बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

युगको सङ्घार : गजलबाटै क्रान्ति



05:10 शनिबार २४ , जेष्ठ २०७७
                      • रामप्रसाद खरेल

जुनेलीमाथि हाँसेको, सुकिलो देश खोज्दैछु
युवाले काँध थापेको, अडिलो देश खोज्दैछु

आफ्नो देशको एउटा विशिष्ट अवस्थाको खोजिमा वा सपना वा आशामा कलम दौडेको छ गजलमा अक्षरहरु बुन्दै–बुन्दै । सुकिलो देश खोज्नु वा त्यसको अपेक्षा गर्नु एउटा पाटो हो भने सुकिलो देश बनाउँन लाग्नु अर्को पाटो हो । ‘युगको सङ्घार’भित्र सुकिलो देश खोज्ने र वनाउँने दुवै पाटाहरु छन् । देशमै जन्मेर देश नभेटाउँनेहरुको आवाज वोलेको छ ‘युगको सङ्घार’ भित्रको पहिलो गजल ‘अपेक्षा’ले ।

पुस्तकको समिक्षालाई दुई तरिकाबाट हेर्ने चलन छ, नियम होइन् । पहिलो कला दोस्रो विचार पक्ष । ‘युगको सङ्घार’ लाई कसरी हेर्ने ? कुन कोणबाट हेर्ने ? यो हरेक व्यक्ति पिच्छे फरक हुनसक्छ । तर मैले चै गजलभित्रको विचार पक्षिय कोणबाट हेर्ने प्रयास गरेको छु ।

देशबाट शुरु भएको गजल नागरिकमा गएर सकिएको छ । देशविहिनले सोचेजस्तो पहिलो गजल र शोषित, पिडित र विभेदले कुल्चिएको नागरिकको कथा अन्तिम गजल ‘कामी दाइ’ ।

ती हत्केलाहरुमा आरन अटाउँछन्
कामी दाइ आरनमै जीवन अटाउँन् ।

‘युगको सङ्घार’ लाई विचारकै पक्षबाट हेरियो भने अलिक वढि न्याय हुन्छ जस्तो लाग्यो । गजलकारकै स्विकार पनि यही नै छ । सङ्ग्रहमा गजलकारको स्विकार यस्तो छ – “लामो समयसम्म अस्थिर रहिरहेको देशको राजनैतिक अवस्था, दिनानुदिन झर्दैगएको आर्थिक अवस्था, समाजिक र सांस्कृतिक रुपान्तरणका लागि भइरहेका अभ्यासले निम्त्याएका केही राम्रा केही नराम्रा पक्षहरु, समाजमा जयादै निर्मम ढङ्गबाट फैलिएको बलत्कार जस्तो जघन्य अपराध, बेरोजगार, हत्या, अपहरण आदिबाट मैले आपूmलाई टाढा राख्न सक्ने अवस्था थिएन र अझै पनि छैन । हरलेखकले दशकौंदेखि समेटिरेका विषयबस्तु भित्रै अल्झिेरहे मेरा गजल पनि ।”

‘युगको सङ्घार’भित्र अधिकांश गजलमा देश छ, देशको प्रेम छ, देशकै चिन्ता र चासो छ । समाज रुपान्तरणका लागि सृजनात्मक आवाज छ । कतै बिद्रोह छ, कतै आन्दोलन छ । गजलमा युवायुवतीका मायाप्रेम नै लेख्नुपर्छ, गजल प्रेमिल नै हुनुपर्छ भन्ने मान्यतावाट पर छन् टिका ‘आत्रेय’ पौड्यालका गजलहरु । टिका लेख्नुहुन्छ – “....आजको गजलयात्रा समसामयिक घटनाहरु लिएर अघि बढेको सन्दर्भमा मेरा गजलले पनि सोही पथ निर्धारण गरेको छ ।”

गजलकारसँग कलमकै सहारामा संसार वदल्ने सपना छ । देशलाई स्वर्ग झै वनाउँनु छ । सङ्ग्रहको शिर्ष गजल ‘युगको सङ्घार’ मा टिका लेख्नुहुन्छ ः

