लकडाउन अनुभव : म चै जे सुने पनि भगवान नै पुकार्थे ।
- भागवत मञ्जरी राधिका दासी
मात्र अब १ दिनको काम सकि नेपाल फर्किनु थियो,तयारी गर्दै थिए । रातीको ८ बजे भारत सरकारको २१ दिनको लकडाउन घोषणा भयो । आफैं भन्ने गर्थे देवऋषि नारदलाई दुई घडी एक स्थानमा टिक्न नसक्ने श्राप जस्तै मलाई पनि एकदिन समाजसेवा र सडकका मानवलाई भेट्न पाइन भने दिन नकट्ने श्राप जस्तै छ।
ओहो! २१ दिन कल्पना गर्दा मलाई २१ बसन्त झैं लाग्न लाग्यो। मनलाई सम्झाए, २१ दिन त हो नि ,अनि त फर्कीहाल्छु । धेरै समय भजनमा बिताउन लागे । पुस्तक पढ्ने र माया घरका छोराछोरी सङ्ग भिडियो संवाद गरि दिन ब्यतित गर्न लागे । नेपाल मा पनि covid19 को प्रभाव अत्यन्तै बढ्न लाग्यो । नेपालमा पनि लकडाउन शुरु भयो, सबै नाकाहरु बन्द भए । नयाँ नयाँ समाचारहरु आउन लागे - नेपालीहरुको बोर्डरमा स्थिति ,आन्दोलन ,बोर्डर शिल्ड, अनि नेपाल सरकारको बाध्यता, म चै जे सुने पनि भगवान नै पुकार्थे।
२१ दिन जसोतसो कट्छ जस्तो लाग्दै थियो ,यता माया घरमा कहिले औषधिको अभाव, कहिले बिरामी, त कहिले खाना पकाउने ग्यास अभाव सुन्दथे। मन अति ब्याकुल हुन्थियो । तर भगवानको कृपा सहयोगि हातहरु टुटेनन् र अभाव पुर्ती हुँदै पनि गयो ।
जसोतसो २१ दिन कट्न लागेको थियो, पुन भारत सरकारले १७ दिनको लकडाउन थप्यो ।
ओहो! यति लामो समय कसरी बिताउने होला ?
न त घर बाहिर जाने अवस्था ,न कसैलाई भेट्ने ? कैदीको जस्तो जीवन त्यो पनि प्रदेशमा । आफ्नो देशको झल्झली याद आउन थाल्यो। भारत को महाराष्ट्र प्रदेश को मुम्बई शहरमा थिए। जुन स्थान सम्पुर्ण भारतको अवस्थामा सर्वाधिक कोरोना संक्रमीत भेटिएको स्थान।
समाचार हेर्यो , दिनहुुँ संक्रमितको संख्या बढिरहेकोे छ, घर बाहिर सम्म जान प्रहरीले रोक लगाएको छ । म चाहिँ २५०० किलोमिटर टाढा नेपाल फर्किने सपना बुनिरहेकी थिए ।
धेरै फोनहरु आउन थाले । सबैलाई हिम्मत र सहारा दिने मलाई आज सबै stay safe माता जि भनेर हौसला बढाउन लाग्नुभयो । सबैलाई आभार व्यक्त गर्दै म चै नेपाल कहिले फर्किने होला ? भनी आफैलाई प्रश्न गर्थे ।
भारत सरकारले कहिले घण्टी बजाउनु त कहिले दिपक जलाउनु भनेर जनतालाई सुचित गर्दथियो । म पनि चाडै कोरोना रुपि महामारी समाप्त होस् भनी सबै कार्य गर्थे। चैत नवरात्री ९ दिन व्रत र हवन गर्न पनि पछि परिन माहामारी चाडो जाओस् भनी।
दोस्रो लकडाउन को मिति सकिदा नसकिदै पुन भारत सरकारले तेस्रो मिति थप्यो, अरु २८ दिनको लकडाउन ।
अब चाहिँ मेरो मनको आशाको किरण मधुरो हुन थाल्यो। के साच्चै म आफ्नो देश पुग्दिन त ?
नेपालमा बस्ने केही ब्यत्क्तित्व लाई अब गुहार्न लागे । दिल्ली मा रहेको नेपाली राजदुतावासले अनुमति दिए त पक्कै नेपाल पुग्छु भन्ने आशाले । तर नेपाल को बोर्डर पुगेका नेपाली ले त आफ्नो देश जान सकेका छैनन् भने मलाइ के नेपाल जाने अनुमती मिल्ला र ? त्यो पनि Red Zone ,महाराष्ट्रबाट ।
दिल्ली राजदुताबासमा फोन contact गरि पास मिलाउन अनुरोध गरे तर अवस्था गम्भीर छ भनी नमिल्ने बताउनु भयो । बरु खाना बस्नको अफ्ट्यारो भए हामी मिलाउछौ भन्नुभयो ।
खान बस्न त आफ्नै घर/परिवार जस्तै गरि आमा ,बाबा सङ्ग बसेको थिए । कमि केही थिएन । मलाइ त भोक ,प्यास मातृभुमीको लागेको थियो, त्यो कस्ले बुज्ने र ?
