“क्रियाको रूप विश्लेषण” माथि एक परिक्रमा
विन्दु दहाल मूकदर्शक
कृतिको परिचय :
प्रस्तुत “क्रियाको रूप विश्लेषण” नामको आधुनिक भाषाविज्ञानमा आधारित कृति साहित्यकार हेम अधिकारीको एक सुन्दर र उत्कृष्ट कृति हो । यो कृतिको बाहिरी अवारण रातो ,कालो र पहेँलो रङ्ग मिश्रण गरी आकर्षक रूपमा तयार पारिएको छ । सेतो घुर्मैलो हल्का कागज प्रयोग गरिएको यो पुस्तक आकारप्रकार साइजमा पनि उत्कृष्ट रहेको छ । यो पुस्तकमा जम्मा १४० पेज रहेका छन् र पुस्तकमा लेखकले क्रियाको सूक्ष्म रूपमा अध्ययन गरी विश्लेषण गर्नु भएको छ । प्रकाशकीय साहित्यकला सङ्गम रहेको यो पुस्तकको मुद्रण आवृत्ति छापाखाना वागबजार रहेको छ ।
प्रस्तुत पुस्तक क्रियाका विभिन्न ६ भाग र ८८ वटा उप शीर्षकमा संरचित रहेको छ । प्रत्येक भागमा रहेका उपशीर्षकभित्रका क्रियाको रूप विश्लेषणलाई वैज्ञानिक भरपर्दो र पठनीय बनाउन प्रशस्त मात्रामा दृष्टान्त र तालिका ÷आरेखहरू प्रयोग गरिएको छ ।
प्रस्तुत पुस्तकभित्र निम्न भाग र शीर्षक रहेका छन्
भाग १ : नेपाली क्रियाको परिचय उल्लेख गरी वाक्यको केन्द्रीय तत्त्वका रूपमा रहेर व्याकरण बुझाउने शब्दवर्गलाई क्रियापद भनिन्छ भनी परिचय दिइएको छ । यसपछि क्रियाका विषयमा परम्परागत र आधुनिक व्याकरणाचार्यहरूका परिभाषाहरू प्रस्तुत गरिएको छ । यसरी नै वाक्यलाई समापन गर्ने , टुङ्ग्याउने क्षमता राख्ने क्रियालाई समापक ( जान्छु जान्छ ,जानेछ) र वाक्यलाई समापन गर्न नसक्ने क्रियाहरू ( जानु ,जाने ,जान आदि ) लाई असमापिका क्रिया भनी सोदाहरणसाथ प्रष्ट पारिएको छ । यसै भागमा हेमराज पाण्डे , डा कपिलदेव द्वीवेदी ,नरेन्द्र चापागाई ,हेमाङ्गराज अधिकारी,आदि विद्वान् हरूले क्रियाको वर्गीकरण कसरी गरेका छ्न् भनी उल्लेख गरिएको छ । यसपछि संरचनाका आधारमा ,आर्थी क्षमताका आधारमा कार्यस्थिति एवम् घटना परिणामका आधारमा क्रियाको वर्गीकरण गरी देखाइएको छ ।
भाग २ : भाग दुईमा नेपाली क्रियाको लिङ्गविधानका विषयमा प्रष्ट्याइएको छ । यहाँ संस्कृतभाषा व्याकरणमा भएको क्रिया को लिङ्गविधानको पनि तुलनात्मक चर्चा गरिएको छ । विभिन्न व्याकरणमा भएका क्रियामा लिङ्ग विधानको पनि चर्चा गरिएको छ । यसरी नै नाम,सर्वनाम, विशेषण र क्रियामा कस्तो लिङ्ग भेद रहन्छ भनेर पनि विस्तृत चर्चा गरिएको छ ।क्रियामा भएको लिङ्ग व्यवस्थामा संस्कृत ,अङ्ग्रेजी ,हिन्दी र नेपालीमा भएको व्यवस्थालाई पनि सोदाहरण प्रष्ट पारिएको छ । यसरी नै क्रियापदमा लिङ्गको भूमिकालाई आदर ,काल , पक्ष ,करण ,अकरण ,रूप,भाव,वाच्य,पुरुष वचन आदिका आधारमा प्रष्ट्याइएको छ ।
