बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

रिता ताम्राकारको कथा  : मेरी ऊनी र म



05:38 शनिबार २४ , जेष्ठ २०७७

कथा  : मेरीऊनी र म

  • रिता ताम्राकार

 

" सर! वहाँ आमा हुनुहुन्छ कि? " अति शिष्टताकासाथ सोधिएको प्रश्न | तर, मनको तलाउमा जलतरङ्ग पैदा गर्न काफी |

यसो इङ्गित दिशातर्फ हेरें | देख्छु लथालिङ्ग , भताभुङ्ग आकृति | रङ्ग खुइलिएको म्याक्सी | त्यसमाथिकुइनो उध्रिएको पिलन्धरे चौबन्दीचोलो | भरखर भुत्ल्याईएको जस्तो जिग्रिंग कपाल | फेटाकोरूपमा गुथिएको मैलो बर्को | कस्तो बेसोमती बसाइ| जति सम्झाए पनि भएन | भुलुक्क एक भुल्को रिस उम्लन्छ मनमा |

प्रश्नकर्तासँग भावविहीन आँखा गाँस्छु| कौतुहलपूर्ण नजर , जवाफको प्रतीक्षामा व्यग्र छन् | पुन: नि:शब्द नजर लथालिंगे आकृतितिर सोझ्याउँछु | यतै हेरेर मुस्कुराइरहेछ आकृति | त्यो मुस्कानले कताकता मनको एउटा कुनो पोल्छ भतभती|

" सर! सुन्नुभएन ? आमा हुनुहुन्छ वहाँ ? " यसप्रश्नमा प्रतिध्वनित भएर एकैपल्ट चार प्रश्नहरु बिउँझाउँछ मभित्र |

" दाइ! तपाईंकी सानिमा हो ? "

" सर! तपाईकीदिदी हो ? "

" भाइ! तिम्री काकी हो ? "

" यार! तेरी भाउजू हो ? "

यी तमाम प्रश्नहरू ममाथि अप्रत्याशित वर्षन्छन् बेला-कुबेला | यी अप्रत्याशित प्रश्नहरूको भुमरीमा रुमलिनुपरेको पनि उन्नाइस वर्ष पो पुगेछ |

उन्नाइस वर्ष ! अब एकवर्षपछि त दुई दशक बित्छ, यस्ता आक्रमणहरूलाई पचाएको | कहिले अनायासै प्रश्न गर्छ आफैंभित्रको प्रताडित व्यक्ति | के मेरो जीवनको सार्थकता यिनै चारपाँच प्रश्नमा निहित छ र ? मैले कहाँ चाहेको थिएँ र यी पीडाका राप बोकेका शब्दबाणहरू मेरो जीवनका अभिन्न हिस्सा बनून् | मलाईयी प्रश्नको भुमरीमा धकेल्ने मेरा बा , मेरा आफन्त र सङ्कीर्ण समाज | सबै हुन् यसका जिम्मेवार | संरक्षक| र प्रश्रयदाता|

विश्वले एक्काइसौं शताब्दीको आधुनिक र विकसित जीवन बाँचिरहँदा पनि , पुरातनपन्थी, रुढीवादी र सङ्कीर्ण सोच बोकेर रहेको मेरो गाँउ | मेरो ठाउँ | नारीलाई मात्र होइन | पुरुषलाई पनि बाध्यता र विवशताको लक्ष्मणरेखा कोरेर त्यसभित्र बाँच्न लाचार बनाउने मेरो समाज |

र त्यो लक्ष्मणरेखाबाट निस्केर विद्रोह गर्न नसक्नुको परिणाम | ती प्रतिबन्धित शाब्दिक घेरा भत्काउन नसक्नुका नतिजा हुन् यी तमाम प्रश्न मेरो जीवनमा बारम्बार ठोकिनु |

" अहँ! म यो विवाह गर्दिनं| आफूभन्दा जेठी केटी | मेरीदिदी भन्न नि नसुहाउने | त्यहीमाथि कान पनि नसुन्ने | के भन्छन् मान्छेले मलाई ! " विद्रोहको पातलो झिल्को ओकेलें |

" केको हुन्थ्यो जेठी ! तँ सानो दारको , ऊ ठूलो दारकी भएर हो त्यस्तो देखिएकी |

त्यस्ती राम्री , गोरी, उजेली केटीसँग पनि हुन्न भन्ने ! " मेरो विद्रोहको झिल्कोमा बाले मुसलधारे पानी बर्साउनु भयो |

