म फुच्ची आरजे, सम्झना ती दिनका
- सुमिरा खरेल
प्यारा साथिहरु नमस्कार !
“म तपाईँहरुकै प्रिय साथि सुमिरा । कार्यक्रम वालबगैंचा लिएर उपस्थित भइसकेकी छु रेडियो परिवर्तन ९०.४ मेगाहर्जको तंरगमा । तपाईँलाई स्वागत छ ।”
यसो भन्दै एफ.एम. मा वाल कार्यक्रम सञ्चालन गरेको भर्खरै जस्तो लाग्छ । श्रोताले दिएको अपार माया अहिलेपनि साथैमा छ । कक्षा २ मा पढ्ने म फुच्ची कार्यक्रम सञ्चालक थिएँ । त्यो रमाइलो पलको अनुभव लिन पाउँनुमा मेरो बाबा रामप्रसाद खरेलको भूमिका रहेको छ । यदि बाबा रेडियोमा हुनुहुन्नथियो भने म पनि हुन्नथिएँ होला ।
ती पललाई फर्केर हेर्दा .........
आज भन्दा आठ वर्ष अगाडि (वि.संं.२०७०) मैले यो इटहरीमा पाइला टेकेको । मेरा सबै परिवार बसाई सरेर आएका थियौँ । भन्छन् नि जीवनमा सबै कुराको अनुभव गर्नु पर्छ भनेर । म त्यस बेला इटहरीमा आउँदा एकदमै सोजी र सानी थिएँ । ति ठुलाठुला घरका बिल्डिङ , गाडिहरु देख्दा म रमाउनुको सीमा थिएन । इटहरी आउदा म दुई कक्षामा पढ्थे । मलाई अझैँ पनि याद छ स्कुलको लुगा नसिलाइ म स्कुल जान नमानेको । त्यती बेलाको उमेरमा यति डर लागथ्यो कि मानौ, भनेको मानेन भने त मार्छन होला जस्तै लागथ्यो । यतिकैमा एक दिन, एक हप्ता, हुदै एक महिना बितेको पत्तै भएन ।
मेरो बाबा मेरा लागि प्रेरणाको छुट्टै सो्रत । लागथ्यो बाबा नै मेरो भगवान र अहिले त झनै लाग्छ ।
इटहरी आएको एक महिनापछि बाबाले काम गर्ने रेडियोमा मलाई लग्नुभयो । उहाँले त्यो एफ.एम मा स्थापना भएदेखि निरन्तरता दिइरहनु भएको थियो । पहिलो चोटी त्यहाँ कम्प्युटर, ल्यापटप, माइक्रोफोन, त्यो स्टुडियो, ठुलो टेबल, घुम्ने कुर्सी देख्दा एकदमै अचम्म साथै खुशी पनि लागेको थियो । जसलाई पनि केहि कुरा पहिलो चोटि देख्दा अवश्य अचम्म लाग्नु त स्वभावीक हो । त्यहाँ पुगेपछि सबै एक एक चिज मलाई चिनाउनु भयो । त्यहाँ काम गर्ने धेरै दादा, दिदिहरु हुनुहुनथ्यो । सबै आ–आफनो काममा व्यस्त । कोहि कम्प्युटर चलाउँदै , कोहि समाचार भन्दै । अनि त्यो स्टुडियो भित्र पसेपछि भित्रबाट बाहिर ईशारा गरेको मलाई एकदमै रमाईलो लाग्यो ।
अनि बाबाको कुरा अनुसार मैले हप्ताको शुक्रबार बाल कार्यक्रम चलाउने निधो भयो । त्यस बेला म सानो हुदाँ केहि नयाँ काम गर्नु मेरो लागि आकाशमा उड्नु जस्तै थियो । सानोमा डर चाहिँ मेरो मुटुमा भाडा लिएर होईन अड्डा जमाएर बसेको थियो होला जस्तो लाग्छ अहिले मलाई । फेरि मनमा डरका साथ खुशी पनि एकदमै बढी थियो । डर हुदाँ हुँदै पनि केहि काम गर्नु छुट्टै आनन्द हुदो रहेछ । सुरुमा चाहिँ एकदमै डर तर बोल्दै गएपछि त्यो छोडेर कहाँ पुगी सकिने रहेछ ।
