बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

कविताको नयाँ राजमार्ग : ‘अर्को राजमार्ग’



10:24 शनिबार १७ , जेष्ठ २०७७
  • रामप्रसाद खरेल


.....
आमा !
हाम्रो आँगनमा गुनकेसरीमा
किन यसरी खिलैखिल गाडिएका ?
....
आमा !
आफ्नै आमाका काखमा असुरक्षित बालकले
कहाँ जाने अब सुरक्षा खोज्न ?

अर्को राजमार्ग प्रश्नै–प्रश्नवाट शुरु भएर एउटा चेतावनीमा गएर टुङ्गिन्छ । यी प्रश्न र चेतावनीका बिचमा के छ त ? यो प्रश्नको जवाफका लागि एकैछिन कवि विप्लव ढकालको शब्दको साहरा लिनुपर्ने हुन्छ । कवि विप्लव अर्को राजमार्गको बारेमा लेख्नुहुन्छ – “समाजका थुप्रै जडता, विसङ्गति र अन्धकारहरुको विपक्षमा उभिएर मान्छेको स्वतन्त्रताका लागि उनका कविताको गन्तव्य हो र यही गन्तव्यतर्फ उन्मुख छ –अर्को राजमार्ग ।”

कवि तारा पराजुली शब्दहरु यसरी प्रहार हुन्छ कि लागेपछि शासक पनि खुत्रुक्कै हुन्छ । कविहरुको साहस, स्वभिमान, क्रान्तिकारिता र सृजनशिलताको वकालत गर्दै लेख्नुहुन्छ –

बेकुफ क्रुर साशक !
थाहा छ ?
एउटा कविको चिहानमा
आगो फल्ने हजार कविता उम्रन्छन् ।

यो पृष्ठभूमी मञ्जरी पब्लिकेशनले प्रकाशन गरेको कवि तारा पराजुलीको कविता सङ्ग्रह अर्को राजमार्गको पाठकिय प्रतिक्रियाका लागि हो । समालोचना वा समिक्षा भन्दा पाठकिय प्रतिक्रिया नै आउँनु
पर्छ पाठकका तर्फवाट ।

कविता आफैँमा राम्रो वा नराम्रो हुँदैन् । कुन दृष्टीकोण, विचार र आदर्श वोकेको पाठकले पढ्छ ? यसमा फरक पर्छ । हिन्दुका लागि कृष्ण राम्रो, कृष्चियनका लागि यशु राम्रो । माटोको प्रेम पनि यस्तै हो । आफ्नै देशकै माटोको प्रेम ज्यादा हुन्छ । कविताको रङ्ग र पाठको दृष्टिकोणको रङ्ग मिल्यो भने उसलाई त्यो कविता मन पर्छ । तर यो कुरा एउटा सिद्धान्तकारको हकमा लागु हुँदैन् । सिद्धान्तकारले त कविताको मौजात सिद्धान्तभित्र त्यो कविताको कोरियोग्राफी छ कि छैन् भनेर हेर्छ । फेरि एउटा शक्तिशाली कविले चै सधैभरी पूराना सिद्धान्तलाई भत्काउँन खोज्छ । कवि नयाँ कुरा लिएर आउँछ अनि समालोचक र समिक्षकलाई हैरान पार्छ ।

यति हुँदाहुँदैपनि कविताभित्र दुइकुरा हुन्छ जो पाठकले नखोजेपनि थाहा पाउँछ । पहिलो विचार÷दृष्टिकोण र दोस्रो प्रस्तुती (कला) । विचार र कला दुवैको संयोजन पक्ष सवल छ भने कविता राम्रो लाग्छ भन्नुभन्दा पनि पाठकको मन÷मस्तिष्कमा त्यसले प्रभाव पार्छ । यदि कुनै एक पक्षमात्र सवल भएमा कम प्रभाव पार्छ । वैचारिक कुरामात्र आयोभने त्यो आन्दोलन कविता हुन्छ । कलामात्रै आयो भने त्यो प्यारेलाइस कविता हुन्छ । दुवैको प्रभावकारी संयोजनले चै शक्तिशाली कविता हुन्छ ।

