मेरा बा अक्षरमा मान्छेभित्र
कालिदास कोइराला
गहन जिम्मेवारी वहन गरी गाउँघर, पाखापखेरो, परिवार, समाजको मानवजातिका माझँमा मनका बह नलुकाई भावनाभित्रका वेदना एकअर्कामा साटासाट गरौँ भन्ने स्वर घन्काउन सिपालु व्यक्ति हुन् – रामप्रसाद खरेल । उनको सृजनाको रसपान गरेपछि विस्मृतिको पानाबाट अलप भएर स्मृतिका लहरमा घुमिरहन्छन्, डुलिरहन्छन् ।
खरेलका प्रकाशित कृतिहरुमा अग्रजको स्मरण, सामाजिक व्यवहार एवं तिनमा सुधाररुपी बिम्बका दर्पण र त्यहाँ देखिने दृश्यले अग्रगामी सुधारमा फड्को मार्ने महत्वपूर्ण सन्देशहरु ज्वलन्त उदारहणका रुपमा पाइन्छन् । त्यसैगरी माक्र्सवादका सिद्धान्तहरुलाई हामीले घोक्ने र अरुलाई घोकाउँने मात्र होइन प्रयोगमा ल्याउने र लागु गर्नुपर्छ भन्ने सक्रियताको दोसल्ला ओढेर आफ्नो पहिचान र स्वामित्वको रक्षा गर्ने जननीले आफ्ना सन्ततिलाई दिने माया र ममतारुपी आशीर्वादले पूर्णता पाए झैँ राष्ट्रियताको मीठो स्वादमा परिचित कोशेलीको दरिलो पोको ‘अक्षरमा मान्छे’ कविता सङ्ग्रहमा मनन गर्न पाइन्छ । यसै सङ्ग्रभित्रको पहिलो कविता हो – ‘मेरा बा’ ।
जीवनपर्यन्त नटुट्ने, पुस्तौंपुस्ता जीवीत नाता हो ‘बा’ । यही नातालाई अझ मीठो सम्बोधन गरी ‘मेरा बा’ को रचना गरिएको छ । शिर्षक नै मालती फूलको वास्नाले कोशौँ टाढासम्म सुवास छरे झैँ हरेक पाठकको मनमन्दिरमा ऐश्वर्य भावको अवतार लिएर आसन जमाउन सफल भएको छ । यसले पाठक भावपूर्ण मृदङ्ग बजाउँदै आस्वादनमा सहजता र सरलताको भूमिका निभाएको सत्यताको प्रस्तुति देखिन्छ ।
जसले आफ्नो हातको औंला समाउन लगाई पाइला चाल्न सिकायो र समाज चिनायो तीनै बा हुन् । बा संसारको ध्रुवसत्य मञ्चीय नाटकको पर्दाबाट सधैका लागि विदा हुनुभयो कविको जीवनबाट त्यसपछि जन्मियो ‘मेरा बा’ ।
बा को स्मरणमा, बाको मृत्यूको वेदनामा मडारिएका प्रेमका तुफानहरुलाई यसरी लयबद्ध गर्नुभयो कवितामा ः
बा !
त्यसबेला सानो भएर पनि
अग्लो थिएँ म
मेरो उँचाई तिम्रो काँधबाट शुरु हुन्थ्यो
आज ठूलो पनि होचो छु म
नियतिले तिम्रो काँध मबाट खोसेपछि ।
नियतिले आफ्नो बालाई खोसेर लगेपछि सँगै बिताएका हरेक क्षणको स्मृतिमा भावनाको लेखाजोखा गर्दा आफू बाको काँधमा बस्दा दर्द कस्तो हुन्छ थाहा नपाई उहाँ भन्दा ठूलो र अग्लो, बाले नदेख्ने दृश्य आफूले देखेको त्यही खुशीमा जीवन शुरु भएको सुनाउन्छन् कवि । जब बा विहिन हुनुभयो अनि बाको काँधको महत्व कस्तो हुन्छ कवितामा प्रस्तुत गर्नुभएको पाइन्छ ।
हिजो बासँग अग्लिएको जीवनको उचाई खोसिएको मार्मिक पिडा वास्तविक सत्यमा प्रस्तुत हुन पुगेको यर्थाथ मेरा बा कवितामा पस्किएको पाइन्छ ।ं बा को यादले आजको यात्रामा अन्तरहृदयदेखि वहाँकै हात समाएर गन्तव्यमा निरन्तरता दिन खोज्नु आफ्नो संस्कृतिलाई ज्यूँदो राखेको दृढ विश्वास अति सराहनीय छ । बा हुँदा संसार आफूँसँग भएको महशुस भएको तर आज भीडमा पनि एक्लो महशुस गर्नु बाको माया नै साथी थियो भन्ने हो ।
कवितामा बा का ती निस्वार्थी सुन्दर नयनहरु विलीन भएको मार्मिकतालाई कलाकारले कुँदेको सुन्दर कला झैँ छर्लङ्ग देखाइएको छ ।
बा !
