बिहेमा पन्चेबाजाको मंङ्गल धुन : जीवनको दर्शन
- शिशिर दूरबस्ति
बाजाहरू धुनचक्रै बजेको आवाज कानमा मेरो परिसकेको थियो। हो म गाउले, बाजाको ताल मेरो रगरगमा बसेको छ। ढोलकीले खुट्टाहरू चिमोट्छ मेरो अनि सनाईले छातिमा स्पर्श गर्थ्यो गर्छ। ट्यम्का झालीले कम्मरमा समाउँथ्यो,समाउँछन। कर्नाल र ध्वाकुरे बाजाले बिछट्टै संग अंङ्गालो हाल्छन,हाल्थे।
तपाईले पन्चे बाजा सुन्नु भएको होला। नौमती बाजा पनि सुन्नु भएको होला। त्यहाँ भन्दा बढी पनि बाजा हुन्छन् र भन्ने कतिलाई लाग्ला। हुन्छन् हुँदारहेछन्।
अठार बाजा कोही कोही पुराना मेरा दौतरिले सुने होलान कि थाहै नपाई झै मलाई लाग्छ अचेल।
त्यसदिन म चिटिक्क परि कसैको बिहेमा जन्ती हुन जान लागेको थिएँ। तर मलाई जन्ती जान लागेको देखेर कोही बल्ढ्याङ्रे आँखाले हेर्ने पनि थिए त्यस दिन मलाई।
किनकी म ……… जादैथिए साथीको बिहेमा
र साथी थियो ……
हाम्रा गाउँको बालीघरे दमाईको छोरो कान्छो।
एउटा बाहुनको छोरो त्यो पनि बालीघरे दमाइको छोराको बिहेमा जान लागेको थाहा पाए पछि त्यो बेलाको समाजले बल्ढ्याङ्ग्रे आँखा बनाउनु अशिक्षा थियो गरिबी थियो समाजको संकृणता थियो जस्तो मलाई अहिले आएर लाग्छ।
जहाँ अशिक्षा हुन्छ त्यहाँ कुरितिले संकृणताले घर गर्नु नौलो होइन गर्छ। त्यसैले लाग्छ कहाँ त्यी ढुङ्गे युगका मान्छेहरू नाङ्गै हिंडेका हुन र? चेतनाको कमिले बौद्धिकताको कमिले न हो।
म बाजाको शौकिन मान्छे त्यही माथी अठार बाजा मात्रै पनि होईन त्यसको दुगुना छात्तिस बाजा बज्ने त्यो बिहेमा जन्ती बन्न पाउने मेरो जीवनकै अनुपम दिन लागेको थियो भयो।
त्यसदिन म डल्ले दाइको यानिकी बालिघरे डल्लेदाइको आगनमा पुग्दा दिउँसोको बाह्र जति बजेको हुँदोहो।
दुलाह सिंगार पटार पार्न आएका डल्लेका छोरिचेली जसरी भए पनि गहनाले सजिएका थिए।
धन्न मान्छेको इज्ज्यत राख्नैका खातिर जलप लगाएका डुप्लिकेट गहना पसल छन र त थेगेको छ कतिको इज्जत यो समाजमा । त्यसो नहुँदो हो त मेरै खसिनीले रानिहार लाएर फोटो खिच्ने रहर कहाँ पुरा गर्थी र यही जुनिमा त मेरो यस्तै कमाईले खोई?
उसो त त्यो बिहेमा डल्लेको छोरो जेठोले पुरै गाउलाई सम्झेको हो सुपारी बाँडेको हो।जन्ती बन्न अनुरोध गरेकै हो त्यत्ती आँट उसले गर्नुले नि मलाई ऊ देखेर त्यो बेला लागेको थ्यो ….. डल्लेको जेठो छोरो समाज परिवर्तनको लडाईको एउटा कर्मठ योद्धा हो। त्यसैले त म उसको कला कसौल हेर्न उसको युद्ध मैले मेरो नि युद्ध मानेर सहभागी भएको,हुने निर्णय गरेको थिएँ। त्यो पनि मिठो कल्पनाको स्वादले ओठमा हाँसो लेप्दै खुशीको बिम्ब भर्दै।
त्यसदिन डल्लेदाइको त्यो आँगन नटेक्दै मलाई तिनेरूको घर पुग्ने डगरमै बाजाको धुन सुनेर नाँचुँ नाँचुँ भा थियो । सिंगारे बाख्राको टन्न दुध चुसेर उफ्रने पाठो मुने उफ्रेको जस्तो मेरो मन बाजाको ताल सुन्दै उफ्रेको पनि थियो मेरो मन त्योदिन त्यतिबेला भित्र भित्रै ..…. !!!