भाग ३ : भाग ३ मा क्रियामा वचन विधानको विषयलाई उठान गरिएको छ । भाषामा कुनै यति भनेर सङ्ख्यात्मक रूप यकिन गर्ने व्याकरणिक कोटिलाई वचन र क्रियाबाटै वाच्यको सङ्ख्या एक वा धेरै भन्ने बुझिन्छ भने त्यसलाई क्रियाको वचन भनिन्छ भनी परिभाषित गरिएको छ ।( पेज ६३) यसभागमा नेपाली संस्कृत ,ल्याटिन ,ग्रीक ,अङ्ग्रेजी , आठ परिया आदि भाषामा वचनका प्रकारहरू केकसरी निर्धारण भएका छन् भन्ने विषयमा सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । नेपाली क्रियाका वचनमा एक वचन र अनेक वचन अनि अनेक वचनभित्र बहुवचन,स्नेहार्थी ,आदरार्थी( पेज ६६ ) हुन्छ भनी वर्गीकरण गरी देखाइएको छ । कालमा वचन निर्धारण कसरी हुन्छ भन्ने विषयलाई पनि यहाँ तालिकाद्वारा प्रष्ट पारिएको छ।
सम्भावनार्थमा वचन भेदक रूपहरू ,अर्थ सन्दर्भका आधारमा वचनभेदका रूपहरू ,मानवेतरमा वचन भेद पनि उल्लेख गर्दै संसारका विभिन्न भाषाहरूमा आआफ्नै प्रकारका वचन भेद रहेका र कुनै भाषामा ( गिज ) चार वचन पनि रहेका , संस्कृतमा तीन वचन रहेको तर नेपाली भाषामा एक वचन र बहुवचन मात्र रहेको स्थितिलाई निष्कर्षसाथ भाग तीनलाई समापन गरिएको छ ।
भाग ४ : भाग ४ मा नेपाली क्रियामा पुरुष विधानका विषयमा चर्चा गरी पुरुष सर्वनामसँग सम्बन्धित व्याकरणिक धारा हो ( पेज८०) भनी चर्चा गर्दै नेपाली तथा अन्य भाषाहरूमा पुरुषको स्थिति उल्लेख गर्दै पुरुष प्रयोगले क्रियामा पार्ने असर र प्रभाव स्पष्ट पारिएको छ । केही भाषाहरूमा चार पुरुष भएको , नेपालीको पुरुष व्यवस्था अङ्ग्रेजीसँग मिल्दोजुल्दो भएको र संस्कृत नेपाली र अङ्ग्रेजीको पुरुष व्यवस्थापन्लाई समेत तालिकामा देखाइको छ । यसपछि नेपाली क्रियामा रूप रचनाका आधारमा पुरुष विधानको चर्चा गर्दै नेपाली क्रियापदमा संरचनाका आधारबाटै पुरुष निर्धारण हुने कुरा उल्लेख गरिएको छ । आदरार्थीमा पुरुष ,स्नेहार्थीमा रुपरचना,प्रथम पुरुषमा आदरबोधक रूपहरू आदिका विषयमा उल्लेख गर्दै नेपालीमा तीन प्रकारका पुरुष भएका र ती पुरुषहरू नाम सर्वनाम र क्रियामा आधारित हुन्छन् भन्ने कुरा प्रष्ट्याइको छ ।
भाग ५ : भाग ५ मा लेखकले नेपाली क्रियामा रूप विश्लेषणका विषयमा चर्चा गर्नुभएको छ र रूप भन्नाले सबभन्दा सानो अर्थयुक्त व्याकरणिक इकाइ हो भनी विभिन्न भाषाविद्हरूका परिभाषा सहित प्रष्ट पार्ने काम गर्नु भएको छ । यसरी नै यस एकाइमा पद र शब्दका विषयमा पनि चर्चा गर्दै वाक्यमा प्रयोग भएपछि शब्द नै पद बनिने र वाक्यमा प्रयोग नभएका अवस्थामा एक स्वतन्त्र भाषिक एकाइलाई शब्द भनिन्छ (९९ पेज ) भनी स्पष्ट पारिएको छ । संरूपका विषयमा पनि यसरी उल्लेख गरिएको छ रूपगत र अर्थगत समानता भएका विविध रूपहरूलाई