बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

बर्बरिकका तीन कविता



05:02 शनिबार २४ , जेष्ठ २०७७
भरत गुरगाँई बर्बरिक कलाकार र कवि मात्र नभएर एक अभियान्त पनि हुनुहुन्छ । गाउँमा कविता, झोराहाटमा साहित्य र समाजिक सञ्जालमार्फत साहित्यिक कार्यक्रम सञ्चालन आदि बाट साहित्यको विकासमा अहोरात्र खटिरहनुभएको छ ।
यस्तै नाटक लेखन, निर्देशन र अभिनयमा समेत लामो समयदेखि सक्रिय हुनुहुन्छ । यीनै कवि तथा साहित्यिक अभियान्ता बर्बरिकका तीन कविता राखेका छौँ ।
        • भरत गुरागाईँ बर्बरिक
 
चट्टान-बाटो
 
असाध्य पश्चात्ताप छ
जुन बाटो ऊ हिँड्यो हिजो-
उसको पछुतो र यो बाटो बीच सम्बन्ध छ ।
इच्छा त उसैको थियो
जस्तो कि अहिले पनि विवश विवश हिँड्दैछ ,
बाटोसँग साइनो राख्ने
पेटी छैन- वृक्ष छैन,
छेउमा नदी छैन र खेलिरहेका माछा छैनन्
फूलको सुवास बोकेर डुलिरहने
बतास छैन र
चराहरुको चिर्बिर पनि छैन,
सायद गन्तब्यहीन छ बाटो
यो निश्चित हो कि -
बिलकुल असामाजिक छ
अँ, यो चाहिँ ढुक्क हो कि
यहाँ सरकार छैन ।
केही बस्त्रबिहिन मान्छेहरु
आफैँले फ्याँकेको केराको बोक्रामा चिप्लिएर आफैँले छरेको शिशाको टुक्रामा लडिरहेछन,
घृणाको पिरो रागले असाध्य पोलिने छ,
दोहोरीलत्त -- दूर गन्तब्यका यात्री पनि छैनन,
प्रभाव जोसुकैको होस् -
ऊ हिँडिरहेछ
पर देखिए जस्तो लाग्ने उज्यालोको भ्रममा ।
साँघुरिन्छ र बाटो सकिन्छ
अर्थात् टुङ्गिन्छ,
अथवा टुक्रिन्छ लक्ष्यको सपना पनि ;
हत्तपत्त बटुलेर जोड्न खोज्छ
तर
अब पनि यात्रारत रहन खोज्ने हो भने
फगत बाँकी छ
शरीरलाई मृत्युको यात्रा -
ऊ खासमा अहिले पनि जिवित कहाँ छ र !
ऊ फर्किन सक्दैन हिजोको बाटो
जसलाई घृणा मात्र गर्न पायो र
बोक्यो पश्चात्ताप;
जस्तो कि टाउको र काँधमा बोकी रह्यो
प्रेमिल ! लाशहरु;
अगाडि बढ्न पनि सक्दैन
सम्मुखमा छ - मृत्यु र मूर्दाशान्ति ।
अब कतिन्जेल उभिन सक्छ ऊ यहाँ
चट्टान भएर !
...........................
 
स्मृति
 
झुण्डिएको ठाउँबाट ऐना झरेपछी
अनुहारहरु हराउँदा रहेछन् ,
भित्तोबाट फोटो झरेपछि
सम्झनाहरु बिलिन हुँदा रहेछन् ,
बिर्सँदै जाने हुँदा रहेछन् धेरै कुराहरु
जस्तो कि--
सुत्केरी बेथा,
मृत्युको आँसु,
प्रेमको बाचा;
तर बिशेक हुँदा रहेनछन्
मुटुमा गाडिएका खिल
उठेका टुटुल्काहरु ।
........................
 
फोटो
 
जे मन लाग्छ गर,
अब म गाली गर्दिनँ तिम्रो स्वतन्त्रतालाई,
प्रशंसा पनि गर्दिनँ म तिम्रो भूललाई,
तिम्रो जीवन विरोधी मूर्खतालाई
परैबाट सलाम गर्न चाहन्छु ।
घर भित्रै बस्छौ भने
यो घरको मर्यादा भित्र बस्नुपर्छ,
पीपल चौतारीमा बच्चामा खेलेझैँ
"भित्र-बाहिर" खेल्न पाउँदैनौ तिमी,
बाहिर निस्कन्छौ भने
बेलगाम निस्किन सक्छौ
घरभित्रै बन्दी बनाएको भनेर
स्थानीय प्रशासन,
प्रदेशको नेता र
देशको सरकारलाई मुर्दावाद भन्न सक्छौ;
हो, बुझ्छु म तिम्रो ऐंठनलाई
तिमीले खुल्ला आकाश,
नीलो समुद्र
हज्जारौँ मान्छेहरु नदेखेको
दुई चार दिन भैसक्यो ।
तिमी मिसिन सक्छौ भिडमा
रोज तिम्रै इच्छा हो
अब म केही भन्दिनँ
मात्र विकल्प बताइदिन्छु-
- यात तिमी घरभित्रै बस २-४ दिन
- यात तिमी अस्पतालमा सुत
अनिश्चितकाल
- अथवा भित्तोको फ्रेममा झुण्ड सधैँलाई ।
अँ जान्छौ नै भने
मुसुक्क मुस्कुराइदेऊ मेरो अगाडि उभिएर
एउटा सुन्दर फोटो खिच्न चाहन्छु तिम्रो
यो भित्तोमा झुण्ड्याउन काम लाग्छ ।
.......................

Featured News

Advertisement