केही दिन पश्चात् रेलसेवा संचालन हुने मजदुरको लागि भन्ने सुन्नमा आयो । म पनि Online Ticket Book गर्छु भनी बसेको मात्र के थिए, Ticket Booking खुलेको २ मिनेटमा १२०० वटा टिकट बुक भए। Booking बन्द भयो । फेरि हवाइजहाज को Ticket खुल्ने सूचना आयो तर १ महिना पछिको लागि मात्र ।
यस्तैक्रम चल्दै थियो । एकदिन इटहरी बाट उपमेयर ज्युको फोन आयो। माता जि हजुर नेपाल फर्किदा मेरो बुहारी नि मुम्बईमै Lockdown छिन संगै आउनुहोला है भनेर ।उपमेयर ज्युले पनि नेपाल बाट धेरै प्रयास गर्नु भयो तर केही गर्दा नि हामिलाई नेपाल फर्कने अनुमती मिलेन ।
ततपश्चात् मैले मुम्बईमा बस्ने नेपालीहरु सङ्ग फोन सम्पर्क गर्न लागे । कहिकतै सहयोग मिल्छ कि जस्तो लागेर । पछि सबै सङ्ग बुज्दा त मुम्बईमा म जस्तै Lockdown मा फस्नु भएको ८० जना नेपाली हुनुहुदो रहेछ । सबैजनाले उल्टो मलाइ सङै जाउ है नेपाल , हामिलाइ पनि साथमा लिएर जानू भन्नुभयो।
म अब के भनौ? केही दिन बिते पछि अन्लाईन पास लिएर धेरै मानिस एक प्रदेश बाट अर्को प्रदेशमा गएको समाचार आउन लाग्यो। कति त खाली खुट्टा नै १२००/१३०० किलोमीटर पैदल हिनेर घर फर्केको समाचार आयो । तब मैले पनि दाजु Vishal D Bhai लाई पास मिलाउन अनुरोध गरे । पास पनि चार वटा प्रदेशको मिलाउनु पर्ने ,महारास्ट्र बाट मध्य प्रदेश ,मध्य प्रदेश बाट उत्तर प्रदेश , अनि उत्तर प्रदेश बाट बिहार। वहाँ ले बुझ्दा त सवारी साधन चै आफ्नो भए मात्र पास मिल्ने रहेछ। फेरि हामी गाडी भाडा मा खोज्न लाग्यौ । केही गर्दा पार लागेन । केही दिन पछि भिनाजु Shriprakash Tiwari ज्यु ले एउटा गाडी Driver सहित खोजीदिनु भयो।
अब पास को लागि Apply गर्यौ । ३ पटकको प्रयास पछि पास मिल्यो। शनिबारको दिन ,दिनको ४ बजे तिर पास मिल्यो । ठिक २ घन्टा पछि ६ बजे हामी नेपाल प्रस्थान गर्न निस्कियौ। भोक प्यास थियो नि त मातृभुमीको।
शनिबारको रात हाम्रो संस्कार नै टाढाको यात्रा नगर्नु भन्ने छ। मन भारी पारी निस्कियौ। एक घण्टा पूरा हुँदा नहुदा गाडीको अगाडिको टायर पञ्चर भयो।गाडी मा अर्को टायर रहेछ , टायर फेरेर गाडी अगाडी बढ्यो। ४५ मिनेट जति के अघि बढेका थियौ पुन त्यही चक्का पञ्चर हुन पुग्यो। २५०० किलोमिटर को यात्रामा निस्कीएका हामी २५० किलोमीटर पनि नपुगी २ पटक टायर पञ्चर भैसक्यो। आतेस भयो मन। धन्न गाडी त ठुलै थियो अर्को टायर पनि राखेको रहेछ । गाडी चालक ले अर्को टायर जोडी यात्रा अघि बढाउन लाग्नुभयो। रात छिप्पिन लाग्यो। जङ्गलको बाटो शुरु भयो। रातको करिव ११:३० बजेको थियो तेस्रो पटक टायर पञ्चर भयो। अब चै मुम्बई नै फर्किनु पर्छ होला जस्तो लाग्न थाल्यो। रातको अध्यारो , अर्को टायर पनि छैन, अनि जङ्गलको बिच बाटोमा। ओहो!!!!
चालक चाहिँ कति हिम्मत भएको पाएछौँ ।रात को अध्यारोमा टाउकोमा टायर बोकेर ,"म बनाएर ल्याउछु है" भनी जानुभयो। जङ्गल , लकडाउन अनि मध्य रातको समय टायर बनाउने ठाँउ कहाँ होला?
