बिहीबार ३, बैशाख २०८३ Thu,16 Apr 2026

सर्वाधिकार सुरक्षित

डिभोर्स पार्टीभित्र जे देखियो



11:23 शुक्रबार ३१ , बैशाख २०७८

बिन्दु दहाल मूकदर्शक

वि स २०१२ साल कार्तिक ८ गतेका दिन डण्डपाणि तथा युवाकुमारी चापागाईंको कोखबाट भोजपुर दिङ्लामा जन्मनुभएका गायत्रीकुमार चापागाईं हाल बिराटनगरमा बस्दै आउनु भएको छ । 
नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएका गायत्रीकुमार चापागाईंले जीवन यापनका लागि शिक्षण पेसा अगाल्नु भएको थियो भने हाल अवकाश प्राप्त जीवन व्यतीत गरिरहनु भएको छ । नेपाली साहित्यका आख्यान ,निबन्ध तथा कविता विधामा आफूलाई सशक्तरूपमा प्रस्तुत गर्ने चापागाईं नेपाल रेडक्रस सोसाइटी ,साहित्यसङ्गम दिङ्ला ,नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान बिराटनगर ,नेपाल साहित्यिक पत्रकार सङ्घ काठमाडौं , नारी विकास सङ्घ बिराटनगर ,चापागाईंसमाज सेवा बिराटनगर आदि संस्थासँग आवद्ध हुनुहुन्छ भने वहाँ आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठान बिराटनगरका अध्यक्ष समेत हुनुहुन्छ । चापागाईंका हालसम्ममा काव्य वाटिका कविता सङ्ग्रह २०६८ ,चर्किएको घर कथा सङ्ग्रह २०७०, मूलपानी निबन्ध सङ्ग्रह २०७१ ,तुवाँलोले ढाकेको मन कविता सङ्ग्रह २०७४ आदि जस्ता आधा दर्जन जति सिर्जनात्मक कृतिहरू प्रकाशित भएका छन् भने वहाँले सुशीला चापागाईं जीवनी र व्यक्तित्व कृष्णभूषण स्मृति ग्रन्थ लगायतका आधा दर्जन बढी पुस्तकहरूको सम्पादन तथा सह सम्पादनको कुशल भूमिकामा आफूलाई प्रस्तुत गरिसक्नु भएको छ । वहाँका विभिन्न पत्रपत्रिकामा प्रशस्त मात्रामा लेखरचनाहरू पनि प्रकाशित भएका छन् । 
डिभोर्स पार्टी कथा सङ्ग्रह २०७४ सालमा प्रकाशित एक सुन्दर कथा सङ्ग्रह हो । यस कथासङ्ग्रहको मूल्य रु २०० रहेको छ भने कथाको बाहिरी आवरण ज्यादै सुन्दर छ जुन उमेशचन्द्र अधिकारीले बनाउनु भएको हो । कथाको मूल भूमिका साहित्यकार प्रदीप नेपालले लेखिदिनुभएको छ भने प्रकाशकीयमा पूर्वाञ्चल साहित्य प्रतिष्ठान रहेको छ । अध्यक्ष भएको नाताले विवश पोख्रेलले प्रकाशकीय लेख्नु भएको छ । यो कथा सङ्ग्रहमा मझौला कदका बीस वटा कथाहरू सङ्कलित रहेका छन् । कथाकार चापागाईंको सबै भन्दा लामो कथा नै डिभोर्स पार्टी हो जुन ५७ देखि ६६ जम्मा ९ पेजमा विस्तार भएको छ । बाँकी कथाहरू चार ÷पाँच पेजमै सीमित रहेका छन् । यी सबै कथाहरू ९९ पेजमा विस्तारित भएका छन् । पहिलो कथा भूकम्पका कथा व्यथाहरू रहेको छ भने अन्तिम कथा दरवारभित्रको दुर्दशा रहेको छ । यी दुबै कथाहरूले बाँकी कथाहरूलाई बिचमा च्यापेर राखेका छन् ।
