बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

यातनापछिका अनुभूति (पुस्तक अंश)



09:34 शुक्रबार २६ , मंसिर २०७७

रमेश गुरागाईं

त्यो दिन साँझको ५ बजेको रहेछ । सँधै झै घण्टी बजेपछि भात बाँड्न थालेका थिए । मलाई पनि ‘उठ्’ भनेर थर्काउँदै थिए पिपा र सिपाही । मैले एक छाक नखाएर अघोषित विरोध जनाउने सोच बनाइसकेको थिएँ । खान मन पनि भएन । जति हप्कीदप्की गरे पनि म उठिनँ ।

अरूबेला उनीहरूले यातना दिइसकेका हुन्थे । चारो जस्तो भात खान्न मात्र भन्यो भने अवज्ञा गरेको ठान्थे । सायद एक दिनका लागि छुट थियो मलाई । किनकि यातना थोकमा पाइसकेको थिएँ । खुद्रा मलाई बिकाउन सकिँदैन नै भन्ठाने होला त्यस दिन ।

यातनाले थिल्थिलो बनाएर मेरो अर्धमृत शरीर लडाइएको थियो । पाइपले ढाडका सबै छाला ताछियो । कुहिना र तिघ्रा पट्पटी फुटेका थिए । दशै औलाका नङ फुटे । चोटहरूबाट रगत बगिरहेको थियो । मुख सुकेर खह्रो हुन्थ्यो । मुखभरिको थुक जम्मा गरेर निलेपछि सास आउँथ्यो ।

भोलिपल्ट बिहान घाउ पोलिरहेको थियो । हातखुट्टा कक्रेका थिए । टिसर्ट रगतले ल्याप्mफ भिजेर डडेल्नामा टाँसिएको थियो । खानाको व्यवस्थापन हेर्ने १ जना जमदार दयाभाव देखाउँदै थिए, ‘कस्तो छ अहिले ?’

गाह्रो थियो । दुखिरहेको थियो । चहराइरहेको थियो । न औषधी उपचार थियो, न त सरसफाइ नै । के भन्ने ? ठीकै छ, भन्नुपरेको थियो । कसाइका अगाडि बोकाको रुवाइ, के काम लाग्थ्यो र ! एउटा पेनकिलर ट्याब्लेट र एक  गिलास पानी दिएर गयो ऊ । कल्याण भयो । खाएर सुतेपछि निकै आनन्द भयो । लामो समय निदाएछु ।

दिउँसो ब्युँझदा उराठ लाग्यो । टिसर्ट खोल्न अनुमति पाइयो । हातको हतकडी खोलिदिए । टिसर्टमा टाँसिएका रगतका फाल्सा पट्टीभित्रको आँखाले चिहाउँदै हेरेँ । मृत्यु नजिक पुग्दा पनि मलाई गर्वबोध भयो । आमूल परिवर्तनका लागि हामीले रोजेको बाटो रगतले लतपतिएको थियो । माओ त्से तुङ्गले भने जस्तै क्रान्ति कुनै भोजभतेर थिएन । त्याग, निष्ठा र प्रतिबद्धताले भरिएको सतिसाल झैँ दृढ विचारले क्रान्ति अगाडि बढाउनेमा हामी विश्वस्त थियौँ ।

मानिसले खुशी वा दुःख, बाँड्दा हलुका हुन्छ । त्यसपछि पुनः सामान्यतिर फर्कन सजिलो हुन्छ । त्यही ठानेर मसँगै रहेको साथी पुष्पराजलाई कोट्याएँ । मेरो टिसर्ट उनको हातमा राखिदिएँ । सायद उनी मेरो मनको कुरा सजिलै बुझ्थे । त्यसैले प्रत्युत्तरमा टिसर्ट मेरा हातमा फिर्ता गरिदिए । बातचित गर्न भने जोखिम मोल्नुपर्दथ्यो ।

त्यो टिसर्ट इतिहास बनाउन पाए हुन्थ्यो । सङ्ग्राहलयका निम्ति सुरक्षित राख्न पाए हुन्थ्यो । तर, धुने कडा आदेश आयो । त्यो इतिहास मेटियो र फगत स्मृतिमा त्यसको तस्बिर बाँकी रह्यो । अन्य मैला लुगा धुन नदिने भए पनि रक्तमुछेल टिसर्ट रुँघेर साबुनसहित धुन लगाए । उनीहरू क्रान्तिकारीको शरीरमा भल्भल उम्लिएको रगतबाट मात्र होइन । यातनाको क्रममा लुगामा लागेको र सुकेर टाटा बसेको रगतबाट पनि डराउँदा रहेछन् ।

