शनिबार २६, बैशाख २०८३ Sat,09 May 2026

सर्वाधिकार सुरक्षित

साँचो प्रेम, धोका र आत्महत्याको मनोविज्ञान



13:22 आईतवार ४ , श्रावण २०७७
  • सजीवन प्रधान

केही समय अगाडी केही अप्रिय घटनाहरु भए मन मस्तिष्क नै हल्लाईदिने खाले ।
केही भाईबहिनीहरु, जसले जीवन के हो भनेर भर्खरै बुझ्ने प्रयास गर्दै थिए, जीवनरूपी सुन्दर बगैँचामा भर्खरै सैर गर्न सुरु गर्दै थिए । उक्त बगैँचाका सुन्दर पुष्पहरुद्वारा सुगन्धित हुने क्रम भर्खरै शुरु भएको थियो, वहाँहरु आँफैले आफ्नो जीवन समाप्त गर्नुभयो ।
सही या गलत भयो यसै भन्न सक्दिन् । तर त्यो चिज नहुनु पर्ने थियो, भइदियो ।
एउटा भेल आयो, सबैथोक बगायो ।
धेरैले निक्र्योल निकाले स्वमृत्युको कारण “प्रेममा धोका”।
वहाँहरुमा इतिहास रच्ने सामथ्र्य थियो होला । तर वहाँहरु, दुर्भाग्यबस फगत एक सस्तो समाचार बनीदिनु भयो । वहाँहरुको मृत्युलाई केही यूटयुब च्यानलहरुले भरमार सेयर गरिदिए । केही यूटयुब च्यानलहरु मालामाल पनि भए । धेरैले अतिरञ्ति गर्दै उक्त घटना संसारलाई देखाए अनी भ्यूहरु बटुले ।
धेरैले आँसु झारे, धेरैले बिलौना गरे । अर्कोतर्फ, केहीले वहाँहरुलाई कायरताको विल्ला भिराइदिए ।
धेरै दिन बित्यो । ति घटनालाई ओझेलमा पार्ने अर्को समाचार बजारमा आयो । त्यो समाचारले फेरि बजार ततायो ।
वहाँहरुको स्कुलले एक जेहनदार विद्यार्थी गुमायो होला । मित्रहरुले एक असल मित्र गुमाए होलान् । तर वहाँहरुको परिवारले सर्वस्व गुमायो । परिवारको सुन्दर संसार उजाड भयो ।
अझ भनौँ एउटा ब्रह्माण्ड नष्ट भयो ।
स्कुलले अर्को जेहनदार विद्यार्थी पाइहाल्छ । मित्रहरुले अर्को एक असल मित्र फेरि भेटीहाल्छन् ।
तर ती परिवारले फेरि अर्को सुन्दर संसार कसरी बनाउनु ? फेरि अर्को ब्रह्माण्ड कसरी सृजना गर्नु ?
परिवारको लागि वहाँहरुको जीवन एउटा घाऊ बन्यो, आफुले सधैँ माया गर्ने मान्छेले दिएको सधैँ चर्याइ रहने घाऊ ।