डिभोर्सपार्टीभित्र ः
१. चापागाईंका पहिलो र दोस्रो कथा वि स २०७२ सालको भूकम्पसँग सम्बन्धित छन् । यस कथामा मानबहादुर र उसका परिवार विदेशबाट स्वदेश आउने क्रममा काठमाडौंको सगरमाथा गेष्ट हाउसमा बसेका र दिउँसो गुमफिरको क्रममा धरहरा चढ्न जाँदा सबै परिवार नै धरहराले पुरेको दर्दनाक र मानिसको जर्जर कहानी छ भने दोस्रोमा धरहरा ढल्दा संयोगले बाँचेकी जिउँदो शहीद नर्स सडक दुर्घटनाको सामान्य अवस्थामा नै मरेकी कारुणिक घटनाको तारतम्य छ । यी कथाबाट कथाकारले मानिसले मृत्युलाई आफैँले काखी च्यापेर हिँड्छ तर पनि देख्दैन र थाहै नपाई चटक्क चुडेर लान्छ भन्ने कुरा देखाएका छन् भने अर्कातिर भूकम्पले निम्त्याएको प्राकृतिक विपत्तिमा घरहरू भासिएका , मान्छे मरेका ,घाइते अपाङ्ग भएक ,हप्ता दिनपछि पनि मानिसको जिवितै उद्धार गरिएको र नेपालका सडकका दुर्दशा , खाट टेबल मासेर बक्स पलङ भित्र्याएकोले यस्ता विपत्तिमा जोगिन झन् सकस परेको मार्मिक र मानवीय संवेदनाका कुरा प्रस्तुत गर्नु भएको छ । यसरी नै भूकम्प जस्तो आपतकालीन अवस्थामा पनि नेपालका सांसद मन्त्रीहरूले जनताका राहत सामग्री आफैँले कुम्ल्याएको र नेपाली निच राजनीतिक संस्कार प्रति कटाक्षा गरिएको छ । 
२. चापागाईंको तेस्रो कथा वृध्दाश्रम रहेको छ । यस कथामा छोरो वैदेशिक रोजगारमा गएको ,घरमा सासू र बुहारी मात्र रहेका , तर बुहारी अर्कैसँग भौतारिने गरेकी र आमाले सो कुरा छोरालाई सुनाउँदा छोराले नपत्याएको अनि सबै पैसा बुहारीलाई पठाउने गरेको यता बुहारीले सासूलाई देख्न नसकेकी र घरमा बस्न नसकेपछि छोरी सुशीलालेआफ्नो श्रीमान् को कारण घरमा ल्याएर पनि राख्न नसक्ने अवस्था भएपछि आमालाई वृद्धाश्रममा राख्न वृद्धाश्रम खोज्दै हिँडेको र अर्को जोडी पनि यस्तै वृद्धाश्रम खोज्दै हिँडेको प्रसङ्ग छ । यसकथाले एकापट्टि श्रीमानलाई वैदेशिक रोजगारमा पठाएर उनीहरूले पठाएको रुपैयाँपैसा परपुरुषसँग खाईपिई सुती रजाइँ गरी लोग्नेलाई नाङ्गो बनाउने नारीहरूको कर्तुतलाई पर्दाफास गरेको छ भने अर्कातिर छोराछोरीका लागि जन्मदिने आमाबुबा आँखाको कसिङ्गर बन्दै गएका र आज रुँदै वृद्धाश्रम खोज्दै हिँड्नु पर्ने मार्मिक परिवेशलाई उजागर गरेको छ । 