बासँग भुतुक्कै डर लाग्ने| कहिले जवाफ फर्काएर वादविवाद नगरेको | आमासँग पिलपिलाएर भनें-

" भरखरै उन्नाइस वर्ष टेकेको छु | मेरो विवाह गर्ने बेला भयो र आमा ? जेठी नै हो केटी | बा छल्दै हुनुहुन्छ मलाई | तपाईं सम्झाइदिनुस् न बालाई| विवाह गरेपछि साट्नुभएन , फेर्नुभएन | म जिन्दगीभर कान नसुन्ने स्वास्नी कसरी धान्नु आमा ? "

" तेरा बाले केटीका बालाई बचन दिइसक्नुभो | एकदुई वर्ष जेठी स्वास्नी कसका छैनन् ? किन सुन्दिन कान , मैले नै कुरा गरेकी छु | अलि चर्को स्वर पार्नुपर्छ , सुन्छे | त्यस्ती कुलघरानाकी | त्यत्रा ठूला पण्डितकी छोरी | भएन माइती नभएकी , कान्छी छोरी | मूर्ख नबन् छोरा | हामी तेरो कुभलो हुने काम गर्छौं र ?" आमाको कुराबाट स्पष्ट भो मेरो विद्रोहको झिल्कोझ्याप्पझुप्प निभ्ने तरखरमा छ |

म जान्दछु | मेरा बा वचन फेर्नुभन्दा मर्न तयार बन्नुहुन्छ | त्यहीमाथि ठूला पण्डित | उसै पनि बाले गुरु सम्बोधन गरेर मान्ने व्यक्ति | एक त प्रतिष्ठा र इज्जत सम्मानको कुरा | अर्को त पण्डितको अपार सम्पत्ति| अब केले रोक्ने मेरा बालाई ? मैले सुनेको थिएँ | यस्ता मामलामा महिलाहरू लाचार विवश हुन्छन् र होमिन्छन् रे ! मेरो विडम्वना त भन्नुपर्ला ! म पुरुष र जवान युवक ! आफ्नो विद्रोहको स्वर आफैंभित्र गुम्साएर चढ्नप-यो बलि विवाह नामको वेदीमा | कहिलेकाहीं मानिस बन्चरोले चोइट्याएको काठको टुक्रो जस्तो निरीह बन्नुपर्दो रहेछ |

बलि चढ्ने अघिल्लो दिन न्वारानदेखिको हिम्मत जुटाएर यतिचाहिं भन्ने हिम्मत गरेकै हो मैले " यो विवाह तपाईंहरूको निम्ति गरेको हुँ मैले| मलाई जब आवश्यक महसुस हुन्छ | त्यसबेला म आफ्नो लागि अर्को विवाह गर्नेछु | त्यतिबेला कोही बोल्न पाउनुहुन्न | " मेरो यो कुरालाई पटमूर्खता र नादानताको संज्ञा दिएर नमज्जासाथ उडाइएको थियो |

आफ्ना इच्छा विरुद्द विवाह नामको वेदीमा चढ्दाका क्षण म पटकपटक मरिरहें | लाग्यो म मरिरहेको छु र विवाहमा उपस्थित सम्पूर्ण मानिस मेरो मृत्युमा रमाइरहेका छन् | त्यो हास-परिहास | त्यो ठट्टा- मजाक | त्यो उल्लास-उत्साह | सबैसबै मेरो जिउँदो लासमाथि , मृत्यु-उत्सव मनाइरहेका आत्माविहीन निर्दयी मानिसहरू हुन् | यहाँ मलाई न्यानो घाम बनेर न्यानोपन दिने कोही छैन | दिनको मध्यघाममा पनि तुसारो झारेर कठ्याँग्रिने जाडो दिने मात्र छन् सबै|