खैर यो कुरालाई केही क्षणको लागि यही थाती राखेर साँचो प्रेम, धोका र धोकाले निम्त्याएको आत्महत्या पछाडिको मनोबिज्ञान के हो ?
आत्महत्या किन हुन्छ ?
आत्महत्याको बारेमा प्रख्यात अमेरिकी लेखक डेभिड फोस्टर वालेसले भन्नुभएको छ –“तथाकथित मनोवैज्ञानिक रूपमा निराश व्यक्ति जसले आफूलाई समाप्त गर्छन । उक्त ब्यक्तिले त्यो कार्य जीवनको जोड घटाऊहरु नमिलेकै कारणले त्यसो गरेका हुँदैनन । आत्महत्या त्यो अदृश्य असहनीय पिडाको परीणाम हो, जुन सहन कठिन हुन्छ । फलस्वरूप त्यो ब्यक्तिले आत्मदाहलाई आँफुले भोगिरहेको पिडा भन्दा सरल ,सहज अनि कम पिडादायी ठान्दछ र त्यसलाई अङ्गाल्न पुग्दछ । मानौं कुनै ब्यक्ति आगोले जलिरहेको अग्लो कोठामा अचानक फस्न पुग्दछ । उ हतास हुन्छ । यताउता दौडिन थाल्छ । उसले अचानक एउटा खुल्ला झ्याल देख्छ र त्यही खुल्ला झ्याललाई मुक्तीको द्वार सम्झन्छ र त्यहाबाट हामफाल्छ । त्यो व्यक्तिलाई ‘म यहाँबाट हामफाल्दा बाँच्दिन’ भन्ने कुराको हेक्का तपाईं हामी भन्दा कम भने हुँदै हुँदैन । यद्यपि, आगोले जलेर मर्नुभन्दा हामफालेर मर्नु कम पिडादायी सम्झेर उसले यो निर्णय लिएको हुन्छ ।”
माथि उल्लेखित कुराले हामीलाई अत्महत्या गर्नेहरुको मनोबिज्ञानको बारेमा साधारण जानकारी प्रदान गर्छ । यधपी, आत्महत्या यतीकुरामा मात्र सिमित रहदैन ।
यसका अन्य विविध कारणहरु हुन सक्छन् ।
आत्महत्या र प्रेम ।
भनिन्छ, प्रेममा समर्पण हुन्छ । त्याग हुन्छ अनि निश्चित रूपमा “केही लगानीहरु पनि हुन्छन । समर्पण ,त्यागसम्म ठिकै होला । तर जब लगानीको कुरो आउछ त्यहाँ प्रतिफल , जोड घटाऊको कुरो नचाहँदा ,नचाहँदै निस्कीहाल्छ । प्रतिफल खोज्नु मानविय स्वभाव हो ।
धेरै हद्सम्म प्रेमी ,प्रेमिकाहरुले आँफुलाई मनपर्ने ,आफ्नो चाहना अनुरुपकै प्रतिफलको आस गर्दछन ।
प्रतिफल खोज्ने र अन्य प्राय सबैप्रकारका हाम्रा दैनिक कृया प्रतिकृयाहरुलाई धेरै हद्सम्म निम्न चार कुराहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ ।
१ ) आनुवंशिक प्रभाव