सायद विश्वमा ह्रिंसक मानव नामका दानवले प्रयोग गरेका यातनाका कुनै विधि बाँकी थिएनन् भैरवनाथ गणसँग । अनुसन्धानको आधुनिक विधि नै भौतिक यातना थियो । उसबेला शाही सेनाले मान्छे लग्यो भने बाँचेर फर्किदैन भन्ने गरिन्थ्यो । प्रत्येकपटक यातना सकिएपछि ‘आज त मरिँन, अर्को दिन के होला’ जस्तो हुन्थ्यो ।

हामी विद्रोही थियौँ । देशका नियम कानूनसँग हामीलाई कुनै सरोकार थिएन । यद्यपि क्रान्तिका आफ्नै नियम, मर्यादा र मूल्यमान्यता थिए । त्यति मात्र होइन, युद्धसम्बन्धी जेनेभा महासन्धीका प्रावधानलाई समेत माओवादीले पालना गर्ने प्रतिबद्धता सार्वजनिकरूपमा व्यक्त गरेको थियो । यता राज्यपक्ष  आफैँले बनाएका कानून समेत मान्दैनथ्यो । खासगरी राजनीतिक विद्रोहलाई आतङ्कवादी गतिविधि घोषणा गरिएको थियो । त्यसैले बन्दीहरूलाई गरिएको व्यवहार र यातनाको तरिकाबाट हाम्रो मृत्यु अवश्यम्भावी जस्तो लाग्थ्यो । यातना क्रान्तिकारी राजनीतिक जीवनको एउटा कठोर परीक्षा थियो । यातना कति हुने हो । त्यो अवस्थामा कति राख्ने हो । निश्चित थिएन । सबै कष्ट र यातना पटकपटक होइन । थोकमा ब्यहोर्न पाए हुन्थ्यो । बरु स्वीकार्य थियो मृत्यु त्यसबेला । क्रान्तिकारी कवि कृष्ण सेन इच्छुकले भने जस्तै मृत्युभन्दा जीवन पीडादायी भयो भने मृत्यु रोज्छ मानिसले ।

निरन्तर यातनाले जिन्दगी झन्झटिलो हुँदै जान थाल्यो । सायद त्यो आशा भागेको क्षण थियो जीवनबाट । एक मनमा आत्महत्या गर्ने विचार आउँथ्यो । असैह्य पीडा हुँदा त्यस्तो सोच आउँदो रहेछ । तर, सजिलो थिएन त्यहाँ । हाम्रो रोजाइ र निर्णयको अर्थ हुँदैनथ्यो । जीवन होस् वा मृत्यु, उनीहरूले
चाहेको हुन्थ्यो । उनीहरूले चाहेको बेलासम्म कुर्नु पर्दथ्यो ।

वास्तवमा जीवन बाँकी भएपछि यातना, त्यसका छाप र असरहरू कथा बनेर आउँदा रहेछन् । दुःखाइका कथा, आँसु बगाएका कथा र झण्डै मरेका कथा पनि सुन्नलाई रमाइला । भन्नलाई पनि रमाइला । समय बित्दै जाँदा भोगाइलाई विस्मृतिको पर्दाले छोप्न पनि सजिलो होला । तर, केही साथी त्यही ठाउँबाट अस्ताए । बाँकी रहेका हामी फर्कने नफर्कने त्यसबेलासम्म पनि अनिश्चित थियो । 

भनिन्छ, कठिन परिवेशमा पनि जीवन नदेख्नेले क्रान्ति देख्न सक्दैन । आखिर हामीले उनीहरूको नियन्त्रण र खटनपटनको वातावरणभित्र पनि जीवन देख्न थालेका थियौँ । किन जीवनलाई फरक ढङ्गले नसोच्ने भन्ने लाग्न थाल्यो । कष्टपूर्ण जीवनबाट क्रान्तिकारी कर्म प्रमाणित भएको महसुस हुन्थ्यो । ‘जोसुकैलाई आर्मी ब्यारेकमा बेपत्ता बनाएर राखिएको पक्कै छैन नि । अझ कठोर यातना पाउने गरी मैले पार्टी र क्रान्तिमा योगदान पु¥याएको रहेछु । जति बढी क्रान्तिप्रतिको समर्पण र योगदान, उति बढि यातना ।’ दुश्मनको यातना एक क्रान्तिकारीका लागि योगदान, समर्पण र हैसियत जा“च्ने कसी भएको थियो । अग्निपरीक्षा पास गर्नैपथ्र्यो ।

यातनाका बेला बाँचिदैन जस्तो हुन्थ्यो । यातनापछि सहिदहरूको याद बढी आउँथ्यो । सहिदको फोटा राखिएको लहरमा आफ्नो कुन फोटो राखिएला भन्ने सोचेर पनि बसियो । त्यसबेलासम्म खिचिएका सबै फोटाहरू सम्झँदै ।
 

Featured News

Advertisement