लीला सिलवाल : तीन कविता
- लीला सिलवाल
(१) भोका पेटहरू
युध्द हुँदै छ अहिले
विश्वभरी
मान्छेहरूसँग
विज्ञानसँग
प्रयोगशालामा बस्ने
डाक्टरहरूसँग
प्रकृतिलाई बशमा राख्ने
शक्तिहरूसँग
भोका पेटहरूसँग
निरन्तर निरन्तर निरन्तर ।
तर
के सक्छ
कोरोनाले मान्छेहरूसँग
युध्द लड्न
सीमानामा बसेर
खेतमा सुतेर
मजदुरको हातमुख बन्द गरेर
क्वारेन्टाइनमा सरापेर
भोका पेटहरू
लकडाउन होस् कि
मुख डाउन
लखेट्दै छन्
कोरोनालाई
निरन्तर निरन्तर निरन्तर ।
कत्ति खानसक्छस्
मानिसहरूलाई
खाएर त हेर्
हामी त्यसै कहाँ छोड्छाैँ , र
तँलाई
अाज भोका पेटहरू
गाउँ गाउँमा छन्
शहर शहरमा छन्
देश देशमा छन्
तँलाई नै खान
तम्तयार छन्
मानब वस्ती पवित्र पार्दै
बुध्द शान्ति छर्छाैँ
अानन्दमय विश्व बनाउँछाैँ
मानव बस्ती सजाउँछाैँ
निरन्त निरन्तर निरन्तर ।
######
(२) छोरीलाई चिठी
लेख्छु चिठी छोरीलाई
देशविदेश डुल्ने मेरी छोरीलाई
खासै के छ र खबर यहाँ
जीवन जीएको छु
साँझ विहान अमृतरस
अाँसु पिएको छु
खासै वेदना के पो छ र , छोरी यहाँ !
घाँस काटेँ , गाँस काटेँ
कहर काटेँ
खोला , खहरे , देउराली ,
सैलुङ समस्त प्रकृतिसँग
जीवन साटेँ
खासै वेदना के पो छ र , छोरी यहाँ !
सिस्नु , फापर , कागुनो ,
गहत , मकै , कोदोले
जीवन साटेँ
वसन्तसँगै फुल्न
झल्लरीमल्लरी वश्त्र भएपनि
लेक बेँसी नाचे
मस्तले हाँसेँ
खासै वेदना के पो छ र , छोरी यहाँ !
तैपनि
पटक्कै , रुने मन छैन
अाँखाले अाँसु झा-यो
सागर समुन्द्र बनायो
त्यही सागरमा नुहाउँदै
जिन्दगी नचाउँदै छु
खासै वेदना के पो छ र , छोरी यहाँ !
लिङ्गभेदी समाज
स्वार्थी मनहरू
सृष्टिका माता छोरी जन्मदा
मुख बङ्ग्याउनेहरूले रेटे
परिवारले रेट्यो
समाजले रेट्यो
यस्तै यस्तै संकटले रेटिरहन्छ मलाई
खासै वेदना के पो छ र , छोरी यहाँ !
विरङ्गना छोरीहरूले
संस्कार बोक्छन् , देश बोक्छन् ,
सृष्टिभार बोक्छन्
जन्मघर र कर्मघरका मातापिताको
वेदना बोक्छन् भन्ने कुरा विर्से
खासै वेदना के पो छ र , छोरी यहाँ !
चुम्नू गगन , पुग्नू सगरमाथा
नाच्नू संसार ,
नखन्नू वेदनाको पोखरी
सम्झनू देशको माटो
मनको धनले मुलुक च्याउनू
नडराउनू महामारीमा
नसुन्नू मानिस मरेको कथा र व्यथा
खासै वेदना के छ र , छोरी यहाँ !
######
(३) फर्केर कहिले आउँछौ घर
बेच्यौ गैरी खेत
शेरा खेत
लइनो भैंसी
बग्रेल्ती सपनाहरू तुन्दै
मुगलान झर्यौ
अमेरिका , जापान , इटाली ,
अष्ट्रेलिया , बेलायत भर्यौ
असरल्ल कथा र व्यथा विर्सेर
लौ न भन
फर्केर कहिले आउँछौ घर ।
रुवाएर नेपाली माटो
कुवाएर परिवारको मन
गलाएर उर्लदो तन
चाडपर्व जन्ती(मलामी
जे आएपनि
सधैँ हुने परपर
लौ न भन
फर्केर कहिले आउने घर ।
गोड्यौ देश पराईको
विश्र।म नगरी रति
घोटिदा कलकारखानामा
जीवन भएपनि खति
वचन त्यहाँ कठोर छन्
मान्नुपर्छ खरखर
लौ न भन
फर्केर कहिले आउँछौ घर ।
बल , बुध्दि ,तन चढायौ
देश अरुकै भव्य सजायौ
संसार गल्यो कोरोनाले
गिज्याउँछ तिमीलाई
लाशको थुप्रा ( थुप्राले
तैपनि
पसिना पोख्छौ तरतर
लौ न भन
फर्केर कहिले आउँछौ घर ।
हामी पनि त यहाँ
खेत खन्छौँ
भारी खेप्छौँ
गाउँमै बस्छौँ
तन , मन , वस्त्र
सुकिलो हुने दिन आएकै छैन
तापनि
नेपाल बोक्छौँ
तिम्रै आशमा बस्छौँ
देस हाम्रो बगैँचा हो
हिमाली हावा चल्छ यहाँ सरसर
लौ न भन
फर्केर कहिले आउँछौ घर
########






