आईतवार २४, श्रावण २०८३ Sun,09 Aug 2026

सर्वाधिकार सुरक्षित

झ्याउँकीरी झङ्कृत : जीवन र जगतको झङ्कार



03:41 आईतवार १८ , जेष्ठ २०७७
  • रामप्रसाद खरेल

समयको परिवर्तनसँगै मानिसको जीवनशैलीमा पनि फरकपन आउँदैछ । उपभोग्य बस्तुका उत्पादन र प्याकेजिङ्मा समेत परिवर्तन भएका छन् । जस्तो ः नुन । पहिले, पहिले नुन ५० केजी, ७५ केजीको बोरामा आउँथ्यो । घरमा वोरा नै किनेर अँगेनाको छेउँमा राख्ने गरिन्थ्यो । अहिले १ केजीको प्याकमा आउँनथाल्यो । तेल पहिले टिनमा हुन्थ्यो अहिले १ लिटरको प्याकमा पनि हुनथाल्यो । यस्ता धेरै उपभोग्य बस्तु छन् ।
मान्छेको क्रय शक्तिको प्रभावले भन्दा मनोविज्ञानको कारणले बजारमा यस्तो भएको हो । छिटो र छरितो खोजिरहेको छ मान्छेले । उपभोग्य बस्तु जस्तै साहित्य वा लेखनका अन्य बिधामा पनि मानिसले त्यही खोज्न थाल्यो । महाभारत जस्ता बृहत पुस्तक, महाकाव्य र पुराणहरु यतिवेला लेखिनै छाडेँ । अब छोटा कविता, कथा, लघुकथा आदिले मान्छेको मनलाई वढि प्रभाव पार्न थाल्यो । मान्छेको यो मनोविज्ञानलाई जापानका कवि बासोले सन् १६४४ मै बुझेर हाइकु लेखनको शुरुवात गर्नुभयो ।
नेपालमा हाइकु लेखनको शुरुवात वि.सं. २०१९ सालवाट भएको पाइन्छ । १९ साल भदौँ महिनाको रुपरेखा पत्रिकामा शङ्कर लामिछानेको हाइकु छापिएको थियो । प्रकाशनका हिसाबले हेर्दा लामिछाने नै नेपालको पहिलो हाइकुकार हो ।
हाइकु अर्थात एकदम छोटो, सुत्रतात्मक तर पूर्ण रचना । तीन लाइनमै एउटा सिङ्गो काव्य । एउटा उपन्यास एउटै हाइकुले भन्न सक्ने सार्मथ्य राख्छ । रितु वा मौसमबोधक बिम्बले समय र संस्कृतिलाई उजागर गर्नु हाइकु सिर्जनाको मूल ध्येय हो भन्नुहुन्छ हाइकुकार चेतनाथ धमला । वहाँको विचारमा यो प्रत्यक्ष भूगोल र संस्कृतिको प्रतिबिम्बका रुपमा प्रवाहित छ ।
हाइकुका बिषयमा सङ्ग्रहमा लेकाली लेख्नुहुन्छ – “साहित्यका विभिन्न विधाहरुमध्ये हाइकु एक महत्पूर्ण विधा हो । बन्दुकको गोलीले अर्जुनदृष्टि ताके झै हाइकुले पनि निर्दिष्ट बिषयमा रामवाणको काम गर्दछ । आजको जटिल युगमा मानिस आफ्ना दैनिक आवश्यकता पूरा गर्नमा नै अत्यन्त व्यस्त रहन्छ । व्यस्तताका कारण उसले खण्डकाव्य र महाकाव्य पढ्ने फुर्सद नपाउन पनि सक्छ । त्यसैले मानिसले हरेक क्षेत्रमा लघुत्तम कुराहरुको आविष्कार गर्न थालेको छ । अतः एकै बसाइमा पढिसक्ने गरी रचिएका रोचक र छोटा रचना नै आज सान्दर्भिक हुन थालेको परिप्रेक्ष्यमा अणुबमले विश्वलाई हल्लाए जस्तै मानव मस्तिष्कलाई हल्लाउन सक्ने क्षमता बोकेका हाइकु रचना गर्नु उत्तिकै जटिल काम हो ।”
५० को नेरनेर पुग्न लाग्नुभएकी स्रष्टा तिला लेकाली कथा, कविता, गजल र हाइकुका क्षेत्रमा कलम चलाउँनु हुन्छ । ‘झ्याउँकीरी झङ्कृत’ हाइकुसङ्ग्रह वहाँको दोस्रो हाइकु सङ्ग्रह हो । यस पुस्तकमा दुइ खण्डहरु रहेका छन् । पहिलो खण्डमा हाइकु र दोस्रो खण्डमा सेन्यु । १ सय ३० हाइकु र १ सय ४५ सेन्यु गरी जम्मा २ सय ७५ रचना रहेका छन् ।
हाइकु समयबोध प्रस्तुत गर्ने कला, सेन्यु हाइकुकै प्रस्तुतीका हिसाबमा स्वतन्त्र बिम्ब उठान गर्नसक्ने कला । हाइकुको बारेमा सेन्यु खण्डमा तिला लेकालीको रचना यसरी वोल्छ ः