मेरा बाले खै कुन उत्सवको उल्लास मनाइरहनुभएको हो | नाच्दानाच्दा बेहोस भएर ढल्ने अवस्थासम्म नाच्नुभो | छोराको विवाहको खुसी मात्र हो कि ! कलिलो छोरालाई छिप्पिएकी बुहारीसँग साटेर , पण्डितको सम्पत्ति आफ्नो भएको खुसी पनि हो वहाँभित्र| मैलें अनुमान गर्नै सकिनं| बेहुली बनेर आफूसंगै बसेकी पण्डितकी छोरी ! मेरो निम्ति , जीवनभरि मैले बोक्न नसके पनि बोकिरहनुपर्ने बोझ बनेकी छे | बिनाश्पर्श नै मलाई निसास्सिने गरी त्यसले थिचिरहे जस्तो आभास भइरहेछ मभित्र |

म हाँसिनं, मैले अँध्यारो मुहार लायो भनेर बा आँखा तर्नुहुन्छ मलाई | बालाई के थाहा हृदयभरि रक्तरञ्‍जितपीडा बोकेर फक्रेको मुस्कान तुसारोले कक्रिएको फूलजस्तो हुन्छ भन्ने कुरा !

जीवनसङ्घर्ष, सम्झौता, चुनौती र धैर्यको सङ्गम ठान्छु म | आफूसामु आएका हरेक कुरा आत्मसात् गर्दै मैले गर्न खोजेका सम्झौताहरुले पनि सार्थकता पाउन किन सक्दैनन् आखिर ? के दोष थियो मेरो ? कुन अपराध गरें मैले ? विवाहअगाडिजिएकै जीवन निरन्तरता दिंदा किन दोषी बन्न पुग्छु म | नखाएको विषको रापले किन छट्पटिनुपर्छ मैले?

आफूलाई मन नपरेकी स्वास्नीसँग सम्झौता गर्न बाध्य पारिन्छु म | कामबाट छुट्टी पाइने हप्ताको एकदिन घर जाँदा ठेलिएर एकै कोठामा स्वास्नीसँग बन्द हुन पुग्छु म | पटकपटक यसरी बन्द हुने क्रममा कति दिन आगोको रापमा घिउ नपग्ली रहने ? अथवा कति दिन घिउको छेउमा आगो ओसिलो भएर बस्ने ?

मन नपरेकी स्वास्नीको कोखमा गर्भ रहन गयो | त्यो गर्भभित्रको नजन्मिएको सन्तानले पनि मभित्रको कठोरतालाई थोरै पगाल्यो | त्यो नरमपन दुर्भाग्यवश नमिठोसँग बिज्यो मेरो घरमा | कसरी मैले परिस्थितिसँग सम्झौता गरेर आफूभित्र नरमपन उमारें| किन बुझ्दैनन् भावनाका यी भावहरू मेरा घरका मान्छे ? योकिन्चित नरमपना मेरो कर्तव्य र दायित्वको घेराभित्र पर्न जान्छ | यो मेरो दोष होइन , कमजोरी होइन | किन यो नबुझी दोष थुपार्छन् ममाथि स्वास्नीको फरियामा घुस्रनेजोईटिंग्रे !

यो दोष मेरानिम्ति असह्य चोट हो | मन नपरेकी स्वास्नी अनि उपाधि जोईटिन्ग्रे! कसरी खप्नु ? त्यसको आक्रोश खनिन्छ त्यही स्वास्नीमाथि| दाउराको चिर्पट र भाटाले सुम्ला उठाएर | आफ्नो भोगाइ अनि उपाधिको चोट नवजात शिशु , जसले छोराको रुपमा जन्म लिएर मलाई बाबु हुनुको गर्वानुभूति दिलायो | उसले पनि मत्थर पार्न सकेन | समय प्रतिकूल बनेको बेला सन्तानरूपी फुलेको सुन्दर फूलले पनि जीवनमा रङ्ग नथप्दो रहेछ |

एकपटक छोरो बिरामी भयो निक्कै साह्रो | अस्पताल भर्ना गर्नुप-यो| स्वास्नी मन नपरे पनि , छोरो त मुटुको टुक्रो| अस्पताल सँगै बस्नैप-यो| बाह्रदिन अस्पताल बस्ने क्रममा एउटी नर्सले स्वास्नीको भाइ सम्झी | समयको नाजुकता हेरेर पचाएँ|

डाक्टरले स्वास्नीको देवर सम्झ्यो , दाह्रा किटेर सहें| जसरी पनि छोरालाई निको पार्नु छ | बसाइको सातौँदिन नयाँ सिफ्ट लिएर आउने नर्सले " दाइ! तपाईं कति ठूलो अनि तपाईंको भाइ यति सानो ? तपाईंको आफ्नै आमा किसौतेनी आमा ? " भनी| शब्द बम बनेर विस्फोट भयो मेरो निम्ति | मनबिथोलेर मुटु नै हल्लियो मेरो |