आचार बदल्नुछ र विचार बदल्नुछ
कलमकै सहारामा संसार बदल्नुछ ।

स्वर्ग झैँ अब, भित्र्याउनुछ समय
बदल्नुछ पुरानो, सङ्घार बदल्नुछ ।

सकारात्मक सोचको आभास पनि प्रशस्तै पाउँन सकिन्छ सङ्ग्रहमा । सर्वहारा वर्गको प्रेमपनि वढो सुन्दर भाषामा चित्रित गरिएको पाइन्छ । मूलत सङ्ग्रहमा विचारको नदी वगाइएको छ र त्यो नदी समानताको सागरमा मिसियोस भन्ने कामना गरिएको छ । क्रान्तिमा हिडेको एक योद्धाको कथा कति कालजयि पाराले उभ्याइएको छ । योद्धा भन्छ ः

रातको पहाड पन्छाएर आउँछु
म आजै घाम उदाएर आउँछु ।

सगरमाथा होचो देख्नेहरु पर्ख
देशको उचाइ बढाएर आउँछु ।

देश उज्यालो पार्न धेरै यूवाहरु युद्धमा होमिए । देशमा उज्यालो आएआएन थाहा छैन् उनिहरुलाई । हामीलाई थाहा छ उनिहरु शहिद भए । जन्जिरको पर्खाल फोर्न हिडेको योद्धाको नाम शहिदहरुको लस्करमा देख्दा सायद कलम दुख्छ । दुखेको कलमले तीनै योद्धाको कथा यसरी भन्छ ः

चट्टानलाई उर्वर, पार्नुछ भन्थ्यो
सहकालको बेर्ना, सार्नु छ भन्थ्यो ।
शहीदको लस्करमा नाम भेटियो
यो देशको मुहार सिंगार्नुछ भन्थ्यो ।

देशप्रेमीहरुसँग कस्तो दागत हुन्छ भन्ने कुरा पनि टिकाको गजलमा पाइन्छ । तर संसार परिवर्तन हिडेको व्यक्तिको कथा कसैले यसरी सुनाउँछ कि त्यो कारुणिक कथाले ढुङ्गापनि पग्लिन्छ आँशु भएर । माटाको लागि पसिनामात्र होइन रगत बगाउँनेको दुखान्त कथा देखेपछि एउटा सर्जकको हृदयपनि पग्लन्छ यसरी ः

यस्तो कहानी, सुनायो उसैले
पत्थरलाई पनि, रुवायो उसैले ।

समाजमा चरम विभेद छ अझै । अन्याय, अत्यचार झन छदैछ । लेखकको हृदयमा एउटा विद्रोही मनपनि छ । विद्रोही पात्रले समाजको चित्र मात्र देखाउँदैन् । चित्र परिवर्तन गर्ने हिम्मत पनि राख्छ । गजलकार टिकाभित्रको विद्रोही आवाज यसरी उद्घोषित हुन्छ ,

यिनै हत्केलाहरुमा चुलो बनाउँछु
भोकको कानून खुकुलो बनाउँछु ।

कतै नरम छन् शब्दहरु, कतै करम छन् । नरम–करम मिलेका गजलहरु ‘युगको सङ्घार’भित्र । आजको समयसँग मान्छे आफैँ डराउँछ । डर उभ्याउँने पनि डराउँछ, डर उभिएको देख्नेपनि डराउँछ । यही डरका कारण कतै विद्रोह जन्मन्छ, कतै सामन्य इच्छाहरु वा रहरहरुमात्रै जन्मन्छन् । समयले हृदय डराउँछ ‘हृदयको भय’ मा,

यो कस्तो भयले तर्साउँछ अचेल
बाँचेकै समयले तर्साउँछ अचेल ।

साहसीहरुको कथा पनि उतिकै लोभलाग्दो पाराले प्रस्तुत गरिएको छ गजलका शेरहरुमा । चलनचल्तीको बाटोमा हिड्न सजिलो छ, तर फरक बाटो बनाएर हिड्न निक्कै मुस्किल छ । त्यही अप्ठ्यारोभित्र हिड्न सक्छन् साहस गर्नेहरु भन्छ गजल ‘फरक पथ’,

आगो माला लगाउलान् साहस गर्नेहरुले
आगोले शिर नुहाउलान साहस गर्नेहरुले ।
आँफु बाँचेको देशको समयको पीडाले सताएपछि मन उकुसमुकुस हुन्छ । त्यही मनको पीडा गजलहरुमा प्रतिबिम्बित हुनपुग्छन् । टिका भन्नुहुन्छ – “......पीडाका सेरोफेरोमा धेरै बहकिए पनि । वर्तमानले कोरेका यी पैतालाका हरफहरु ‘युगको सङ्घार’ हुन सकुन् ।”

