श्रीले विस्थापित गरेको अभागी : मेरो उप-नामको कथा
- श्री भवानी नेपाल
"सानो छ खेत, सानो छ बारी, सानै छ जहान,
नगरी काम पुग्दैन खान साँझ र बिहान"
"किसानको रहर" महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविता जब मैले कक्षा ५ मा पढेँ, तब देखि नै मलाई कविता लेख्ने हुटहुटी चल्न थाल्यो । साहित्यप्रति रुचि बढ्न थाल्यो र २०५२ सालमा इटहरीमा अवस्थित हाम्रो होटल "न्यु भवानी कोल्ड सेन्टर"मा सुनसरीको धरानबाट दैनिक प्रकाशित हुने "ब्लाष्ट टाईम्स" (२०५१ सालबाट शुभारम्भ भएको दैनिक पत्रिका) ल्याइदिनुहुने बजार प्रतिनिधि दाजुलाई(वहाँको नाम स्मरणमा छैन) "मैले कविता लेखेको छु दाजु,पत्रिकामा प्रकाशित गर्न मिल्छ?" भनेर उत्सुकताका साथ "मेरो सानो घर" शिर्षकको कविता दिएँ र प्रकाशित भयो पनि। त्यो दिन,त्यो पल र त्यो प्रकाशित कविताले नै मेरो साहित्यिक यात्राको शुभारम्भ गरेको थियो । तर उक्त बेलासम्म मेरो कुनै पनि उपनाम थिएन । तथापि भवानी प्रसाद नेपालको "प्रसाद" भगवानको नाम चडाइदिएँ र नाम रहन गयो केवल, भवानी नेपाल ।
विद्यालय जीवनमा साथीहरुले "कवि" भनेर जिस्क्याइरहन्थेँ । अझै त्यो स्मृति मानसपटलमा ताजै छ । कति समकालीन साथीहरुले त "भवानी भिक्षु" भन्ने गरेता पनि त्यसबेला सम्म कुनै उपनाम राखेको थिइनँ । एस.एल.सि परिक्षा पश्चात प्रेमिल माहोल बन्दै गयो र तत्कालीन प्रेमिका(हालको जीवनसाथी/पत्नी) सगँको प्रेमिल पलहरुमा लेखेका हरेक रचनाहरुमा परिवर्तित नाम दिन थालेँ "बिकी नेपाल" जसको धेरै छापहरु/हस्ताक्षर/खतहरु अहिले पनि पुराना डायरीहरूमा संग्रह गरेको छु ।
जानी नजानी धेरै रचनाहरु क्रमिकरुपले रच्दै गएँ, "कविता" भनेर धेरै लेखेँ अझैँसम्म थाह छैन ति लेखिएका रचनाहरु कविता हुन् वा हैनन् ? कविताको नियम भित्र पर्यो वा परेनन् तर भावनात्मक रुपमा ति सबै "भवानीको भावना" भने पक्कै थिएँ र छन् ।
ईटहरी-१२ खनार निवासी पत्रकार दाजु सन्तोष यादव (नेपाल टेलिभिजनको सुनसरी सम्वाददाता) ले शुभारम्भ गर्नु भएको साप्ताहिक पत्रिका "न्युज डट कम" मा क्रमिक रुपमा कविताहरु पठाउन थालेँ र वहाँ लगायत टिमले हौसला दिँदै प्रकाशित गर्दै जानु भयो । मेरा कविता जस्ता नदेखिने कविताहरुमा त्यही बेला देखि उपनाम "अभागी" राख्न थालेँ .....भवानी नेपाल "अभागी"।
भ्याए र भेटे जति हरेक सर्जकहरुको लेख/रचनाहरु पढ्ने गर्थेँ । मनन् गर्ने गर्थेँ र मनमनै फलाक्ने गर्थेँ, "अहो! मलाई यस्तो लेख्न किन नआएको होला? सरल शब्दहरु उनेर यस्तो अनुपम कविताको माला उन्न सकिने रहेछ नि, मलाई किन उन्न नआएको होला यस्तो अनुपम कविताको माला? मसँग किन त्यो ज्ञानको कमि भएको होला? म साहित्यिक अभागी नै रहेछु नि।"
म त साहित्यिक "अभागी".......नै रहेछु नि।
यही चिन्तन पश्चात मेरो नामको पछाडि उपनाम थपिएको थियो "अभागी" तर उक्त उपनाम धेरै समयसम्म जीवित रहन सकेन ।
मलाई चिन्नु हुने साथीभाइ,आफन्त र आफ्नो ठाउँ-गाउँमा, यसले कविता लेख्छ, यो कवि हो भनेर चिन्न थालिसकेका थिएँ । भलै वहाँहरुलाई मैले लेखेका भावनाहरु कविता हुन् वा हैनन् भन्ने ज्ञान थिएन तर यो कवि हो चाँही भन्ने गरेको मलाई याद छ ।
पत्रिका र सामाजिक सञ्जाल मार्फत प्रकाशित रचनाहरुको रचनाकार "अभागी" भएकै कारण गाउँका केहि प्रतिष्ठित व्यक्तिहरुले मेरो पत्नीलाई "ओई अभागिनी" र छोराहरुलाई, के छ हौं "अभागीको छोरा?" भनेको धेरै पटक म स्वदेशमै छँदा आफैँले सुनेँ, कयौंपटक मेरी जीवनसाथीलाई वहाँहरुले सम्बोधन गर्ने उक्त शब्द "अभागिनी" ले मन अमिलो बनाएको कुरा उनले म परदेश (दुबई) आईसके पश्चात पनि दुखेसो पोखिरहँदा/भनिरहँदा र उक्त उपनाम हटाउन उनले गरेको आग्रहलाई नकार्न सकिनँ, अन्ततः "अभागी" उपनामलाई सदाको लागि बिदा गर्ने निर्णय गरेँ र अहिले नामको अगाडि "श्री" लेख्न थालेको छु/हुँ, "श्री भवानी नेपाल"।
"श्री" अर्थात पुरुषहरुका नाम अगाडि लगाइने शुभ तथा आदरसुचक शब्द,
कुनै महिमा वा गौरवको चिन्ह, ऐश्वर्य।।।