 रनथनिएरभनें" स्वास्नी हो यो आइमाई मेरी स्वास्नी | यो आइमाई न मेरी आमा हो , न मेरी सौतेनी आमा ! स्वास्नी हो क्या मेरी स्वास्नी ! झ्याईंझ्याईं पन्चे बाजा बजाएर बिहे गरेकी स्वास्नी | अनि यो बिरामी बच्चा ! यो मेरो भाइ होइन , छोरो हो छोरो! मेरो आफ्नै छोरो, साख्खै छोरो| मेरो खुन | बुझ्नुभो " ?

नर्सतीनचित परी| उसको मुख खुल्लाको खुल्लै रह्यो| आँखा च्यातिएर ठूला बने | जिल्ल परी निक्कैबेर र आफूलाई संयमित पारी " किन रिसाउनुभएको दाइ ? थाहा नपाएर पो सोधेकी त ? तर वहाँ तपाईंकी स्वास्नी !! खैर! म मात्र होइन, पहिलोपटक थाहा पाउने जोकोही मान्छे अचम्ममा पर्छन् नै ! व्यर्थै रिसाउनुभयो मसँग | "

" प्रश्न तपाईंको त्यस्तै थियो | थाहा नपाउनेले को हो भनेर सोध्छन्| अर्थ्याएर प्रश्न गर्दैनन् | तपाईंहरू सहर-बजारका मान्छे , ब्युटी पार्लर र सिंगार प्रसाधनले उमेरमा पर्दा हाल्नुहुन्छ | हामी गाउँका मान्छे , घामपानी, हावाहुरी,हिलोमैलो आफ्नो उमेरसँग बोक्छौं | फरक त्यति हो सिस्टर | "

भन्न त भनें मैले | प्रतिकार पनि गरें| तर स्तब्ध अति स्तब्ध बन्न पुग्छु म | हो! आफूभन्दा जेठीसँग मेरो विवाह पक्कै भएको छ | तर आमाको संज्ञा ! के यति धेरै असमानपना बोकेको जोडी देखिन्छ हाम्रो ? जसलाई मानिस आमा छोराको संज्ञा दिन पछि पर्दैनन् | कोही दिदीभाइ, कोही देवरभाउजूको संज्ञा दिन्छन्| त्यतिसम्म त मुटु मिचेर पचाउन सकिए पनि आमा-छोराको संज्ञा ? मेरो मनभरि वितृष्णाले पखेटा फिंजायो | जीवनलाई घामको न्यानोसँग, जूनकोशीतलतासँग र फूलको सुन्दरतासँग साट्ने मेरो भाग्य रहेनछ |

छि: ! कस्तो जीवन मेरो | आफूसँग जोडी सुहाउँदो मनले खाएकी , मनले चाहेकी , समाजले अहा भन्ने जीवनसाथीसम्म नपाउनु | वितृष्णा सीमाले परिधि नाघ्न खोजेपछि , वा भनौं मनमा उद्वेलित संवेगले पराकाष्ठा नाघ्न थालेपछि , अमिल्दो जोडीसँग जबर्जस्ती विवाह गर्दा मनमा उत्पन्न कुण्ठा ! जसलाई बल गरेर दबाइराखेको थिएँ | विद्रोहकोसङ्खनाद गर्दै विस्तारै जुर्मुराउन थाल्यो|

मन नपरेकी स्वास्नीसँगकोतीतो सम्बन्ध नमीठोसँग कोक्याउन थाल्यो| स्वास्नीको प्रतिछायासँग पनि तर्सन थालें | लाग्थ्यो म बिरालो हुँ र मेरी स्वास्नी मेरो घाँटीमा जबरजस्ती झुन्ड्याइएकोघन्टी| जसबाट म छुटकारा चाहन्छु |

स्वास्नीले मात्र होइन | सिङ्गो परिवार र उसका माइतीले पनि बुझ्न थालेकाछन् | ममा आएको विद्रोहपूर्ण परिवर्तन | उनीहरु कडा निगरानीको साथै सामाजिक प्रतिबन्धन लगाउन चाहन्छन्| जति मलाई कजाउन चाहन्छन्, मभित्र विद्रोहको ज्वाला उति नै दन्कन्छ |