भनिन्छ हामीमा पुर्खाहरुको केही न केही अंश बिधमान रहन्छ । जसलाई हामी वंशानुगत गुण भन्छौ । हाम्रा पुर्खाहरु झगडालु स्वभावका भए त्यसको केही न केही अंश हामीमा देखिनु स्वभाविक हुनजान्छ ।
सबै क्रिया ,प्रतिक्रिया जे जस्तो हामी दैनिक जीवनमा देखाउछौ, ती सबै कुराहरु ज्यादातर रूपमा वंशानुगत गुणबाटै अभीप्रेरित भएका हुन्छन ।
अमेरिकी लेखक जोन लिथगो भन्नुहुन्छ – “हामी सबै वंशानुगत जीनहरू र वंशानुगत संवेदनाहरूको साथ हुर्कन्छौं र तिनीहरू धेरै–धेरै गहिरो रूपमा हामी भित्र समाहित भएका हुन्छन ।”
२) मनोबिज्ञान निर्माण
हामीलाई कसरी हुर्काइन्छ ,के सिकाइन्छ, के पढाइन्छ त्यही कुराले हाम्रो सोच बन्दछ । बिस्तारै त्यो सोच बिलिफ सिस्टममा परीणत हुन्छ । जब कुनै खराब चिज कसैको बिलिफ सिस्टम बनिदिन्छ , त्यसले उसको सम्पूर्ण जीवन नष्ट गरिदिन्छ ।
३) वातावरणीय प्रभाव
भनिन्छ जब आँफु बाँचेको समाज सरल हुन्छ, हाम्रो जीवन त्यसै सरल भएर जान्छ । अर्कोतर्फ , जब समाज जटिल अनि भड्काउ बन्दछ, हाम्रो जीवन पनि आँफै जटिल बनिदिन्छ ,भडकिलो बनिदिन्छ । जसले समाजको यो परिवर्तन स्विकार गर्दैन, समाजले त्यो ब्यक्तिलाई नपत्याउँदो पाराले बहिष्कार गर्न सुरु गर्छ । मान्छेले गरोस त के गरोस ? अन्तत उसले समाजको यो जटिलता ,भड्काउ समक्ष आत्मसमर्पण गर्छ र समाजका नियमहरु स्विकार गर्छ ।
४) साथीहरूको समूह र त्यसबाट सिर्जित दवाब
अङ्ग्रेजीमा एउटा भनाइ प्रसिद्ध छ –“बर्ड्स अफ अ फिदर फ्लक टुगेदर ।”
अर्थात हामी हाम्रा साथीभाईहरुले जसो गर्यो त्यसै गर्न खोज्छौ । साथीहरूको समूह र त्यसबाट सिर्जित दवाबलाई अस्विकार गर्ने सामर्थ हामीमा हुँदैन ।
तपाईं पत्याउनुस या नपत्याउनुस, मानवजीवनका सम्पूर्ण कार्यहरु यिनै चारकुराबाट दिशानिर्देश भएका हुन्छन । यी चारकुराहरुको फन्दाबाट बाहिर निस्कन चाहिने साहस साधारण हुँदैन ।
मानिसले त्यो असाधारण साहस कहाँबाट ल्याओस ?
आखिर मानिस पनि त समाजकै उत्पादन न हो । उसलाई पहिले देखि नै नराम्रो सँग “ब्रेनवासिङ” भएको हुन्छ । तसर्थ, उसले जे देख्छ त्यसैलाई सही ठान्दछ, किनकी सबैले त्यसै गरेका हुन्छन ।
समस्याको सुरुवात...
धेरै समय पहिले देखि नै एउटा वाक्यांश “लभ एट फर्स्ट साईट” अर्थात “पहिलो नजरमै माया बस्नु” बज वर्ड्सका रूपमा स्थापित भएकोछ ।
तर वास्तवमा “लभ एट फर्स्ट साईट” भन्ने हुँदै हुँदैन, “इन्फ्याचुएसन एट फर्स्ट साईट” भने हुन्छ ।
तँपाईले पहिलोपल्ट कसैलाई भेट्नुहुन्छ । त्यो व्यक्तिको बोली, अनुहार, हँसाई तपाईंलाई मनपर्न सक्छ ।
अन्तत, त्यो व्यक्तिलाई अङ्गालोमा बाध्न मन लाग्न सक्छ । आफ्नो बनाउने चाहना जाग्न सक्छ । धेरैले यसैलाई “प्रेम” भनेर व्याख्या गरिदिन्छन । वास्तवमा यी कुराहरु फगत आकर्षण मात्र हुन् ।
यस किसिमको आकर्षणको आयु लामो हुँदैन, किनकी आकर्षण भन्ने कुरो भौतिक शरीर भन्दा माथि उठ्नै सक्दैन ।आकर्षणले एकपछि अर्को र अर्कोपछि अर्को शरीरको खोजी गरिनै रहन्छ ।
अर्कोतर्फ, “प्रेम” आत्मिक, अलौकिक अनि अध्यात्मिक भएको कारणले यसले शरीर भन्दा माथि उठेर सोच्ने गर्छ ।
“म प्रेममा परेको हुँ कि आकर्षणमा परेकोहुँ ?” भनेर आफैँलाई प्रश्नगर्न सकियो भनेमात्र त्यसले निम्त्याउने दुर्घटनाबाट बच्न सकिन्छ ।
आकर्षण र प्रेम बिचको फरक कसरी छुट्याउने ?
यो एकदमै कठिन कार्य हो । यद्यपि यसलाई छुट्याउन भने सकिन्छ ।
हिन्दी भाषामा दुई शब्दहरू छन् – भट्काव र ठहराव ।
इन्फ्याचुएसन अर्थात आकर्षणले तपाईंलाई भट्कावतिर लैजान्छ । प्रेमले ठहराव प्रदान गर्छ । प्रेमले तपाईंको जीवनमा स्थिरताको शुभारम्भ गरिदिन्छ ।