धेरै खानामा
एक पित्को अचार
हाइकु बिधा ।

पाँच, सात, पाँचको सुत्रमा यसलाई तीन लाईनमा लेखिन्छ । संरचना यो हो तर शिल्प र भावगत पक्ष सर्जक अनुसार फरक पर्न सक्छ । तर हाइकुकारका सिद्धान्तकारहरु भन्छन् हाइकुले समय, मौसमकै प्रतिबिम्ब दिनुपर्छ । अलिक स्वतन्त्र भएर लेख्ने हो भने सेन्यु लेख्नुपर्छ । मौसमको प्रतिबिम्ब लेकालीका केही प्रतिनिधि हाइकु,

जलकी धनी
नेपाल आमालाई
ऊर्जा सङ्कट ।

टलल्ल सूर्य
सधै मध्यरातमा छ
झुपडीभित्र ।

नाभिमा गन्ध
रन–वन दौडिन्छ
कस्तुरी मृग ।

दुई किनारा
तिमी पारि, म वारि
अधुरो यात्रा ।

तर सेन्यु चै स्वतन्त्र हुन्छ बिषय उठानका हिसाबमा । यसमा समाजको विकृति, विसङ्गति आदि पनि लेख्न मिल्छ । तर सेन्युपनि आफैँमा हाइकु नै हो । पुस्तक भित्रका लेकालीका दुइ सेन्यु ः

श्रीपेज ढाल्यौँ
छोटे राजा जन्मिए
जस्ताको तस्तै ।

एक विवाह
लोग्ने र स्वास्नी बन्ने
मन्जुरीपत्र

आफ्नो सिर्जनामा समयको आवाज वोल्ने र समयलाई परिवर्तन गर्नसक्ने विचार दिनसक्ने स्रष्टाको नाम हो – लिता लेकाली ।

चश्माको रङ
फेरेर हेर्न सके
समृद्ध देश ।

वैचारिक रुपमा प्रगतिशील धारामा आफ्नो कलम चलाउँनुहुने लेकालीको रचनामा विचार फ्युजनको कलापनि भेटिन्छ । जस्तो ः

अध्यात्म ज्ञान
वैज्ञानिक चेतना
युगका पाङ्ग्रा

सर्वहारा मजदुरवर्गको क्षेत्रमा पनि वहाँको कलम वोल्छ । अधिकारमात्र होइन जीवन यापनको निश्चितता हुनुपर्छ भन्ने आवाज वहाँको सेन्युमा पाइन्छ । जस्तो ः

भोको पेट
मजदुर दिवस
आफ्नै मलामी ।

एउटै हाइकुमा समयलाई सुसूचित गर्ने प्रयत्न स्वरुप बिम्बको संयोजन गरी मानवीय संवेदनालाई उत्प्रेरित गर्नु हाइकुकार तिला लेकालीको चतुर्याई रहेको हाइकुकार चेतनाथ धमलाको ठम्याई छ ।

लेकालीले धर्मसंस्कृति, हाम्रा परम्परा, जातिय, भौगोलिक, राजनैतिक तथा लैङ्गिक विभेद जस्ता बिषयहरुलाई दमदार रुपमा उठाउँनुभएको छ ‘झ्याउँकीरी झङ्कृत’ भित्रका हाइकु र सेन्युमा । बिषयको विविधता मात्र होइन, बिम्बको प्रस्तुती र संयोजनमा पनि उतिकै व्यापकता छ । रचनामा वैचारिक चेतना र प्रस्तुतीको सौन्दर्य लोभलाग्दो छ ।
अन्त्यमा अर्का हाइकुकार इरान राईलाई मन परेका चार हाइकु ‘झ्याउँकीरी झङ्कृत’ सङ्ग्रहबाट ।

दोषी–बाहिर
निर्दोष–जेलभित्र
अन्धो कानुन ।

सहिदमाथि
दुवै खुट्टा टेकेर
मौन–धारण ।

पानीको स्रोत
कृषिप्रधान देश
भोक–हडताल ।

फुच्ची बाछीले
कसरी तार्छे, गुरु
बैतर्नी नदी ?

समाप्त ।

 

Featured News

Advertisement