हजुरबा बजाउने मामा बजाउने दाई बजाउने साला जेठान भतिज नाती सबै बजाउने क्यै न क्यै बाजा आहा कस्तो रमाइलो । त्यती मात्र हो र नारीलाई पनि उनिहरूले इज्जत दिएका हुन समान सहभागी बनाएका हुन जस्तो लाग्यो । दमाहा,झ्याली बजाउने त्यो दिन डल्लेका बुहारी अमाजु फुपुहरू देखेर लाग्यो मलाई।
बाहुनहरूलाइ बिहेमा बोलाएर घर्तिहरू मार्फत चमेना ख्वाउन सक्ने हैसियत डल्लेको छोरो जेठाले दिल्लीमा जुत्ता सिएर बनाएको हो।
मान्छे सफल बन्न कर्म जे गरेपनि हुन्छ भन्ने मलाई त्यो दिन बाट त्यही पल बाट लाग्यो,लागेको हो।
त्यो बेला बिहेमा दुलाल चढ्ने राँगागाडानै हुन्थे। चिटिक्क सजाएको राँगागाडा बिहेको लागी बनाइएको गेट अघि थियो। घरका सबै सबै सबै खुशी ……. आफन्त सबै खुशी हुने एउटा त्यही बिहेको दिन त हो जस्तो लाग्छ मलाई अचेल पनि।
दुलाह अन्माउने बेला भो। कान्छाले आमाको हात बाट दहि खायो ….. म नाँच्दै थिए बाजाको ताल फेरियो।
मंगल धुन बजाउन थाले ।
अन्माउने बेलाको बाजाको धुनमा भिन्नैखाले दर्शन छ जस्तो लाग्छ मलाई।किनकी त्यस धुनमा पिडा हुन्छ,त्यस धुनमा भोली बुहारीबाट हुनसक्ने अपहेलनाको बिम्ब हुन्छ रुप हुन्छ,र जिन्दगी को कथा हुन्छ।
र त्यही मंगल धुन केटीको घरमा बिधाईमा बज्दा झन कारुणीक लाग्छ मलाई,त्यही बाजाको कारुणीक धुन ताल सुनेर पनि छोरी बिदा गर्ने माईतिहरू रोएका हुन कि जस्तो पनि लाग्छ मलाई । बिधाईको धुनमा त नाच्ने मान्छेको आँखा पनि रसिला देख्छु म धेरै जसो।
दुलाहा अन्मियो …..
बाजा झन जोर जोरले बजे कुनै साहु माहजनको भन्दा कम्ती थिएन दोब्बर तेब्बर बढी थियो झन ठूलो स्वरमा ढोलकी करायो,झन ठूलो स्वरमा नरसिंहा त्यस्तै अरू अरू सबै बाज। मुक्तिको नारा घन्केकै राम्रो त हो मैले सोचें। कतिलाई डाहले दुखायो पनि होला त्यो दिंउँसो ति उफ्री उफ्री बजेको ढोलकीले कटक्क मन काट्यो होला पनि कतिको। या नहोला पनि त्यस्तो र हुन सक्छ मेरो कल्पना मात्रै थियो कि न?
म नाँचें ….. नाँचिरहे …. गित झिक्दै आफै भाकाहाल्दै ….नाच्नुको मज्जा मलाई थाहा छ …..मेरा अरू बाहुने एक दुई साथीहरू नि थिए मलाई रौसाउने …. ति नाचेनन किनकी नाच्ने गरेर ति खुशी हुनै सकेनन् सायद ।
बिचबिचमा गोरस खानाले लय बिग्रे पनि दिल खोलेर रमाइलो गर्दै दुलहीको आँगनमा पुगियो। सित्तलपुर माडिको घानहुने पकेट क्षेत्रमध्यको एक हो। आर्मीको ड्रेस जस्तो कपडा लगाएको केटिको बाउ पनि झडी लाग्यो मलाई। जन्ती पर्शे पछिको उसको व्यबहारले मुस्कानले ऊ पनि जातिय छुवाछुत भन्दा नि होच्याउने संस्कारको खिलाफ फायर खोल्ने सेन्ट्रीमा बसेको सिपाही जस्तो।
बिहे रातिको भयो ,या भनौ आधा दिन आधा रातीको। बाजा बिसाई मारी मारी घन्के घन्की रहे। त्यो गाउँका चेलीबेटी नि खप्पिस हुन बाजामा नाच्न गित गाउन। त्यहाँ पनि डल्लेको जेठो छोराले झै दुलही पट्टिकाले बाहुन क्षेत्रीको लागी अलग भान्छ ब्यबस्था गरेको देखेर
त्यती धेरै क्रान्तिकारी ,मैले खोजेको क्रान्तिकारी मैले खोजेको समाज परिवर्तनको बटालिएन बृगेडियर ति भएनन । तर एक कमाण्डो भने भए है।
त्यस्तो धुन्चक्र गरेर ल्याएकी डल्लेदाईकी कान्छो छोराकी बुहारी बसिन रे छोडी रे भन्ने खवरले मलाई बिस्मात बनायो। र घोतलिन बाध्य बनायो धेरै कुरामा …….सम्पती र मायामा,संस्कार र दर्शनमा,दुख र पीडामा, घोतलीने बनाई रह्यो बिहेमा बज्ने मंगल धुनमा। …… अर्कालाई दुख्ने गरेर हास्नु को प्रतिफल त होईन जस्तो पनि लाग्यो यार किन किन!!! बिभेद भगवानले पनि गर्छन् कि क्या हो जस्तो पनि लाग्यो यार किन किन!!
मैले त्यो ठाउँ छोडेको बिसौं बर्ष भयो तर मेरो मनले डल्लेदाइले बजाउने सनाईको धुनलाई छोडेन …..
त्यसैले लाग्छ टाढीनु भनेको झन नजिक हुनु अनि झन नजिक हुन र यति नजिक हुनु हो । मनमै बस्ने माया या बस्नु जति नजिक आखिर के हुन्छ र ??
######
सात लम्बर चितौन
हाल यूएई