३. चापागाईंको चौथो कथा आँधीबाट बचेका फूल रहेको छ। यस कथामा केटाले दारी पालेर गालाको खत छोपेको , केटीलाई तिमी जत्तिकै पढेको छु भनेर ढाँटेर बिहे गरेको र पछि श्रीमतीले यी कुरा थाहा पाएपछि वैमनस्यता बढ्दै गएको , स्वास्नी पीडित श्रीमान् बनी बाँच्नु परेको , भएको सन्तानलाई ससुराली माइत पठाएको प्रसङ्ग छ । दुबैमा अहम् रहेको र घरै बिग्रने अवस्था आएपछि अन्त्यमा मावली दाइले आफ्नी बहिनीलाई सम्झाएपछि पुनः समस्या सुल्झिएको प्रसङ्ग छ । यस कथाले कसैले पनि ढाँटेर बिहे गर्नु हुँदैन , पुरुषहरू पनि श्रीमती पीडित छन् र भन्न मात्र लाज मानेका हुन् , गम्भीर भएर समस्या समाधान गर्न लागियो भने जस्तै समस्या पनि हल हुन्छन् ,कसैले नचाहिँदो अहम् देखाउनु हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ । 
४. कथाकारको पाँचौ कथा दुर्व्यसन रहेको छ जसमा इलामको सुन्दर वर्णनसँगसँगै इटहरी शहरतिरका युवाहरूले एउटी महिलालाई इलामको होटलमा लगेको, ती सबै दुर्व्यसनमा लिप्त भएका, तीनचारदिनसम्म होटलमा ढोका थुनेर बसेपछि होटेलवालाले पुलिसको जिम्मा लगाइदिन्छु भनेपछि उनीहरूले होटलमा तिर्ने पैसाको अभावमा ३५०० पर्ने मोबाइल साहुलाई बुझाएर त्यहाँबाट फुत्केको प्रसङ्ग छ भने अर्कातिर सरकारी कर्मचारीले आठवटा ; गाडीमा एकएकवटी केटी लिएर इलाम पुगेका ,मासु जाँडरक्सी खाई नाचगान गरी रासलीला गरेका ,पुलिसले पनि माथिको आदेश भनी त्यस्ता फटाही कार्यलाई पनि वास्तै नगरेको प्रसङ्ग छ । यो कथाले अहिलेका युवायुवतीहरू दुर्व्यसनमा फँस्दै गई चरित्रहीन बनेका ,सरकारी कर्मचारीहरू पनि केटी चराई हिँडी बिकामे बन्दै गएका , पुलिस प्रशासनलाई निरीह बनाइएको कुरामाथि हामी सबैको ध्यानाकर्षण गरी समस्या समाधान गर्न गम्भीर हुन आग्रह गरेको छ । 
५. कथाकार चापागाईंको छैटौं असामको कथा रहेको छ । यस कथामा एकातिर असाममा अतिथि देवो भवः भन्ने उक्ति अझै पनि चरितार्थ छ भन्ने देखाएको छ भने अर्कापट्टि हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा ,भानुभक्त र नेपाली साहित्यप्रतिको असामीहरूको अपार स्नेह र सद्भाव देखाइको छ । यसै गरी त्यहाँ ; नेपाली ,गोर्खाली आदिका नाममा नेपालीहरू टुक्राटुक्रा बन्न थालेको दुखद पक्षलाई पनि उठान गरिएको छ भने असाममा असमियासँग नेपालीको आत्मीय सम्बन्ध भए पनि कति ठाउँमा नेपालीले खुनपसिना निकालेर श्रम गर्ने गरेका तर उनीहरूका खसीबाख्रा हाँसकुखुरा लुटपाट हुने गरेको र नेपालीले त्यहाँ असुरक्षित जीवन यापन गर्नु परेको कहाली लाग्दो अवस्थालाई देखाइएको छ । 
