मीनकुमार नवोदितको कविता : यो समय
01:01
शुक्रबार
१६ ,
आश्विन
२०७७
NepalBit
1187
यो समय
– मीनकुमार नवोदित
यो समय
अँध्यारोको भीरबाट हाम्फालेर
आत्महत्या गरेको छ सपनाले ।
मानसिक सन्तुलन गुमाएको भगवान
तरबार बोकेर निस्किएको छ सडकमा
अनि,
आस्थाको मन्दिर, गुम्बा, मस्जिद र चर्चमा
लामबद्ध फूलहरूको गरिरहेछ हत्या ।
निराशा बोकेर दौडिरहेको भुइँकुहिरो
बाटोबाटै भएको छ बेपत्ता
इन्द्रेणीको लौरो टेकेर वृद्ध साँझ चढिरहेछ जीवनको अन्तिम उकालो ।
आँसुको पोखरीभित्र
नाङ्गै पौडी खेलिरहेछ घाम
आयुको काखमा बसेर फिस्स हाँसिरहेछ मृत्यु
रातको बाढी पसेपछि सुकुम्बासी भएको छ उज्यालो ।
बतासको झोलाभरि खुसी बोकेर
फनफनी घुमिरहेको पृथ्वीको छातीमा
लागेको छ आतंकको डँडेलो
त्यति नै बेला–
मानवता परेको छ एम्बुसमा
सिसाझैं टुक्रा–टुक्रा भएको छ संवेदना
बौलाएर ताराहरूको जंगल पसेको छ जून
आगोसँग सम्भोग गर्न नपाउँदै
स्खलित भएको छ ब्रम्हाण्ड ।