हप्ताहप्ता दिनमा सहनुपर्ने स्वास्नीको कोक्याउने साथ अब दिनहुं खप्नुपर्ने भएको छ | मेरो विद्रोही मनले विद्रोह गरेर , आफूसुहाउँदो जोडीतिर ढल्किएको मेरो मनको भाव कुन पापीले समाचार बनाएर पु-याएछ घरमा |

मलाई मन परेपनि नपरेपनि मेरी विवाहिता स्वास्नी | मेरो सन्तानकी आमा | उसभित्र पनि मेरो तिरस्कार , अवहेलना, उपेक्षा र वेवास्ताको विरुद्द केही विद्रोहको ज्वाला उठ्नु सायद अस्वाभाविक नहोला पक्कै |

उसको मनको घाइते ज्वाला | मेरो मनको कुण्ठित ,तृषित विद्रोही ज्वाला विनाशकारी बन्न सक्छन्| यी ज्वालाहरू यस समाजको सामाजिक मूल्यमान्यता , संस्कृति, संस्कार जलाएर भस्म पार्न पर्याप्त छन् | जति मभित्र अतृप्ति, असन्तुस्टी र अनिच्छाका ज्वाला उठ्छन्| त्यति नै मर्माहत बनी म मन नपरेकी स्वास्नीप्रति हिंस्रक बन्दै जान्छु |

मेरो अत्याचार | अर्कीआइमाईको पछाडि फोस्रो मृगतृष्णा बोकेर भौंतारिरहने मेरो नजर र र मन | सायद स्वास्नीभित्रकी आइमाईले खप्न सकिन | सधैं तल झरिरहने नजर उठेर मसँग जुधे | त्रासको भारीले थिचिएर निरीह बनि रहनेस्वर लड़खराएर उठे | अप्रत्याशित! हो! मेरो निम्ति एकदम अप्रत्याशित ! अनपेक्षित!

" नकचरो! स्वास्नी काखमै हुँदा पनि अर्की आइमाईसँग लहसिन्छौ? तिम्री प्राणप्यारी नकचरीको जगल्टा छर्छु म | सहनुको पनि सीमा हुन्छ | " म अपत्यारिलो नजरले घुर्छु एकछिन | विश्वासै लागेन | अझै लागेकै छैन | होइन , यो झुत्रीभित्र कुनै आत्मा चढेछ कि कसो ?

" लाजसरम क्वाप्प निलेर के हेरेको यसरी ? मेरा माइतीले छलेर दिएका होइनन् मलाई | तिमीले पनि मलाई देख्दै नदेखी विवाह गरेका होइनौ | मेरो बुबाको सम्पत्तिको लालचमा फुरुङ्ग परेर विवाह ग-यौ| लोग्ने भएर भोग्यौ , सन्तान दियौ | तर लोग्ने र बाबुको धर्म निभाउन जानेनौ | जति नै मर्दपन देखाएर जनावरले जस्तै मलाई भोगे पनि , सही अर्थमा तिमी नामर्द चुत्था रहेछौ बुझ्यौ ? " उसले कुन आँटले बोली कुन्नि |

अहो!! अब मैले कसरी थाम्ने आफूलाई ! फुकालें पेटी ! चुटें गोरुलाई जस्तै ! ढोका बन्द गरेर बेहिसाब चुटें | निर्घात चुटें | छलछल रगत बगुन्जेल चुटें | बेहोस नबनुन्जेल चुटें | उत्तेजना र रिसको रन्कोमा आँखा देखिनं| चेतना गुमाएँ , विवेक गुमाएँ | झोलामा एकजोर लुगा खाँदेर , निदाएको छोरो र बेहोश स्वास्नी छोडेर फुत्त निस्किएँ |

छ महिनासम्म आफूलाई बेपत्तासँग हराउन दिइरहें| कुन पातकीले सुईंको दिएछ | सातौँ महिना ससुरा र बा टुप्लुक्क झुल्किनुभो |अब वहाँहरुसँग नफर्की धर मैले ? बाको आँखाभरि छल्किएको आक्रोश | ससुराको आँखाभरि पौडिएको व्यथा , लाचारी र विवशता | सकिनं दुवैलाई छलेर भाग्न | बाटोहरु प्रशस्त थिए | तर म बबुरो बनेर फर्कें लुरुक्क|