६. कथाकार चापागाईंको सातौं कथा ज्यानमारा रहेको छ । यस कथामा विजुवा तामाङ र बाँडा जेठाले एक जना महिलालाई सामान्य कुरामा मारेको ,हत्यारा पत्ता लगाउन नङमा कालो दलेर हेर्ने कुरा ,दावा गाउँका खड्का क्षेत्रीले दाजु लाहुरमा भएका बेला भाउजुसँग अनैतिक सम्बन्ध राखी गर्भवती भएपछि मारेको घटना , कुटाइबाट जोगिन पराजुली बाले आफैँले ज्यानमारेको कुरा सकारेको , ज्यानमारा पत्ता लगाउन नसकेपछि पराजुली बा जस्तालाई कुटेर , डरधम्की देखाएर मैले नै मारेको हुँ भन्न वाध्य बनाउने पन्चायतकालीन न्याया पद्धतिको पर्दाफास गरिएको छ । यसरी नै पन्चायत कालमा शिक्षकहरूले पेसागत हकहितका लागि बोल्दा , अन्यायको विरोध गर्दा जेलनेल भोग्नु पर्ने , कतिले जागिर नै गुमाउनु पर्ने कुरालाई पनि रोचक ढङ्गबाट प्रस्तुत गरेको छ । 
७. कथाकार चापागाईंको आठौं कथा जेठो राई रहेको छ । यस कथामा केटी पाउने आशामा घाँस झार्न जुत्तासँगै जेठो राई रुख चढेको र लढेको , त्यत्रो रुखबाट लड्दा पनि नमरी घाइते भएको , उपचारको क्रममा नर्सिङ होमहरूले नचाहिँदो डकैत गरेको ,राई जेठो जसोतसो निको भएको तर पछि सामान्य कारणले ऊ मरेको घटना प्रस्तुत गर्दै मान्छे काल नआउन्जेल जस्तै ठुलाठुला घटना घटे पनि मर्दैन तर काल आएपछि सामान्य घटनाले नै हामीलाई लान्छ भन्दै लेखकको जेठा राईप्रतिको हार्दिकता ,मायाममता र करुणा लाई पनि औधी राम्ररी देखाइएको छ । जेठा राईको पशुप्रतिको प्रेम ,श्रमप्रतिको लगावलाई संवेदनशील ढङ्गबाट कथा र कथाकारबाट उद्घाटन गर्ने प्रयास भएको छ । 
८. कथाकार चापागाईंको नवौं कथा कात्तिके घाटको पुल रहेको छ । यस कथामा स्थानीय तहको विवादले गर्दा एक ठाउँको विकास अर्को ठाउँ जाने ,विकासमा तानातान हुने गरेको बस्नेत काजीले शक्तिका भरमा पुल सार्न खोजेको तर पार नलागेको,कात्तिके घाटको पुलले साल्मा र बालुवा बेँसी जोड्ने पुलको निर्माणले विकासमा टेवा पुगेको , पुल बनाउँदा कमिसन माग्नेले हैरान बनाएको वस्तु स्थितिलाई उजागर गरिएको छ । 
९. दसौं कथा बाङ्गे माइलाको प्रेम कथा रहेको छ । यस कथामा सरकारी भ्याक्सेक्टोमी भरपर्दो नभएकोले नियोजन पछि पनि धन्जेका छोराछोरी भएका , धामी झाँक्रीको भर परेर धन्जेले कलकलाउँदो छोरो गुमाएको , धामीझाँक्री हेर्ने मेलोमा युवायुवतीको मायाप्रेमको खेती लगाउने माध्यम बनेको , बाँङ्गेकी श्रीमती धामीले नै उडाइदिएको , जबर्जस्ती भगाएर बिहे गर्ने असभ्य चलन देखाइएको छ भने रीतभाँत नबुझाएकै कारण बाङ्गेकी सासूले छोरीलाई अर्कै कसाईसँग लगाइदिएको र पछि बाङ्गेले त्यही कसाईले लगेको श्रीमती ल्याएको र लाजले ठाउँ नै छोडेर धरानतिर हिँडेको घटना छ । यो कथाबाट सामाजिक कुसंस्कार ,अन्धविश्वास र बाङ्गेको अनौठो प्रेमलाई उजिल्याउने काम गरेको छ । 
