मंगलवार ५, आश्विन २०७८ Tue,21 Sep 2021

सर्वाधिकार सुरक्षित

प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री



20:36 बिहीबार २३ , बैशाख २०७८

शिवराज योगी

दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ ।

कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना र त्यसका सर्जकभन्दा ‘मिडिया’द्वारा स्थापित सिर्जना र सर्जक बिकाउ भएको भान हुन्छ ।

तर ‘भरिएको गाग्री सितिमिती डगमगाउँदैन, स्थिर हुन्छ, अटल हुन्छ’ भन्ने उदाहरण पनि छन्, समाजमा । ‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ हामी प्रायः सबैले सुनेको गीत हो ।

गायक प्रेमध्वज प्रधानले दशकौं पहिला आवाज दिएर त्यसको ब्याजमा आजको जिन्दगी चलाइरहेका थिएनन् । जसरी आज एउटा गीत, भिडियो वा सिर्जना भजाएर ‘कलाको व्यापार’ भइरहेको छ । आज तिनै सर्जक हामीबाट सदाका लागि बिदा भएका छन् र निस्किएका छन्, अनन्त यात्रामा ।

वि. सं. १९९४ असारमा पिता रत्नध्वज र माता रामदेवी प्रधानका कोखबाट सिन्धुपाल्चोकमा प्रेमध्वज प्रधानको जन्म भएको थियो । जीवनको उत्तरार्धसम्म पनि प्रेमध्वज संगीतको निरन्तर साधनामा थिए ।  ‘पर लैजाऊ फूलहरु’, ‘घुम्तीमा नआउ है’, तिमीलाई अचेल कहाँ भेटूँ’, ‘गोरेटो त्यो गाउँको’ जस्ता सदाबहार गीतमा अमर स्वर प्रेमध्वजले नै दिएको अहिलेको पुस्ताका धेरैलाई पत्तो नहुन सक्छ ।

आधा शताब्दी लामो सांगीतिक यात्रामा वरिष्ठ गायक तथा संगीतकार प्रधान यतिबेला प्रविधिको युगमा समेत प्रवेश गरिसकेका थिए । ‘यस पाटोमा भने मलाई त्यति ज्ञान छैन’ भन्ने गायक प्रधानलाई त्यो पक्षमा छोराहरूले सघाइदिएका थिए ।

सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजको न्वारनको नाम भने गणेशध्वज प्रधान हो यो कुरा धेरै थोरैलाई मात्र थाहा होला । प्रेमध्वजको शिक्षादीक्षा भने काठमाडौंमै भयो । राजधानीको विश्व निकेतनमा करिब सात वर्षको हुँदा कक्षा एकमा भर्ना भएपछि उनको नाम गणेशध्वजबाट प्रेमध्वजमा बदलियो ।

झण्डै एक दशक अघिको एक बिहान म गोरखापत्र संस्थानको मुना मासिकका लागि प्रधानसँग कुराकानी गर्न गएको थिए । ‘प्रेमबहादुर श्रेष्ठ सर प्रध्यानाध्यापक हुनुहुन्थ्यो,’ वरिष्ठ गायक प्रधानले भनेका थिए, ‘उहाँले नै माया गरेर आफ्नो नाम मलाई दिनुभयो, त्यसपछि म प्रेमध्वज भएँ ।’

संयोग यस्तो थियो कि प्रेमध्वजको पारिवारिक वातावरण नै सांगीतिक थियो । उनका हजुरबुवा शास्त्रीय संगीत र राग जान्दथे रे ! ‘आमा संगीतकर्ममै हुनुहुन्थ्यो,’ पंक्तिकारसँगको करिब १० वर्ष अघिको भेटमा गायक प्रधानले भनेका थिए, ‘२००७ सालमा उहाँले विभिन्न कार्यक्रममा गाउनुभएको थियो ।’ यसरी उनको परिवारकै रगतमा संगीत बगेको थियो ।