सिद्धान्तकारले सिद्धान्तको फेरो समाएर त्यसैको आधारमा कविताको व्याख्य गर्छ । तर पाठकले सिद्धान्तलाई अघि सार्दैन । उसले मात्र कविता पढ्छ । पढेपछि कस्तो प्रभाव पर्छ त्यसैको आधारमा उसले आफ्नो धारणा प्रष्टीकरण गर्छ । एउटा पाठक प्रतिक्रियामा कारण खोज्न आवश्यक छैन् । तर समालोचक वा समिक्षकसँग राम्रो÷नराम्रोको कारण माग्न सकिन्छ ।

कविले के लेख्यो र पाठकले के बुझ्यो ? यसको तारतम्यता खोज्पनि पर्दैन् । लेखेको एउटै हुन्छ तर बुझाईमा धेरै नै फरक–फरक धारहरु हुन्छन् ।

एक पाठकको आखाँबाट कस्तो देखियो त अर्को राजमार्ग ?

बिषयका हिसावमा मानविय वेदना, संवेदना र प्रेमका तरङ्गहरुलाई रङ्ग भरिएको छ । अन्यायपूर्ण समाजको दिवालमा फायरिङ् गर्ने काम गरिएको छ । न्यायपूर्ण समतामूलक समाज निमार्णका लागि हार्दिकतापूर्ण अपिल गरिएको छ । यौन, कुण्ठा र मनोविज्ञानको पाटोपनि देखिन्छ । माटोको सुगन्धलाई फैलाउँने भगिरथ प्रयासपनि गरिएको छ अर्को राजमार्गमा ।

आफ्नो प्रेमी विदेशीएपछि स्वदेशमै रहने प्रेमी÷प्रेमिकाको मन कति जलेको हुन्छ उनैको यादमा । आफ्नो प्रेमको कोशेलीमा पनि देशको प्रेम बटुलेर पठाउँन सफल ताराको कविता ।

फेरि यो निठुरी कालचक्रले भेट्टाउँछ–भेट्टाउँदैन
मैले मेरो देश हुँदै
सगरमाथाको अट्टाली निस्केर
यो सन्देश पठाएकी छु
भोलि हेर्ने ऐनाहरु नघटाउँनू भनेर
कसैगरी सुनाइदिनू
एउटा परदेशीलाई सम्झेर ।
(एउटा परदेशीलाई सम्झेर, पेज ः १३)

देशका लागि हिडेको आफ्नो सन्तान फर्किएन भने आमाको छाति कति दुख्दो हो ? सन्तान बेपता भएको आँशुको वेदना अनुभूत गर्नु त्यति सजिलो छ ? तर कविले गर्छ आमाकै मनबाट, आमाकै लयमा केबल शब्दहरुमात्रै आफ्ना । कवि सम्झाउँछिन् जस्तो पिडामा पनि आफ्नो माटोलाई नथुक्नु । वियोगको कथामा पनि देशको प्रेम चित्रण गर्न भुलेको छैन कवि कलम ।

तर नथुक्नु माटोलाई
झुक्एिर पनि
नसराप्नू माटोलाई
बिर्सेर पनि
साह्रै ठूलो गुन लगाएको छ माटाले त,
टेक्ने छाती दिएर
सहने मन दिएर ।
(गिट्टीमा सपनाहरु कुटेर, पेज ः १५)

महिला अधिकार, सामाजिक विवाहको मान्यता र महिलामाथि पर्ने त्यसको प्रभाव कस्तो छ ? बेहुली घाममा छर्लङ्ग छ । यो कविताले एउटी नारीले विवाहको नाममा आफ्नो थर र घर छाड्नुपर्दाको पिडा कस्तो हुन्छ भन्ने मनोविज्ञानको थोरै भएपनि उजागर गरेको छ । बेहुली घाम कवितामा बेहुली पात्रमार्फत कवि लेख्छिन् ः

अँध्याराको आदिम जङ्गलबाट
निस्कनै लागेको छ घाम
अब एकैछिनपछि म्याद सकिनेछ सदस्यपत्रको
काटिने फाइलको एउटा अङ्क
झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम ।
(पेज ः ३१ )

