सङ्क्रमण उपन्यासमाथि विन्दुका १९ बुँदा
- विन्दु दहाल मूकदर्शक
वि स २०१५ साल जेठ ९ गतेका दिन तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं ५ मा जन्मनु भई हाल बिर्तामोड नपा वडा नं ५ मा स्थायी बसोबास गर्नुहुने साहित्यकार श्री राजेन्द्र सङ्ग्रौला नेपाली साहित्यको आख्यान विधा अन्तर्गत उपन्यास लेखनमा कलम चलाउने एक सुपरिचित र सङ्गर्षशील नाम हो । प्रलेस झापाकोअध्यक्ष समेत रहनुभएका सङ्ग्रौला अत्यन्त मिलनसार ,सहयोगी र मृदुभाषी व्यक्तित्वका धनी हुनुहुन्छ । वहाँले नेपाली साहित्यलाई भरिपूर्ण र समृद्ध बनाउन आफूलाई आख्यान विधाको उन्नयनमा सशक्त रूपमा होम्नु भएको छ ।
वहाँले यसैक्रममा दृष्टि ,गरिबीका रेखाहरू, तुलेका पाइला ,रोजगारको खोजी ,तीनचम्के टाहार लगायतका आधा दर्जनभन्दा बढी उपन्यासहरू लेखिसक्नु भएको छ र यसैक्रममा वहाँले भर्खरै मात्र सङ्क्रमण नामक अत्यन्त सुन्दर औपन्यासिक कृति प्रकाशित गर्नु भएको छ ।बुद्ध अफसेट प्रेस बिर्तामोड झापामा छापिएको यो उपन्यासमा हलुका पेपर प्रयोग गरिएको छ । दुई सय चार पेजको आयाममा फैलिएको यो उपन्यास गत सालको लकडाउनको समय २०७६ चैत्र ११ देखि २०७७ वैशाख ११ गतेसम्मको जम्मा एकतीस दिनलाई आफ्नो मुख्य कार्यपीठिका बनाएर तन्किएको छ । उपन्यासको विषयवस्तु कोरोना भाइरसले उत्पन्न गरेको भयावह अवस्था नै मुख्य भए पनि उपन्यासभित्र थुप्रै पताका र प्रकरीहरूको संयोजन गरिएको छ ।
यो उपन्यास पढेपछि उपन्यासले निम्न कुराहरूलाई सन्देश ,उद्देश्य तथा मूलभाव र विशेषताहरूलाई पाठकसामु सम्प्रेषण गरेको देखिन्छ । यो उपन्यास मूलत: सामाजिक यथार्थवादी भावधारालाई आफ्नो पहिचान बनाएर अगाडि बढेको उपन्यास हो । यो उपन्यासका जति पनि विषयवस्तु र घटनाक्रमहरू छन् ती सबै हाम्रै समाजबाट टपक्क टिपिएका छ्न् ।
१: उपन्यासले दोस्रो विश्वयुद्धमा नेपालीहरूले बेलायती सेनामा भर्ती भएर बेलायतको पक्षमा लागी वर्मा लगायतका देशमा जापानीज सेनाहरूसँग लडेको मार्मिक र हृदयविदारक घटनालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
२:त्यसैगरी चीनका माओले भँगेराले अन्नबाली खाएर अनिकाल लाग्यो भनी आफ्ना सेनालाई चीनका सारा भँगेरा मार्न लगाएको तर भँगेराको अभावमा किरा फट्याङ्ग्रा र सलह बढी झन् बाली नस्ट गरेपछि पुनः अन्य देशबाट भँगेरा मगाएको रोचक तथ्य पनि छ जसले आवेशमा आएर गलत निर्णय गर्नु हुँदैन भन्ने सन्देश दिएको छ ।