नेपाली संगीत क्षेत्रका शिखरपुरुषकै रूपमा चिनिएका प्रेमध्वजले आठ–नौ वर्षकै उमेरमा इन्द्रजात्रामा प्रदर्शन गरिने नाटकमा आठ दिन नायिका भएर खेलेका थिए ।

‘मभित्र कला रहेछ, त्यो नायिकाको भूमिकाले सतहमा ल्याइदियो,’ प्रधानले आफ्नै घरको बैठक कक्षमा स्मरण सुनाएका थिए । इन्द्रजात्रामा नायिकाको भूमिका निर्वाह गरेवापत उनलाई शान्ति निकुञ्ज विद्यालयले कक्षा चारमा सित्तैंमा भर्ना गरिदिएको थियो रे !  उनी त्यस विद्यालयमा कक्षा ६ सम्म निःशुल्क पढे ।

वरिष्ठ गायक प्रधानको त्यसपछिको शिक्षा भने दरबार हाई स्कुलको प्रौढशिक्षा निकेतनमा सम्पन्न भएको थियो । २०१० सालमा प्रवेशिका परीक्षामा पास हुन चाहिने १५ अंक प्रधानले प्राप्त गर्न सकेनन् ।

उनले संस्कृतमा आठ अंक मात्रै प्राप्त गरे । त्यही समयमा उनमा गायन क्षेत्रमा अलि गहिरो गरी लाग्ने मनोकांक्षा जागिसकेको थियो । त्यसका लागि उनले रेडियो नेपालमा २००९ सालमा स्वर परीक्षा दिए र ‘क’ श्रेणीमा पास पनि भए ।

त्यतिबेला अहिलेको जस्तो जताततै गीत रेकर्ड गर्न सकिने र सुन्न पाउने अवस्था थिएन । रेडियो नेपालमा ‘क’ श्रेणीको गायकले एउटा गीत ‘लाइभ’ गाएवापत १० रुपैयाँ पारिश्रमिक पाउँथ्यो ।

प्रधानले आफ्नो पारिश्रमिकबारे भनेका थिए, ‘त्यसबेला गीत गाएर पाएको १० रुपैयाँमध्ये नौ रुपैयाँ आमालाई घर खर्चका लागि दिन्थे । एक रुपैयाँ आफूलाई राख्थे, महिना दिनसम्म पनि त्यो एक रुपैयाँ खर्च हुँदैनथ्यो ।’

एक सुकामा तीन पाथी चामल पाइने युग थियो त्यो । एक पैसाले पेटभरि मिठाई खाएको स्मरण ताजै थियो प्रेमध्वजलाई ।

एसएलसी पास नभएपछि एकजना साथीसँग उनी २०११–१२ सालतिर भारतको दिल्ली हुँदै बम्बैसम्म घुम्न गए । त्यसबेला नेपाली ५५ रुपैयाँको भारतीय एक सय रुपैयाँ हुने गरेको जानकारी पनि उनले दिएका थिए ।

त्यहाँका मानिसहरूको पढाइप्रतिको लगाव र लगन देखेर उनलाई फेरि पढ्न मन लाग्यो । नेपाल फर्किने बित्तिकै उनले पद्मोदय स्कुलबाट २०१३ सालमा एसएलसी पास गरे ।

एसएलसी पास भएसँगै गीत–संगीतकै यात्रामा लागेका वरिष्ठ गायक प्रधानलाई यही पेशाले मात्रै जिन्दगी चल्दैन भन्ने लाग्यो । केही दिन अमेरिकी पुस्तकालयमा स्वयमंसेवकको रूपमा काम गरे पनि जागिर नपाएपछि उनी श्याम थापा नामका साथीसँग फेरि भारत जाने योजनामा थिए ।

‘हामी साझा बसको टिकट लिन गएका थियौं, आमाले अमेरिकी पुस्तकालयबाट फोन आएको खबर सुनाउनुभयो,’ प्रधानले आफ्नो जीवनकालका घटना सुनाएका थिए, ‘एक दिन ढिलो भएको भए खै म आज कुन कुन परिचयमा हुन्थें ।’