१०. डिभोर्स पार्टीको एघारौं कथा जम्काभेट रहेको छ जुन कथामा साहिँला दमाईकी श्रीमती श्रीमान् मरेको कारण एकल भएकी , माहिला सार्कीको पनि श्रीमती मरेकीले एकल भएको र उसलाई छोराछोरीहरूले नहेरेको प्रसङ्ग छ । यसर्थ यस कथामा एकल महिला तथा पुरुषहरूका पीडा ,मर्म व्यथावेदना र समस्यालाई जीवन्त रूपमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । 
११. अर्को बाह्रौं कथा फेसबुक रहेको छ जहाँ आमा मरेपछिका बालबालिकाहरूको दुःखद अवस्था ,फेसबुककै कारण केटीले मसँग हङकङको आइडी छ भनी बिहेको नाटक गरी २÷३ जना केटा फसाई पैसा कुम्ल्याएको , खुट्टा लेच्याउने केटीले अंश मुद्दा जितेको आदि फेसबुके बिहेको चर्तिकला प्रस्तुत गर्दै फेसबुके बिहे भरपर्दो र चिरस्थायी नहुने र बरु फेसबुके बिहे विकृति भएको ,यसले घरपरिवार र समाजमा आतङ्क फैलाएको कुरा उल्लेख गर्दै आआफ्ना जात र संस्कारअनुसारकै विवाहलाई सबैले प्रोत्साहन दिनु पर्ने कथाकारले सन्देश दिनुभएको छ ।
१२. तेह्रौं कथा पुस्तककै नामसँग सम्बन्धित डिभोर्सपार्टी रहेको छ । यस कथामा मोहनले मसँग बिहे गरेनौं भने म झुन्डिएर मर्छु भनी नर्स नमितालाई जबर्जस्ती बिहे गर्छु भन्ने पारेको ,उनीहरूले घरपरिवारलाई थाहै नदिई मन्दिरमा बिहे गरेका ,छोराछोरी पनि भएका र अस्ट्रेलिया गएका ,उनीहरूको दाम्पत्य जीवन तीन दसक पुरानो भैसकेको , उनीहरू पनि छोराहरूसँगै अष्ट्रेलिया गएका तर त्यति पुरानो दाम्पत्य सम्बन्धमा धमिरा लागी काठमाडौको सोल्टी होटलमा सबै आफन्त बोलाएर बिहे गरेकै शैलीमा कार्यक्रम आयोजना गरी डिभोर्स गरिएको र फेरि मोहनले अर्की पतित्यक्ता महिलासँग विवाह गरेको अचम्मको घटना प्रसङ्ग छ । यसरी नै निरीह शिक्षकलेहरूले जतिसुकै इमानदार भएर काम गरे पनि उनीहरूको अवस्था जीवनमा एकजोर सुट लगाउनेसम्म नभएको कुरा पनि कथामा उल्लेख गरिएको छ । यस कथाले हामी पश्चिमी संस्कृतिको हावामा उड्दै गएका हुँदा सचेत गराइको छ भने नेपालको सञ्चार जगतको दुर्दशालाई समेत चित्रण गरिएको छ ।
१३. चौधौं कथा देब्रे रहेको छ ।यस कथामा गरिबीको कारण छोराछोरी पढाउनै भए पनि गरिब जनताले जाँडरक्सीको व्यापार गर्नु परेको र माओवादीहरूले भाटेकारबाही , सुराकी गरेको आरोपमा देब्रे कार्कीले चेवाबेँसीको डल्ले राईलाई गोली हानी मारेको तर ऊ निर्दोष रहेको ,जबर्जस्ती सर्वसाधारण जनतालाई युद्धमा लाने ,कार्यकर्ता बनाउने ,देब्रेले माहिला बस्नेतको घर फोरेको ,उता सेनाले सर्वसाधारण जनतालाई तिमीहरू नै हौ माओवादी पाल्ने ,चन्दा दिने भने निर्मम यातना दिएको , शिक्षक र व्यापारीले माओवादीलाई चन्दालेवी बुझाउनु पर्ने माओवादी कालमा माओवादी र सेनाको ज्यादती र हिंसालाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरिएको छभने हदै भएपछि देब्रेलाई जनताले नै मारेको घटना जोडिएको छ ।