वहाँ जानुभयो। हामी चै गाडी लक गरेर भित्र बसि वहाँलाई कुर्न लाग्यौ। लगभग बिहानको ४ बजे वहाँ टायर बनाएर टाउको बोकि फर्किनु भयो। हत्तपत्त जोडेर गाडीलाई तेज गतिमा अघि बढाउनु भयो। केही समय अघि बढेका मात्र थियौ । बाटो त नौबिसे को भिर जस्तो शुरु भयो। गाडीको तेज रफ्तारको कारण ले चालक ले गाडी कन्ट्रोल गर्न नसकी गाडी त भिर तिर पो जान थाल्यो। हामी भगवान पुकार्न थाल्यौ। गाडी त छेउ मा राखेका डिभाइडर माथी कुद्दै भिरको तिरमा पुग्यो। धन्न भगवानको कृपा २ इन्चले हामी बाचेछौँ । २ इन्च गाडी अघि बढेको भए हामी त के हाम्रो लाश पनि नेपाल आइपुग्दैन थियो।
यति हुँदा पनि हाम्रो चालक चै Full confidence का साथ गाडी चलाइ रहनु भयो। हामिले पनि नेपाल पुग्नु छ भनेर होला , केही भनेनौ।
खाने सामान केही बोकेका थियौ। २ दिन यात्रा पछि हामी लखनउ पुग्यौं । मुम्बई बाट Mahendra Aryal ज्युले लखनउको एक आश्रममा हामीलाई खाना अनि आरामगर्न को लागी ब्यवस्था मिलाईदिनु भएको थियो। हामी त्यहाँ पुग्यौ । ४-५ घण्टा को बसाई अनि आश्रममा स्वामी ज्यु को सेवाले मन आनन्दीत भयो। साझ ५ बजे तिर हामी त्यहाँ बाट निस्कीयौ। भोलिपल्ट बिहान जोगबनी बोर्डर आइपुग्यौ।
उपमेयर लक्ष्मि गौतम ज्यु र माया घर नेपालकि सचिव शुभद्रा प्याकुरेल ज्यु बोर्डरमा लिन आइपुग्नु भएको रहेछ। बोर्डरका केही कागजि काम पूरा गरे पश्चात हामीलाई नेपाल जाने अनुमती मिल्यो। बोर्डर पार गरियो। सबै भन्दा पहिले मातृभुमिलाई दण्डवत प्रणाम गरे। लामो स्वास लिए, नेपाल आमा को सुगन्ध शरीरभरी छाओस भनी ।
मन फुकाएर भने- जय नेपाल आमा जय मातृभुमी !!!
हामी एम्बुलेन्समा बस्यौं । हामीलाई सिधा प्रदेश न १ को इटहरी क्वारेन्टाइनमा लगियो। पुगेर एम्बुलेन्स बाट उत्रिदा त पत्रकारहरुको लाइन रहेछ। त्यहीँ दिन इटहरी -२ मा एकजना लाई कोरोना पोजेटिभ भेटिएको रहेछ तर दोस्रो पटकको जाँच मा नेगेटिभ आएछ।
मैले टेलीभिजनमा देखेको थिए, प्रहरीले गाडी बाट कैदी बाहिर निकाल्दा पत्रकार लाइन लागेर फोटो खिचेको । मैले त्यो दिन आफुलाई त्यही कैदि अनुभव गरे । पत्रकारहरु चौर भरी। कोहि कोहि चै कानेखुसी पारामा कुरा गरिरहेका थिए -"महारास्ट्र के रेड जोन बाट आएको टोलि हो,ईन्डिया के ईन्डिया ।"
त्यति बेला लिप्याधुरा र कालापानीको बिबाद पनि चर्केको थियो। सामाजिक संजालमा सबैले बिरोध जनाइरहेका थिए।
हामीलाई १४ दिनको क्वारेन्टाइनमा राखियो ।म स्वयं पाक्य परे -आफै बनाएर खाने सम्पूर्ण ब्यवस्थापन गर्दिनु पर्यो भने पछि सबै ब्यवस्था मिलाईदिनु भयो । १४ दिन नानू Rashmi Pandey र म दिन गन्ती गर्दै बिताउन लाग्यौ । १४ दिन भित्र हाम्रो २ वटा जाँच भए। कोरोना नेगेटिभ आयो। जिवनमा सधै पोजेटिभ ज्ञान दिने आज नेगेटिभ नतिजा आउँदा खुशी थिए ।
१४ दिन पछि वडाको चिट्ठी सहित घर आइयो । क्वारेन्टाइन इन्चार्ज Puja Bhattarai ज्युको ७ दिन होम क्वारेन्टाइन मै बस्ने सुझावका साथ घर आइयो । अब ४ दिन पछि बल्ल माया घर पुगेर छोराछोरीलाई भेट्छु भन्ने आशा छ।
धेरै खुशी छु म नेपाल आमाको काखमा बस्न पाएको छु। मातृभुमीको सुगन्ध भरिएको मिठो श्वास लिन पाएको छु ।
निर्धाक्क भन्न पाएको छु-- जय नेपाल आमा








