बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

कथा : रमेन्द्र कोइरालाको “छोप गे बुढिया देख्तो !”



05:19 शुक्रबार ३० , जेष्ठ २०७७
  • रमेन्द्र कोइराला

" बौवा ! तलब एलो ?” हरिशङ्करले छोरालाई
सोध्यो ।
“नै, अख्नि निकासै नै भेल्छे !” छोरा रामशङ्करले
जवाफ दियो ।
"दसै“ आउन आँटेको थियो । लत्ता–कपडा, हाँस, बोका तथा अन्य समानका लागि खर्चको हाहाकार थियो। खेतीले भ्याउन मुस्किल भएर रामशङ्करले मास्टरीमा नोकरी गर्न थालेको थियो। तर मास्टरे जागिर न हो। तलब नै समयमा नपाउने। गर्मीको छुट्टी भएर स्कुल खुलिसकेको थियो। भदौ बित्यो, असोज बित्न आँट्यो, घटस्थापना आउन अब दस दिन मात्र बाँकी थियो । तर तलब पाउने छाँट नै थिएन । शिक्षा कार्यालयले निकासा दिए न स्कुलले तलब खुवाउँछ । तर यो कुरा बरा बुढाबुढीलाई के थाहा ? उनीहरुलाई त कहिले छोराले तलब ल्याउला र घर खर्च गरौंला भन्ने थियो। तसर्थ दुईतीन दिन बिराएर उनीहरु तलबको बारेमा छोरालाई सोधिरहन्थे। छोरालाई चाहिँ यो किच्किच्ले झर्कोलाग्न थालिसकेको थियो तसर्थ दुईदिनपछि फेरि बाउले सोध्यो। रामशङ्करले भन्यो – “कहलिए त निकासा नै भेल्छे ! कतेक किच्किच् करै छिए !”
एवम् प्रकारले असोजको दोस्रो हप्ता पनि सकियो र तेस्रो हप्ता पनि सुरू भयो । बाबुआमाको आशाले हरेश खान थाल्यो । छोराचाहिँ बाउआमाको छेउ नै पर्न छोड्यो ।
एकदिन । रामशङ्करको गोजी ठूलो थियो । ऊ सरासर घरको आँगनमा पुग्यो । बुढाबुढी उसकै इन्तजारमा ओस्रामा बसिरहेका थिए । देख्नैबित्तिकै बाउले भनिहाल्यो – “कि, ऐले ?”
“ले !” रामशङ्करले पनि झोक्किएर एउटा गोजीबाट एक मुठी नोट निकालेर बुढाबुढीको अगाडि छरिदियो । बुढाबुढी छक्क र खुसी एकै साथ भए । रामशङ्करले रीसले तलबलाई बीस–बीस रु. मा खुजुरा पारेको थियो ।
“ले फेर !” भनेर अर्को गोजीबाट अर्को मुठी नोट फेरि छरिदियो। यस्तैगरी अझै दुईवटा गोजीबाट मुठीका मुठी नोट निकालेर छरिदियो। बुढाबुढी अत्तालिएर नोट बटुल्न थाले ।
ठीक त्यसैबखत रामशङ्करको साथी “रामशङ्कर ! रे रामशङ्कर ! भन्दै आँगनमा प्रवेश गर्न आँट्यो ।
बूढाको पालो हत्तपत्त छेउकै एउटा ढाकी बुढियालाई दिँदै भन्यो “छोप गे बुढिया देख्तो ।”

.........

Featured News

Advertisement