१४. पन्ध्रौं कथा प्रविधि प्रेम रहेको छ जहाँ बेहुलो विदेशमा हुन्छ तर यता बेहुलोबिनै बेहुली एक्लै बेहुलाको घरमा भित्र्याइन्छ । यसकथाले प्रविधिका कारणले यस्तोसम्म हुन थाल्यो भनी देखाउन खोजिएको छ ।
१५. सोह्रौं कथा अकाल मृत्यु रहेको छ जहाँ गरिबीको कारण मुसहरवस्तीको दुर्दशा , मुसहर वस्तीको अनिकाल , मुसहर महिलाहरूले मालिक र ठेकेदारको ओछ्यान बन्नु परेको ,मुसहर महिलाहरू सुत्केरी हुँदा अस्पतालले निःशुल्क उपचार नगरेको र सरकारबाट आउने सुविधा अस्पतालले झ्वाम पार्ने गरेको ,रुपासेले छोरो जन्माए पनि चामरु र रुपासेको लोग्नेले डाक्टरकहाँ लगे पनि पैसाकै अभावमा रुपासेले ज्यान गुमाएको वियोगान्त मार्मिक घटना प्रसङ्ग छ जसबाट देशका गरिब निरीह मुसहर तथा अन्य जनताको दारुण चित्रण गरिनुका साथै अस्पताल सन्चालक र डाक्टरहरूमा मानवीय भावना पटक्कै नभएको कुरा उजागर गरिएको छ ।
१६. सत्रौं कथा जीवन सङ्घर्षका जटिल मोडहरू रहेको छ जहाँ विद्यालयलाई सभासङ्गठन गर्ने, मुद्दा मिलाउने थलोको रूपमा दुरुपयोग गरेको प्रसङ्ग छ र पुलिसले पैसा खाएर निष्पक्ष न्याय नदिने ,उल्टै कुटपिट धाकधम्की दिने हुँदा सर्वसाधारण गरिब जनताले शिक्षकलाई झगडा मिलाइदिन आग्रह गर्ने र शिक्षकहरूले पनि यस्ता ठाउँमा न्यायधीसको भूमिका निर्वाह गर्न व्यस्त रहनु पर्ने कुरा प्रस्तुत गरिएको छ भने अर्काेतिर शिवनारायणको छोरो वैदेशिक रोजगारमा गएको बेला उसकी श्रीमती राजवती लटिपटी बनाई नानी छोडी पोइल गएकी प्रसङ्ग कोट्याउँदै पैसाले यौन तृष्णा मेट्न नसक्ने कुरा प्रष्ट्याइएको छ । यसरी नै १२ बर्षिया हँसावतीलाई उसकै मामाले पैसा खाई ६० बर्षिय वृद्धसँग विवह गराएको प्रसङ्गबाट मान्छे पैसाका लागि कतिसम्म गिर्छ भन्ने कुरालाई छर्लङ्ग पारिएको छ । छोरो जन्मे पनि हँसावती आफ्नै नोकरसँग पोइल गएको कुराबाट मानिसको घरजम सफल हुन मनसँगै उमेर र चाहना पनि मिल्नु पर्छ भन्दै अनमेल विवाह सफल बन्न नसक्ने कुरा दर्शाइएको छ । हँसावतीको पहिलेको छोरो डाक्टर भएर आमा लिन आए पनि ऊ नजानुले मानिस आफ्नैँ स्वाभिमान र गरिमा बोकेर स्वतन्त्रतापूर्वक बाँच्न चाहान्छ । ऊ कसैको हेला र तिरस्कार सहन सक्दैन भन्ने देखाउन खोजिएको छ । आदिवासीहरू जाँडरक्सी र खानपिनमा खर्छ गर्न नजान्ने कुरालाई पनि यहाँ देखाउँदै यो पनि उनीहरू आर्थिक रूपमा माथि उठ्न नसक्ने कारण हो भन्न खोजिएको छ । 