साँचो प्रेमको नाउँमा गरिने लगानीहरु
१) आर्थिक लगानी
अहिलेको समयमा जब कोही प्रेममा पर्छ, केही आर्थिक लगानीहरु सुरु हुन्छ ।
ब्वाइफ्रेन्डले गलफ्रेन्डलाई, गलफ्रेन्डले ब्वाइफ्रेन्डलाई बिभिन्न बाहनामा महँगो बस्तुहरु किनिदिने चलन चलेको छ।
यो फेज सम्म सम्बन्ध मित्रताकै स्तरमा रहन्छ। यही अवस्था केहीसमय चलेर सम्बन्ध टुटेमा आर्थिक नोक्सानी बाहेक त्यती ठुलो आघात नहोला ।
२) भावनात्मक लगानी
यसलाई दोस्रो फेजको रूपमा लिन सकिन्छ, किनकी भावनात्मक रूपमा खुल्नेकाम कसैमाथी पूर्णरूपमा विश्वाश गरिसकेपछि मात्र गरिन्छ । यो अवस्थामा पुगेपछि, मान्छेले नितान्त गोप्य कुरा पनि एक अर्कालाई बताउन सुरुगर्छ ।
आफुले भोगेका असहनिय कुरा ,सांसरिक अनि मानसिक दमन, पारिवारीक द्वन्द र अन्य नसुनाउनु पर्ने कुराहरु पनि आँफुले विश्वाश गरेको पात्रलाई एक पछी अर्को गर्दै सुनाउन थालिन्छ ।
केहीकारणवस यो फेजमा पुगेर समबन्ध टुटेमा ,अली धेरै नै मानसिक आघात पुग्न जान्छ । यधपी यो अवस्था सम्ममा पनि मान्छेले परिवार वा साथीभाईबाट राम्रो सहयोग तथा मार्गदर्शन पाएमा, त्यो ब्यक्ति संयमित हुनसक्छ ।
३) शारीरिक लगानी
यसलाई समर्पणको अली गहिरो रूपमा लिदा हुन्छ । र यो पर्याप्त भावनात्मक लगानी भएपछी मात्र हुनुपर्छ भन्ने धेरै मनोविदहरुको मान्यता छ । तर अहिलेको समयमा ठ्याक्कै उल्टो भइरहेको छ ।
अहिलेको समयमा पर्याप्त भावनात्मक लगानी हुनुभन्दा अगाडि नै शारीरिक लगानी भइदिन्छ ।
भावनात्मक लगानी हुनुभन्दा पहिले यो लगानी भइदिदा, एक किसिमको लघुताभास, अपराध गरेजस्तो, स्थितिको सृजना यसले गरिदिन्छ । “मैले अहिलेनै यस्तो नगरेको भए हुन्थियो” भन्ने कुराले बारम्बार पोलीरहन्छ। यस किसिमको पस्चातापको भावले मान्छेलाई थिचिरहन्छ ।
फेरि शारीरिक लगानी गर्नेहरुलाई समाजले अर्कै दृष्टिैले हेरिदिन्छ, खेदो खन्छ ।
यो फेजमा आएर सम्बन्ध टुटेमा, मान्छे घरको न घाटको हुन्छ । यधपी, यो अवस्था सम्ममा पनि मान्छेले परिवार वा साथीभाइ बाट राम्रो सहयोग तथा मार्गदर्शन पाएमा,त्यो ब्यक्ती संयमित हुनसक्छ ।
यो फेजमा भएको नोक्सानी त्यती सहजै परिपूर्ती हुँदैन। यस्ले पर्याप्त समय लिन्छ।
यो अवस्थाबाट बाहिर निस्कन परिवार ,साथीभाइ र शुभचिन्तकहरुको निरन्तर सहयोगको आवश्यकता पर्छ। त्यसकिसिमको निरन्तर सहयोग गर्नेहरु भेटिन गर्हो हुन्छ।
कसैको पछी लागिरहने फुर्सद कसैलाई किन होस ?
सबै सँग आफ्नै समस्याहरुको “तिल” हुन्छ। त्यही तिल लाई “पहाड” बनाउन सबै लागि परीरहेका हुन्छन ।
४) आत्मिक लगानी
यसलाई समर्पणको चरम बिन्दुको रूपमा लिन सकिन्छ, किनकी यो फेजमा पुगेपछि प्रेमी ,प्रेमिका हरुले “हामी दुई शरीर तर एक आत्मा हौँ” भनेर सोच्ने गर्दछन ।
यो अवस्था लगभग “पोइन्ट अफ नो रिटर्न” नै हो ।
यो फेजमा आएर सम्बन्ध टुटेमा, मान्छेले प्राय आत्महत्या गर्छ ।
(सजीवन प्रधान विचारक र सेल्स तथा लिडरसिप कोच हुनुहुन्छ ।)

यो लिंकमा एक पटक क्लिक गर्नुहोस् ।

https://www.nepalbit.com/article/196

आत्महत्या ,जीवन र दायित्व : तनाव व्यास्थापन बारे परामर्श आवश्यक ।

 

Featured News

Advertisement