घरमा स्वास्नी फेरि अर्को सन्तानसँग ओथारो बस्न तयार परेकी रहिछे | पिलापिलाउँदी , निन्याउरी , मायालाग्दी | छोरो कलिलो घामजस्तै उज्यालो , भुकुल्ले, मोहक भएछ | स्वास्नीको उक्सेको पेट हेरेर सोंचिरहें| वाह रे ! विपरीतलिंगीको आकर्षण मोह ! मैले तँलाई जनावर भएर भोगे पनि तँ किन त्यतिबेला जमिन भएर विनाविद्रोह पल्टीरहिस् हँ ? उफ्! यो दिमाग पनि कम उफ्रन्छ र अनावश्यक ठाँउमा गएर |

म एकपटक भागेको मान्छे , काम गर्न जाने बाटोमा काँढेतारको बार लाग्यो | म खुल्ला कैदीको रूपमा घररूपी जेलमा कोचारिएं | र थाहा पाउन थालें , यो छ महिनामा आफन्त , आफ्ना , स्वास्नीका माइत र ईष्टमित्र सबै मलाई बहुविवाहको मुद्दा हाल्न चाहन्थे | जबकि म बबुरो, एउटा विवाहको चोटले रन्थनिएको घाइते | किन पो अर्कोमा होमिन्थें!

मप्रतिका तमाम अविश्वासलाई एक्ली स्वास्नीको विश्वासले जितेछ | स्वास्नीलाई कसरी म जस्तो उसलाई मन नपराउने , अनदेखा गर्ने लोग्नेमाथि विश्वास रह्यो ? उसले पटक्कै मानिनछ मुद्दा हाल्न | धन्न! मलाई मन नपरेकी स्वास्नी , तैंले ममाथि विश्वास गरिस् | नत्र अनाहक मैले जेलको हावा खान पुग्थें | अब म कहिलेकसो आँखामा माया टाँसेर हेर्छु स्वास्नीलाई |

कलिलोघामजस्तै छोरामाथि सुन्दर फूलजस्ती छोरीजन्माई| छोराछोरीको मायाले बाँध्यो , निर्दोष आँखाले बाँध्यो , कोमलस्पर्शले बाँध्यो , मोहका मुस्कानले बाँध्यो | आजभन्दा भोलि बलियो झन् बलियोसँग | मेरो मन ,हृदय, भावना कर्तव्य सबै बाँधियो र सम्पूर्णमा म बाँधीएं |

अनि निस्फिक्री ,निर्धक्क,बेपर्वाहछोडिदिएँ आफूलाई घर परिवार ,स्वास्नी र छोराछोरीको खुसीबीच| घरव्यवहार , कामधन्दामा चुर्लुम्म डुबाएं आफुलाई| सम्झाएँ बरालिने मन र मस्तिष्कलाई , छैटीले भाग्यमा लेखेको भोग्नैपर्छ | मेटेर मेटिन्न, छेकेर छेकिन्न |सुखमा पु-याउने ,दु:खमापु-याउने मनै रहेछ | जसरी सोच्यो उसरी चल्ने जीवन , जस्तो देख्यो उस्तै देखिने जीवन |

जीवनयात्रा कहिले दौडिदिन्छ, कहिले अझ तीव्रवेगमा बतासिन्छत कहिले सुस्तरी हिंडीदिन्छ| मझसङ्ग हुन्छु स्वास्नीको आवाजले " चिया लिनुस् | खाजा के बनाऊँ? वहाँहरूलाई त चिनिन नि मैले | "

कति आनन्द छ यसलाई ! मैले सुन्नुपर्ने मन विरक्तिने प्रश्न जो सुन्नुपर्दैन यसले | आज पनि यो भन्दा परै बसेर गरेको प्रश्न यसले सुनेकी भए पो !