गजल गायनीमा पनि चर्चित र छन्द कवितामा पनि तल्लिन टिकाका गजलहरु बहर तथा गैरबहर पनि हुन्छन् । गजल भनेपछि त्यसका आफ्नै नियम पनि छन् लेखनीका । तर मैले त्यतातिर प्रवेश नै गरिन् । मैले शुरुमै भनेको छु बिचारको कोणबाट हेरिएको छ ‘युगको सङ्घार’ लाई ।

देश भनेको माटो र मान्छे हो । त्यही माटा र मान्छेको कथा विभिन्न रुपमा छचल्किएको छ ‘युगको सङ्घार’भित्रका गजलहरुमा । त्यसपछि लैङ्गिक विभेद, समाजमा स्खलित हुँदै गएको भाइचारा, वढ्दै गरेको अपमानको परम्परा, देश छाड्नुपर्नेहरुको कथा, युद्ध र युद्धमा गुमेका तथा हराएका योद्धाहरुको कथामा नै घुमेको छ टिकाको कलम ‘युगको सङ्घार’ मा । प्रेमिल गजल थोरैमात्र छन् । जीवन दर्शनमा पनि केही गजलहरु छन् ।

प्रगतिशील लेखन नै हावी छ गजलमा । तर कतै स्वछन्द रुपमा पनि प्रस्तुत भएका छन् । प्रगतिशील विचारमा केही गजलहरुमा विरोधाभाष पनि छ । एउटा कुरा चै के हो भने पूरै किताबलाई एकै वाक्यमा भन्ने हो भने ‘युगको सङ्घार’ देशको चिन्तामा छ, चिन्तनमा छ । उसो त भूमिकामा समालोचक महेश पौड्याल भन्नुहुन्छ – “.....परिवर्तनको चाहना, मूलभूत मानवीय प्रवृति आदि बिषय उनले उठाएकी छिन् । सरल, प्राञ्जल र गेयात्मक भाषामा लेखिएका उनका गजलमा युगबोध लोभ लाग्दो छ ।”

सरलतामा विशिष्टता दमदार साहित्यको विशेषता हो । यो गुण ‘युगको सङ्घार’ ले बोकेको छ । गजलमा प्राय शिर्षक राख्ने गरिदैन् । टिका आत्रेयका गजलमा चै शिर्षक हुन्छन् ।

विशिष्टता हुँदाहुँदैपनि केही कम्जोरीजस्तो लाग्ने तत्वको मात्रापनि पाइन्छ । गजल पढ्दै गएपछि एकदुइ गजलमा लम्ब्याउँनकै लागि शेरहरु थपेजस्तो लाग्नाले नमिठो फिल हुन्छ । उदरहणको रुपमा ‘सङ्कल्प’ शिर्षकको गजललाई यहाँ प्रस्तुत गरे मैले । पहिलो शेर ः

म यो देशनिम्ति खरानी बनूँला
जली साँझ, आफैँ बिहानी बनूँला ।

यति दमदार शुरुवात हुँदै अघि वढेको गजल यसरी एकदम कम्जोर भएर सकिन्छ, अन्तिम शेर ः

कहाँ राजधानी म ताकूँ अहिले ?
म छिन्ताङ बनूँला सुखानी बनूँला ।

‘युगको सङ्घार’भित्र जम्मा ८० ओटा गजल रहेका छन् । ११ ओटा गजल ४ शेरका अरु बाँकी सबै ५ शेरवाला गजल रहेका छन् । गजलबाटै क्रान्ति गर्नुभएकी कगजलकार टिका ‘आत्रेय’ पौड्यालको जीवन दर्शनको बारेमा ‘मान्छे’ शिर्षकको कवितामा वढो राम्रो तरिकाले प्रस्तुत गरिएको छ । अन्त्यमा यही गजल राखेको छु ।

धर्मै लगाऊ लिस्नो, स्वर्ग छुँदैन मान्छे
दिलमै सजाऊ मन्दिर, देउता हुँदैन मान्छे

उल्टै ऊ खोट देख्छ, जूनको अधरसम्म
ऐना हेरेर आफ्नै, आँखा धुँदैन मान्छे

हुन्छन् पराई आफ्ना, धनको सुगन्धभित्र
निर्मम, आफन्त दुख्दा, रत्ती रुँदैन मान्छे

दिन्छन् सुनाम धेरै, मृत्यु पछाडि दिन्छन्
श्रद्धाले जिउँदो हुन्जेल, बाँच्न पाउँदैन् मान्छे ।
............

यी पनि पढ्नुहोस् :

https://www.nepalbit.com/article/134

 

 

 

 

Featured News

Advertisement