ताराका कवितैभरी देश कतै छुट्दैन् । आफ्नो पे्रमीसँगै निदाउँदापनि , उनिसँग छुटिदाको पिडामा पनि । बाल्यकाल सम्झदापनि । भूगोल निकै टाढा भएरपनि सपनाको सिरानी एउटै हुन्छ प्रेम गर्नेहरुको । भूगोलको दुरी हैन मनको सामियत्ताको विशेष अर्थ छ प्रेममा । आफ्नै प्रेममा हराउँदा–हराउँदै पनि त्यहाँ देशको कुरा आइहाल्छ ।

समय, तिमीले त सायद यस जङ्गलमा
कसैलाई पर्खनु छैन, जाऊ
बाटैमा भेट्नेछौ
मेरो बैँसभरि सुहाएको पहाड निदाएको
सँगै नाबालक देश पनि सुतेको छ
तिनलाई उठाऊ
म अँजुलीभरि फूल लिएर आउनेछु स्वागतमा
किनकी
यो साल जसरी पनि
एउटा हरियो शान्ति भित्र्याउनु छ यस घरभित्र ।
(अँजुलीभरिका फूलहरु, पेज ः ३९)

देशप्रति वढो चिन्ता छ कविलाई । छुटिगएको प्रेमी यानिकी योद्धालाई सम्झदै इच्छाइएका कुराहरु गर्न नसकेकोमा पीर छ । तर कस्तो क्या ! वियोग प्रेमको अतितपनि देशकै मायामा डुबेको छ । प्रेमभित्र यौन वासना कतै प्रबल छैन् ।

कविता भन्छ ः

अन्तमा लेख्नु थियो एउटा सग्लो चित्र
भर्नु थियो उजाड पहाडको सिउँदो
छामेर पुर्नु थियो मधेशका भासहरु
समावेशी रङ्गहरुले
रङ्गाउँनु थियो यो देशको अनुहार
लेख्नु थियो त्यही पिँढीमा बसेर
नलेखिएको एउटा कविता ।

उल्कापिण्डसरी खसिगयो जून
निभाएर आफ्नै आँखाको उज्यालो
न तिमीले लेख्न पायौ
न मैले लेख्न पाएँ
मेरो देशको अखण्डित कविता ।
(नलेखिएको एउटा कविता, पेज ः ४२)

आशावादी रहनुपनि जीवनको एउटा पाटो हो जसले उदेश्य भेटिछाड्न सहयोग पुग्छ । उर्जाले भरिपूर्ण शब्दहरुमा आशाको दियो पनि वलेको छ कवितामा ।

आज त नफुल्दै गरेका फूलहरुले
ननिभ्दै गरेका दीपहरुले पनि आएर यसै भने –
‘म जमेको त बग्नलाई पो त !’
(आधा भोगाई ः आधा बगाइ, पेज ः ५७)

ऋाशाले भरीपूर्णमात्र होइन, प्रेरणाले पनि सज्जित छन् कविताहरु । सुतेर वसेकाहरुलाई जगाउँन सक्षम छन् कविताका पङ्क्तीहरु । आफूलाई एक्लो महसुश गर्नेहरुका लागि एक हरफ ।

एक्लो नसम्झ बगिरहू युगको कल्मष बगाउँदै
तिमी एक्लो कहाँ छौ र ?
माटाको प्रेममा परेर
मेरो सालनाल पनि त यतै छोडिएको छ ।
(नयाँ शताब्दी ः पुरानो ढुङ्गेधारो, पेज ः ६८)

कवितामा साहसको यात्रा पनि यतिकै वेजोड रुपमा प्रस्तुत भएको छ । सेपिलो जीवन ः पहारिलो मृत्यु कवितामा साहस यसरी देखिन्छ ।

हो, मृत्युलाई हत्केला र औँलामा बोकेर हिँडेकी छु
र जाँदै छु म अन्तिम पटक मनपर्ने प्रदेश
मैले फुलाउनु छ फूलझैँ मृत्युलाई
आफ्नै हातको रेशमी फूलबारीमा
किनकी म
मृत्युलाई जित्न निस्केकी हुँ ।
(पेज ः ६२)