बाबाको काम गर्ने रेडियो परिवर्तन ८९.०४ मेगाहर्जमा हरेक शुक्रबारका बाल कार्यक्रम चलाउने तयारी गर्नुपर्नेभयो । कार्यक्रमको तयारी म एक्लैबाट त पक्कै सम्भव थिएन । साथमा मेरो प्यारो बाबा हुनुहुन्थ्यो । मेरो लागि त्यो एउटा टेस्ट मात्र थियो । मनमा धेरै कुरा सोच्थे कसरी बोल्नु होला भनेर । गल्ती भए के गर्ने होला जस्तो लाग्थ्यो । अनि मेरो कार्यक्रमको नामकरण “बालबगंैचा” गरियो । साथै समय पनि हरेक शुक्रबार साँझ साँढे पाँच बजेदेखि ६ः१५ सम्म । बाल बगैंचामा चाहिँ मैले अरुले रचना गरेको कथा, कविता, गजल मात्र भन्नु थियो ।
पहिलो एपिसोडका लागि बिहिबारको बेलुका हामी तयार भइसकेका थियौँ । भोलिपल्ट शुक्रबारको त्यो दिन मेरा लागि खास थियो । मेरो परिक्षाको घढि थियो ।
बाबाले स्क्रीप्ट लेखेर कुन कविता, कथा सबै तयार पारिदिनुभएको थियो । मेरो काम कार्यक्रमको स्क्रीप्ट याद गर्ने बाहेक स्कुलको पाठ पनि याद गर्नुृृ थियो । शुक्रबार स्कुल हाफ छुट्टी हुन्छ भनेर समय मिलाइएको थियो । स्कुलमा सरले पढाइराख्दापनि मेरो मुखमा कार्यक्रमको त्यहीँ स्क्रीप्ट मात्र आइरहेको हुन्थ्यो । मनमा डर पनि थियो तर उता माइकमा बोल्ने रहर छुट्टै अल्झिएको थियो ।
मेरा आँखा घरिघरि भित्ताको घडीमा जान्थ्यो कतिबेला छुट्टी हुन्छ भनेर । समयको प्रतिक्षा गर्दागर्दै मेरा पाइला स्टुडियो तर्फ मोड्नु पर्ने समय आइपुग्यो । मेरो पालो एउटा दिदिको कार्यक्रमपछि आउथ्यो । म यता वेटिङ रुममा हुन्थे । त्यो दिदिले कार्यक्रम सकेर ढोकाको चुकुल ढक्क पार्दा मेरो मनको चुकुल झन जाम भएको थियो । किनकी यो मेरो पहिलो कार्यक्रम थियो । जबकी जीवनमा पहिलो पल्ट रेडियोको स्टुडियो देखेको थिएँ । मेरा लागि डर र खुशी बराबर थिए ।
डर र उत्सुकता एकैसाथ लिएर म स्टुडियो भित्र छिरँे । ठुलो टेबलमा माइक्रो फोन, त्यो माथि हेडफोन र दुइवटा कुर्सी, झलमल्ल बत्ती । गर्मीको समय भएपनि एसीले वनाएको चिसो वातावरण । कुर्सीमा म बसेँ, बाहिर पट्टी मलाई प्राविधिकमा दादा गंगाराम चौधरीले सहयोग गर्नुे हुन्थ्यो । स्क्रीप्ट कण्ठ थियो । स्टुडियो भित्र छिरेपछि त मेरो डर बाहिरै बसेको उर्जाशिल अनुभव भएको थियो । मैले लाइभमा एकदमै मजाले कार्यक्रम चलाए । सबै छक्क पर्नु भएको थियो ।
मेरो कार्यक्रम “वालबगैंचाले” ३ वर्ष सम्म निरन्तरता पायो । चार कक्षा सम्म राम्रै हुँदैथियो सबैको माया र साथ पाएको थिए । त्यसपछि मेरो आँखामा केहि समस्या आएपछि मैले बिचमा छोड्नु पर्याे ।