३: उपन्यासले मुख्य गरी लकडाउनको त्यो विषम परिस्थितिमा सरकारले राहतमा धाँधली गरेको ,आफ्नै खल्ती भर्ने काममात्र गरेको , राहतमा बाँढिएको चामल ,दाल पनि सबै कुहिएको र सरकारले गतिछाडा काम गरेको कुरालाई ज्वलन्तरूपमा उजागर गरी भण्डाफोर गरेको छ ।
४ : यसरी नै सरकारले सङ्कटको बेला जनतालाई छाती फुकाएर सहयोग गर्नु पर्नेमा उल्टै ओम्नी ग्रुपसँग मिलेर स्वास्थ्य सामग्रीमा ठुलो घोटला गरेको र ल्याइएको सामान पनि काम नलाग्ने भएकाले नेपालका राजनीतिकर्मी प्रायः शोषक सामन्ती पोसुवा र भ्रष्ट निकम्मा भएको निष्कर्ष उपन्यासको रहेको छ । सेनाले स्वास्थ्य सामग्रीमा घोटला नगर्ने कुरामा शङ्का व्यक्त गरिको छ र अन्ततः त्यस्तै भयो । यी कुराबाट लेखक र उपन्यासले मुलुकमा राजनीतिक शुद्धीकरणको आवश्यकता औंल्याई यसका लागि हामी जनतालाई एक भएर जुट्न आव्हान गरेका छन् ।
५: लकडाउनको समयमा हज्जारौं जनता भोकभोकै सुत्नु परेको ,कयौंले खानाकै समस्याले व्यक्तिगत तथा सामूहिक आत्महत्या गरेका , जनताको अवस्था भयावह भए पनि विकासे बैंकहरूले आफ्ना ग्राहकलाई ठग्ने काममात्र गरेका ,ब्याजमा खासै छुट नदिएको खालि ठग्ने काम मात्र गरेका कारण कयौंका उद्योगधन्दा बन्दव्यापार चौपट्ट भई जिन्दगीभरि आर्थिकरूपमा टाट पल्टिई अर्ध पागल भई बाँच्नु परेको कारुणिक र मर्मस्पर्शी क्षणहरूको स्मरण गराउँदै विकासे बैंकबाट सतर्क हुन हामी तल्ला स्तरका जनतालाई आव्हान गरिएको छ ।
६ : उपन्यासको शीर्षक सङ्क्रमण रहेको हुँदा - आजका मानिस कोरोनाको सङ्कमणले मात्र होइन विचारको सङ्क्रमणले ,यौनको सङ्क्रमणले , आर्थिक जटिलताको सङ्क्रमणले ,खाद्यान्न अभावको सङ्क्रमणले ,पद र प्रतिष्ठाको सङ्क्रमणले ,जातीय विभेद , मौसमको, भोक ,शोक आदिको सङ्क्रमणले ग्रसित बन्दै गएको कुरा औंल्याउँदै हामीलाई दरिद्र मानसिकताबाट माथि उठ्दै कृपणी नबन्न आग्रह गरिएको छ ।
७ : यसरी नै उपन्यासमा फेसबुके विद्वान् , डाक्टरहरूले आपत् को बेला मनगढन्ते हावा कुरा लेखेर आतङ्क मच्चाएका हुँदा उनीहरूमाथि सिस्नोपानी पनि प्रहार गरिएको छ ।
८: महिलाहरू पाठेघरको क्यान्सरबाट कसरी सङ्क्रमित हुन्छ्न् भन्ने कुरा पनि उपन्यासले सन्देशात्मक रूपमा प्रस्तुत गरेको छ ।
९ : चन्द्रदेवजस्ता यौन दूराचारी र सरिताजस्ती यौन व्यावसायी तथा ठग नारीको उपन्यासले उछित्तो काढेको छ ।
१० : उपन्यासले विगत समयमा विश्वमा फैलिएका ठुलाठुला महामारीको स्मरण गराउँदै त्यस्तो बेलामा गाउँघरका शोषकसामन्तीले ऋण दिने बहानामा जनतालाई चक्रीय ब्याज लिई मार्ने गरेको कुरामा सचेत गराएको छ ।