छोरीहरुको यौवन असुरक्षाको बारेमा वोलेका छन् ताराका कविताहरु । समाजमा आफ्नो असुरक्षाले कति मनोवैज्ञानिक रुपमा छोरीहरुमा कति धेरै नकारात्मक असर परेको छ भन्ने कुरा झल्काउँछ मृत्युको झीरमा यौवन शिर्षकको कविताले ।

म कहालिन्छु
उसको अघि मेरो फिका विद्रोह
मलिन संवाद ।

अब कहिलेसम्म हिँड्छन् छोरीहरु
यसरी मृत्युको झिरमा उमेर र यौवन उनेर ?
(पेज ः ७४)

कवितामा छाडिजानेको सम्झना लेख्छिन् कवि । तर अर्को राजमार्ग पढेपछि कुनै पनि पाठकले एक पटक आफ्नो पूरै विगत र वर्तमान सम्झन बाध्य हुन्छ । भविष्य कल्पना नगरि रहनै सक्तैन् । पूरै देश घुम्छ र समाजको चरित्र पढ्न र बुझ्न उठ्नैपर्ने अवस्था सृजना हुन्छ ।

जति भत्काउन खोज्छु
उति बलवान् बन्छ सम्झनाको घर
सृष्टी नै नटुङ्गिएसम्म रहने रहेछ सम्झना यो
यति प्रिय वस्तु के दिएर जान्छन्
बिर्सेर जानेहरुले हिँड्ने बेला ?

नभए अझै पनि
किन आउँछ छोडी जानेहरुको उही सम्झना
झन्झन् जवान भएर ?
(हटिया र स्मृति, पेज ः ८८)

प्रस्तुतीका हिसावमा अर्को राजमार्गभित्र कलात्मक कविताहरु छन् । कहिकतै सम्पादको अपेक्षा गर्न सकिन्छ । अपेक्षित अझै सम्पदान गरिएका भए झन कति सुन्दर हुन्थेहोलान् । क्रान्तिका कविता यति कलात्मक तरिकाले पनि लेख्न सकिदोरहेछ भन्ने उदारहण हुन ताराका कविताहरु ।

भाव र प्रभावका दृष्टिवाट हेर्दा कविताहरु उत्कृष्क छन् । तर अगाडी नै भनिसकिएको छ प्रभाव सबैमा एउटै किसिमको हुँदैन्÷पर्दैन् ।

कविको मनोविज्ञान पनि देखाउँछ कविताहरुको प्रस्तुतीले । कवि तारा पराजुलीको भित्री इच्छा भनेको उज्यालोको खोजि हो । कविभित्र अध्यात्मको पाटो कुण्ठित भएर लुकेको छ भन्न सकिन्छ कविता पढेपछि । अधिकाशं कवितामा घाम बिम्म आएको छ । फूल छ, तारा छ र जुन छ । निरन्तर प्रवाहको रुपमा पानि आएको छ । घामप्रति अधिक प्रेम र झुकाव छ कविको अर्को राजमार्ग भित्रका कविताहरुमा । घाम अर्को राजमार्ग भित्रका सबै कविताहरुको साझा बिम्म वनेको छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने वियोग, वेदना र भयको जगमा देशप्रेम, विद्रोह र क्रान्तिका कविता वनेका छन् अर्को राजमार्गभित्र । कति उत्कृष्ट भनेर मापन गर्ने आजसम्म कुनै मापदण्ड बनेको छैन् । नयाँ मापदण्ड बनाउँने मेरो क्षमतापनि छैन् अहिले । तर यी कविताहरु कविताको निर्मीत राजमार्गहरुमा नहिडेर आफ्नै छ लेनको नयाँ राजमार्ग निमार्ण गर्न सक्षम देखिएका छन् । कतिपय निष्कर्ष मौनमै छाडिदिनुपर्छ । कवि तारा पराजुली पनि यसै भन्नुहुन्छ मौनता शिर्षकको कवितामा ।

अहिले यति भन्छु
तिमीलाई सम्पूर्ण रुपमा सम्झन भनेर नै
म बेलाबेला मौन रहन्छु ।

....

कृति ः अर्को राजमार्ग
कवि ः तारा पराजुली
प्रकाशक ः मञ्जरी पब्लिकेशन, काठमाण्डौ

 

 

Featured News

Advertisement