१७. अठारौं कथा रातो बाकस रहेको छ ।यसमा वीरे काकाको कान्छो छोरोले वैदेशिक रोजगारीमा जानका लागि दलाललाई पैसा ख्वाएको तर दलाल फरार भएको ,हर्कजितको छोरो पनि दलालकै फन्दामा परेको यता स्वदेशमा भने सधैँ बन्दहड्ताल भएर चौपट्टै हुने गरेको कुरा चित्ताकर्षकरूपमा चित्रण गरिएको छ भने वैदेशिक रोजगारको सिलसिलामा अफगानिस्तान गएको सामन्तसिंह विद्रोहीको आक्रमणमा परी मरेको र ऊसहित बिस वटा शव जहाजबाट रातो बाकसमा ल्याइएको दारुण घटनालाई कथामा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका सिलसिलामा नेपालीले भोग्नु पर्ने सम्झनै नसकिने अफ्ठ्यारा असजिला र जीवननै गुमाउनु पर्ने तिक्तानुभवलाई उजागर गर्दै पसिना बगाए स्वदेशमै जीवन चलाउन सकिने निष्कर्ष कथाको रहेको छ । 
१८. कथाकार चापागाईंको उन्नाइसौं कथा किशोर किशोरीको घरजम रहेको छ जहाँ किशोर दुई दशक लामो वैवाहिक सम्बन्ध तोड्दै किशोरीसँग दोस्रो विवाह गरेको प्रसङ्ग छ । तर केही समयपछि नै किशोरलाई किशोरीले समानरूपमा दुबै जनाले बराबर काम गरौँ भन्दा कानुन पढेको किशोर भाँडा माझ्न ,चिया पकाउन हच्केको र उपत्यकातिरै बस्न थालेको यता घरमा एउटा कोठामात्र किशोरीलाई छोडी अरूमा किशोरले ताला लगाएको हुँदा माओवादी डाकेर किशोरीले ताला फोरेको घटना प्रसङ्ग छ । कथाले कानुन पढ्नेहरूले नै कानुनको धज्जी उडाएको , महिलाहरूले समान अधिकारको कुरा गर्दा अधिकांश पुरुषहरू तगारो बन्ने गरेका र न्यायका लागि माओवादी द्वन्द्वकालमा पीडितहरूले उनीहरूलाई गुहार्ने गरेको यथार्थतालाई उद्घाटन गरिएको छ । 
१९. कथाकारको अन्तिम कथा दरबार भित्रको दुर्दशा रहेको छ । जहाँ अतुल कान्छाले अर्काको पैसा चलाएर फन्दामा परेको , अतुल कान्छा जस्ता पुराना धनाढ्य जुवातास ,क्यासिनोमा दिन बिताउने र पैत्रिक जग्गाजमिन स्वाहा बनाउने तर सिन्को नभाँची सधैँ दसैंतिहार जस्तै खानपान गर्ने अनि पुरानै फोस्रो ढाँचाढर्रामा बाँच्न खोज्नुले आर्थिकरूपमा टाट पल्टिँदै गएका र सडकमा पुगी कृपावती जस्ता भान्सेको पैसासम्म दिन नसक्ने अवस्थामा पुगेको कुरा छ । 
