राजवृक्षको हाँगो विमोचन
२०७७ पुस ५ गते, इटहरी
कथाकार टीका मिलनको कथा सङ्ग्रह ‘राजवृक्षको हाँगो’ इटहरीमा हिजो विमोचन गरिएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस), सुनसरीले प्रकाशन गरेको उक्त सङ्ग्रहकोे विमोचन गरिएको हो ।
प्रलेसद्वारा इटहरीमा आयोजित स्रष्टा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रलेस प्रदेश नम्बर एकका अध्यक्ष डा. देवी दुलाल, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला तथा अन्य अतिथिहरुले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको थियो ।
विमोचित कृतिमाथि समालोचक प्रा.डा. भीम खतिवडाले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । ‘राजवृक्षको हाँगो’ कथा सङ्ग्रहमा जम्मा १२ कथा सङ्ग्रहीत रहेका छन् । प्राय सबै कथाहरु सामाजिक परिवेशमा आधारित रहेको समालोचक भीम खतिवडाले बताउनुभयो ।
प्रलेस सुनसरीका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सुनसरीका दुइ जना स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । ‘प्रलेस सम्मान – २०७७’ बाट इनरुवाका कवि डमरु बल्लब भण्डारी र ‘राजकुमार कार्की प्रगतिशील युवा साहित्य पुरस्कार – २०७७’ बाट इटहरीका कवि श्रीशीशा राई सम्मानित हुनुभयो ।