कार्यक्रमको स्क्रिप्ट लेखन र समाग्री संकलन गर्न आरजे दिदी सविता खतिवडाले धेरै नै मेहनत गरेर मलाई सहयोग गर्नुहुन्थ्यो । आरजे सरस्वती कटुवाल, कमला आर्चाय र दिपक भण्डारी दादाको पनि उतिकै हौसला प्राप्त हुन्थ्यो । रेडियो परिवर्तनका प्रबन्ध निर्देशक मेरो मामा लक्ष्मण रिजाल पनि धेरै नै मेहनत गरेर रेडियोका विविध पक्षका बारेमा सिकाउँनुहुन्थ्यो । बाबाले त मलाई मात्र होइन एफ. एम. का सबैलाई गाइड गर्नुहुन्थ्यो ।
रेडियो कार्यक्रम चलाउदा एकदमै रमाइलो हुन्थ्यो । माइक्रोफोनमा बोल्नलाइ एकदमै हतार लाग्थ्यो । जे कुरा पनि सुरुमा भन्दा अलिक समयपछि त्यसको महत्व थाहा हुने रहेछ । मेरो यो तिन वर्ष रेडियोमा एकदम मजाले बित्यो । बोल्न थालेपछि त डर पनि आफैँ भाग्दो रहेछ । डर भन्ने चिजलाइ त हामिले मनबाट हटाउन सक्नुपर्छ । हामीले नयाँ खोज गर्न डराउनु हुदैन ।
त्यसपछि यसरी समय अघि बढ्दै गयो । घडीको सुई घुम्दा–घुम्दै कहिल्यै गलेन । यो मेरो काम ३ वर्षसम्म चलिरहयो । ३ वर्ष लगातार चलाए कार्यक्रम । बानी बस्दै गयो । मनमा उत्सुकता जाग्न थाल्यो । बाबासगँ थुप्रै कार्यक्रममा जान थालँे । बालपत्रिका, बालकिताबमा रमाउँन थाले । पढ्न त कविता , कथा पढे । लेख्न भन्दा पढ्न मज्जा लाग्थ्यो । मेरो आँखामा समस्या देखिएपछि मैले कार्यक्रम चलाउन छोडेको थिए ।
उपचारपछि आँखा पनि विस्तारै ठिक हुँदै गयो । म पनि कक्षा ७ मा पुगेँ । रेडियोमा कार्यक्रम सञ्चालन गर्ने रहर उतिकै थियो । फेरि शुरु गरेँ अर्काे एफ एम पुर्वोदय ९०. ४ मा । रेडियो पूर्वोदय हाम्रो आफ्नै थियो । स्क्रिप्ट लेखनमा पूर्वोदय एफ.एम. मा आरजे दिदी दुर्गा खड्का र दादा प्रदिप पराजुलीले सहयोग गर्नुहुन्थ्यो । प्रविधिमा पूर्वोदयमा पनि गंगाराम चौधरी दादा हामीसँगै हुनुहुन्थ्यो ।
कक्षा ८ मा गएपछि समय मिलाउन नसक्ने भएर कार्यक्रम सञ्चाल वन्द गर्न विवश भएँ । रेडियो कार्यक्रमको स्क्रिप्टको समय पनि कक्षाको किताबमा समय दिन थालेँ ।
कक्षा १० को परिक्षा दिइसकेँ । अहिले आएर रेडियोका ती चार बर्ष सम्झदा खुब रमाइलो लाग्छ ।
एफ.एम. मा कार्यक्रम सञ्चालन गर्दा मैले आफूजस्तै उमेरका र स्कुल पढ्ने आफूँभन्दा ठूलो कक्षाका प्रतिभावान साथि अनि दादादिदीहरुको अन्तरवार्ता पनि लिएँ । त्योवेला मैले अन्तरवार्ता लिएका प्रज्वल दुलाल दादा अहिले नाटकको क्षेत्रमा हुनुहुन्छ । मानव बराल दादाले पछि एफ. एम. मा कार्यक्रम नै सञ्चालन गर्नुभयो । प्रज्वल दादा पनि एफ. एम. कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो स्कुलको पढाइ सकेपछि । अरु कतिलाई कथा, कविता वा आफ्नो प्रतिभा प्रस्तुतीको लागि स्टुडियोमा ल्याए । ती सबै नाम र अनुहारहरु सम्झना छैन् ।
फेरि पनि मिडिमा आउँने रहर उतिकै जागृत छ । बाबाले सधै प्रेरणा दिइरहनुहुन्छ । कुनै न कुनै रुपमा म फेरि एसइ पछि मिडियामा आउँछु ।