तिम्रा अगाडि म एक्लै उभिँदा पनि
करोडौँ अनुहारहरु देख्थेँ
आज अरबौँ मानिसहरुको माझमा पनि
एक्लो झैँ देख्छु आफूलाई
यसबेला
मलाई हेर्ने
तिम्रा सुन्दर खाँआहरु छैनन् मसँग ।
कताकता बाको साथ बिनाको यात्रा अधुरो रहेको अनुभूति गर्दै प्रेमिल बाको औंलामा चुम्बन गर्दा आमाको स्तनपानमा पाइने सुधारस झैं बनेको प्रेमरस आज अश्रुजल बनेर तपतप चुहेको यादलाई साँच्चै लोहारले आरनमा फलाम तताई आावश्यक वस्तुको आकारमा तयार गरी पानीमा डुबाई लामो समयसम्म टिकाउ हुने गरी पाइन चढाएको आवश्यक वस्तु जत्तिकै दीर्घजीवी छ ।
यस्तै पूर्वस्मृतीमा छटपटाउँदै, सुस्केरा फ्याल्दै विचलित नभइ कवि जन्मदिने आमाको बा बिहीन समयमा सेतो पहिरन लगाउँदाको अवस्थालाई केलाउन पुग्छन् । यो अवस्थाको आगमनपूर्व आफू सेतो पहिरनको सोखी भएको तर आज आमालाई त्यही सेतो पहिरनमा देखिन पुगेपछि उहाँलाई नियालेर हेर्दा बसाइ, उठाइका हरेक क्षणमा जति होस पुर्याएर समाले पनि कतिखेर कतिखेर कहिल्यै नमेटिने दाग लागिरहेको पाइन्छ । बाहिर त यस्तो हुन्छ भने आमाको अन्तरहृदयमा बाको यादले ठूलो घाउले कति अधिकार जमाएको होला ? अनि यस्तो जस्तोसुकै अचुक औषधोपचार गरेपनि घाउ खाटा बस्नुको साटो बलेको आगोमा मट्टितेल खन्याए जस्तो नभइ रहन सक्छ र ? यो पीडा भित्र अश्रुजलको बाडी नै चल्यो होला । यस्तो अवस्थामा पनि ममतामयी आमाले आफू अभिभावक भएको हुँदा सन्तानको ममता खातिर ती पीडालाई पटुकीले बाँधेर मजेत्रोले छोपेको वास्तविक यर्थाथलाई कवि ऐनामा आफ्नु हनुहार हेर्दा जे छ त्यही नै देखिएकोले आज पीडको पर्खाल ठड्याई दिंदा आँखालाई मुहान बनाई बगेका अनगिन्ती जलको थोपा–थोपामा तिम्रै छायाँ देख्थे भने आमाको कयौं जलधाराले धर्ती सिञ्चन गर्योहोला ? सिरानी निथ्रुक भिज्योहोला ?
कठै ! ती आमाले आफ्ना सन्ततिलाई सधैं खुसी भएको हेर्न आफ्नो पीडालाई लुकाई प्रस्तुति भएको देखाउँदा कविको कलम कवितामा यसरी दौडाउँदै लेख्छन् –
सेतो रङ्गको पीडा
मेरा आँखाबाट कति बगे बगे
ती हरेक थोपाहरुमा तिम्रै प्रकाश देख्थें
झन आमाको आँखाबाट
कति समुन्द्रहरु बगे होलान ?