सन् १९५९ डिसेम्बर ९ का दिन अमेरिकी पुस्तकालयमा करारमा जागिर थालेका प्रधान ६ महिनापछि स्थायी भएका थिए । जागिरको यात्रा झण्डै ३३ वर्ष जारी रह्यो ।

जीवन निर्वाह गर्न त्यसले सहज भएपछि प्रधानको सांगीतिक यात्राले गति लिएको थियो । गायक प्रधानको पहिलो गीत भने ‘आमा’ चलचित्रकी नायिका भुवन चन्दका पिता स्वर्गीय भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ, यो अँधेरी रातमा…’ हो ।

त्यसपछि देवेन्द्रराज उपाध्यायको शब्द र भैरवबहादुर थापाको संगीत रहेको ‘हिमालचुली हिउँका सेता थुप्राले ढाकेको…’ बोलको गीत २०११ सालमा असाध्यै चर्चित बनेको थियो ।

विधिवत रूपमा रेडियो नेपालमा २०२३ सालमा रेकर्डिङ सिस्टम आएपनि वरिष्ठ गायक प्रेमध्वजको पहिलो गीत ‘यो नेपाली शिर उचाली…’ २०१४ सालमै रेकर्ड भएको थियो ।

अमेरिकी दूतावासले रेडियो नेपाललाई दिएको सानो रेकर्डिङ मेसिनमा त्यो गीत रेकर्ड भएको थियो । ‘आफ्नो स्वर आफैं सुन्दा दंग परें,’ उनले अनुभूति सुनाएका थिए, ‘त्यसबेला अहिलेजस्तो कहाँ पो थियो र ! अहिले त मोबाइल, स्टुडियो, टिभी, रेडियो, क्यासेट, सिडीमा आफूले आफूलाई सुन्न पाइन्छ । त्यसबेला आफ्नो स्वर सुन्दा आफैंलाई अचम्म लाग्यो ।’

२०२३ सालमा रेडियो नेपालमा रेकर्डिङ शुरु भएपछि गायकको परिश्रमिक पनि बढाइयो । त्यसपछि ‘क’ श्रेणीका गायक प्रेमध्वजले एउटा गीत गायवापत ४५ रुपैयाँ पाउन थालेका थिए । उनीसँंगैका दौंतरी नारायणगोपाल, फत्तेमानहरूले पनि त्यही पारिश्रमिकमा चित्त बुझाएका थिए ।

आठ वर्षकै उमेरमा प्रेमध्वजका पिताजीले अर्को विवाह गरेपछि आमा रामदेवी श्रीमानबाट अलग्गिएर बस्न थालेकी थिइन् । आमाबुवाका एक्ला सन्तान प्रेमध्वज पनि आठ वर्षकै उमेरदेखि आमासँगै बस्न थालेको सुनाएका थिए ।

अमेरिकी पुस्तकालयमा जागिर भएपछि उनको जीवनमा त्यति धेरै अभावको छायाँ पर्न पाएन । गीत गाएर संकलन भएको पैसा, जागिरको तलबले नभ्याएपछि गायक प्रधानले एक दिन राजधानीको जमलमा एकल साँझ आयोजना गरे । त्यहाँबाट ५७ सय रुपैयाँ कमाइ भयो । त्यही पैसाले उनले आधा रोपनी जग्गा किनेर घर बनाए ।

केही समयपछि त्यो घरजग्गा ८५ हजारमा बेचेर उनी अचेलको घर भएको ठाउँ   बागबजारमा आएका थिए ।

‘त्यो पैसाले आधा रोपनीसहितको घर जोडियो,’ प्रधानले त्यो भेटमा भनेका थिए, ‘यही घरमा आएपछि मैले आमाको सल्लाहमा किरणकुमारी प्रधानसँग विवाह गरें ।’

एकल साँझले नै जोडेको घरबारभन्दा फरक नपर्ने बताउने प्रधानले भनेका थिए,  ‘त्यसबेला कलाकारिताको औधी सम्मान थियो, अब हामीले नै कलाकारितालाई साधना बनाउन सकेनौ कि ?’ उनका प्रसन्नध्वज र कविरध्वज दुई छोरा छन् ।