संरूप भनिन्छ भनी परिभाषित गरिएको छ । केही समस्यामूलक रूपहरू,रूपका प्रकारहरू ,प्रयोगका आधारमा रूप ( बद्ध,मुक्त,मुक्तामुक्त रूप पेज १०४,१०५) आदिको पनि विस्तृत रूपमा चर्चा गरिएको छ । संरचनाका आधारमा मूल र आशृत रूप ,स्वरूपका आधारमा एक स्वरूप , दुई स्वरूप र तीन स्वरूप भएका क्रियापदको उल्लेख गर्दै रूप परिवर्तनका कारणहरू सरलताका लागि, नवीनतातर्फ प्रवेश ,लामो समयको अन्तर,अन्य भाषा एवम् भाषिकाको प्रभाव ,स्वाभाविक विकास ,भनाइमाजोड ,सादृश्य ,स्थानको अन्तर वा भौगोलिक कारण ,विकासको कारण ,विशेष परिस्थिति भनी १० वटा कारण औंल्याइएको छ । यसपछि वाक्यमा क्रियाको रूप विश्लेषण ,रूपसन्धी,रूप ध्वन्यात्मक परिवर्तनका विषयमा प्रशस्त दृष्टान्तहरू ,तालिका र आरेखहरू प्रयोग गरी आफ्नो अभीष्टलाई पूर्ण गरिएको छ ।
भाग ६ः भाग ६ मा लेखकले नेपाली क्रियामा विचलनका विषयमा उल्लेख गर्नुभएको छ । नेपाली भाषाका क्रियामा विचलन आउने कारणमा दोस्रो भाषाका रूपमा नेपाली भाषा प्रयोग हुनु , नेपालीकै भाषिका उपभाषिकाको प्रभाव,अन्य भाषीसँगको संसर्ग , अशिक्षा ,लापरबाही आदि गरी पाँच कारण देखाइएको छ । नेपाली क्रियामा विचलन आउँदा कालमा विचलन,भावमा विचलन ,लिङ्ग तथा वचनगत,पुरुषगत विचलन भएको पाइन्छ भनी उल्लेख्य गरिएको छ ।
यो पुस्तकको विशेषता ,महत्त्व :
१ : एकलरूपमा भाषा विज्ञानसम्बन्धी लेखिएको मेची अञ्चलको पहिलो पुस्तक
२ : क्रियाको रूप विश्लेषण सूक्ष्मरूपमा गरिएको
३ः कलेज स्तरका विद्यार्थीहरूलाई उपयोगी हुने
४ : क्रियासम्बन्धी अध्ययन गर्ने र शोधार्थीहरूलाई समेत निक्कै उपयोगी हुने
५ः क्रियाको रूप विश्लेषण गर्दा नेपालीका भाषिका उपभाषिका देखि हिन्दी ,अङ्ग्रेजी ,ग्रीक संस्कृत आदि भाषामा भएको।क्रियाका रूपको समेत तुलनात्मक चर्चा गरिएको ।
६ : भन्न , प्रष्ट पार्न खोजिएका कुराहरूलाई तालिका,आरेख र तुलनाद्वारा वस्तुपरक रूपमा प्रष्टपारिएको
७ : भाषा विज्ञान आफैँमा जटिल विषय भए पनि प्रस्तुतीकरण सरस , सरल र दृष्टान्तमूलक भएको
८ : भाषाशैली वाक्य गठनमा सुगमता
९ : पुस्तक हेर्दै आकर्षक ,छरितो र हलुका
१० : पुस्तकले लेखकमा भएको खँदिलो बौद्धिक क्षमता र विद्वतालाई उजागर गरेको
११ : भाषा विज्ञानको क्षेत्रमा यस पुस्तकले नयाँ आयाम थपेको
१२ः ४० वटा भन्दा बढी सन्दर्भ सामग्री प्रयोग गरी लेखिएको लेखिएको
१३ : संक्षेपीकृत तालिका र पारिभाषिक शब्दसूची समावेश गरिएको
१४ : विगतको लकडाउनलाई सिर्जनात्मकरूपले प्रयोग
गरिएको
अन्त्यमा –आदरणीय लेखक हेम अधिकारीज्यूको यो रचनात्मक ,सिर्जनात्मक कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।






