राजवृक्षको हाँगोमा मीठो फल
- सीएन गौतम
कथाकारको चेक जाँच :
"दिनका आँखाले ओरालोतिर खुट्टा तेर्स्याउन लागेको समय।"(कथा :राजवृक्षको हाँगो पृष्ट २१)
"जब मेरा आँखा अक्षरको बाटै बाटो दगुर्न थाले ।"(कथा :मिति नाघेको चिठी पृष्ठ ५९)
माथिका हरफहरु मैले कथाहरु पढ्दै जाँदा रेखाङ्कित गरेको हुँ ।यदि एउटा साहित्यकारले सीधा सामान्य कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्छ र ऊ सफल मानिन्छ भने कथाकार टीका मिलन तिनै कोटीमा पर्छन् भन्ने यस कथा सङ्ग्रहले पुष्टि गर्छ।
कथाभित्र :
यस कथा संग्रहमा कथाकार टीका मिलनले हरेक कथाहरुको शीर्षक र अन्त्यमा कथा लेखेको मिति उल्लेख गरेका छन् । कथा लेखेको मिति हेर्दा वि.स २०३६ सालदेखि २०७३ साल सम्मका देखिन्छन् ।धेरै जसो कथाहरु ३६ ,३७,३८,३९ साल तिरका छन् ।यसो हेर्दा त्यसबखतको समयको कथाहरु लाग्छन् तर अहिले पनि उत्तिकै समसामयिक र सान्दर्भिक छन् ।
कथा सङ्ग्रहमा १२ कथाहरु छन् ।हरेक कथा पढ्न थालेपछि त्यसलाई टुङ्ग्याउन मन लाग्छ अर्थात् कथा पढ्न अल्छी लाग्दैन । कथाकार टीका मिलनले परम्परागत रुढिवादिता र संस्कृति सीमाहरु,बन्धनहरुलाई कथाको माध्यमबाट चोटिले प्रहार गरेका छन् ।त्यसैगरी कथाहरुले विकासक्रमसँग घनिष्ट रुपमा सम्बन्ध राखेका छन् ।
पूर्वीनेपालको पहाडी जनजीवन,भौगोलिक अवस्थिती रितिस्थिती ,प्रथा ,आचारव्याहार ,रहनसहन साथै प्राकृतिक पृष्ठभूमि र परिवेशको पर्यावरण सशक्त ढङ्गले प्रस्तुत छन् ।
कथाभित्रको कथा :
कथामा कतिपय ठाउँमा कथाकार आफैं कथाको पात्रको रुपमा प्रवेश गर्छन् ।मिति नाघेको चिठीमा शारदालाई मन पराउने पात्र कथाकार स्वयम् हुन् ।अन्तिम कथा मास्टरमा उनले शिक्षकले हरेक भूमिका रहनुपर्छ भन्ने कुरा देखाउन खोजेका छन् ।हुन त कथाकार आफैँ लामो समय मास्टरी जीवन यापन गरेका हुन् ।यसभित्र सतीको सराप,मिति नाघेको चिठी,जुठेकी आमा,धर्मसङ्कट ,राजवृक्षको हाँगो उत्कृष्ट कथाहरु भित्र पर्छन् ।
कथाभित्रको कमजोरी :
केही कथाहरु जस्तै "बाबा " र "हर्के आफैं एउटा कथा"मा एउटै कुरा छिटो छिटो दोहोरिन्छ।साधु बाबाले आश्राम छोडेको बेपत्ता भएको र पुर्नरागम भएको कुरो हरफैपिच्छे दोहोरिएको छ।त्यस्तै हर्केको पनि आसाम जाने र नेपाल फर्किने कुरो पनि धेरै ठाउँमा देखिन्छ ।एउटै कुरो दोहोरिनु भन्दा छोटो पारेको भए पाठकको समय बच्ने थियो।यसमा सम्पादक पनि थोरै चुकेको जस्तो लाग्यो। त्यसैगरी सानिमा कथामा कथाको शुरुमा आगुन्तकहरुले सानिमालाई चिनेर सम्बोधन गर्छन् तर सानिमाले नचिनेरै रुखो व्याहार गर्छिन् ।आगन्तुकसगै गएको म पात्रले सानीमा बारे सोधपुछ गरेपछि कथा शुरु हुन्छ ।सानीमा आगन्तुकबारे अनविज्ञ छिन् र कथा यहि टुङ्गिन्छ।यो कथाको कमजोरी हो। अर्को कथा कल्पनाको गाउँमा कथा भन्दा धेरै भावना व्यक्त गरिएको छ।यसले यो कथा भन्दा बढी मनोभव हो भन्ने देखिन्छ।
अन्त्यमा :
कथाकार टीका मिलनले तीन दशलअघि लेखिएका कथाहरु ढिलै भए पनि कथा सङ्ग्रह रुपमा निकालेर नेपाली वाङ्गमयलाई एउटा इँटा थप्ने काम गरेका छन् ।