११ क्रमशःमुलुक रेमिट्यान्सले चलेको भए पनि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको कोरोनाका कारण रोजगारी गुमेको , कयौं नेपाली श्रमिकहरू प्रवासमा भोकभोकै अलपत्र पर्नु परेको तर सरकार भने कानमा तेल हालेर भ्रष्टाचार गर्नमै लिप्त भएको तथ्यलाई मार्मिकरूपमा प्रस्तुत गरेको छ र सरकारलाई जनताका अगाडि निरीह नबन्न सचेत गराएको छ ।
१२ : कोरोना महामारीको सन्त्रासमा लेखकले ३१ दिनसम्म होम क्वारेन्टाइनमा बिताउनु परेको अस्पट्ट कठिन स्वैरकाल्पनिक क्षणहरू ,कोरोनाको पीडा र शङ्का उपशङ्का ,त्यसबेला मनमा उठ्ने तरङ्ग र उद्वेगलाई पनि उपन्यासकार र उपन्यासले अत्यन्तै हृदयस्पर्शी रूपमा चित्रण गरी जीवन्तरूपमा प्रस्तुत गरेको छ ।
१३ : कोरोनाको सङ्क्रमण भएको बेला आमा ,छोराछोरी,दाजुभाइ इष्टमित्रका सल्लाह सुझाव गफगाफ र हार्दिकतालाई पनि कोमलरूपमा प्रस्तुत गरिएको छ र सबैको माया सद्भाव र प्रेमिल व्यवहारले बिरामीलाई बाँच्न ,रोगसँग लड्न हौसला प्रदान गर्ने हुँदा सबैलाई यस्तै व्यवहार प्रदर्शन गर्न उपन्यासले सन्देश दिएको छ ।
१४ उपन्यासमा दसबर्से माओवादी युद्धको समयमा सेना र माओवादीहरूले जनतामाथि गरेको ज्यादती र नरसंहारलाई पनि छोटो तर मार्मिक रूपमा चित्रण गरिएको छ ।
१५: हामीले पुराणका सबै कुरालाई गलत भन्न मिल्दैन भन्दै आफ्ना संस्कार र संकृतिको रक्षा गर्न उपन्यासले सन्देश दिएको छ ।
१६ : आमाले लेखकलाई गर्नुभएको वात्सल्य प्रेम र लेखकको मातृपितृ भक्ति प्रकट तथा लेखक स्वयम् कयौं पटक मृत्युुको मुखमा पुगेर पनि उम्किनु भएको र लेखकले बाल्यकालमा कापीका पानासँग काँचा आँप साटेर खाएको आदि अविष्मरणीय घटनालाई पनि उपन्यासमा अत्यन्तै मार्मिक तथा रोचक रूपमा प्रस्तुत गरिएको छ ।
१७: चिनियाँ क्रान्ति , स्पेन्जा फ्लु ,विगतमा नेपालमा फैलिएका महामारी आदि थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूलाई औपन्यासिक कथावस्तुमा जोडी उपन्यासलाई ऐतिहासिक दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।
१८ : मुलुकको बाटाघाटा ,कृषि प्रणाली, उद्योगधन्दाको हविगतलाई प्रस्तुत गरिएको छ ।
१९ : उपन्यासको कथावस्तु रैखिक ढाँचामा अघि बढेको छ । उपन्यासका प्रायः सबै पात्रहरू वास्तविक छन् जो अधिकांश अहिले पनि छन् । छोटा वाक्य गठन ,सुललित पद र पदावलीहरू , सरल शब्द चयन र सलल बगेको मिठासपूर्ण कथन पद्धतिले उपन्यास पढूँपढूँ लाग्ने भएको छ । शीर्षक पूर्णरूपमा सार्थक रहेको छ ।