निष्कर्ष ः कथाकार चापागाईका समग्र कथाहरू हेर्दा यी अधिकांश कथाहरूले मुख्य गरी नेपालको पूर्वी पहाडी ग्रामीण परिवेशलाई आफ्नो पृष्ठभूमि बनाई गन्तव्यमा लम्किएका छ्न् । पूर्वी पहाडी , तराई र आसामसम्मका तमाम नेपाली जनताहरूले भोग्ने सुखदुःख पिरमर्का ,शोषणदमन र उत्पीडन ,मानवीय संवेदना ,यौनकुण्ठा र रतिरागलाई कथाहरूले उजागर गरेकाछन् र यी विषयमा जनचेतन फैलाउने काम गरेका छन् । पञ्चायतकालीन समयमा नेपाली शिक्षकमाथि गरिने दमन र अत्याचार , माओवादी द्वन्द्वकालीन चक्रव्यूहमा माओवादी र सेनाहरूको दबदबामा जनताहरूले झेल्नुपरेको अत्यन्त पीडा र बितण्डाहरू ,घरेलु शोषकसामन्तीको अतिचार र गुम्दै गएको नेपाली संस्कार एवम् संस्कृतिलाई जोगाउन पनि कथाहरू र कथाकारले छर्लङ्ग पारी पाठकसामु सन्देशका रूपमा प्रस्तुत गरेकाछन् । 
वैदेशिक रोजगारका कारण उत्पन्न यौनकुण्ठा र विशेष गरी नारीहरूले आफ्ना श्रीमान्को दुखलाई बुझ्न नसकी कामोत्तेजक भई श्रीमान् लाई नाङ्गेझार पारेर पोइल गएका घटनामार्फत सबै पाठकलाई सजग रहने सन्देश दिँदै सम्पत्ति र यौन कामवासनाको चाहना दुई अलग अलग पाटाहरू हुन् र यिनीहरू दुवैलाई सही ढङ्गबाट प्रयोग गर्न सकेमात्र हाम्रो मानव जीवन सुन्दर बन्न सक्छ भन्ने लेखकीय ठम्याइ रहेको छ । कतिपय कथाहरूमा लेखक आफैले आफैँलाई कथाका पात्रका रूपमा साधरणीकृत गरेको महसुस पाठकलाई हुन्छ । 
हिजोआजको फेसबुके प्रेम ,प्रेम विवाह वा भागी विवाह क्षणिक आवेग र उत्तेजनाका परिणाम हुन् । यस्तो विवाह भविष्यमा दुर्घटनाग्रस्त हुन्छ भन्ने कुरा कथाकारले निक्कैवटा कथामा देखाउनु भएको हुँदा कथाकार मांसल प्रेम भन्दा पनि हार्दिक प्रेमको पक्षपाती हुनुहुन्छ भन्ने प्रष्ट छ । वहाँले आफ्ना कथाहरू मार्फत परम्परागत विवाह गर्ने चलनलाई नै अँगाल्न सन्देश दिनु भएको छ । यस कथामा प्रयोग गरिएको परिवेश पात्र र भूगोलानुसार जीवन्त छ । पात्रहरू बद्ध र मुक्त ,वर्गीय र व्यक्तिगत ,गोला र च्याप्टा ,सापेक्ष र निरपेक्ष ,सार्वभौम र आञ्चलिक ,पारम्पारिक र मौलिक सबै प्रकृतिका रहेका छन् । कथामा सरल संयुक्त मिश्र सबै खाले वाक्य प्रयोग गरिएको छ । ठाउँ ठाँउमा प्रयोग गरिएका उखानतुक्क्काले कथा अरू हृदय संवेद्य भएका छन् । कथामा प्रयोग गरिएको दृष्टिबिन्दु प्रथम र तृतीय दुबै खालका छन् । छोटा छोटा कथामा पनि समानान्तर लाग्ने अरू सहायक कथा संयोजन गर्नु ,वर्णविन्यासमा राम्रो ध्यान नपु¥याउनु ,र अक्षरको फन्ट केही सानो र खाँदेर लेख्नु कथाहरूका सीमा हुन् ।
सामाजिक र यथार्थ विषयवस्तुमा संरचित सम्पूर्ण कथाहरू विषयवस्तु चयन ,शीर्षक सार्थकता ,उद्देश्य भाव – सन्देश ,पात्र प्रयोग गराइ ,वाक्य गठन ,बाहिरी आवरण आदि हरकोणबाट डिभोर्स पार्टी एक सफल कथा सङ्ग्रह कथा हो ।

 

Featured News

Advertisement