“सुतुञ्जेलको सत्य छ सपना उठ्दा लाग्दैन साँचो पनि” भन्ने किंम्बदन्ति अनुसार मृत्यु पछि मानिस स्वर्गमा पुग्छ रे ! स्वर्ग भन्ने ठाउँ क्षितिजपारि पाइन्छ रे ! भन्ने कथनलाई आत्मसात गरी खरेल बासँग पुनर्मिलनको झिनो आशाको भारी बोकेर क्षितिजलाई आधार बनाएर पारी तर्नको लागि जीवनको हरेक पलमा निरन्तरता दिइरहेका छन्, दौडिरहन्छन् । बिडम्बना स्वर्ग अप्राप्य छ, क्षितिज टाढा छ विचरा कविले पत्ता लगाउन सकेनन् । आमाको सिउँदोको रातो सिन्दुर पुछिएर सेतो कपालको बीचमा उदाङ्गो धर्को देखेपछि अवाक हुन वाध्य भएको पूर्ण सत्यता पनि यहाँ लुकाइएको छैन, रवि प्रकाश झैँ छर्लङ्ग छ ।
विगतका यादहरुको त्यहाँभित्र छट्पटी होला, अनिद्रा होला, कालो रात्रीका कथा होलान्, हाँसो र रोदन होलान । कठैं ! ती पनि क्षितिजपारि नै पुगे होलान् । यसैले बा तिमीलाई मैले क्षितिजपारि कति खोज्ने जमर्को गरें तिमी त बादलमा हरायौँ । मलाई देखेनौ, देख्नु पनि कसरी तिमी शुन्यमा धर्ती पारि, म एक्लो विरही यात्री । अब मैले आमासँगका ती याद र हरेक पलका क्षणहरुलाई कसरी फिर्ता ल्याउन सक्छु र ? तिमीले हामीलाई माया दियौ, हाँसो दियौ, जीवन दियौ, ज्ञान दियौ, आशीर्वाद दियौ । यति दानी हुँदाहुँदै पनि खुसी चाहिँ लुटेर लग्यौ । अब तिमी नै भन तिम्रो यादमा हरपल एकाग्रचित्र दिएर बसेकी आमालाई म के भनी चित्त बुझाउन सक्छु ? आमालाई नियाल्छु आमाका दुबै आँखामा तिम्रै तस्वीर देख्छु अनि तिमीलाई खोज्दाखोज्दै मेरा आँखाहरु एक तमासले टोलाउन थालिसके तर बा मैले तिमीलाई बिर्सिएको भने छुईन र बिसर्न पनि सक्थे हुँला र ? मेरा निम्ति आकाश, छानो, धर्ती ओछ्यान, ढुङ्गा सिरानी बनाएर जीवन बचाउन सक्ने तिमीले मायाले भरिपूर्ण छातीभित्रबाट पस्किएको मीठो ममताले आच्छादित शितल छहारीको बसाइमा कवि आत्मसातका साथ प्रण गर्दै मनको बह कविताको राग यसरी व्यक्त गर्छन् –
आमाको ओठहरुमा खोजिरहेछु्
जहाँ तिमी पनि
आफ्ना जीवनका सप्पै खुसीहरु खोज्थ्यौ ।
सरल भाषामा लेखिएका जनमानसमा अपाच्य नहुने शब्दहरुको चयनमा वाक्य गठन गरिएको “मृेरा बा” कविता लोकप्रिय हुनुको प्रमुखताले प्रश्रय पाएको छ । आफ्नो जीवनको सहारा बनेका व्यक्तित्व जसको अनुपस्थितिमा पनि बिर्सन नसक्ने गुण लगाई जीवन बचाउँने र बाँच्ने आधारको शुभारम्भ गरी छोडिदिएको र सोही आधारमा जीवन सञ्चालन भईरहेको हुनाले बाको प्रमुख भूमिकामा सङ्गलो नदीको स्वतन्त्र प्रवाह नै निरन्तर जीवन चलाउन सक्ने मुख्य आधारमा शीर्षक सार्थक हुन पुगेको छ ।
यस कविताभित्र कविले नेपाली भाषामा पुरातन कालदेखि प्रचलनमा आएका जनबोलीमा प्रिय लाग्ने शब्दहरुलाई गद्यात्मक लयले गुम्फन गरी पाठक समक्ष पहिर्याउँदा “अकबरी सुनलाई कसी लाउनु पर्दैन्” भन्ने लोकोक्तिमा सापेक्ष रहेको छ भन्दा सायद दुइमत नहोला ।
१३ अनुच्छेद, ११२ हरफ र ३७५ शब्दद्वारा बेष्टित मेरा बा कविताले मानवीय जीवनका वास्तविकतालाई बोध गराउन सफल भएको छ ।
(इटहरीका कवि कालिदास कोइराला प्रध्यापन पेशामा रहनुभएको छ ।¬)