काकाहरूले पुर्ख्यौली सम्पत्तिमा मुद्दा चलाएपछि छोराहरूको मनस्थिति नबिग्रियोस् भनेर उनले दुवै जनालाई अमेरिका पठाइदिएको सुनाएका थिए । एलपी रेकर्ड र ईपी रेकर्डबाट गीत रेकर्डिङ शुरु गरेका प्रेमध्वजले आफ्नो जीवनकालमा आधुनिक, देशप्रेम, लोक, भजन र नेवारी गरी सयौं गीत गाए ।

उनका ‘गोल्डेन भ्याइस अफ प्रेमध्वज प्रधान सन् १९७०’, ‘घाइते जवानी वि.सं. २०५०’, ‘माया नमार वि.सं. २०५५’ चर्चित एल्बमबाहेक उनका कैयौं गीतले नेपाली संगीत समृद्ध बनाउन योगदान पुर्‍याएका छन् ।

प्रेमध्वज आफैंलाई भने ‘यो नेपाली शिर उचाली…’, ‘नमान लाज यस्तरी…’, ‘घुम्तीमा नआऊ है….’, ‘गोरेटो त्यो गाउँको लौन खोजी खोजी थाकें…’ बोलका गीत औधी मनपर्ने सुनाएका थिए ।

उनको अनुभवमा मुलुकभर उनलाई चिनाउने गीत ‘गोरेटो त्यो गाउँको’ थियो । ‘मलाई त्यही गोरेटोले घर–घर पुर्‍यायो,’ प्रधानले भनेका थिए, ‘अरू गीतले मलाई उचालिरहे ।’

वर्तमानमा बजारमा आएको संगीतको बाढी देख्दा उनलाई कुनै अनौठो लाग्दैन थियो । यति भन्थे, ‘असल गायक बन्नुछ भने कम्तीमा चार लाइन गीत रेकर्ड गर्नैपर्छ ।’ अहिले त प्रविधिले नै गीत मिलाउन सकिने भएकाले त्यसमा ‘फिलिङ्स’ नआउने अर्थात् मान्छेको मनलाई छुन नसक्ने उनी बताउँथे ।

अहिलेको गीत संगीतमा हलुका शब्द बिकेको देख्दा पनि उनलाई उदेक लाग्थ्यो । उनको पालामा ९/१० जना गायकका लागि तीन/चार जना शब्दकारले चाहेजस्तो र खोजे जस्तो गीत लेखिदिन्थे ।

‘अहिले त घर–घरमा गायक छन्, लाखौं गायकलाई कसले शब्द लेखिदिने ?,’ उनले यसो पनि भनेका थिए, ‘अहिले पनि राम्रा गायक छन्, शब्दकार छन् तर थोरै ।’ नराम्राले पैसाको भरमा चर्चा पाएको देख्दा उनलाई वास्तविक कला मर्ने हो कि भन्ने चिन्ता पनि कतै थियो ।

साढे आठ दशक पुगेका वरिष्ठ गायक अन्तिम पलसम्म पनि गीत रेकर्ड गराउँथे । गीतसंगीतकै समीपमा थिए ।

शालीन व्यक्तित्व, मृदुभाषी, हँसिलो र भद्र स्वभावका गायक प्रधानको सुझाव थियो,  ‘साधना भनेको खहरे जस्तो उर्लिएर हुँदैन, धैर्यता, लगनशीलता, इमान्दारिता र गम्भीर हुनैपर्छ ।

त्यही सकारात्मक सोच र स्वभावले हुनुपर्छ अन्तिम समयसम्म पनि उनलाई भौतिक रूपमा बुढ्यौलीले नछोए झैं लाग्थ्यो । ‘मै हुँ’ भन्ने गायकभन्दा कम सक्रिय थिएनन् । सक्रियताकै बीच उनी झुक्याएर निस्किए अनन्त यात्रामा । उनको सांगीतिक र शालीन जीवनलाई हरेक नेपाली सधैं सम्झिरहनेछन् ।

onlinekhabar.com