मुकेशको कवितामा समिक्षकको कलम
सीएन गौतम
कविता बारे
कविता काव्य लेखनको मुख्य अभिष्ट भाषिक सौन्र्दयको माध्यमबाट भाव र सौन्र्दयको सृष्टि गर्नु हो । त्यसैगरी सम्प्रेषणको माध्यमबाट मानवीय मूल्यलाई उजागरण गर्नु हो ।
कृष्णजन्माष्टमीका दिन कवि मुकेश रेग्मीको “जीवनको आयाम” कवितालाई मैले समीक्षा गर्ने कोशिस गरेको छु ।
कविता भित्र
यो कवितामा मानिस जन्मेपछी आयुको चरणहरुमा मानिसले गर्ने क्रियाकलाप र समय अनुसार परिवर्तन हुने गरेको तथ्य प्रस्तुत गर्न सफल छन् कवि । बाल,युवा र वृद्धको आँखाले बढो सूक्ष्म ढंगले हेर्छन् कवि । यिनै अवस्थामा मानिसको अनुभूति कस्तो हुन्छ भन्ने कुरामा कलम चलेको पाइन्छ । भनिन्छ मानिस मृत्युको रजिस्ट्रारमा हस्ताक्षर गरेपछी जन्म लिन्छ । कवि रेग्मीे सम्बन्धित विषयको लम्बाइ,गहिराइ र चौडाइको मापन गर्ने कोशिष गर्छन् र त्यसमाथि गम्भीर विमर्श गर्न सफल पनि भएकाछन् ।
कविताको सार
कवि रेग्मी कविताको शुरुवात मै यसको सार लेखेर शुरु गर्छन् । कविता बालक,युवा र पाकोपन उप शीर्षकहरुमा विभाजित छन् । रेग्मीले कविता मन्त्रका ऋचा जस्ता बनाएका छन् । कवितामा शब्दहरु प्रगाढ ,अनुभूतिजन्य र तीक्ष्ण छन् । शब्द चयन उत्कृष्ट छ । कविता पढ्दै जाँदा लेखनाथ ,देवकोटा, महानन्द सापकोटाको याद आउँछ ।
कविता स्वतन्त्र छन्दमा छ । यस अर्थमा कविता वाचन गर्न र शाब्दिक अर्थ बुझ्न धेरैले दिमाग लगाइरहनु पर्दैन । कविताबाट पाठकले बुझ्ने भनेको विचार, चिन्तन र भाव हो । जब मान्छेले आफ्नो आगमन बारे विचार गर्न थाल्छ तब आफू भएको जीवन जगतको दायित्वबोध गर्न थाल्छ । त्यसपछि मान्छे उत्तरोत्तर चिन्तन र विचारको गति, नयाँ युग, नयाँ समाज, नयाँ सन्ततीमा अनुशरण हुँदै जान्छ । कविले युवाहरुमा अध्यात्म चिन्तनबाट भौतिक प्रगतितर्फ पाइला चाल्न समेत सङ्केत गर्छन् । यसकारण जीवनको वास्तविकता बुझाउदै कवि स्वयम् प्रगतिपथमा छन् भन्ने बुझिन्छ । मृत्यु शाश्वत छ । यसलाई सहजै स्वीकार गर्न र उत्सवको रुपमा लिन पनि कवि आग्रह गर्छन् ।
हुनुपर्ने कुरा
यस कवितामा कवि रेग्मीले कविताको शुरुवात भगवान् श्रीकृष्णमा समर्पण गर्छन् तर उनको चरित्रको वर्णन कविताको कुनै श्लोकमा पनि देखिदैन । यद्दपि कवितामा भागवत गीताको केही भाव भने प्रष्ट छ । गीताको तेह्रौं अध्यायमा चाहे सुख होस् वा दुःख, भोक होस् वा रोग, हामी सधैं शरीर र मनसँग तादात्म्य स्थापित गरेर तिनका अनुभवलाई आफ्नो अनुभव मान्छौँ । शोकाकुल र मोहित हुन पुग्छौं । श्री कृष्ण भन्छन् हाम्रो शरीर क्षेत्र हो ।
त्यही शरीरलाई उमेरको आधार बनाएर कवि कलम चलाउन सफल छन् तर उनै कृष्णको चरित्रबारे कवि केही लेख्दैनन् । यदि कृष्णबारे थोरै शब्द खर्च गर्थे भने कविता सुनमा सुगन्ध हुने थियो ।
अन्त्यमा
कविवर मुकेश रेग्मीको “जीवनको आयाम” कविता शुभ उद्देश्यले शुभ साइत कृष्णजन्माष्टीमा लेखेको हुँदा रेग्मी नेपाली काव्य विधामा सशक्त हस्ताक्षर बन्न सक्ने शुभ सङ्केत दिएका छन् । कलम निरन्तर चलिरहोस् । चाडैं कविता सङ्ग्रह प्रकाशन होस् मेरो शुभकामना ।
रेग्मीको कविता यस्तो छ –
(कृष्ण सबैभन्दा रंगी बिरंगी अवतार हो । एक अदम्य बालक, एक मनमोहक प्रेमी, एक जबरदस्त पराक्रमी योद्धा, एक चतुर राजनेता, अनि सबैभन्दा उच्चकोटिका योगी सद्गुरुदेव ।)
जीवनको आयाम (लम्बाई, बिस्तार, फैलावट)
बालक, युवा र पाकोपन
जगमा जीवनको मूल आयाम,
गर्भ र मृत्यु सहज धरामा
जीवनको हो यो मूलधन ।
बालक,
हेर्छ यत्र तत्र तेज नेत्र छन्,
मोहित मातृका बाल्य दुग्धपान,
दिन प्रतिदिन बृद्धि झन झन आकर्षण,
जल, वायु, तापमय देह भो क्षमतावान !
चंचल चित्त बिज भो ऊर्जा गतिमान,
छटपट संग्रह मन समुद्र भेल समान,
अन्तरमूखी काल हो यो जीउने जीवन,
बाला मनोहरा फुल्छीन् निश्छल मन ।
युवा,
क्षमता हो युवा मुखज्वाला देदिप्यमान,
होइन काल बिशेष युवा, नत हो सिमीत परिधान,
झलमल छर्लङ्ग मेघ रहित बिस्तृत गगन,
चमकिन्छन भूलोकमा नित नुत तारा जङ्गम ।
खोजमार्गको रणधीर, रचना हो सहज चेतन,
इन्द्रिय कर्मका सक्रिय सदा योग आनंद,
रजनीजल शितल सुगन्धा जीवन धन,
युग हो यौवन योगक्षेम योगदर्शन ।
पाकोपन,
खंदिलो खारिएको खजाना हो यो आयाम,
सुखदुख बोधगम्य जीवन सुखधाम,
सत्य सब हितैषी स्रष्टा एक महान,
क्षितिज वारिपारि अन्तरमुखी आनन ।
क्षमता युवाको निर्णय शीर महान,
पाकोपन गहीरो बुझलौ सन्ध्या मनोभिराम,
भोर अन्त, दिन मिल्छ जहाँ निशाको सुन्दर सरगम,
अस्तित्व जीवनको बस एकमै अनेक मीलन !
बालक, यौवन, अनि पाकोपन,
जीवनको मूल हो तीन आयाम,
गर्भ धरामा अजरा बीज हो,
मृत्यु उत्सव सम सङ्गम !
मृत्यु उत्सव सम सङ्गम !!






