'मान्छेको मन' पढेपछि मैले के थाहा पाएँ र बुझेँ ?
- सन्जीवन प्रधान
डा. विश्वबन्धु शर्मा द्वारा लिखित 'मान्छेको मन' पुस्तक मेरोलागी धेरै लाभदायक पुस्तक साबित भयो।
पुस्तक पढदैगर्दा, बितेको पत्तै भएन । पुस्तक पढ्दै गर्दा म कुनै कुनै बेला झस्कीए पनि। कुनै कुनै बेला एक किसिमको हलचल महसुस गरे मैले-म भित्र ।
विक्टर फ्रंकेलले धेरै पहिले लेख्नु भएको पुस्तक 'मैन्स सर्च फॉर मीनिंग' भन्ने पुस्तकले पनि मेरो धेरै रातको निन्द्रा चोरेको थियो । पुस्तक पढिसकेपछी धेरै रात सुत्नै सकिन। यो पुस्तक पनि लगभग त्यही स्तरको रहेछ । बिषयबस्तु अली फरक छ,तर प्रस्तुती उतिकै दमदार छ ।
पेसाले दुबै लेखक मनोचिकित्सक हुन। तसर्थ,मनको पत्र पत्र केलाउन सफल भएका छन, दुबै लेखकहरु ।
पुस्तक पढ्ने जो कोहिले पनि शायद यस्तै महसुस गर्नु भयो होला । मनोबिज्ञान र मनोरोगको बारेमा जान्ने इच्छा थियो । यो पुस्तकले त्यो प्यास राम्रोसँग मेटाइदियो ।
ज्यादातर बिरामीहरुको “केस स्टडीहरु” अनी थोरै लेखकको “जीवनगाथा” समाहित ,यो पुस्तक एउटा जबरजस्त प्रस्तुती हो भन्दा अतिशयोक्ति नहोला ।
पुस्तक पढिसकेपछी मैले के थाहा पाए र के बुझे ?
१ मनोरोग लाग्नु भनेको एक किसिमले मानसिक रुपमा बिछिप्त भ्एको अवस्था रहेछ।
बिरामीले थाहै नपाई रोगले च्यापी सकेको पनि हुनसक्ने रहेछ। कहिलेकाही बिरामी अन्तिम स्टेज अर्थात 'पोइन्ट अफ नो रिटर्न' सम्म पुग्दा रहेछन। यो अवस्थामा पुगिसकेपछी धेरैले आत्महत्या गर्दा रहेछन।
अर्कोतर्फ,कतिपय मानसिक रोगहरुको हकमा रोगिहरुले आफु बिरामी भएको हेक्का हुदो रहेछ । यद्द्पी,आफुले चाहेर पनि आफ्नो व्यवहार रोक्न असक्षम हुँदा रहेछन ।
ओ सि डि ( अब्सेसिव कम्पल्सिव डिसअडर ) त्यस्तै एक मानसिक रोग रहेछ।
यो रोगले मनिसलाई एक किसिमले एकोहोरो बनाइदिदो रहेछ । लेखकले एक ठाउँमा एउटा दर्दनाक सन्दर्भ जोड्नु भएको छ । एकपल्ट वहाँको एकजना बिरामीलाई ओ सि डि ले च्यापेको रहेछ । उक्त बिरामी रोगको कारणले एकोहोरो बन्नु भएछ र आफुपनी स्नान गरेको गरै गर्ने र आफ्ना बच्चाहरुलाई पनि हरदम जबर्जस्ती समाएर स्नान गराइदिने मनोबेग वहाँमा हाबी भएछ ।
अत्यधिक रूपमा भयभित र दिक्क भएपछी,बच्चाहरु सँगै बस्नै नसक्ने स्थिती भ्एछ । एकदिन ति बच्चाहरुलाई आमा बिरामी भएको थाहा भएछ। बाबाले बच्चाहरुको आमालाई अस्पताल लाग्दै गर्दा,बच्चाहरुले आग्रह गरेछन ,'आमालाई निको भएन भने घर नल्याउनु है।'
२ डाक्टरको उपचारले मात्र नहुदो रहेछ।
बिरामीको उपचारको आवधी र उपचारपछी पनि घरका सदस्यहरु , समाजका सदस्यहरु सबै मिलेर एउटा “पोजिटिव इको सिस्टम” बनाइदिनु आवश्यक रहेछ। यसको अभावमा उपचार बिफल हुने प्रबल सम्भावना हुदोरहेछ।
दुर्भाग्यबस ,हाम्रो समाज त्यती सजक भइसकेको अवस्था छैन। यहाँ कसैलाई कसैको मतलब छैन।
“छिमेकीलाई खाने बाघले एकदिन मलाई पनि खान सक्छ” भन्ने कुराको हेक्का छैन । तसर्थ , हामी प्राय पोजिटिव इकोसिस्टम बनाउन योगदान गर्दैनौ । खाली उडाउने काम गर्छौ । एउटा छिमेकीको घरमा मानसिक रोगी छ भने , अर्को छिमेकीले उक्तकुराको दुसप्रचार गरेकै हुन्छ । यो मानसिकता एकदमै खतरनाक मानसिकता हो ।
यस्तो मानसिकतालाई चाडो भन्दा चाडो तिलन्जली दिन जरुरी छ । सबै मिलेर पोजिटिभ इको सिस्टम निर्माण गरौ ।
३ रोगको हयाङओवर हुदोरहेछ।
रोगी पूर्णरुपले ठीक भएपछीपनी “म मानसिक रोग लागेर ठीक भएको मान्छे” भनी सोच्ने रहेछ । उक्त कुराले गर्दा लघुताभास हुनसक्ने सम्भावना हुदोरहेछ । तसर्थ, घरका सदस्य समाजले उसलाई त्यो कुरा नसम्झाइ देकै राम्रो।
४ साइकोसीस, अरुलाई जहिले पनि शंकाको दृष्टिले हेर्ने बनाउने एउटा मानसिक रोग रहेछ।
पुस्तकमा उल्लेख भए अनुसार , यो रोग लागेका मानिसहरु अत्यधिक रूपमा शंकालु हुँदा रहेछन । तिनिहरुले आफ्ना नजिकैका अफन्तहरुलाई पनि निगरानीको घेरामा राख्ने गर्दा रहेछन । यदी त्यो शंका श्रीमान् र श्रीमती बिच भएमा एकले अर्कोको पिछा गर्ने पनि गर्द रहेछन । पुस्तकमा एउटा सन्दर्भ जोडीएको छ । आफ्नो श्रीमती प्रती अत्यधिक शंका भएपछी , एकजना सरकारी कर्मचारीले सधै आफ्नो श्रीमतीलाई क्वाटरमा थुनेर मात्र आफ्नो कार्यालय जानेगरेको कुरा यो पुस्तकमा लेखिएको छ।
हुन त धेरै कुराहरु छन। सबै यहाँ लेखेर साध्यनै हुँदैन । मेरो एउटा मात्र आग्रह छ । पुस्तक किनेर एक्पल्ट पढिदिनु होला । यसले तपाईंलाई मनोरोगिलाई कसरी हेरचाहर गर्ने, कसरी पोजीटिभ इकोसिस्टममा योगदान गर्ने भन्ने कुरो पनि सिकाउछ।
स्मरण रहोस, मनोरोगीहरु जो कोहिपनी हुनसक्छन । मनोरोगको भुमरीबाट बाहिर निस्कन , वहाँहरुलाई हाम्रो साथ चाहिन्छ ।
(सन्जीवन प्रधान सेल्स तथा लिडरसीप कोच हुनुहुन्छ ।)






