताक थियो हुन सकेन । सरकारले गर्दैन ।”
मेरो मनमा चस्स सिस्नाले जसरी पोल्यो । यदि यो विराटनगरमा हुन्थ्यो भने वा विराटनगरझैँ यो मोरङ जिल्लाको सदरमुकाम हुन्थ्यो भने राम्रो विकास भइसक्थ्यो । बेलाबेला रनन माइकमा भजन बज्ने थिए । शिवपुराण लाग्ने थियो । समला र आसपासका केही तल्लो भेगका केराबारी, आमजुँगी, खोर्साने, सलकपुरकाले मात्र आस्था गर्ने ठाउँ नभई पूर्वाञ्चलले आस्था गरिसक्थ्यो । दुःखको कुरा बत्तीको फेद सधैँ अँध्यारो हुन्छ । सदरमुकामलाई केन्द्र मान्ने हो भने मोफसल छायामै परेको हुन्छ । विराटनगर सायद समलासँग अपरिचित छ । समला विराटनगरका प्रायः सबै गल्ली जान्दछ । के विराटनगरले समलामा भव्य महायज्ञ, रहस्यमय कथावाचनजस्ता धार्मिक कार्य गरिदिन सक्तैन ?
देशको माओवादी द्वन्दको समयअघि माघेसङ्क्रान्ति मेला पनि लाग्यो । यो समय समग्र देश नै आतङ्कित भएको थियो र समला पनि डराएको थियो । मेला लाग्न बन्द भयो । अब त देशमा शान्तिको पुनर्बहाली भइसक्यो तर यहाँ मेला लाग्न सकेको छैन । समला अन्य असुरक्षासँग डराउँछ । मेला लागेपछि शान्तिपूर्ण नलाग्न सक्छ । यसका लागि कसले सुरक्षा दिने ? त्यस क्षेत्रबाट जितेर राजधानी पुगेका उम्मेदवारलाई फर्केर फेरि त्यही ठाउँ, गुफा आउन सम्भवतः असम्भव नै हुन्छ । अन्य विशिष्ट धर्मगुरुलाई पनि ओझेलमा परेको ठाउँको ख्याल कसले गराउने ? सुरक्षानिकाय पनि केराबारीदेखि समलासम्म तैनाथ भए हुने थियो । गाउँ हातमुख जोर्नै कुदिरहन्छ । फुर्सद छैन । यो समलाको चिन्ताको विषय बनेको पनि शिवपार्वती गुफा टुलुटुलु हेरिरहन्छ । कि त गुफा नै तपस्यामा लीन छ । ब्यूँझिएपछि सबैसबैलाई ब्यूँझाएर आफूनजिक बनाउँछ । अहिले नित्यपूजा समेत नभएको गुफालाई यो सब कसले जुटाइदिने ? प्रश्न बोकेर चल्ने खदमको सिरेटो पनि चल्छ, सकिन्छ ।
यसरी लामो गफ भयो । लिम्बू परिवारसँग ।
भोलिपल्ट फेरि हामी गुफामा पुग्यौँ । आस्थाभन्दा बढी चिन्ताको विषय थियो । विकास र विज्ञापन पर्खिरहेको गुफाको । किरण र मैले पटकपटक हेरेपछि फेरि एकपटक आत्मीयताका तस्बिर लियौँ । र यहाँसम्म ल्याइदिने मिस अनु, बहिनी प्रमिला, र जानेसम्म जानकारी र गाँसवास दिनुहुने लिम्बू परिवारलाई धन्यवाद दिएर हामी फेरि तराई झरेका हौँ ।
जे सामान्य हुन्छ त्यो ईश्वर होइन र जे अजिब हुन्छ त्यस प्रकृतिमा ईश्वरको वास हुन्छ । यो ध्रुवसत्य छ ।
समाप्त

 

Featured News

Advertisement