किन विचलित बन्न पुग्छु क्षणभर नै भए पनि यस्ता प्रश्नबाट? जोमसँग वर्षौंदेखि छाया बनेर हिंडीरहेछ | समयको लामो अन्तरालमा आफ्नो भाग्यप्रति कुनै गुनासो पनि त रहेन मलाई अब | के यस्ता प्रश्नले अन्जानमै मभित्र लज्जाबोध उत्पन्न गराउँछ ? कि हीनताबोधले साम्राज्य फैलाउँछ ? कतिरोकूं म यस मनभित्र उर्लने संवेगका छालहरू , कति बगू मती लहरसँगलछारिंदै | यी प्रश्न आजमात्र होइन , हिजोमात्र होइन , जबसम्म हामी रहन्छौं सम्भवत: त्यतिबेलासम्म आइरहने छन्|

यी नितान्त पराया व्यक्तिले सोध्दाभन्दा कैयौं गुणा गह्रुङ्गो बन्छ त्यो पल , जब आफ्नो टिनएज पुगेको छोराको साथीले मलाई मेरी स्वास्नीको भतिजा देखिदिन्छ | अस्ति भरखरै छोरा सुनाउंदै थियो |

" बाबा! मेरो साथी सम्प्रेषणले तिम्रो ममीसँग बाईकमा हिंडेको तिम्रो ठूलोबाको छोरा हो ? भनेर सोध्दै थियो | मैले मेरो बाबा हो भनेको पत्याउँदै पत्याएन | अर्को साथीले भनेपछि मात्रै पत्यायो ! " सुनाउन त छोराले खुसी भएर सुनायो , तर आफ्नै स्वास्नीको भतिजो कहलिनुपर्दा मेरो मन ..... !!

" भन्नुस् न के खाजा बनाऊँ? " पुन: झस्कन्छु उसैको आवाजले |

" नमस्कार भाउजू ! चिया पियौं भइहाल्यो नि ! हामी लाग्छौँ | पछि कुनै दिन खाउँला नि ! " धन्नअगाडिबाट भनेकाले सुनी र भित्र पसी |

" सर! वहाँ तपाईकी श्रीमती ? " तीनजनामा एकजनाले रोक्न सकेनन् आफूलाई |

" किन अचम्म मान्नुभो सर ? यो समाजमा बूढो मान्छेको तरुणी स्वास्नी छैनन् र ? त्यस्तो सम्बन्ध सहजै पच्छ समाजमा | न कसैलेबूढो लोग्नेलाई धिक्कार्छ , न त तरुणीमाथि दया पोख्छ | सहज र पाच्य हुन्छ | तर आफूभन्दा अलि जेठी स्वास्नी छ भने प्रश्न ओइरिन्छ | तपाईंकी आमा हो ? काकी हो ? भाउजू हो वा दिदी हो ? के आफूभन्दा जेठी आइमाई जति सबै आमा , काकी, भाउजू,दिदीमात्र हुन्छन्? स्वास्नी हुन सक्तिन? कुन कानुनमा लेखेको छ ? पुरुषले आफूभन्दा जेठीसँग बिहे गर्न हुँदैन भनेर ? मैले त पढेको छैन | " म अलि उत्तेजित बन्छु |

" नरिसाउनुस्न सर! मेरो आशय तपाईंको मन दुखाउने थिएन नि | मात्र आफूभित्रको अचम्म पोखेको | " ऊकिन्चित अप्ठ्यारोमा प-यो|

" तपाईंको आशय जे भए पनि , मलाई यति थाहा छ | हाम्रो समाज आज पनि अग्रगामी सोचमा बाँच्न सकेको छैन | आज पनि समाजमा उठ्ने सोचहरुसङ्कुचित र प्रतिगामी नै रहेका छन्| मेरो घरसम्म आएर घर पवित्र पारिदिनु भयो धन्यवाद सर ! " म हात मिलाउन अगाडिबढाउँछु|

" माफीपाऊँ सर .... अन्जानमै आज .... !! " हात मिलाउंदै अधुरो कुरा छोडेर अघि बढ्छन् उनीहरु | म भित्र पसेर लुगा पट्याउँदै गरेकी स्वास्नी निहार्छु | मेरो मनभित्र सुसाइरहेको आँधीसँग बेखबर मैले यसरी निहार्दा दङ्ग पर्छे ऊ |

आँखामा नक्कले भाव र ओठमा अदाकारी मुस्कान सजाउँछे | यी दुवैको तिरले घाइते म गम्न पुग्छु" तँ मेरा निम्ति श्राप कि वरदान , बूढी !! "

बालग्राम चोक / इटहरी

र यो पनि पढ्नुहोस् :

https://www.nepalbit.com/article/132

                                            

 

 

 

 



 

Featured News

Advertisement